नयाँ वर्ष उल्लास, उमङ्ग, उत्साह र उन्नतिको नवीनता हो । सालको शुरुवात विचारको जन्म पनि हो । नयाँ वर्ष हिजोको बिउ रोपेर आजको बिरुवा उमार्ने उर्वरता हो ।

नयाँ वर्ष मनाउने सन्दर्भमा हामी विश्वमै फरक छौँ । हामी वर्षमा धेरैपटक  नयाँ वर्ष मनाउँछौँ  । विक्रम संवत्को नयाँ वर्ष वैशाख एक गते शुरु हुन्छ । वसन्त ऋतुमा पर्ने नयाँ वर्षमा रुखमा पालुवा, फूलमा सुगन्ध, हावामा शैत्य, आवाजमा मोहनी, मनमा  उमङ्ग र  सोचमा आशा हुन्छ । राणा प्रधानमन्त्री चन्द्रशमशेरका पालादेखि नेपालमा वैशाख १ गते नयाँ वर्ष मनाउन थालिएको हो । विक्रमादित्यले चलाएको मानिने यो संवत् किन चलाइयो भन्नेमा इतिहासकारहरू एक मत नभए पनि यो नेपालमा आधिकारिक संवत्का रूपमा रहेको छ ।

सौरमानअनुसार सूर्य मेष राशिमा प्रवेश गरेपछि नयाँ वर्ष फेरिन्छ । नयाँ वर्षलाई  धर्म र संस्कृतिसँग जोड्ने प्रचलन छ  । नयाँ वर्षमा सङ्घीय राजधानी शहरमा विभिन्न जात्रा एवम् पर्व मनाइन्छ । यहाँ बालाजु बाइसधारामा स्नान गरी जामाचो बौद्ध स्तूपको दर्शन गर्नेको भीड हुन्छ ।  विष्णुमती नदीको मुहान सपनतीर्थमा स्नान गरेर मनोशान्ति प्राप्त गर्नेको शान्तभाव देखिन्छ ।  भक्तपुरको बिस्का र ठिमीको जिब्रो छेड्ने जात्रामा रमाउने ठूलै सङ्ख्यामा हुन्छन् । वैशाख सङ्क्रान्तिको नवीनता बोकेर पाइला चाल्नेको सांस्कृतिक विश्वास  पनि प्रगाढ देखिन्छ ।

सूर्य मानव जातिसँग प्रत्यक्ष सम्बन्ध रहेको जीवनाधार हो । सूर्यलाई नै आधार मानेर मनाइने नयाँ वर्ष धार्मिक र सामाजिक प्रचलनको उत्साहपूर्ण  सञ्चार हो ।  परम्परा, धर्म, संस्कृति र सभ्यता  रक्षाको विश्वास  हो । पूजाआजा, शुभकामना आदानप्रदान, खानपान, भेटघाट, वनभोज,  नयाँ कपडा फेराइ यसका माध्यम र सौन्दर्य हुन् । नयाँ वर्ष आर्थिक सामाजिक र सांस्कृतिक विकासको प्रेरणा हो । मानिसलाई नयाँ गन्तव्य देखाएर अघि बढाउने प्रेरक हो ।

हामी अर्को पनि नयाँ वर्ष मनाउँछौँ । शङ्खधर साख्वाले शुरु गरेको  नेपालको मौलिक नेपाल संवत् भक्तपुरका राजा राघवदेवको आज्ञामा चलाइएको भनिन्छ । चन्द्रशमशेर राणाको पालासम्म औपचारिक रूपले चलेको यो संवत् पुनः औपचारिक बनेको छ  । विक्रम संवत्को कात्तिक शुक्लपक्ष प्रतिपदाका दिन न्हुदँ मनाइन्छ । यो संवत् चन्द्रमानअनुसार चल्छ र एक औँशीबाट अर्का औँशीसम्ममा एक चन्द्रमास हुन्छ । यो नयाँ वर्ष भेटघाट, खानपान र र्‍यालीको पर्याय बनेर हाम्रा मनमा छाएको छ । न्हुदँ भिन्तुना मनको कुनामा पसेको छ ।

ल्होसार अर्को नयाँ वर्षको थालनी हो ।  नेपालमा तामाङ, शेर्पा, गुरुङ, थकाली जातिले नयाँ वर्षको रूपमा ‘ल्होछार’ मनाउँछन् । ‘ल्होछार’ मा ‘ल्हो’ साल र ‘छार’ नयाँ हो । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुँगुरकोसम्मानसहित  यो नयाँ वर्ष मनाइन्छ । हामी  तमु, सोनाम र ग्याल्पो लोसारमा भेटघाट र खानपानमा रमाउँछौँ  अनि आफूलाई गर्वशाली ठान्छौँ ।

हामी ग्रेगोरियन क्यालेन्डरको  जनवरी १  लाई इस्वी संवत्‌को नयाँ वर्षका रूपमा मान्छौँ । शुभकामनाको आदानप्रदानसहित यो धूमधामका साथ मनाइन्छ ।

इस्लामी पञ्चाङ्गअनुसार चन्द्रमानमा आधारित हिजरी संवत् पनि हामी त्यत्तिकै रमाउँछौँ  । हजरत मुहम्मद मक्काबाट मदिना फर्किएको दिनदेखि हिजरी संवत् शुरु भएको मानिन्छ । मुहर्रम, सफर, रबी अल अब्बल, रबी अल थानी, जुमाद अल उला, जुमाद अल थानी, रज्जब, शआबान, रमजाÞन, शआबान, धू अल किदाह र धू अल हिज्जाहमा यो संवत् सम्झँदै हाम्रो मन उद्वेलित हुन्छ ।

संसारमा नयाँ वर्ष मनाउने परम्परा समयको गणनासँगै भएको हो । हरेक देशमा नयाँ वर्षलाई स्वागत गर्ने आफ्नै संस्कृति र तरिका हुन्छन् । छिमेकी भारतको बङ्गालमा देवीदेवताको पूजा गरी नाचगान र हाँसखेल गरेर नयाँ वर्ष मनाइन्छ भने कुमाउँ-गढवालमा पहेँलो लुगा लगाई बन्धुलाई उपहार दिएर वर्ष मनाइन्छ  । आसाममा पशुको पूजा गरेर, पन्जाबमा झाँगड नृत्यसहित गणेश र लक्ष्मीको पूजा गरेर र  राजस्थानमा मिठा परिकार खाएर नयाँ वर्ष मनाइन्छ ।

चीनमा नयाँ वर्षका दिन टाढा गएका सदस्य र माइत आएका छोरीहरू परिवारमा जम्मा भई ‘रेयुनिनल डिनर’ गरिन्छ । यस दिन आफ्ना हजुरबुबा हजुरआमा, आमाबुबा साथीहरू र नातेदारसँग भेटघाट गरिन्छ । बच्चालाई भाग्यले दिएको विश्वास मानिने पैसा राखिएको रातो कागजवाला प्याकेट दिइन्छ । रातो रङका नयाँ कपडा लगाएर घुम्न जानु, म्यान्डारिन सुन्तला दिएर शुभकामना साटासाट गर्नु नयाँ वर्षमा गरिने चीनियाँ संस्कार हो । संस्कारलाई चीनियाँहरू पहिचान ठान्छन् ।

जापानमा नयाँ वर्ष मनाउने ‘सोगात्सु’ले नयाँ वर्ष ‘गानटन’ मनाउँछन् । यो दिन ‘ओसेची रोरी’ खाएर, ‘याकुरी’ खुसियाली मनाएर र  रातको १२ बजे १ सय १८ पटक मन्दिरको घन्टी बजाएर नयाँ वर्ष मनाउने चलन छ । यहाँ नयाँ वर्षमा नयाँ जलका रूपमा शुद्ध पानी पिउने, घरलाई हरिया बिरुवाले सजाउने, चङ्गा उडाउने, साना बालबालिकालाई अक्षरारम्भ गराउने, मान्यजनबाट आशीर्वाद लिने र पुरानो ऋण तिर्ने चलन छ ।

कोरियामा चामलको रोटी र रक्सी खाएर नयाँ वर्ष मनाइन्छ । यस दिन उमेर पुगेका युवायुवतीले बिहे गर्छन् ।  कार्यालय, पसल तथा डिपार्टमेन्टल स्टोर बन्द रहन्छन् । कुवेतमा नयाँ वर्षमा रातभरि दीपावली गरी शुभकामना आदानप्रदान गर्दै नाचगान गरिन्छ । मेक्सिकोमा नयाँ वर्षका दिन चर्चमा गएर रमाइलो गर्ने र  सामूहिक विवाह गर्ने चलन  छ ।

इन्डोनेसियाको नयाँ वर्ष ‘गोलुगान’ मा त्यहाँका मानिस नयाँ लुगा लाउने, मिठा परिकार खाने र आपसमा बधाई तथा शुभकामना व्यक्त गर्ने गर्छन्  । मङ्गोलियामा नयाँ वर्षका दिन रातभरि जागा रहेर आफ्ना आमाबाबु तथा मान्यजनबाट आशीर्वाद लिने र मिठा परिकार खाने गरिन्छ  ।

जर्मनीमा नयाँ वर्षका दिन पानीले भरिएको भाँडामा सिक्का खसालेर भविष्यवाणी गर्ने चलन छ । पोर्चुगलमा साँढे जुधाएर रमाइलो गर्ने, शहरभरि धुनी जगाउने र  पटाकाबाजी गर्ने प्रचलन छ ।

बेलायतमा ३१ डिसेम्बरको राती झिलिमिली बत्ती बाल्ने, रङ्गीचङ्गी लुगा लगाउने र रातको ठिक १२ बजे बढाइँ गरी नयाँ वर्षलाई स्वागत गर्ने चलन छ ।

भ्याटिकन सिटीमा नयाँ वर्षमा सेता परेवा उढाउने र चर्चमा ठुलो केक काटेर बाँड्ने चलन छ । स्पेनमा रातको १२ बजे अङ्गुर खाएर नयाँ वर्षको सुख र समृद्धिको कामना गरिन्छ ।

रुसमा नयाँ वर्षलाई ‘एस नोभिम गोडोम’का रूपमा स्वागत गरिन्छ ।  कागजमा मनले चाहेको इच्छा लेखेर एक गिलासमा मदिरा राखी जलाइन्छ र त्यो खरानी १२ बज्नुअगाडि नै स्याम्पेनमा हाली पिउँदा शुभ हुने विश्वास गरिन्छ ।

स्विट्जरल्यान्डमा जमिनमा आइसक्रिम खन्याएर भाग्य चम्किने र जीवनमा सफलता पाइने विश्वाससहित नयाँ वर्ष मनाइन्छ । थाइल्यान्डमा नयाँ वर्षलाई ‘नौरोज’का रूपमा  घरमा दियो बालेर दीपावली गर्ने, रङ्गीचङ्गी बनाएर घर सजाउने, गुम्बामा गएर प्रार्थना गर्दै शान्तिको कामना गर्ने  र एकअर्कालाई पानी छर्केर मनाउने चलन छ ।

ब्राजिलमा  गेडागुडीलाई पैसाको प्रतीक मानी खाने र यो खाँदा वर्षभरी शुभ हुने विश्वाससहित गेडागुडी खाएर नयाँ वर्ष मनाउने चलन छ । रोमानियामा  भालुजस्तो देखिने लुगा लगाएर नाच्दा दानबी शक्ति भाग्ने विश्वाससहित भालुजस्तो देखिने लुगा लगाएर नाच्दै नयाँ वर्ष मनाइन्छ ।

दक्षिण अफ्रिकामा आफ्नो घरको झ्यालबाट अनावश्यक फर्निचर फाली  नयाँ वर्ष मनाउने चलन छ । स्कटल्यान्डमा मध्यरातमा साथीको घरमा गएर शुुभकामना दिई नयाँ वर्ष मनाउने चलन छ ।

नयाँ वर्ष मनाउने अनेकौँ तरिका छन् तर संसारभर नयाँ वर्ष मनाइन्छ । आफ्नो रुचि, समय र साधनअनुसार फरक फरक तरिकाले नयाँ वर्ष मनाउन सकिन्छ ।

नयाँ वर्ष मनाउने मुख्य ठाउँ घरपरिवार हो । घरमा आफ्ना नातेदार र आफन्त बोलाई खानपान गरेर, रमाइलो खेल खेलेर, साथीहरूसँग कुनै रमाइलो कार्यक्रम राखेर, भेटघाट आयोजना गरेर र पुरानो सम्झनालाई  पुनस्मरण गरेर नयाँ वर्ष मनाउन सकिन्छ । नयाँ वर्षमा जाग्ने खालको रूख रोप्ने, चौतारो बनाउने, दान दिने, सेवा गर्ने काम पनि उत्तम हुन्छन् । यसले  मानवीय सम्बन्ध प्रगाढ बनाउँछ । मानवीय सम्बन्धलाई बलियो बनाउनु नयाँ वर्ष मनाउनुको सार्थकता हो ।

नयाँ वर्षको अवसर पारेर  ट्रेकिङ, पिकनिक वा नयाँ स्थानको भ्रमण गर्न सकिन्छ ।  नयाँ वर्षमा आफूलाई प्रेरित गर्न नयाँ लक्ष्य, योजना र सङ्कल्प सिर्जना गर्न सकिन्छ ।  यसले मानिसलाई प्रकृतिको काखमा पगेर रमाउन र प्रगति र उपलब्धिमा केन्द्रित हुन प्रेरित गर्छ ।

सामाजिक सांस्कृतिक कार्यमा सहभागिता  नयाँ वर्ष मनाउने अर्को तरिका हो ।  स्थानीय समुदायमा नयाँ वर्षको अवसरमा हुने सांस्कृतिक सामाजिक कार्यमा सहभागिता अनुभवलाई बढोत्तरी गर्ने आधार हो ।  यस समयमा साधना र ध्यान गरेर तनाव विसर्जन गर्न पनि सकिन्छ । मनको पुकारलाई सिर्जनाको रूप दिन सकिन्छ । नयाँ वर्ष आफूलाई शान्त पार्ने  र भविष्यको योजना बनाउने  उत्तम समय   हो । नयाँ वर्ष सिर्जना हो । सिर्जना अमर हुन्छ । म नयाँ वर्षमा शान्ति र मानवता सिर्जना गर्न चाहन्छु।