
पुस्तकको नाम अँध्यारो कुनो देखेपछि मलाई खुल्दुली भयो, लेखकको अँध्यारो कुनोको तात्पर्य के होला ? लेखकले केलाई अँध्यारो कुनो भनेका होलान् ? यो पक्कै महत्त्वपूर्ण कुरा हुनुपर्छ , त्यसैले त यो पुस्तकको नाम भएर आएको छ ।
मेरो जिज्ञासाको केन्द्रबिन्दु त्यो अँध्यारो कुनो पत्ता लगाउन म पुस्तक पढ्न थाले । तर यो त गजबको अँध्यारो कुनो रहेछ केही पत्तो नपाई सक्नुको । कथाहरू पाठकलाई जिज्ञासामै छोडेर टुङ्गिन्छन् । कथाहरूले थाहा पाउन बाँकी छोडेका कुराहरू नै त्यो नदेखिएको अँध्यारो कुनो हुनु पर्छ भन्ने मैले अनुमान लगाए । लेखकको यो कलाले कथाहरू पढ्न अत्यन्तै चाखलाग्दो बनाएको छ ।
यस पुस्तकमा चौध वटा कथाहरू समाविष्ट गरिएका छन् र कथाहरूमा फरक परिवेशमा र विभिन्न पेसामा आबद्ध भएर जीवन बिताइरहेका मानिसहरूको जीवनमा हुने क्रियाकलापहरू र यौनप्रतिको आकर्षणले उनीहरू के के गर्न सक्छन् भन्ने कुरालाई दर्साइएको छ ।
फरक फरक परिवेश र समयको पृष्ठभूमिमा लेखिएका यी कथाहरूमा पात्रहरूको जीवनशैली तथा उनीहरूको जीवनसँग जोडिएको हरेक पक्षलाई अत्यन्त वास्तविक रूपमा बयान गरिएको छ । कतै आफ्नै देशको परिवेश छ भने कतै विदेशको, कतै सहरिया जीवनको परिवेश छ भने कतै गाउँले जीवनको, कतै पहाडी भेगको परिवेश छ भने कतै मधेशको । यी भिन्न भिन्न परिवेशहरूमा मानिसहरूको बोलीचालीको तरिका, व्यवहार, दिनचर्या, त्यहाँको प्रकृति सबै अत्यन्त मिहिन रूपमा वर्णन गरिएको छ ।
यसरी विभिन्न मानिसहरूको यौन मनोविज्ञान बुझ्नु र उनीहरू रहेको परिवेशको परिवृत्तमा घट्न सक्ने घटनाहरूलाई सोच्न सक्नु कथाकारको ठुलो खुबी देखिएको छ । जुनसुकै पाठकले पनि यी कथाहरू पढ्दा कथाकारको यो क्षमतालाई सह्राउने नै छन् । कथाहरू निकै चाख लाग्दा भन्दा पनि फरक अनुभूति दिने खालका छन् जसले कथाहरूलाई सामान्य भन्दा उच्च कोटिका बनाएका छन् । त्यसको साथै अब के हुन्छ त भन्ने पार्दै कथाहरू अगाडि बढ्दै जान्छन् जसले गर्दा पाठकमा चासो जगाई नै रहन्छन् ।
स्कुलमा पढाउने एउटा शिक्षक होस् वा हेड मास्टर, अविवाहित, विवाहित महिला होस् वा विधवा, ज्ञानी हुन् वा नपढेका, कर्मकाण्ड गर्ने पण्डित हुन् वा सैनिक, सबैमा यौन आकाङ्क्षा हुन्छ र त्यो आकाङ्क्षा जस्तै परिस्थितिमा पनि छचल्किन्छ । एउटा सैनिकको जीवन कति निरस हुन्छ, राती रक्सी खाएर क्षणिक समयका लागि रमाउनु बाहेक ऊ सँग खुसी मनाउने अर्को कुनै अवसर हुँदैन । यसरी बाँच्दाको क्षणमा पनि यौन आकाङ्क्षा भने मर्दो रहेनछ भन्ने कुरा अन्तिम दिन कथाले देखाएको छ ।
यौन आकाङ्क्षा एक मानवीय गुण हो जुन हरेक स्वस्थ व्यक्तिमा हुन्छ । यो कसरी विभिन्न रूपमा मान्छेको कुरा र क्रियाकलापबाट झल्कन्छ भनी दर्साउने यी कथाहरूबाट ज्ञान लिन सके कसैमाथि विश्वास गरेर उसको यौन आकाङ्क्षाको सिकार हुनुबाट आफूलाई जोगाउन सकिन्छ ।
झनै अहिलेको समयमा त ग्लाेबलाइजेसनले हाम्रो संस्कृति भत्काइरहेको छ, पश्चिमा संस्कृतिमा यहाँका मानिसहरू रमाउन थालिसकेका छन् । के गर्न हुन्छ वा हुँदैन भन्ने कुरा धेरैलाई हेक्का रहँदैन । त्यसैले यस्तो जानकारी हुनु आवश्यक पनि छ । यदि कसैले यस्तो कुरा के लेखेको भनी सोच्छ भने यसको उत्तर यसै पुस्तकको अविजालो कथामा लेखिएको छ । ती जो रातभरि मन र सम्बन्धका कथा निद्रा मारेर पढ्छन् र भोलिपल्ट यो काम लाग्दैन भन्छन्, ती पाखण्ड हुन् ।
‘मेरो फुलवा’ र ‘सल्लाको रुख’ कथाहरूले माओवादी कालमा देशवासीले खेपेको त्रासदीपूर्ण जीवनको झलझली सम्झना गराएका छन् । कतिले मरण तुल्य कष्ट भोगे, कतिले ज्यान गुमाए । त्यो सम्झिँदा अहिले त्यो भयावह समय कसरी बित्यो जस्तो लाग्छ । विद्रोहीहरू मूल राजनीतिमा आए र त्यो द्वन्द्व साम्य भयो । केही समयपछि देशमा गणतन्त्र पनि आयो तर गणतन्त्रलाई सक्नेहरूले ठग्ने र लुट्ने भर्याङ बनाए । यो क्रम जारी नै छ । साधुको रूपमा रहेका यस्ता चोरहरूले वितृष्णा जगाइरहेका छन् । यसै गर्दै देश फेरि कुनै समस्यामा नपरोस् । जनताले फेरी कुनै अर्को भयावह परिस्थितिको सामना गर्नु नपरोस् । यो चिन्ताले सताइरहन्छ ।
‘मलाई सुराही बनाइदेऊ’ कथामा जीवन र माटो सँगको सम्बन्धलाई दर्साउँदै लेखक भन्छन् – माटो, खरानी र छेस्काहरूले बनेको मान्छे मृत्युपछि फेरि माटोमै मिल्छ । मान्छे अजम्बरी छैन । त्यसैले ईर्ष्या र घमण्ड गर्नुको कुनै अर्थ छैन । तर फेरि पनि मान्छे इच्छा, आकाङ्क्षा, माया, मोह जस्ता तौलहीन तर अदृश्य भारहरूबाट थिचिएको हुन्छ । माटोकै काम गर्ने, माटोसँग नै खेल्ने कुमालेले पनि यो कुरा बिर्सेको हुन्छ । साँच्चै यी भारहरूबाट मान्छे उम्कन सक्ने भएका भए कति हलुको जीवन बाँच्ने थिए होलान् । किस्ताबन्दी पिरती कथामा घरबार धितो राखेर विदेश छिरेका युवाहरूको व्यथा र सङ्घर्षको यथार्थ विवरण छ । तसर्थ कथाहरूमा व्यवहारिक पक्षहरूको वर्णन पनि प्रशस्त छन् तर मुख्य रूपमा यिनले मान्छेको यौन मनोविज्ञानलाई बताउन खोजेका छन् ।
मान्छेको यौन मनोविज्ञानलाई बुझ्न सक्ने लेखक देखिएको सत्य भन्दा भित्र डुबेर सोच्छन् अनि नदेखिएको वास्तविकताको गहिराइसम्म पुग्छन् । कथाहरू पढ्दा कथाकारको सोच कहाँसम्म पुगेको होला भन्ने लागि रहन्छ । कथाहरूले विभिन्न प्रश्नहरू उब्जाइदिन्छन् । यो संसार कस्तो छ ? वास्तविकता के हुन्छ र देखिन्छ के ? के देखिएका सबै सत्य हुन्छन् र जे देखिँदैन के त्यो हुँदै हुँदैन ? एउटा रेस्टुरेन्टमा बसेकी वेश्या भनिएकी केटी वास्तवमा वेश्या नभएर उसको अर्कै उद्देश्य पूर्तिको लागि त्यो रूपमा त्यहाँ बसेकी हो भन्ने कुरा अँध्यारो कुनो शीर्षक कथामा पत्याउन गाह्रो हुन्छ ।
खबर बनाउनको लागि ऊसँग अन्तरवार्ता लिन गएको पत्रकार जिल्लिएर फर्किन्छ । लेखकको यस्तै फरक सोच्न सक्ने क्षमताले कथाहरूलाई भिन्न बनाएको छ । त्यसैले यो कथा सङ्ग्रहले नेपाली साहित्यमा छुट्टै स्थान ओगट्न सक्ने प्रबल सम्भावना देखिन्छ ।
कथाकार खगेन्द्र भट्टराईलाई शुभकामनाका साथ बिट मार्छु ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

