नेपाली साहित्यमा सर्वाधिक चलायमान र साहित्यिक गतिविधिमा कीर्तिमान राख्ने कोही छ भने सोच विचारै नगरी लिन सकिने नाम हो राधेश्याम लेकाली ।

काठमाडौँमा किताब विमोचन गर्नु पर्यो, राधेश्याम लेकाली ।

विदेशबाट कोही नेपाली साहित्यकार आएको छ, स्वागत गर्नु पर्यो, राधेश्याम लेकाली ।

कुनै लेखकको देहान्त भयो, शोक सभा गर्नु पर्यो, राधेश्याम लेकाली ।

कुनै लेखकको जयन्ती मनाउनु पर्यो, राधेश्याम लेकाली ।

हरेक साहित्यिक गतिविधिका लागि अनिवार्य जस्तै लाग्छ राधेश्याम लेकाली काठमाडौँको साहित्यिक परिदृश्यमा ।

उनी साहित्यिक पत्रकार सङ्घको अध्यक्ष छन् २०६७ देखि । शङ्कर लामिछाने प्रतिष्ठानको अध्यक्ष छन् २०७३ देखि । मदनमणि दीक्षित अधिष्ठानको महासचिव छन् २०७० देखि । हेम सरिता पाठक फाउन्डेसन नेपालको अध्यक्ष तथा अन्तर्राष्ट्रिय साहित्य विभागको संयोजक छन् सन् २०१५ देखि । मदन दीप बिम प्रतिष्ठानको अध्यक्ष छन् २०७८ देखि । यी मुख्य साहित्यिक संस्था सँगको प्रत्यक्ष संलग्नता हो, पदीय हिसाबले अध्यक्ष वा कार्यकारी रूपमा । त्यसो त नयाँ साहित्यिक संस्थामा उनको संलग्न हुने क्रम निरन्तर छ । पछिल्लो चरणमा चेतन कार्की स्मृति प्रतिष्ठान बनेको छ र त्यसमा पनि उनको संलग्नता छ । सबै चाहन्छन्, राधेश्यामको संलग्नता । कारण प्रस्ट छ, उनी साहित्य भनेपछि मरिमेट्छन् । समय दिन सक्छन् । कार्यक्रम सफल बनाउन सक्छन् ।

राधेश्यामसँग मेरो साहित्यिक संसर्ग तीसको दशकमा भएको हो । त्यति बेला उनी पत्रिका प्रकाशन गर्थे । साहित्यिक गतिविधिमा संलग्न हुन्थे । तर बिस्तारै उनी साहित्यिक संस्थाको नेतृत्व गर्नेतिर उन्मुख भए, कविता लेखनलाई पनि अघि बढाउँदै ।

विसं २०३९ सालमा विराटनगरमा भएको “विराट साहित्य सम्मेलन” मा हामी यौटा सरकारी जिप बन्दोबस्त गरेर एक जमात साहित्यकारहरू साथै गएका थियौ । त्यो जमातमा अशेष मल्ल थिए । कृष्णभूषण बल थिए । अरू पनि थिए । र थिए राधेश्याम लेकाली पनि । त्यसरी विराटनगर जाँदा मेरो घर हेटौँडामा पनि सबै पसेका थियौँ र चियापान गरेका थियौँ । कार्यक्रम सकेर फर्कँदा पनि मेरो घर पसेका थियौँ र मेरो कान्छो भाइ हरिशरण र बुहारी मेनकालाई पनि हामीसँगै काठमाडौँ लिएर आएका थियौँ ।

अर्को साहित्यिक कार्यक्रममा पनि हामी साथै थियौँ । त्यो थियो, महानन्द पुरस्कार समारोह, दमक । त्यो साल कृष्ण धरावासीले महानन्द पुरस्कार पाएका थिए । काठमाडौँबाट कमल दीक्षित, ईश्वर बराल लगायतका स्वनामधन्य साहित्यकार गएका थिए । दार्जिलिङबाट रामलाल अधिकारी पनि आएका थिए । तर त्यो यात्रामा हामी साथै गएका थिएनौँ । म रात्रि बसमा एक्लै गएको थिएँ । २ दिने सो कार्यक्रममा हामी दमकको हाई स्कुलको बेन्चमा साथै लहरै सुतेका थियौँ । त्यो यात्रा साहित्यिक हिसाबले स्मरणीय र रोचक भएको थियो । तर त्यो बेला के कारणले हो कुन्नि राधेश्याम र म बिच असमझदारी भयो । यो बडो नमज्जाको कुरा थियो ।

तर काठमाडौँ फर्किएपछि रञ्जना सिनेमा हल अगाडिको चिया पसलमा चिया पिउँदै साथीहरूले त्यो असमझदारीको प्रसङ्गलाई मेटिदिएका थिए । त्यसपछि त्यस्ता असमझदारी कहिल्यै भएन ।

अर्को एकपल्ट मेरो नेतृत्वमा भानु जयन्ती मनाउन काठमाडौँबाट चुँदी रम्घा गएका थियौँ । त्यो टोलीमा दुवसु क्षेत्री, राधेश्याम र म तीन जनाको टोली थियो । त्यो निकै रमाइलो र स्मरणीय यात्रा भएको थियो । चुँदी रम्घाको औपचारिक कार्यक्रम सकिएपछि हामीहरू गोरखा गएका थियौँ । गोरखामा भिक्टर प्रधान थिए, साहित्यिक कार्यक्रममै गएका । उनीसहित हामी चार जना त्यहाँबाट मनकामना गएका थियौँ । मनकानमा भ्रमण निकै नै अविस्मरणीय भएको थियो । मनकामना भ्रमणपछि भिक्टर प्रधान काठमाडौँ फर्किएका थिए । हामीहरू तीनजना चाहिँ पोखरा पुगेका थियौँ र पोखराको घुमाइको आनन्द र रमाइलो बोकेर फर्किएका थियौँ ।

राधेश्याम लामै समय साहित्यिक पत्रकार सङ्घसँग आबद्ध भए र अध्यक्ष पदमा पुगे । खासमा भवानी घिमिरेको सक्रियता र सुझ बुझमा खुलेको साहित्यिक पत्रकार संघ उनको पालामा निकै सक्रिय थियो । अच्युतरमण अधिकारीको पालामा पनि सक्रिय भयो । विश्व विमोहन श्रेष्ठको पालामा पनि निकै सक्रिय भयो । तर यौटा यस्तो समय आयो साहित्यिक पत्रकार सङ्घले भाडामा लिएको कोठाको भाडा तिर्न नसकेर घरबेटीले ताला लगाइदियो ।

राधेश्यामले रसातलमा पुगेको साहित्यिक पत्रकार सङ्घलाई ब्युँताए । कैयन् वर्षदेखि स्थगित साहित्यिक पत्रकार सङ्घले सञ्चालन गर्ने गरेको पुरस्कारहरूलाई सुचारु बनाए । यो बडो अप्ठ्यारो र विधि पुर्याउन गाह्रो काम थियो । स्थगित कैयन् वर्षहरूका पुरस्कार एकैपल्ट वितरण गरेर उनले ठुलो खाडल पुरिदिए ।

पटक पटक चर्चामा रहे पनि मलाई उनको नेतृत्वको साहित्यिक पत्रकार सङ्घको कार्य समितिले मेरो कथा लेखनको २५ वर्ष पुगेको वर्ष मैनाली पुरस्कार प्रदान गर्ने निर्णय गर्यो । स्वनामधन्य शिखर कथाशिल्पि रमेश विकललाई  सम्मान र मलाई मैनाली कथा पुरस्कार होटेल शङ्करको सभा हलमा भएको त्यो अपूर्व क्षण थियो ।

नेपाल प्रज्ञा प्रतिष्ठानको डवली पुस्तक विमोचनका लागि प्रख्यात छ र महँगो छ । तर त्यो डवलीमा खासै केही हुन्नथ्यो विसं २०६० साल अघिसम्म । त्यहाँ विसं २०६० सालमा पहिलो चोटी यौटा भव्य पुस्तक विमोचन भयो । नरहरि आचार्य, मोदनाथ प्रश्रित, रागिनी उपाध्याय, हेमराज ज्ञवाली लगायतले सामूहिक रूपमा पुस्तक विमोचन गरेका थिए र त्यो विमोचित पुस्तक मेरो थियो “पाउलीबुलु” निबन्ध सङ्ग्रह । अनि त्यो विमोचन समारोहको आयोजक थियो, साहित्यिक पत्रकार संघ । साहित्यिक पत्रकार संघ आयोजक भए पनि सबै व्यवस्था मिलाउने राधेश्याम लेकाली नै थिए, प्रमुख रूपमा ।

त्यसो त बिसं २०६१ सालमा उनले मेरो हास्यव्यङ्ग्य निबन्ध ङ्ग्रह “प्रजातन्त्रको काफल पाक्यो हजुर” साहित्यिक पत्रकार संघबाट प्रकाशन गरेर मेरो अनुपस्थितिमा विमोचन समेत गरिदिएका थिए । यस्ता साहित्यिक कर्म, गतिविधि मेरो मात्र हैन नेपाल भित्र र बाहिरका अनगिन्ती साहित्यकारका उनले सम्पन्न गरेका छन् । कृति प्रकाशन गरिदिने, विमोचन बिचार विमर्ष कार्यक्रम गरिदिने, समीक्षा समालोचना गराइदिने, सके पुरस्कृत नै गरिदिने, प्रचार प्रसार गरिदिने उनको आफ्नै प्रकारको मौलिक शैली त छँदै छ, ती सब सम्पन्न भइसकेपछि तिनैबाट गाली खाने, आलोचना सुन्ने धैर्य पनि उनमा त्यत्तिकै छ ।

विभिन्न साहित्यकारहरूसँग हातेमालो गर्दै उनी कार्यक्रम सम्पन्न गर्न सक्छन् । कतिसम्म भने प्रज्ञा प्रतिष्ठानसँग पनि उनी सहकार्य गर्न सक्छन् । यो खुबी, क्षमता र योग्यता धेरैमा पाइँदैन ।

नेपालमा गणतन्त्र आएपछि सक्रिय साहित्यिक पत्रकारहरूको बेग्लै संस्था खुल्यो । उनका नजिकका साथीहरू नै उनको विपक्षमा लागे । राधेश्याम नेतृत्वको साहित्यिक पत्रकार सङ्घलाई सरकारले दिँदै आएको अनुदान पनि खोसियो । तर उनी विचलित भएनन् । साहित्यिक पत्रकार सङ्घको यावत् कामलाई सकेसम्म निरन्तरता दिए । पुरानै लयमा फर्काए । पुरस्कारहरूलाई निरन्तरता दिए ।

साहित्यिक पत्रकार सङ्घले सुरु गरेको कथा दिवस, साहित्यिक वनभोज र कविता यात्रा सङ्घको मौलिक कार्यक्रम हो जुन कार्यक्रमसँग नेपालका प्राय सबैजसो स्वनामधन्य साहित्यकारको संलग्नता, सहभागिता जोडिएको छ । राधेश्यामले कुनै रूपमा यसलाई टिकाएका छन् ।

उनले संस्थागत गतिविधिसँगै लेखन कार्यलाई पनि निरन्तरता दिएका छन् । लेखिरहेका छन् । प्रकाशन गरिरहेका छन् । सभा सम्मेलनमा सहभागिता पनि गरिरहेका छन् । दर्जनौँ कृति प्रकाशित छन् । तर उनको साहित्यिक गतिविधि गर्ने व्यक्तित्वले सिर्जनशील व्यक्तित्वलाई सर्लक्क छोपिदिएको भान पर्छ । साहित्यिक गतिविधिमा अत्यधिक व्यस्त हुनाले उनले अध्ययन गर्न र चिन्तन गर्न समय पाएनन् र रचनागत स्तरोन्नतिमा ध्यान नपुगेको भन्ठान्छु  म ।

नेपालमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको नेपाल च्याप्टरको स्थापना अमेरिकामा केन्द्रको स्थापनाको हाराहारीमै भएको हो सन् १९९० को दशकमा । आजको जस्तो संसारभर, अमेरिकाभर च्याप्टर खोल्ने अवधारणाको विकास नहुँदै नेपाल च्याप्टर खोलिएको थियो । त्यस च्याप्टरका सूत्रधार र संस्थापक अध्यक्ष थिए लव गाउँले । लामै समय उनले एकल जस्तै रूपमा चलाए र पछि उनले अध्यक्षता छाडेपछि अलिक फैलियो । चुनाव हुन थाल्यो । सार्वजनिक रूपमा विविध कार्यक्रमहरू आयोजना हुँदै गए र त्यसमा प्रवेश भयो राधेश्यामको ।

उनले अनेसासमा प्रवेश गरेपछि साहित्यिक गतिविधि व्यापक रूपले बढ्यो । नेपाल च्याप्टरको केन्द्रीय समितिका अलावा क्षेत्रीय कमिटीहरू समेत बने । आजीवन सदस्य बन्न साहित्यकारहरू ओइरो लागे र अनेसासको केन्द्रीय चुनावमा जित्न नेपाल च्याप्टर निर्णायक हुने अवस्था समेत बन्यो । यो सबको श्रेय राधेश्यामलाई जान्छ ।

त्यति मात्र होइन उनी नेपालमै बसेर अनेसासको केन्द्रीय अध्यक्षमा निर्वाचित भए र अध्यक्षको हैसियतमा अमेरिका भ्रमणमा पुगे ।

हुन त राधेश्यामले साहित्यिक पुरस्कार र मान सम्मानहरू पाएका छन् । प्रशस्तै पाएका छन् । तर जति पाएका छन्, उनले आफ्नो सक्रियतामा दिएका वा वितरण गरेका मान सम्मान र पुरस्कारको तुलनामा निकै कम हो । खासमा उनले पुरस्कार लेनदेन गरेर निकै पुरस्कार सम्मान हत्याउन सक्थे । तर पुरस्कार दिएर तथा सम्मान गरेरै उनी सन्तुष्ट भए । उनले लिनेमा भन्दा दिनेमै आफ्नो ध्यान केन्द्रित गरे । गन्तीमा आउने उनले पाएको पुरस्कार वासुशशी साहित्य पुरस्कार मात्रै पो हो कि ?

विसं २०६७ सालदेखि उनी निरन्तर साहित्यिक पत्रकार सङ्घको अध्यक्ष छन् । यो अवधिमा उनले साहित्यिक पत्रकार संघ मार्फत पुरस्कृत गरेका साहित्यकार सयौँ छन् । उनले सम्मान गरेका, कदर गरेका साहित्यकारहरू सयौँ सय छन् । उनी एक मात्र होइन अनेक साहित्यिक सङ्घ-संस्थाहरूसँग मिलेर सामूहिक रूपमा सममान गर्न, अभिनन्दन गर्न समेत सदा अग्रसर रहन्छन् । यो बेग्लै कुरा हो, सबै सत्पात्र मात्र सम्मानित पुरस्कृत नभएको आरोप पनि उनले खपेका, खेपेका छन् ।

सत्यमोहन जोशीको निधनमा ३८ साहित्यिक सङ्घसंस्थाले तेह्रौँ पुण्य तिथिमा शोक पत्र बुझाएको थियो । सबैजसो सङ्घसंस्थाका प्रतिनिधि सम्मिलित समूह नै जोशी निवास गएको थियो । त्यो ३८ संस्थाहरूको संयोजनमा राधेश्यामकै सक्रियता र नेतृत्व थियो ।

भन्नेहरू त राधेश्यामलाई साहित्यको नाममा व्यापार गर्छ भन्छन् । कृष्ण लीलामा रमाउँछ भन्छन् । सङ्घसंस्था कब्जा गरेको भन्छन् । तर उनी ती सब आरोपलाई हाँसी हाँसी पचाएर साहित्यिक गतिविधिमा लागिरहेकै छन् । मेरो प्रत्यक्ष देखादेखीमा कार्यक्रम आयोजना गरिदिएर जलपान गराएको खर्च समेत पूरा नदिएर पन्छिएका घटनाको एकाध पल्ट साक्षी नै छु । कार्यक्रम गरिदिनु, खट्नु र आर्थिक घाटा पनि सहनु । त्यो पनि सहेका छन् राधेश्यामले ।

मह काट्नेले घार नै आफैँले उडाएका घटना अनेक छन् ।  तर उनले मह काटेर हात चाटे होलान् । पक्कै पनि आफ्नो हातको मह लौ चाट्नुहोस् भनेर अरूलाई भनेन होलान् ।

यो सत्य हो उनले आयोजना गरेको साहित्यिक समारोहमा स्वनामधन्य साहित्यकारको भीड लागेकै हुन्छ । उनले हात हालेपछि कार्यक्रम सम्पन्न मात्र होइन, सफलतापूर्वक सम्पन्न हुनेमा शङ्का हुँदैन ।

तर साहित्यिक गतिविधिले उनको साहित्यिक लेखनको उँचाइलाई बाम पुड्के बनाउँदै लगेजस्तो भान हुन्छ । त्यसमा राधेश्याम सचेत हुनै पर्छ भन्ने मलाई लाग्छ, दौँतरीका हिसाबले ।