
छोरा बुहारी जागीर खान गए
नाती नातीना स्कुल पढ्न गए
दिनभरी घरमा बुढो ब्याकुल छ
पल्ला घरकी बुढीको पनी त्यही हाल छ ।
बुढो उता जान मिल्दैन बुढीको सन्तानले कुरा काट्छ
बुढी यता आउन मिल्दैन सिङगो समाजले कुरा काट्छ
“हे कृष्ण कृष्ण” भनीन् बुढीले
“राधे राधे ” भने बुढाले
उता कृष्ण कृष्ण यता राधे राधे
भजन मै बितेर सबै कस्ट भागे !
उता दमको स्याँस्याँ यता बाथ दुख्छ
साझा एक्लो पनले दुवैलाई पोल्छ !!
दुवैलाई सबैथोक पुगेकै छ घरमा
तन मन जलेको खरानी जगतमा !
दुवैले दुवैलाई गुहार यो लगाए
उता कृष्ण कृष्ण यता राधे राधे !!
भनी प्रस्तुत भएका कृष्ण मुरारी गौतम अर्थात् (चट्याङ मास्टर) को यस्तो कविता सुनिसकेपछि बुढेसकालको बारेमा यो लेखकलाई फुरेका केही शब्द स्वीकारिदिनुहोस् ।

दिलीप अधिकारी
उमेरको ५० वर्ष हाराहारीमा पुगेपछि प्रायः मानिसले भनेको सुनिन्छ: बुढेसकाल लाग्यो । प्रायः देशहरूमा ६० देखि ६५ वर्ष पछिको जीवनलाई अवकाशप्राप्त जीवन मान्ने गरिएको छ । जागिर पछिको पेनसन लगायतका कुराहरु उमेरकै आधारमा तय गरिन्छन् । ‘रिटायर्ड लाइफ’ लाई जीवनभरका दुःख सुःखहरुको पुनरावलोकन गर्दै आराम तथा खुसी साथ बिताउने अवस्थाका रुपमा पनि लिइन्छ । यद्यपि उमेर र आफ्नो शरीरले समेत साथ दिइरहेको बेला नगरेको रमाइलो, बुढेसकालमा आफ्नै शरीरले साथ नदिँदा के नै पो गर्न सकिएला र ? भन्ने प्रश्न आउनु पनि स्वभाविक नै हो।
यसकै उत्तरको रूपमा यसरी पनि लिन सकिन्छ । बुढो हुनु भनेको धेरै उमेर गुजारिनु होइन । बरु यसमा सोच जिम्मेवार रहन्छ । हाम्रो शरीर भन्दा छिटो त हाम्रो सोच बुढ्यौलीतर्फ ढल्किन्छ । हामी मध्य कतिपयले आफुलाई बुढेसकाल लागेको ठानिरहेका हुन्छौँ । जबकि उमेर वा शरीरले त्यस्तो संकेत गरेको हुँदैन । मानिसले गुजारेको उमेर र उसले महसुस गर्ने उमेरको अन्तरले शरीरमा प्रत्यक्ष प्रभाव पार्छ ।
बुढ्यौली उमेर कसैलाई रुचिकर हुँदैन । यद्यपि हामी जीवनको उत्तरायणमा त्यही बुढ्यौलीसँग जोरी खेल्नैपर्छ । बुढो हुन सजिलो नै छ, अरू केही गर्नुपर्दैन, अकालमा नमरिदिए हरेक मान्छेको जीवनमा आउँछ बुढेसकाल । यस्तो बेला त स्वावलम्बी बनी कान आफैँ बाजा बजाउँछन्, गलाबाट हरेक बोली गीत झैँ थरथराउँछन् , हात खुट्टा त्यसै नाच्छन्, गमक्क सास फुल्दछ, आफ्नै सङ्गीतमा टाउको मस्त भई भुल्दछ, हरेक रात लामा लाग्छन् आयु छोटो भए पनि, तिर्सना झन् बढ्छन् सम्झना सबै गएपनि, चर्मचक्षु बन्द भए पनि मर्मचक्षु भने खुलेकै हुन्छ । हातमा पैसा हुँदैन र पैसा हुँदा पनि किन्ने आँट हुँदैन । अझै स्वास्थ्य समस्या आयो भने त मर्नु मात्र विकल्प रहन्छ । एक्लोपनाले छटपटाइरहन्छ । अन्तत; एक्लोपनको कठोर मानसिक तथा शारीरिक समस्यासँग जुध्नुपर्छ ।
अहिलेका धेरैजसो वृद्धवृद्धाहरु सामूहिक परिवारमा हुर्केका हुन् र आफ्ना बालबालिकालाई पनि त्यस्तै परिवेशमा हुर्काएका हुन् । सामूहिक परिवारमा रमाएकाहरु एक परिवार वा शहरीया एउटा घरभित्र बन्द भएर बस्न सक्दैनन् र कोठामा मन रम्दैन । उता गाउँमा नै भए पनि एक्लो हुन्छन् । घरले खाला जस्तो गर्छ, राती निद्रा पर्दैन, रोजगारको लागि शहर र विदेश गएका छोरा छोरीको सम्झना आउँछ, पढ्न शहर गएका नातिनातिनाको मुख हेर्न मन लाग्छ तर ती सबै इच्छामा मात्र सिमित हुन्छन् । घरमै भएका बालबालिका र युवा पुस्ताहरु कम्प्युटर, मोबाइल र इन्टरनेटमा व्यस्त रहने, घरका अन्य सदस्यहरू आ-आफ्नो काममा व्यस्त रहनाले उहाँहरुमाथि कसैले चासो नराखेको देखिन्छ ।
घरमा आफ्ना बुवाआमाले , अग्रजहरूले गर्ने व्यवहारबाट बालबालिकाहरुले पनि सोही अनुरूपको संस्कार सिकेका हुन्छन् । त्यसैले बाल-बालिकालाई ज्येष्ठ नागरिकहरूसँग समय बिताउन प्रेरित गर्ने, उहाँहरुका हरेक काममा सहयोग गर्न लगाउने हो भने युवा अवस्थामा आइपुग्दासम्म उनीहरूले ज्येष्ठ नागरिकहरूलाई बोझको रुपमा होइन आफ्नो पथ प्रदशकको रूपमा स्वीकार गर्ने दिन आउँछ । उहाँहरूले पनि आफ्नो बुढ्यौलीलाई बोझको रुपमा मात्र नलिई नियमित रूपमा जप, ध्यान, योग तथा व्यायाम गर्ने आफूलाई व्यस्त राखेर बुढ्यौलीलाई पनि उत्साहित बनाउने प्रयास गर्नुपर्छ ।
ज्येष्ठ नागरिक हाम्रा अग्रज र जिउँदो इतिहास पनि हुन् । आफ्ना आमाबुवालाई नबनाऔँ धराप र नलिऔँ सराप । आमाले आफूले ढिँढै खाएर पनि हामीलाई अमृत चुसाएको र बुवा आफूले दुःख गरेर भए पनि हामीलाई शिक्षित बनाएको कुरालाई आत्मसात गर्दे मातृदेवो भव, पितृदेवो भव उपमालाई शब्दमा मात्र होइन व्यवहारमा पनि लागू गरौँ । आज हामीले उपभोग गरिरहेका हरेक चिजहरू हाम्रा अग्रजहरूको देन हुन् भन्ने बुझी कदर गर्ने र उहाँहरुमा भएको ज्ञान, सीप र अनुभवलाई प्रयोग गरी समृद्ध समाज र राष्ट्रको परिकल्पना गरौँ । राज्यले पनि ज्येष्ठ नागरिकहरूको हक, हित र उचित सरोकारको विषयमा कानुनको निर्माण र कार्यान्वयन गर्न जरूरी छ ।
कोरोनाको महासंकटले परिवारलाई एकैठाउँमा आउन वा एकआपसमा संवाद गर्ने मौका पनि जुरायो । एकान्तमा बस्दा एकैछिन बुढा भएका अभिभावकका बारेमा सोचौँ, उहाँहरूले हामीलाई हुर्काउन र मान्छे बनाउन गरेको त्याग र सङ्घर्षको मनन गरौँ । सङ्कल्प गरौँ आफ्ना बुढा अभिभावकहरुको रेखदेख वृदाश्रममा होइन घरमै गरिने छ र आफ्नो बुढ्यौली पनि आफ्नै छोराछोरीहरूको काखमा बित्ने छ । आफ्ना अभिभावकहरूको बुढ्यौलीपनलाई नैराश्य हुन नदिई ज्येष्ठ नागरिक मैत्री वातावरण सिर्जना गरौँ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

