
नेपाली साहित्यमा एउटा उल्लेखनीय विधा हो कथा। पुरानो जमानादेखि आजसम्म कथा सबै वर्गका मानिसहरू पढ्न, सुन्न रुचाउँछन् । आफ्ना बिचारहरू स्पष्ट रूपमा प्रकाश गर्न सक्ने कथा सहज सरल र रोचक माध्यम हो भन्न सकिन्छ।
गीताश्री शर्माको जन्म स्थल सिक्किम हो। उनकी माता छविमाया उपाध्याय ढकाल र पिता सोमदत्त उपाध्याय ढकाल हुनुहुन्छ
उनका पति पुण्य प्रसाद शर्मा न्यौपाने एक जना साहित्यकार हुनुका साथै जनपक्ष प्रकाशन नाउँको प्रकाशन प्रेसका स्वताधिकारी हुन्।
गीताश्री शर्मा कविता, मुक्तक र रम्बास कविता लेखनमा रहेको पाइन्छ। ‘समयका रेखाहरू’ उनको पहिलो कथा सङ्ग्रह हो।
१६ वटा कथाहरूले सजिएको यो कथा सँगालोमा भूमिका लेखेका छन् दार्जिलिङका वरिष्ठ साहित्यकार नरबहादुर दाहालले। काठमाडौँका एक जना साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र नेपालकै वरिष्ठ साहित्यकार/मुक्तककार गुरुदत्त ज्ञवालीको शुभेच्छा बार्ताले यस सङ्कलनलाई अझै समृद्ध पार्न सफल भएको छ।
जनपक्ष प्रकाशनबाट प्रकाशित यस पुस्तकको मूल्य तोकिएको छ पाँच सय रुपैयाँ।
अन्धविश्वास, आराधना, दिदी, दोषी को, घर, खुसी, नियत, पितृ प्रसाद, समयका रेखाहरू, साथी तिज, यात्रा, मैले नजन्माएकी छोरी, अकल्पनीय संयोग, अनुभव र लोकन्ते नाउँले सृष्टि गरेका कथाहरू कतै अत्यन्तै मार्मिक भावनाले अभिप्रेरित छन् भने कतै हराउन लागेका हाम्रा परम्परा जोगाउने प्रयास गरेको पाइन्छ।
‘अन्धविश्वास’ कथाले आजसम्म पनि हाम्रो समाजमा धामी ज्योतिष विश्वास गरेर पछि पछुताएर आफूमा सुधार ल्याउने कोसिस देखिन्छ। छोरीको ग्रह बाबुसित जुधेको छ भन्ने ज्योतिषीको कुरा सुनेर आफ्नी छोरी घरबाट निकालिन्छ । तर बिमारी बाबु कसैले पनि निको हुँदैनन् र फेरी छोरीलाई बोलाएर उनकै हातमा प्राण त्याग गर्छन्। अन्त्यमा पितृ स्नेह सित अन्धविश्वास पराजित भएको देखाएर यसको विरोध गरेको कुरा जानकारी दिन सफल भएकी छन् कथाकार।
अत्यन्तै मार्मिक कथा छ ‘आराधना’। यसका नायक गोविन्द एक जना अवकाश प्राप्त सैनिक भएर पनि छोरा बुहारीले गरेको दुर्व्यवहार सहन नसकेर टाढा गएर अर्काको घरमा काम गर्ने मान्छे हिसाबले बस्छन्।धेरै वर्ष बसेर घर फर्किन्छन् अनि बुहारीले आफ्नो नाममा नामसारी गरिसकेको माटो हेर्छन् र दुःखी हुन्छन्। पुरानो घरमा माकुराको जालो बढारेर बस्न लागेका गोबिन्द पत्नीलाई सम्झेर आँसु झार्छन्।
अन्त्यमा नाति नातिनीले हजुरबुबा हुन भनेर जान्दछन् अनि आमा बाबुलाई आफ्नो हजुरबुबाको साथ रहने आग्रहको साथ जिद्दी गर्छन्। सुखद् मिलनका साथ टुङ्गिन पुगेको यो कथाको अन्त्य सुखद बनेको पाइन्छ।
घरको मूल मान्छे घरबाट कतै जाँदा कुचो नलगाउने परम्परा पनि नयाँ पिँढीलाई बुझाउने कोसिस गरेको देखिन्छ।आजका समयको एउटा कटु सत्य उजागर गर्न सफल भएको यो कथामा एउटा दुर्बल पक्ष पनि नरहेको होइन। गोविन्द एक जना सरकारी जागिर खाएर अवकाश लिएका व्यक्ति छोरा बुहारीको अवहेलना सहन नसकेर अर्काको घरमा काम गर्न बस्नु पर्थ्यो र! तर कथाकारले चालाकीको साथ उहाँ आफ्नै घरको ठुलो दाजुको सम्मान पाएर बसेका थिए भनेर धेरै वर्ष आनन्द साथ बसेको कुरा उल्लेख छ।
‘दिदी’ कथा साधारण छ तर अगाडिको समयमा भएको कमी कमजोरी देखाउन सफल छ कथा। ढिकीमा पिठो कुट्दै गर्दा धागोले बाँधेको चिठी आउँछ । पढ्न नजानेर अर्काको बाटो हेर्नु पर्ने अनि पढिदिएपछि मात्र थाहा हुने धागोले बाँधेको चिठी आउँदा मान्छे मरेको खबर आउने रैछ भनेर।
यो कथाले नारी निर्यातन वर्णन गर्नुको साथै द्वितीय विवाह स्वीकृति दिएर एउटा सुन्दर आधुनिक कथाको रूपमा उभिएको छ।
“दोषी को”मा कथाकारले एउटा जीवन्त कथालाई उठान गरेको छ। बालकैदेखि पालेर पढाएको भाइ अकस्मात् कसैको प्रेममा पर्छ अनि भागेर जान्छ। जतिखेर घर फर्कन्छ दिदीले उसको सम्मान साथ बिहे गरी दिन कुनै कसुर छोडेको छैन।तर उनीहरू दिनदिनै टाढिएर जान्छन् अनि दिदी भिनाजुलाई दुस्मन जस्तो ठान्छन्।
यसको कारण केही देखाएको छैन कथामा। कथाकारले इच्छा गरेको भए स्पष्ट कारण उल्लेख गरेर कथालाई अझै सुन्दर बनाउने थलो थियो जस्तो देखिन्छ।
कथा ‘खुसी’ एउटी सानी बालिकाको बालपन अनि काग, कुकुरजस्ता जीवहरूप्रति भएको माया र जिज्ञासाले पूर्ण छ । घरका रत्नहरू बाल-बालिका नै हुन्छन् अनि यिनीहरूसँग रमाएर परिवार खुसहाल बन्छ भन्ने सन्देश यो कथाले दिने कोसिस गरेको छ ।
स्मार्टफोन र त्यसको व्यवहारको बारे लेखिएको छ नियत। फेसबुकमा राम्रा मात्र मान्छे पाइँदैन र सधैँ सतर्कता अपनाउनु पर्छ। नत्र घर परिवार बरबाद हुन समय लाग्दैन भन्ने कुरा नियतका माध्यमबाट भन्न खोजेको देखिन्छ
पितृ प्रसादको माध्यमबाट नारीको घरेलु समस्यादेखि छोरा छोरी पढाउनु पर्छ र छोरीलाई पनि पढाएर आफ्नो खुट्टामा उभिन सक्ने बनाउनु पर्छ भन्ने सन्देश दिएको पाइन्छ। बाबाआमाले जोडेर राखिदिएको घडेरी बेच्ने डरले छोराको होइन बुहारीको नाउँमा नामसारी गर्ने आधुनिक धारणा पोषण गरेको पाइन्छ
‘समयका रेखाहरू’ एउटा बलिष्ठ कथा हो। यसमा पुरानो संस्कार रीति रिवाजको विरोध गरेको छ । पति छिट्टै बिते भने हाम्रो समाजमा नारी अवहेलित हुन्छन् । यो कथामा पनि रबि बितेर मलामी गएकाहरूमध्ये धेरै कुरा गरेको सुनिन्छ। पोइ टोकी भन्नेहरू पनि आफ्नो नीचता दर्साउन पछि हट्दैनन्।तर हरेक परिस्थितिको सामना गरेर आफ्नो संस्कार बचाउन सफल भएकी छिन् रमला नामकी पात्रा। उनी जागिर खोजी गरेर आफूलाई सबल बनाउँछिन् र उनको अपमान गर्नेहरू एक दिन ऊ सामु आएर सहायता माग्छन्
तिज नेपाली समाजको अनमोल चाड हो। बिहे भएका छोरी चेलीको माइती भेटघाट गर्ने मौका पनि हो। कुनै परिस्थितिमा माइत जान नपाउनेको विरह पनि यो कथाले पोखेको छ। हाम्रो परम्परा तिज, तिहारमा चेलीले माइतीको खोजी गर्ने कुरा मार्मिक रूपमा दर्साएको छ तिज कथाले।
एउटी नारीको नयाँ परिवेशमा नोकरी सुरू गरेपछि कस्तो कस्तो समस्याको सामना गर्नुपर्ने हुन्छ भन्ने कुरा अनुभव कथाका माध्यमबाट दर्साउने कोसिस गरेको देखिन्छ।
अन्त्यमा ‘लोकन्ते’ कथा पुस्तकको अन्तिम कथा रहेको छ। कालेबुङको सुन्दरता वर्णनका साथ एक परिकल्पित घरको चित्र हाँक्न सफल छ यो कथा।
घरको जेठो छोराको काँधमा जिम्मेवारी धेरै हुन्छ र त्यो निभाउन पर्छ भन्ने सन्देश मदनको चरित्रबाट प्रष्ट गर्न खोजेको देखिन्छ।
लोकन्तेलाई बेहुली घरमा जिस्काउने चलन पनि यहाँ उल्लेख पाइन्छ। तर त्यो प्रेम सफल हुन सक्दैन।
यसरी नै समाजका विभिन्न पक्षहरू समेट्न कोसिस गरेको छ कथाहरूमा। प्रेम प्रीति, गरिबिको श्राप, पारिवारिक वातावरण जस्ता कथाहरू प्रस्तुत गरिएको यो पुस्तकमा भएका रहल कथाहरू पाठकलाई पढ्न छोडेँ।
यसरी नै गीताश्री शर्माको ‘समयका रेखाहरू’ साथीको महत्त्व, यात्राको सुख दुःख, अकल्पनीय संयोग, लोकन्ते जस्ता कथा समेटेर समृद्ध छ।
सबै कथा विश्लेषण गर्ने सामर्थ्य नभए पनि नयाँ कथाकारको रूपमा उत्रिएकी कथाकारलाई हार्दिक बधाई टक्र्याउँदछु। यहाँको कलम निरन्तर सक्रिय रहोस् भन्ने कामना गर्दछु।
शिवसागर असम



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

