
शब्दको अर्थ हेर्ने हो भने, बेरोजगारी काम नभएको वा बेकामे अवस्था हो । यसको अर्थ कुनै व्यक्ति काम गर्न सक्षम भए पनि रोजगारीको अवसर नपाउनु वा काम खोजिरहनु हो । रोजगारी कुनै पनि व्यक्तिको आत्मनिर्भरता, इज्जत र आर्थिक स्थिरताको मुख्य आधार हो । जब मानिस कुनै काम, नोकरी वा श्रममा संलग्न हुन्छ तब उसले समाजलाई योगदान दिन्छ र आफूलाई पनि सक्षम बनाउँछ । रोजगारीले मानिसलाई समयको सही उपयोग गर्न, अनुशासित हुन र जीवनलाई उद्देश्यपूर्ण बनाउन सिकाउँछ ।
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपाल जीवनस्तर सर्वेक्षण चौथो (२०७९/८०) को प्रतिवेदनले देशमा बेरोजगारी दर १२.६ प्रतिशत पुगेको देखाएको छ । यसअघि नेपाल श्रमशक्ति सर्वेक्षण २०७४/७५ ले ११.४ प्रतिशत बेरोजगारी रहेको देखाएको थियो । कर्णालीमा बेरोजगारी दर सर्वाधिक २३.८ प्रतिशत छ भने मधेशमा सबैभन्दा कम ५.५ प्रतिशत मात्रै छ । दक्षिण एशियाका विभिन्न देशहरूको बेरोजगारी दर सम्बन्धी सन् २०२३ को तथ्याङ्कअनुसार भारत ७.१ प्रतिशत, पाकिस्तान ६.५ प्रतिशत, बङ्गलादेश ८.५ प्रतिशत, भुटान ३.३ प्रतिशत, श्रीलङ्का ५.० प्रतिशत र माल्दिभ्स ६.२ प्रतिशत रहेको देखिन्छ । यस हिसाबले नेपालको बेरोजगारी दर बढी नै देखिन्छ । त्यसैगरी नेपाली युवाहरूको रोजगारीका लागि सर्वाधिक रुचाइएका देशहरूमध्ये अमेरिका ३.५ प्रतिशत, अष्ट्रेलिया ३.९ प्रतिशत, क्यानडा ५.२ प्रतिशत र जापान २.६ प्रतिशत बेरोजगारी दर सन् २०२३ को तथ्याङ्कले देखाएको छ । यी तथ्याङ्कले पनि के सन्देश दिन्छ भने जतिसुकै सम्पन्न मुलुक भए पनि बेरोजगारी नभएको देश छैन । संसारभरि नै बेरोजगारीको समस्या विद्यमान छ ।
आजको समाजमा बेरोजगारी एउटा ठूलो समस्या बनेको छ । यसको समाधान खोज्नुको सट्टा नेपालमा कतिपय युवाहरू अनावश्यक राजनीतिक कुराहरूमा अल्झिरहेका हुन्छन् । हरेक घरमा नेता र राजनीतिक बहस हुनु सामान्य जस्तै भएको छ । अहिले चियाअड्डा, चोकचौतारी र सामाजिक सञ्जालहरू राजनीतिज्ञ र बुद्धिजीवी जस्तो बन्न खोज्नेहरूको अखडा भएका छन्, तर वास्तविक जीवनमा भने केही काम भएको हुँदैन । रोजगारी गर्ने उमेरका मानिसहरू काम नगरी राजनितिको अनावश्यक बहसमा समय खेर फालिरहेका छन् । जब समाजका ऊर्जावान युवाहरू नै सही दिशामा अघि बढ्दैनन् भने विकास कसरी सम्भव हुन्छ ? बिहानभरि चोक र चिया पसलमा गफ गर्ने, दिनभरि कहाँ सभा छ, कहाँ हल्लाखल्ला र भीड हुन्छ त्यहाँ जाने, अनि बेलुका रेस्टुरेन्टमा भरिभराउ हुने र राति सामाजिक सञ्जालमा जागा बसेर सरकार र अरूलाई गाली गर्ने दिनचर्या धेरैको छ ।
समाजका अगुवा मानिने बुद्धिजीवीहरूले आफ्नो विचारधारा र विश्लेषणमार्फत समाजलाई सही दिशा दिनुपर्ने हुन्छ । नीति निर्माताहरूलाई मार्गदर्शन गर्ने, सचेत नागरिकहरूलाई जागरूक बनाउने, उत्पादनका उपायहरू सिकाउने, तालिम दिने हुनु पर्ने हुन्छ । तर पछिल्लो समय केही बुद्धिजीवी वर्गको प्रवृत्ति आलोचनात्मकभन्दा पनि नकारात्मकतामा केन्द्रित भइरहेको देखिन्छ । उनीहरू देशमा केही राम्रो हुन नसक्ने, यहाँ बस्न योग्य अवस्था नरहेको, र परिवर्तन असम्भव छ भन्ने सन्देश प्रवाह गरिरहेका छन् । यसले गर्दा युवाहरूमा निराशा व्याप्त भई उनीहरू विदेश पलायनलाई विकल्पका रूपमा हेर्न थालेका छन् । नेपालमा लोकप्रिय बन्न र ध्यान आकृष्ट गर्न नकारात्मक आलोचना प्रभावकारी हुने देखिएको छ । सञ्चारमाध्यमहरू पनि यस्तै सनसनीपूर्ण विचारलाई प्राथमिकता दिन्छन् र दशकहरू आकर्षित गर्छन् । जसले नकारात्मकता झनै फैलिँदै गएको छ ।
यसैका कारणले नेपाल कृषि प्रधान देश भएर आफ्नै देशको माटो उर्वर र जलवायु अनुकूल हुँदा पनि, हाम्रा खेतबारी बाँझो बसिरहेका छन् । कृषि श्रम गर्ने युवाशक्ति बरु खाडीको तातो घाममा काम गर्न रुचाउँछन् । युवा जनशक्ति विदेशीभूमिमा खटिन तयार छ, तर आफ्नै भूमिमा पसिना बगाउन तयार छैन । बाँझो बारीमा एउटा खुर्सानीको विरुवा नरोप्ने, एक मुठा साग उत्पादन नगर्ने । आफ्नो काम आफैँ नगर्ने । बिएएमए पढेँ भनेर एक कप चिया पकाउन नखोज्ने । बाबुले कमाएको जमीन बेचेर भए पनि पल्सर बाइक र आइफोन चाहिने । सानोतिनो काम गर्न इज्जत गए जस्तो गर्ने । कपाल काट्नेदेखि धान रोप्न, गोड्न र थन्क्याउने बिहारबाट श्रमिक आउन पर्ने । गोबर समाते इज्जत जाने । चिया चौतारीमा भाषणमा सरकारलाई गाली गर्न प्रथम श्रेणी नै ल्याउने । मैले मेरा लागि के गरेँ, कहिल्यै मूल्याङ्कन नगर्ने तर सामाजिक सञ्जालमा बसेर एउटाको शरीर अर्कोको टाउको बनाएर अरुलाई गाली गर्न पाए युद्ध नै जिते जस्तो गर्ने । “हातमा महँगो मोबाइल, खल्तीमा शून्य ब्यालेन्स अनि सरकारले केही गरेन, देशमै केही हुँदैन, हाम्रो पालामा रोजगारै छैन” भन्ने गुनासो मात्र गर्ने ।
पहिलो कुरा, हाम्रो सोच परिवर्तन गर्नु आवश्यक छ । आजकल सामाजिक सञ्जाल युवाहरूको जीवनको महत्त्वपूर्ण भाग बनेको छ । रोजगारी नै पाएजस्तो देखिएको छ । युवाहरू फेसबुक, इन्स्टाग्राम, ट्विटर र टिकटक जस्ता प्लेटफर्महरूमा धेरै समय बिताउँछन् । सामाजिक सञ्जालका धेरै प्लेटफर्महरूमध्ये फेसबुक सन् २००४ मा मार्क जुकरबर्गले हार्वड विश्वविद्यालयमा हुँदा सँगै कलेजका कोठामा बस्ने कम्प्युटर विज्ञानका सहपाठी साथीहरू एडवार्डो साभारिन, डस्टीन मोसकविटज, किस युजेस र एन्ड्रयु म्याककोलमसँग मिलेर स्थापना गरेका हुन् । BACKLINKO को सन् २०२४ को सेप्टेम्बर ४ को Facebook user & Growth Statistic का अनुसार मासिक सक्रिय फेसबुक प्रयोगकर्ताका ३.०६५ विलियन खाताहरू रहेका छन् । Nepoleon Cat का अनुसार नेपालमा फेसबुक प्रयोगकर्ताका फेब्रुवरी २०२४ सम्म १ करोड ५६ लाख खाताहरू छन् । यसमध्ये ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिलाहरू रहेका छन् । संसारमा फेसबुक प्रयोगकर्ता सबै भन्दा बढी भएका देशहरूमा क्रमशः भारत, अमेरिका, इन्डोनेसिया, ब्राजिल र मेक्सिको रहेका छन् । चीन, उत्तर कोरिया, इरान, तुर्किस्तान, म्यानमार, रसियालगायत केही देशबाहेक संसारका प्रायः सबै देशहरूमा फेकबुक प्रयोगकर्ता रहेका छन् । सन् २०२३ मा फेसबुकले विज्ञापनबाट ११८.९६ अरब अमेरिकी डलर आम्दानी गरेको थियो । आम्दानीको ९७ प्रतिशत विज्ञापनबाट आउने गरेको छ । यो व्यापारमा नेपालीले पनि ठूलो योगदान गरेका छन् ।
सामाजिक सञ्जाल बेरोजगार युवालाई रोजगारी जस्तो बनेको छ । नेपालमा बेरोजगारीको समस्याले युवाहरूलाई सामाजिक सञ्जालमा मात्र सीमित पारेको छ । कामको खोजीमा भौंतारिँदा निराश भएका युवाहरू सामाजिक सञ्जालमा समय बिताउँछन् । यसले उनीहरूको मानसिक र सामाजिक जीवनमा नराम्रो असर पार्छ । बेरोजगार युवाहरू सामाजिक सञ्जालमा विभिन्न गतिविधिमा संलग्न हुन्छन् । उनीहरू राजनीतिक बहस गर्छन्, सामाजिक मुद्दाहरूमा आफ्नो विचार राख्छन्, र मनोरञ्जनात्मक सामग्रीहरू हेर्छन् । तर, यी गतिविधिहरूले उनीहरूको जीवनमा वास्तविक परिवर्तन ल्याउन सक्दैनन् । सामाजिक सञ्जालमा बिताइएको समयले उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन र भविष्य सुरक्षित गर्न सक्दैन ।
सामाजिक सञ्जालले युवाहरूलाई वास्तविकताबाट टाढा राख्छ । उनीहरू भर्चुअल संसारमा रमाउँछन् र वास्तविक जीवनका चुनौतीहरूबाट भाग्छन् । यसले उनीहरूलाई अल्छी र निष्क्रिय बनाउँछ । डिप्रेसन, चिन्ता र एक्लोपन जस्ता समस्याहरू देखिन्छन् । सामाजिक सञ्जालमा अरूको सफल जीवन देखेर आफूलाई कमजोर महसूस गर्छन् । यसले उनीहरूको आत्मविश्वास घटाउँछ र निराशातिर धकेल्छ ।
अब सोच बदल्न ढिला नगरौँ । नकारात्मक होइन सकारात्मक बनौँ । हाम्रा लागि हामीले नै गर्ने हो । उद्यमशीलताको बाटो रोजौं । कृषि व्यवसायलाई गरिमामय पेशाको रूपमा हेर्नुपर्छ । सरकारले कृषि क्षेत्रको आधुनिकीकरण गर्न लगानी बढाउनु पर्छ । युवा किसानलाई प्रोत्साहित गर्न अनुदान, तालिम, र प्रविधिको प्रयोगलाई बढावा दिनुपर्छ । कृषि, पशुपालन, युवा समूह बनाएर सामूहिक खेती, डेरी उद्योग, पोल्ट्री फार्म, वा हस्तकला व्यवसाय सञ्चालन गर्न गरौं । पर्यटन प्रर्वधन गर्दै होमस्टे, गाइड सेवा, तथा स्थानीय हस्तकला, जडीबुटी, स्थानीय खाद्य उत्पादन, तथा प्राकृतिक स्रोतहरूको उपयोग गरेर निर्यातमुखी व्यवसाय सञ्चालन गरौं । लोकल उत्पादन, हस्तकला, तथा घरेलु उद्योगहरू सञ्चालन गरौं । डिजिटल मार्केटिङ, ई–कमर्स व्यवसायद्वारा विश्व बजारसम्म नेपाली उत्पादन पुर्याउने काम गरौँ । व्यवसायिक सीप जस्तै सिलाई, बुनाई, वेल्डिङ, इलेक्ट्रिसियन, प्लम्बिङ जस्ता सीप सिकेर स्वरोजगार बनौं । सूचना प्रविधि क्षेत्रको विस्तार भएसँगै वेबसाइट विकास, एप विकास, ग्राफिक डिजाइनिङ, र डिजिटल मार्केटिङ गरौं । आफ्नै माटोमा पसिना बगाउने हो । आफ्नो भूमि उर्वर बनाउने हो । अनि परनिर्भरता घटाई आत्मनिर्भर नेपालको सपना साकार पारौँ । नत्र त, सामाजिक सञ्जालमा मात्र समय खेरफाल्नु बेरोजगारीलाई रोजगारी हो र ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

