पुरानो पात झरेर रुखहरूमा नयाँ मुनामुजुरा पलाउँदै बिस्तारै हरियालीको बहार भित्रिँदा प्रकृतिमा नवजीवन प्रवेश हुन थाल्छ । चञ्चल चलायमान मेरो यात्राले गन्तव्यको खोजी गर्दा पाइलाहरू स्वतः कठीन जङ्घार छलाङ मार्न उद्दत हुन्छ । नयाँ वर्षका ऊर्जाशील किरणहरूले मृदु स्पर्श गर्दैगर्दा व्यतीत वर्षका सुखद दिनहरू सम्झिँदै म मन्द–मन्द मुस्कुराइरहेको हुन्छु ।

वर्ष २०८१ सालले अन्तिम अँगालो हाल्यो । उसले केही तिक्त सम्झनाहरू पुछ्दै गयो, केही मधुर मुस्कानहरू छाड्दै गयो । घडीको सुई जसरी रातको बाह्र बजाउँछ, ठीक त्यत्तिकै क्षण एउटा ढोका बन्द भयो र अर्को ढोका खुलेजस्तो लाग्यो– जीवनको निरन्तर यात्रामा । समयको खुड्किलामा ।

पछाडिबाट घामले अँध्यारो छोएजस्तो लाग्छ कहिलेकाहीँ, जब एक साल फेरिन्छ । मानौँ, समयको छायामा हामी आफैँ ढल्किन थाल्छौँ । तर २०८१ साल भने उज्यालो भएर आयो मेरो जीवनमा । मनको भित्तामा टाँसिएका धेरै सपना, विचार र चिन्तनहरू यसै साल लेखिए, प्रकट भए, छापिए । केही आफन्तहरूसँग गफझैँ लाग्ने हरफहरू बनेर, कतै हुलाकीले ल्याएका पत्रहरूजस्तै मिठास बोकेर । अटोग्राफका धेरै पुराना लगभग धूमिल यादहरू जस्तै दृश्य–मधुर स्मृति–अभिलेख बनेर । कुनै सम्झना जस्तै छुटेका, टुटेका, धमिला धब्बाहरू जस्तै ।

लेखन यत्तिसम्म मात्रै होइन, हिँडाइ र पढाइ पनि भोकको भोजन बनिरह्यो । कहिले पुराना किताबका प्रिय पानाहरू पल्टाएँ । जिब्रो फट्कार्दै कहिले नयाँ विचारहरूको पिरो कुरा चाखेँ । कतिपय पुस्तकहरू आँखा र मस्तिष्कको सन्धीमा बसे । सोध्ने, झक्झक्याउने अनि सहमति र असहमति दुबैको स्वाद दिने । मन परेको किताब पाउनु र पढ्नु भनेको नयाँ वर्ष जस्तै लाग्छ । नयाँ निबन्ध लेख्नु र त्यो छापिनु भनेको पनि नयाँ साल आगमनको हर्ष जत्तिकै खुशी लाग्छ ।

नयाँ सालमा प्रवेश गर्नु वास्तवमा पुरानो साललाई चटक्कै बिर्सिनु होइन । बरु त्यसबाट सकारात्मक पाठ सिकेर अझ नवीन प्रगतिको पाइला चाल्नु पनि हो । निवर्तमान वर्षका कमीकमजोरीहरूलाई सच्याउँदै नयाँ वर्षमा ऊर्जाशील किरणहरू भेला पार्नु छ । प्रगतिपथमा अझै सिँढीहरू चढ्दै उचाइ आरोहणमा सफलता भेट्नु छ । यात्रा जारी छ निरन्तर … !

यात्राले डोर्याउँदै हिमालको फेदीसम्म लग्यो । हिउँको थुप्रोमा पाइलाले जीवनको कथा कथ्यो । हिउँमा तीनबल्ड्याङ खाएर पनि मैले दुखाइको चोट सम्झिनँ । बरु त्यसले मलाई प्रकृतिसँग सन्निकट हुन प्रेरित गरिरह्यो । म हिमालसँग साँच्चै साक्षात्कार हुन पाएँ । आँखाभरि हिमालका गौरवमय स्तम्भ र पाइलाभरि हिउँका साम्राज्यमा मैले आफूलाई विलीन गराएँ । अनुभूतिका बग्रेल्ती बिस्कुनहरूमा फिँजिदै जिन्दगीको आयामहरूमा हिमाली सौन्दर्यको मुस्कान भेट्न पाएँ ।

लाग्छ, बितेको वर्षले मलाई धेरै दियो तर मैले केही दिन सकिनँ । मनभित्रको यात्रा झन् गहिरो भइदियो । नपुगेका गाउँहरू पुगेँ, भेटिन नसकेका अनुहारहरू भेटिए । पुराना सम्झनाहरूको थाङ्ना उघ्रिए, फेरि लेखिए– नयाँ भावनाको रङमा । अनुभूतिको फलझैं पाकेर । हिमाली गुराँसका फूलजस्तै सुन्दर रूप–रङमा सजिएर ।

यो वर्ष सिर्जनाको वर्ष रह्यो । सानोमा हेरेको जून आफ्नै अक्षरमा उदाउँथ्यो । टाढाका हिमाल आँखैमा भेट्न सकियो । कैयौँ खोलाखहरे, झरना हेर्दै कठीन उकालो चढियो । तेर्सो बाटोमा बुर्कुसी मार्दै हिँड्दा ओरालोले खुट्टा फतक्कै गलाउँथ्यो । पानी प्यासले प्याक्प्याक्ती हुँदा पनि आँखाको तृष्णा भने कति हो कति ?! यद्यपि मैले आफूलाई यात्रामा थाकेर बिसाइनँ । कलमले अक्षरका हरफसँगै आत्माको उज्यालो पनि कोरिरह्यो ।

अब २०८२ नयाँ साल घरक्क दैलो उघारेर भित्रिसकेको छ । अझ नयाँ बिहान लिएर, अझ प्रिय यात्राहरू बोकेर । मनमा एक होइन अनेक कामना छ । यो साल पनि मनले चाहेका कुरा कागजका पानाहरू लेख्न पाऊँ । देख्न नपाएका दृश्यहरू देखेर तिनलाई हृदयमा टिप्न पाऊँ । अनि आफूभित्रको मान्छेलाई अझ चिन्न, अझ गहिरो स्पर्श गर्न पाऊँ । सम्बन्धहरू गाढा बनेर जीवनमा सधैं झलमल्ल घाम लागिरहोस् । पानी पर्न नसकेर धुम्म धुम्मिएको अल्छीलाग्दो दिनजस्तो जीवन कहिल्यै कसैको नहोस् ।

साल फेरिएको छ । पात्रोले नयाँ मिति, तिथिको घोषणा गरेको छ । तर नयाँ वर्ष पात्रोको पाना फेरिने औपचारिकता होइन । यो मनको पखेटा फेरिने चिरबिजुली हो । यो साँच्चै नयाँ हुने चाहनाको माटोमा रोपिएको बीउ हो– जहाँ आशा उम्रन्छ, सपना फक्रन्छ, अनि जीवन फेरि अर्कोपटक निर्धक्क मुस्कुराउँछ । यात्रा त्यहीँ छ– सजग, संवेदनशील र सधैँ सिर्जनात्मक ।

२०८१ साल तिमी मेरो अनुभूतिहरूको क्यानभास थियौ । तिमीमा मलाई आँशु र हाँसोको रङ पोतेका थियौ । यात्रामा कुनै दिन तिमी अँध्यारो सुरुङझैं डरलाग्दो भयौ, कहिले उज्यालो बाटाझैं आशाप्रद । तर तिमी गयौ एक सुस्त आत्माजस्तो, जसले सबै कुरा भोगिसकेर बिस्तारै विदा माग्छ ।

अब हामी २०८२ सालको ढोकामा छौं । यो ढोकाभित्र एक बालकको उज्यालो अनुहार छ– अधुरो सपना पूरा गर्ने उत्सुकता, नयाँ बीउ रोप्ने आशा र फक्रने फूलहरूको सुगन्ध बोकेर आएको वसन्तझैं ताजा । यसमा जीवनका ऊर्जाशील किरणहरूले चुम्न बाँकी छ । यसमा प्रगतिको पाइला चाल्न बाँकी नै छ । यात्रा भर्खर बामेसर्न लागिरहेको छ । यो बालक नयाँ वर्षलाई हामीले नै जागरुक पार्नु छ । हामीले नै सक्रिय जीवनधामको यात्रामा हिँड्नु र हिँडाउनु छ ।

त्यसैले २०८२ साल तिमी हाम्रा नयाँ संकल्पहरूका बीउ हौ । तिमीले हाम्रो आलस्यमाथि ऊर्जा उमारिदिनुपर्छ । तिमीले विगतका गल्तीहरूलाई सिकाइको पुस्तकमा परिणत गर्न सक्छौ । तिमी हामीलाई फेरि विश्वास दिलाऊ कि जीवन केवल समयको गणना होइन, भावनाहरूको यात्रा हो । बाँच्नु सामान्य प्रक्रिया हो । तर आफू खुशीले बाँचेर अरूलाई पनि खुशी बाँड्न सकियोस् ।

२०८२, तिमी आयौ– साथमा हजारौँ सम्भावनाहरू लिएर । आऊ हामी तिमीलाई स्वागत गरौं एक कलाकारले खाली क्यानभासलाई गर्ने श्रद्धाका साथ । नयाँ रङ, नयाँ आकृति र नयाँ जीवनको सन्देशसहित । एक सर्जकले अक्षरका अनुभूतिहरूमा व्यक्त गर्ने सुकोमल भावनाहरू जस्तै । सधैं साँझ आराम र सिर्जनाको बिहानी भित्रिरहोस् ।

२०८१ सालको सूर्य अहिलेसम्म कतै क्षितिजको कुनामा अलिकति लाज मानेझैं टाँसिएर बसिरहेको छ । त्यो अस्ताउने घामको छायामा म मेरो वर्षभरिको यात्रालाई एक पटक फेरि फर्केर हेर्छु । भित्रभित्रै केही मीठा भावनाहरू सल्बलाउँछन्, केही शब्दहरू गुनगुनाउँछन् । यात्राका यादहरु नयाँ दृश्यका कोसेली बनेर आँखाको परेलीमा देखापर्छन् ।

यो साल साँच्चिकै एउटा सिर्जनात्मक पर्वजस्तै रह्यो । वर्षको प्रत्येक पाना मैले मन्द मुस्कानसाथ पल्टाएँ । व्यतीत वर्षका दिनहरू सम्झनामा एकपछि अर्को लर्को लागेर आइरहे । कहिले दृश्यहरू आँखैमा झल्झली आइरहे । कहिले तस्बीरले यादहरूलाई ताजा पारिरहे । कहिले शब्दले कथा सुनायो, कहिले मौनताले कविता लेखायो । यी सबैले मलाई मेरो लेखनमा ऊर्जाशील किरणहरूले चुमिरह्यो ।

ती अपूर्ण भेटघाटहरू पूर्णतामा परिणत भए, समयसँग होड गर्दै ती नदेखिएका अनुहारहरू, ती पुराना चिट्ठीहरू जस्तै, मलाई फर्केर भेट्न आए ।

कतै टाढा रहन गएका सपनाहरू पनि यो साल नजिक आए । कहिल्यै नटेकिएको भञ्ज्याङ पार गरें । कहिल्यै नसुँघिएको हावाको सुगन्ध महसूस गरें । ती क्षणहरूले मलाई सम्झाए सिर्जनात्मक पल भन्नु कुनै तन्नेरी ज्यानको उन्माद होइन । रहर र करभन्दा धेरै पर मनको यौटा सुवासिलो उल्लासको उपलब्धि हो । एक समर्पण समयलाई अर्पण गरिएको आत्मा हो । त्यहाँ यात्राको स्वर्गीय आनन्दले वशीभूत जिन्दगीलाई नयाँ वर्षका ऊर्जाशील किरणहरूले चुम्छ ।

भर्खरै बितेर गएको साल मैले मेरो मुटुको डायरीमा धेरै अनुच्छेदहरू लेखें । अनुभूतिका आलेखहरूमा जीवनलाई अक्षरका आवरणहरूमा अवतरण गराएँ । त्यहाँ मैले मेरै हिँडाइका पदचापहरू, मनका स्पन्दनहरू र हृदयका तरङ्गहरू अभिव्यक्त गरें । ती अभिव्यक्तिहरू बनका लतालहराहरूका विम्ब हुन् । तिनले मेरो मनको मुहानलाई छोए, ती दृश्यहरू जसले दृष्टिमा मात्र होइन, आत्मामा आकार लिए ।

अब, २०८१ साल दैलोमा उभिएर बिदाइको हात हल्लाएर व्यतीत वर्ष बनेर गइसकेको छ । म उसका आँखामा एउटा तृप्त मुस्कान देख्छु । किनभने उसले मलाई पूर्णकलश जस्तै रचनाहरूले भरिभराउ ऊर्जा दियो । अब यो २०८२ नयाँ सालमा भरिएर सकिएको एउटा खालीपन छ । वास्तवमा यही खालीपनमा नयाँ विचारहरू उम्रन्छन् । नयाँ वर्षको सन्देश सम्झिँदै, बिस्तारै सिर्जनाको बिरुवा पलाउँछ । नयाँ वर्षका ऊर्जाशील किरणहरूले म फेरि २०८१ सालको वर्ष जस्तै सक्रिय रहिरहने छु । नयाँ वर्षका ऊर्जाशील उज्याला किरणहरूलाई आत्मसात् गरेर !

२०८२ सालको स्वागत गर्ने बेला आएको छ । आशा छ, यो वर्ष पनि त्यति नै गहकिलो, त्यति नै रङ्गीन र त्यति नै गहिरो हुने छ । फेरि नयाँ कथाहरू सिर्जिने छन् । नयाँ पाइलाहरू परदेशी बाटोहरूमा टेक्ने छन् । फेरि कोही नभेटिएको भेटिने छन् । कोही नबोलिएको बोलिने छन् । बिदाइको पीडा होइन, मिलनको खुशीयालीले उत्सव वरण गर्ने छ ।

त्यसपछि म फेरि लेख्ने छु मेरो मन र मुटुबाट, आत्मा र आँखाबाट । अन्ततः म यसरी नै लेख्ने छु देखिएका दृश्यका अनुभूतिहरू, भेटिएका भेटहरूका सम्बन्ध नवीकरणका सिलसिलाहरू मेरो हृदयको गहिराइबाट ।