समयको भित्तोमा अभिलिखित सत्य कहिल्यै नष्ट हुँदैन । तर कहिलेकाहीं समयले नै सत्यलाई लामो समयसम्म ओझेलमा पारिराखेको हुन्छ । समयले ओझेलमा पारेको यस्तै एउटा इतिवृत्तको कैरन हो यो ।

बीपी कोइरालाका बारेमा अपरिचित कुनै नेपाली छैन । बीपीका दाजुभाइ र बीपीका छोराछोरीबारे पनि सबैलाई थाहा छ । तर बीपीकी एउटी ‘नचिनिएकी’ छोरी पनि छन् जसका बारेमा अरूलाई त के, बीपीकै छोराछोरीलाई पनि थाहा छैन । छोरी नै नचिनिएपछि तिनका सन्तान अर्थात् ‘नातिनातिना’ नचिनिनु अनौठो भएन ।

बीपीकी ती छोरी उहाँकी पत्नी सुशीला कोइरालाकी सन्तान होइनन् । उनी बीपीकी मीतकी छोरी हुन् । भोजपुर, चरम्बीका नन्दिप्रसाद पराजुलीसँग किशोर अवस्थामै बीपीले मीत लगाउनुभएको थियो र उनकी छोरी नन्दिका ९० वर्षको उमेरमा आज धरानमा जीवितै छन् । मीतबाबुका सन्तान अर्थात् आफ्ना भाइ–बहिनीसँग उनको कुनै अपेक्षा थिएन र छैन, तर आफू जीवित हुँदै कुनै दिन सम्झेर भेट्न आउलान् र आशीर्वादको हात तिनको शिरमा राख्न पाइएला भन्ने मधुरो आशा चाहिं मनको अन्तरकुन्तरमा कताकता छँदैछ ।

बीपीकी नचिनिएकी छोरी

कृष्णप्रसाद कोइराला विराटनगरमा रहँदा भोजपुर, चरम्बीका राइटर शिवप्रसाद पराजुलीसँग राम्रो सम्बन्ध थियो । पछि शिवप्रसाद पराजुलीका छोरा नन्दिप्रसाद र कृष्णप्रसाद कोइरालाका छोरा बीपी बनारसमा पढ्दा मन मिल्ने दौंतरी हुन पुगे । बीपी चलाख हुनुहुन्थ्यो भने नन्दिप्रसाद तीक्ष्ण बुद्धिका, मिलनसार व्यक्ति थिए । उनी पढाइमा मात्र नभएर राजनैतिक सुझबुझमा समेत अब्बल थिए । आर्थिक अवस्था पनि राम्रो थियो र भरअभरमा साथीको खाँचो टार्न कहिल्यै पछि पर्दैनथे । विद्यार्थी अवस्थामै बीपी र नन्दिप्रसादको घनिष्ठ सम्बन्ध मितेरी साइनोमा परिणत भयो । यसरी बीपी र नन्दिप्रसाद एक परिवार भए । उनीहरू हरेक कुरामा एक अर्काका सहयोगी बने ।

एक आपसमा नजिक भएका, कुरा मिल्ने, सहयोग आदानप्रदान हुने दौंतरीबीच त्यो समय मीत लगाउने चलन थियो । मीत लगाएपछि परिवार एउटै भएको मानिन्थ्यो । मीतका बाबुआमा, दाजुभाइ, दिदीबहिनी, छोराछोरी सबैसँग समान नाता कायम हुन्थ्यो । जूठो, सुतक सबै बराबरी लाग्थ्यो । मीतलाई सहयोग गर्नुपर्छ, धोका दिए पाप लाग्छ भन्ने मान्यता थियो । मीतबाट सहयोग लिन अत्यन्तै सजिलो हुन्थ्यो । यही कारणले पनि बीपी आफू भन्दा ५–६ वर्ष जति जेठा नन्दिप्रसादसँग मितेरी साइनो जोड्न प्रेरित भएको हुनु पर्छ ।

पढाइ चलिरहेकै वेला नन्दिप्रसाद पराजुली चन्द्रगढीमा खरदार जागीरे भए । दुःखको समयमा साथी खरदार भएपछि बीपीलाई आर्थिक सहयोग पनि मिल्न थाल्यो । खरदार छँदा नन्दिप्रसादले झापामा ९०० बिघा जग्गा किनेका थिए । अरू ६ सय बिघा जतिको जग्गा बैना गरेका थिए । चन्द्रगढीमा छँदै, १९९३ साल चैतमा, नन्दिप्रसादकी एकमात्र छोरी नन्दिकाको जन्म भएको थियो । यसैबीच सुब्बामा बढुवा भई उनको धनकुटा सरुवा भयो । प्रखर राजनीतिक चेतना भएका नन्दिप्रसादले त्यो मौका छोपेर धनकुटा, भोजपुर, तेह्रथुम, संखुवासभा जिल्लाका मानिसहरूमा गोप्य तवरमा राणाविरोधी भावनाको बीजारोपण गरेका थिए । त्यसबेला झापामा औलोको विगविगी थियो । औलोकै कारण, नन्दिका २ वर्ष पनि नपुग्दै उनकी आमाको १९९४ सालमा र नन्दिप्रसादको १९९५ सालमा मृत्यु भयो । यसरी बीपीले बाल्यकालदेखि यौवन अवस्थासम्म साथ र सहयोग प्राप्त गरेका साथी गुमाउनु भयो । नन्दिप्रसादले किनेको जग्गा उनका भाइहरूले तिरो तिर्न नसकेका कारण गुम्यो । छोरी टुहुरी भइन् ।

मर्ने बेलामा नन्दिप्रसादले आफ्ना भाइहरूलाई ‘मेरी छोरीलाई दाजुकी छोरी नभन्नू र डोको बोक्ने ठाउँमा बिहा नगर्दिनू’ भनेका थिए । तर भनेजस्तो के हुन्थ्यो ? आमाले पालेको, दाजुभाइ एवं बाबु नभएको, नन्दिका भन्दा सवा दुई वर्ष कान्छो, एक्लो केटासँग १२ वर्षमै (२००६ साल वैशाखमा) उनको बिहा गरी दिए । १९९६ साल असारमा जन्मेका बेहुला गणेशप्रसाद नेपाल त्यसवेला नौ वर्ष पूरा भएर दश वर्षमा हिंड्दै थिए । धनकुटा चुङवाङको मार्गा भन्ने ठाउँमा दिइएकी नन्दिका बिहा भएको दुई महीना पछि साउने पानी छल्न केही समय माइत बस्न पाइन् । त्यसपछि उनको कडा बुहार्तन शुरू भयो । पहाडको गाउँमा गाइ वस्तु, बाख्रा पाठा, उकालो ओरालो, वन जंगल, घाँस दाउरा, ढोको नाम्लो गर्नु सामान्य कुरा भए । बुहारीले राती ३ बजे उठेर ढिकी जाँतो गर्नुपथ्र्यो । बेलुका सासू, श्रीमान, नन्द र आमाजुको गोडामा चिल्लो लगाउनुपथ्र्यो । त्यति मात्र भए त हुन्थ्यो । ढङ्ग नभएकी भनेर मरणासन्न हुने गरी कुटाइ खानुपथ्र्यो, साथै बुहारीलाई अघाउँजी खाना समेत दिंदैनथे ।

नन्दिकाले भोको पेट लिएर डरले थरथरी काम्दै दिन काटेकी छे भन्ने कुरा माइतीमा काकाहरूले थाहा पाए । उनलाई माइतीले त्राण देलान् भन्ने आस थियो । तर आमाबाबु नभएकी टुहुरीलाई कसले दया गर्ने ? ‘अरुण नदीमा हाम फालेर मर्, तर घर खान सकिनँ भनेर अरुण तरेर नआउनू’ भनेर खबर पठाए । दया माया गर्ने कोही नभएपछि उनी आज मार्ने हुन् कि भोलि मार्ने हुन् भन्ने डर पालेर नारकीय जीवन जिउन बाध्य भइन् । यसैबीच समय क्रममा छोराछोरी भए र सौताको प्रताडना समेत खेप्नु प¥यो । त्यसपछि त रातदिन आँसुका धारा बगाउँदै छोराछोरीको निरीह मुख हेरेर मर्न नसकेर बाँच्नु बाहेक केही रहेन ।

आफ्ना मीत नन्दिप्रसादकी एक्ली छोरी टुहुरी भएको खबरले बीपीलाई व्यथित बनाएको थियो । उहाँ छोरीलाई आफैंसँग राखेर हुर्काउन चाहनुहुन्थ्यो । तर राजनीतिक व्यस्तताले गर्दा छोरीलाई भेट्ने अवसर पाउनुभएको थिएन । यसैबीच २००६ साल असार ताका बीपी पूर्वमा धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा तर्फ राणाविरोधी भावना जगाई प्रजातान्त्रिक आन्दोलनको लागि जन समर्थन जुटाउने र छोरीलाई पनि भेटी आफैंसँग लिएर आउने उद्देश्यका साथ गोप्य अभियानमा निस्कनु भएको थियो । ती क्षेत्रहरूमा नन्दिप्रसादले धनकुटामा जागिर खाएको वेला १९९४–९५ सालतिरै राणाविरोधी भावनाको बीजारोपण गरिसकेका थिए । उनले प्रभावित पारेका मानिसहरूलाई भेटेपछि बीपीलाई आफ्नो अभियान अघि बढाउन निकै सहज भयो । उहाँले तेह्रथुममा पुगेर तेजमान तुम्बाहाम्फे लगायतलाई नेपाली कांग्रेसको सदस्य बनाउनु भयो । त्यसपछि भोजपुर पुगेर अरू धेरैलाई कांग्रेसको अभियानमा लाग्न प्रेरित गर्नुभयो । त्यहींबाट उहाँले छोरीको भर्खरै बिहा भइसकेको र उनको घर चुङवाङको मार्गा भन्ने ठाउँमा रहेको जानकारी प्राप्त गर्नु भयो । त्यसपछि उहाँ अरू धेरै गाउँमा पुग्नु भयो र जनतामा राणाविरोधी भावना जागृत गर्दै आर्थिक संकलन पनि गर्नु भयो । गाउँका ठूलाबडा, किसान, युवा, केटाकेटी आदि सबैलाई राणा शासनको विरोध र नेपाली काग्रेसको पक्षमा पार्न उहाँले बेग्लाबेग्लै जुक्ति अपनाउनुु भएको थियो । त्यसबेला यस्तो काम गर्नु अत्यन्तै जोखिमपूर्ण थियो, राणाका सेनाले थाहा पाए मारिन पनि सकिन्थ्यो । यस्तो जोखिम मोल्दै बीपी २००६ साल भाद्र महिनामा छोरी भेट्न धनकुटा चुङवाङ मार्गामा आइपुग्नु भयो ।

मार्गामा बीपी तुलसीप्रसाद नेपालको घरमा ९ दिन बस्नु भएको थियो । उहाँसँग अरू दुई जना पनि थिए । तुलसीप्रसाद गणेशप्रसाद नेपालका जेठाबा थिए । गणेशप्रसाद ४ वर्षका छँदै उनका बुबा ध्रुवप्रसाद नेपाल (तुलसीप्रसादका माइला भाइ) को निधन भइसकेकाले तुलसीप्रसाद नै उनीहरूका संरक्षक थिए । घर पनि सँगसँगै जस्तो थियो । तुलसीप्रसाद समाजमा प्रतिष्ठित व्यक्ति थिए । त्यहाँ बीपीको अभियानलाई उनले निकै सहयोग पुर्‍याए । राणा शासन विरोधी आन्दोलनमा लागेका उनका कान्छा भाइ बेपत्ता भएका थिए (जसको आजसम्म पनि सास वा लास केही फेला पर्न सकेको छैन) । यसकारण पनि तुलसीप्रसाद राणाहरूको विरुद्धमा थिए र बीपीलाई भेट्दा उनलाई ढुङ्गा खोज्दा देउता मिले जस्तो भएको थियो । नयाँ पुस्तामा राणा विरोधी भावना जगाउन उनी बीपीकै सल्लाह सुझावमा मार्गामा स्कूल खोल्न प्रेरित भएका थिए । तत्कालीन अवस्थामा खुल्लमखुल्ला स्कूल खोल्न सम्भव थिएन । त्यसैले बीपीले तुलसीप्रसादका साइँला भाइ अग्निप्रसादको गाईगोठमा गाउँका केटाकेटी भेला गरी दैनिक बिहान पढाउने क्रमको शुरुवात गर्नुभएको थियो । बीपी गृहमन्त्री भएपछि २००८ सालमा चुङवाङमा भारती मा.वि. नामले स्कूल खोलियो । पछि बीपी प्रधानमन्त्री भएको बेलामा २०१७ सालमा मार्गामा पनि स्कूल खोलिएको थियो । अहिले सो स्कूल जनकल्याण मा.वि.का नामले १२ कक्षा सम्म सञ्चालनमा रहेको छ । बीपीले स्कूल खोल्न प्रेरित गरेको र शुरूमा आफैंले गाईगोठमा कक्षा चलाएको प्रसंग तुलसीप्रसादले यो पंक्तिकारलाई सुनाउनु भएको थियो ।

२००६ साल भाद्रमा बीपीसँग गाईगोठमा पढ्ने विद्यार्थीहरूमा गणेशप्रसाद नेपाल पनि थिए । गणेशप्रसादको भनाइ अनुसार, गाईगोठको भित्रपट्टि लगेर ढोका बन्द गरेर पढाउँथे । पढुन्जेल/पढाउन्जेल बाहिर निस्कन पाइँदैनथ्यो । पढ्ने विद्यार्थी गाउँकै केटाकेटी थिए । उहाँ भन्नुहुन्थ्यो—  कहिलेकाहीं त लगभग २५–३० जनासम्म भेला हुन्थ्यौं । गोठभित्र राणा शासनको ज्यादती र नेपाली कांग्रेसको योगदानको बारेमा पढाइन्थ्यो । पढाइ सकेर हुरुरु बाहिर निस्कँदा ‘नेपाली कांग्रेस जिन्दावाद, राणाशाही मुर्दावाद’ भन्दै कराउँदै निस्किन्थ्यौं । त्यो बेला मकै भाँचेर बारीमा मकैका ढोड मात्र थिए । तिनै ढोड हातमा लिएर ‘नेपाली कांग्रेस जिन्दावाद’ भन्दा उफ्रिदै ढोड ठाडो पार्ने र ‘राणाशाही मुर्दावाद’ भन्दा कस्सेर भुईंमा ढोडले कुट्ने गथ्र्यौं । दिउसो गोठालो जाँदा पनि ‘नेपाली कांग्रेस जिन्दावाद, राणाशाही मुर्दावाद’ भन्दै कराउँथ्यौं ।

बीपी छोरीलाई कस्तो घरमा विवाह गरी दिएछन् भनी हेर्ने बुझ्ने र छोरीलाई भेट्ने उद्देश्यका साथ मार्गामा गणेशप्रसाद नेपालको घर पत्ता लगाएर जानुभएको थियो । तर उहाँ मार्गा पुगेको वेला छोरी नन्दिका साउने पानी छल्न माइत गइसकेकी थिइन् । उहाँहरूबीच लुकामारी जस्तो भयो र बीपीको छोरीसँग भेट हुन सकेन । ज्वाईं गणेशप्रसाद नेपाललाई बीपीले भेट्नु भयो र चिन्नु पनि भयो, साथै पढाउनु पनि भयो । तर १० वर्ष उमेरका बालक गणेशप्रसादलाई बीपीले म तिम्रो ससुरो हुँ भनेर चिनाउनु भएन, अनि गणेशप्रसादले पनि गाईगोठमा पढाउने पाहुना आफ्नो ससुरा पर्नुहुन्छ भन्ने थाहा पाउनु भएन । ‘त्यो कुरा त मैले धेरै पछि मात्र थाहा पाएको’ भनेर उहाँले भन्नु हुन्थ्यो । २०३९ साउनमा बीपीको निधन भए पश्चात् गणेशप्रसाद नेपालले आफ्ना आमाबुबाको श्राद्ध गर्दा नन्दीप्रसादसँगै बीपीलाई पनि तर्पण दिनु हुन्थ्यो ।

बीपी ९ दिन मार्गामा बस्ता राणाका सेनाले बीपी त्यहाँ छन् भन्ने थाहा पाएछन् । उहाँलाई पक्रिन १० औं दिनको बिहान रिमरिम उज्यालो पनि नहुँदै, बीपी ओछ्यानमा नै भएको बेलामा, राणाका चारजना सैनिक तुलसीप्रसाद नेपालको घरमा आइपुगेछन् र बाहिर रुँगेर बसेका रहेछन् । बेलुका घरको दैलो लगाएर सुतेका तुलसीप्रसादले एकाबिहानै घरबाहिर गुनगुन आवाज सुनेर दैलो खोल्दा सैनिक देखेपछि कुरा बुझिहालेछन् । अनि ‘अँध्यारो छ हजुर, यता सिकुवामा बसौं, म ओछ्याउने ल्याउँछु है हजुर’ भनेर घरभित्र पसेछन् । भित्र बीपीलाई त्यसबारे जानकारी गराई एउटा राडी बोकेर ‘उज्यालो हुन लाग्यो, उठ है’ भन्दै घरका परिवारलाई कराउँदै बाहिर निस्केर सैनिकलाई राडी ओछ्याई दिएछन् र ‘हजूरहरू यता बसी बक्सियोस्’ भन्दै बसाएछन् । अनि बाहिरबाटै ‘ए बुहारी, छिटो पानी लिएर आएर साहेबहरूलाई मरिचपानी बनाऊ’ भनी कराएछन् । यता सिपाहीहरू बीपीलाई पक्कापक्की पक्रने तम्तयारीमै थिए । तुलसीप्रसाद ‘हजूरहरू यति राती कहाँबाट पाल्नुभयो ?’ भनी नजाने नबुझे जस्तो गरी सोध्दै उनीहरूलाई अलमल्याई बसेछन् ।

यसैबीच तुलसीप्रसादसँग पहिले नै सल्लाह भए अनुसार, बीपी गणेशप्रसादकी आमाको सारी लगाई घुम्टो हालेर र माटोको गाग्रो बोकेर बाहिर निस्कनु भएछ । बिस्तारै दैलोबाट निस्केका बीपीलाई सेनाले नियाल्न लाग्दा तुलसीप्रसादले उनीहरूको ध्यान मोड्न ‘छिटो पानी लिएर आइहाल है बुहारी’ भनेछन् र ‘ए गणेश, अगेनोमा छिटो आगो बाल्, तेरी आमा पानी लिन गइसकी, मरिचपानी पकाउनु पर्छ’ भन्दै कराएछन् । बुहारी नै पँधेरोमा पानी लिन गएकी भन्ने विश्वासमा पारी उनले राणाका सैनिकलाई शंका गर्ने अवस्था नै सिर्जना हुन दिएनछन् । यसरी बीपी त्यहाँबाट निस्केर सल्लाह भए अनुसार दालबारी दाइ (केएल शर्मा) को घरमा लुकेर बस्नुभएछ । यता घरमा रहेका अरू २ जना चाहिं तुलसीप्रसादले सेनालाई मरिचपानी खुवाई खसी काटी भात पकाउने बन्दोबस्त गर्दै गर्दा, उनको संकेत पाएपछि पछाडिको झ्यालबाट हाम फालेर भागेछन् ।

राणाका सैनिकहरू भने बीपी त्यही घरभित्र रहेको विश्वासमा परेकाले ‘कतिबेर सम्म लुकेर बस्दा रहेछन्, दिसा पिसाब गर्न त बाहिर निस्कनै पर्ला, त्यही बेलामा पक्रने’ भन्ने सल्लाह गर्दै, बीपी बोलेको आवाज सुनिन्छ कि भनी कान ठाडो पारेर र आँखा चनाखो पारेर बसेछन् । यता तुलसीप्रसादले सेनालाई टन्न मासुभात ख्वाएछन् र ‘मेरो घरको कामको लागि खेताला खोज्नु छ, एक–डेढ घण्टामा आउँछु, हजूरहरू आराम गरेर बस्दै गर्नुहोस्’ भनी बाहिर निस्केछन् । सेना पनि बीपी घरभित्रै छन् भन्ने विश्वासमा घर रुँगेर बसेछन् । तुलसीप्रसाद भने सम्पूर्ण व्यवस्था मिलाई बीपीहरूलाई त्यसै दिन धरानतर्फ बाटो लगाई घर फर्केछन् ।

त्यतिन्जेलसम्म पनि राणाका सेना घरमै रुँगेर बसेका रहेछन् । तुलसीप्रसादले तिनलाई बेलुका पनि खानपीन गराएर घरभित्रै सुताएछन् । त्यहाँ बीपीलाई फेला पार्न नसकेपछि र घरमा घरका जहान बाहेक अरू कोही नभएको विश्वास भएपछि तुलसीप्रसादको मेजमानबाट खुशी भएका राणाका सेनाले भोलिपल्ट बिहान भनेछन्, ‘हामी बीपीलाई पक्रन आएका थियौं । बीपी यो घरमा बसेका छन्, यहाँ राणा सरकार विरोधी अभियान सञ्चालन भैरहेको छ भन्ने हामीलाई सूचना थियो । हामीले यहाँ बीपीलाई भेटेको भए तपाईंलाई पनि पक्रन्थ्यौं । तर यहाँ बीपी बसेको हैन रहेछ, सूचना गलत पायौं । गलत सूचना दिनेलाई कारवाही हुन्छ ।’ यसो भनेर उनीहरू खुशीसाथ विदा भएछन् । यसरी बीपीलाई मार्गा चुङवाङबाट सुरक्षित रूपमा आफ्नो घरवाट बाटो लगाएको कथा पंक्तिकारलाई तुलसीप्रसादकी आमा कृष्णमाया नेपालले सुनाउनु भएको थियो । नन्दिका पनि प्रसंग पर्दा यो कथा सुनाइ रहनुहुन्छ ।

यसरी मार्गाबाट बीपी लिसुम्बुका चारखोले भोटे (त्यसबेला तामाङलाई भोटे भन्ने चलन थियो) ३ जनालाई भरिया बनाएर धरान हुँदै इटहरी, तरहरा तर्फ लाग्नुभयो । ती चारखोलेका सन्तान आज पनि कांग्रेसका भरिया नै छन् । बीपीलाई तरहरा पु¥याउन तुलसीप्रसाद नेपालले गणेशप्रसाद नेपाल सहित ५–६ जनालाई साथ लगाएर पठाएका रहेछन् । बीपीको सुरक्षालाई दृष्टिगत गरेर उनीहरू बीपी सँगसँगै नहिंडी कहिले अगाडि कहिले पछाडि गर्दै तरहरा पुगेछन् । तरहरामा एकातर्फ बीपी र उहाँका साथी लुकेर बसेछन्, अर्कातर्फ गणेशप्रसाद सहित १०–१२ जना जति झुरुप्प भएर सबैले देख्ने गरी बसेछन् । बीपी लाई लिन तरहरामा जीप आइसकेको रहेछ । त्यहाँ राणाका सेनाले थाहा पाएर बीपीलाई पक्रन खोजेछन् । उनीहरू गणेशप्रसादहरू भएतिर आएछन्, त्यसैवेला बीपी आफ्ना साथीहरू सहित जीपमा बसेर खेतैखेत आली नाघ्दै विराटनगर तर्फ लाग्नु भएछ । ‘केही बेर त राणाका सेनाले बीपीलाई खेदे, तर जीप खेतको आली नाघ्दै कुदेपछि उनीहरू फर्के’ भनी गणेशप्रसाद नेपालले पंक्तिकारलाई सुनाउनु भएको थियो । तरहरा नजिक हलगडामा उनीहरूको खेती थियो । बीपी फर्केपछि गणेशप्रसाद जेठाबाको आदेश बमोजिम खेतीको हेरचाह गर्न त्यहीं बस्नुभयो ।

बीपी २००७ सालमा गृहमन्त्री हुँदा फेरि भोजपुर जानु भयो । नन्दिप्रसादका कारण उनका भाइ भीमप्रसाद पराजुलीसँग उहाँको पहिले देखिकै चिनजान थियो । भोजपुरमा बीपीले भीमप्रसादलाई भेट्नु भयो र छोरीको खबर बुझ्नु भयो । त्यसबेला बीपीले भीमप्रसादलाई ‘छोरीलाई बिहे गरेर दिई हाल्नु भएछ । यति चाँडै बिहे नगर्दिनु पर्थ्यो । मैले उनलाई सँगै लाने विचार गरेको थिएँ । जे भयो भैगयो, राम्ररी हेरविचार गर्दै गर्नु होला । केही सहयोग आवश्यक परेमा मलाई खबर गर्नुहोला’ भन्नुभएको थियो । भीमप्रसाद पराजुलीका भानिज नरनारायण घिमिरे र यो पंक्तिकार भीमप्रसादलाई भेट्न जाँदा उहाँले यो घटना सुनाउनु भएको थियो । (बेलायतका वर्तमान राजदूत चन्द्र घिमिरेका बुबा नरनारायण घिमिरे हाल ९८ वर्षमा धरानमा जीवितै हुनुहुन्छ ।) त्यसवेला बीपीले भीमप्रसाद पराजुलीलाई उनको जागीर भोजपुरमा नै थामिदिएको कुरा महाभीम महाकाव्यमा गोविन्दप्रसाद घिमिरेले पनि उल्लेख गर्नु भएको छ ।

बीपी २०१७ सालमा जेल पर्नुभयो र २०२५ सालमा जेलबाट निस्केपछि भारत निर्वासनमा जानुभयो । तर विदेशमा पनि बीपीको राजनैतिक यात्रा रोकिएको थिएन । भारतको दार्जीलिङ्गमा माइला बाजे भन्ने कम्युनिष्टका ठूला नेता थिए । उनीसँग बीपीको राम्रो सम्बन्ध थियो । दार्जीलिङ्गतिर आउँदा जाँदा उहाँ माइला बाजेकैमा बस्ने गर्नुहुन्थ्यो । २०३२ साल तिर (साल यकिन भएन) बीपी सिलिगुडीमा एक कार्यक्रममा जानु भएको रहेछ । त्यहाँ माइला बाजे पनि आएका रहेछन् । राती माइला बाजेसँगै बस्ने अवसर मिलेछ । माइला बाजेकोमा गणेशप्रसाद नेपाल पनि आउजाउ गर्दा रहेछन् । कुरैकुरामा प्रसङ्गवश माइला बाजेले बीपीलाई त्यो कुरा सुनाएछन् । त्यसपछि बीपीले ‘धनकुटाका गणेशप्रसाद नेपाल मेरा ज्वाईं हुन् । उनका ससुरा नन्दिप्रसाद पराजुली मेरा मीत हुन् । छोरी टुहुरी छन् । उनीहरूको आफ्नो भनेको म नै हुँ । मेरो उहाँलाई भेट्ने ठूलो इच्छा छ । यहाँ आउनुभयो भने जसरी भए पनि मलाई भेट्नु अरे भनेर भन्दिनू’ भनी माइला बाजेलाई खबर छोड्नुभएछ । पछि गणेशप्रसाद नेपाल माइला बाजेकोमा जाँदा ‘बीपीलाई तपार्इंका ससुरा नन्दिप्रसादको ठूलो गुन छ अरे । उहाँ बीपीको मीत हुनुहुँदो रहेछ । तपाईं बीपीको ज्वाईं हो अरे । छोरीज्वाईंलाई भेट्ने ठूलो इच्छा छ भनेर बीपीले भन्नु हुन्थ्यो । जसरी भए पनि एक पटक मलाई भेट्नू भनेर बीपीले खबर छोडेको छ । ज्वाईंछोरी नै गएर बीपीलाई भेट्नुहोला’ भनी माइला बाजेले गणेशप्रसाद नेपाललाई भनेका रहेछन् । यो घटना सुनाउँदै ‘तर त्यसबेला टेलिफोन मोबाइलको चलन थिएन, त्यसैले बीपीलाई सम्पर्क गर्न भेट्न सकिएन’ भनेर गणेशप्रसाद नेपालले पंक्तिकारलाई भन्नुहुन्थ्यो । वास्तवमा गणेशप्रसादले हलगडामा बस्तै गर्दा अर्को विवाह गर्नुभएको थियो र नयाँ श्रीमती लिएर चूपचाप भारत पस्नुभएको थियो । उहाँ सिलिगुडीमा बस्नु हुन्थ्यो र त्यहाँ आफूले दोस्रो विवाह गरेको कसैलाई थाहा दिनुभएको थिएन । एउटी श्रीमती (नन्दिप्रसादकी छोरी) छँदाछँदै उनलाई छाडेर अर्को विवाह गरेकाले पनि बीपीलाई मुख देखाउन गणेशप्रसादलाई गाह्रो भएको हुनुपर्छ । जे होस्, छोरीज्वाईंलाई नै नभेटी बीपी परलोक हुनुभयो ।

प्रखर राजनीतिक चेतका नन्दिप्रसादसँग मातृकाबाबुको पनि निकटता थियो । पछिसम्म पनि उहाँ नन्दिप्रसादको कुरा गर्नुहुन्थ्यो । भोजपुरबाट भेट्न आएकाहरूलाई ‘नातामा भाइ परे पनि नन्दिप्रसाद मेरो पनि घनिष्ठ साथी थियो’ भन्नुहुन्थ्यो । छोरी २ वर्ष पनि नपुग्दै नन्दिप्रसाद र उनकी पत्नीको मृत्यु भएको कुरा उहाँलाई राम्ररी नै थाहा थियो । त्यसैले ‘ती टुहुरी छोरी कता होलिन् ? के गर्दै होलिन् ? एकपल्ट भेट्न पाए हुन्थ्यो’ भनेर मातृकाबाबुले बारम्बार सोधीखोजी गर्नु हुन्थ्यो भनेर नन्दिप्रसादका भाइ कृष्णप्रसाद पराजुलीले भन्नुहुन्थ्यो । तर बीपी मात्र होइन, मातृकाले पनि ती छोरीलाई भेट्न पाउनुभएन । १२ वर्षकै उमेरमा विवाह गरेर पठाइएकी उनले पनि उहाँहरूलाई भेट्न सकिनन् । तर, आजसम्म पनि त्यही बीपीको सम्बन्धका कारण नन्दिप्रसादका दाजुभाइका सन्तान एवं ती टुहुरी छोरीका सन्तान सबै कांग्रेस नै छन् । नन्दिका नामकी ती छोरी आज पनि बीपी बाबुका छोराहरू (भाइहरू) लाई भेट्ने आसमा धरानमा जीवितै छिन् ।

बीपीलाई बीपी बनाउन उहाँका मीत नन्दिप्रसाद पराजुलीको पनि योगदान थियो । बीपीलाई हर तरहको साथ सहयोग गर्ने, राणा विरोधी आन्दोलनको पृष्ठभूमि तयार गर्न योगदान पुर्‍याएका यस्ता पात्र इतिहासबाट हराइनु हुँदैन । उनकी ती टुहुरी छोरी र तिनका टुहुरा सरह भएका छोराछोरी कांग्रेसको त के कुरा, बीपीका छोराहरूको स्मरणमा समेत नहुनु विडम्बना मान्नु पर्दछ । मीत–मीतका सन्तान सहोदर दाजुभाइ, दिदीबहिनी सरह मानिन्छन्, परिवार एउटै जस्तो मानिन्छ । तर दुःखका दिनमा बीपीलाई भरथेग गर्ने नन्दिप्रसादका सन्तानले दुःख भोगी रहँदा बीपीका सन्तानहरूले उनीहरूलाई हेरविचार गर्ने त के कुरा, नचिन्नु र सम्झना पनि नगर्नु जस्तो विडम्बना के हुन सक्छ ? ९० वर्षकी दिदीलाई एकपल्ट भेट्न समेत नआउनु जस्तो दुःखलाग्दो कुरा के हुन सक्छ ? यसबाट समाजमा कस्तो सन्देश प्रवाहित होला ? समाजले कस्तो शिक्षा ग्रहण गर्ला ?

(पूर्व प्रकाशित यो सामग्री थप जानकारी समावेश गरी लेखकद्वारा परिमार्जित गरिएपछि पाठकको रुचिलाई ध्यानमा राखेर पुनः प्रकाशित गरिएको हो । सं.)