शीर्षक पढ्नु भयो ?

भाषा ! जसले दुई कुरालाई जोड्ने काम गर्दछ, वा भनौं पुलको काम गर्दछ ! जोड्ने कुरा सबै पुल पनि नहोला । तर आजको मैदानमा भाषालाई पुल नै भनेर खेलौं । मैदानबाहिर गएपछि तपाईंले जसरी पनि व्याख्या गर्न छूट छ । किनकि तपाईं स्वतन्त्र हो । अनि स्वतन्त्र हो भने यहाँ व्याख्या गर्न किन नमिलेको ? गनगन छाडौं । अलिकति गनगन तरकारी किन मीठो भएन भनेर पनि त गर्नु नै छ । हुन पनि हो सधैं फर्सी त कसरी खानु ? त्यो पनि किनेर ।

भाषा नै नभएको भए के हुन्थ्यो होला ? दुनियाँ कसरी चल्थ्यो होला ? त्यता नसोचौं बरु सोचौं हामीसँग त भाषा छ हामीलाई बालै फरर ।

संसारमा भाषा थिएन भने मैले अहिले तपाईंलाई जे भनिरहेको छु त्यो भन्न पाउने थिइनँ, अनि मैले जे भनिरहेको छु त्यो तपाईंले पढ्न पाउनुहुने थिएन । र, हाम्रो भेट हुँदैन थियो । भेट नै नभएको भए तपाईं यति वेला के गर्दै हुनुहुन्थ्यो होला है ?

बालक जन्मेपछि कति महीनासम्म आफूलाई नै बोलेर सम्झाउँछ । नयाँ ठाउँमा कोही जाँदा जसरी मौन हुन्छ । बालकलाई पनि लाग्दो हो, म बिल्कुल नयाँ ठाउँमा आएँ । यहाँका मान्छे कस्ता होलान् । यहाँको रहनसहन कस्तो होला ? कस्तो होला यहाँको चालचलन ? यस्तै कस्तो सोच्दो हो उसले पनि । त्यसैले उसलाई समय लाग्छ घुलमिल हुन । र बिस्तारै नजीक हुन्छ । अनि बोल्छ बा भन्दै, आमा भन्दै ।

बोल्नलाई भाषा नै चाहिन्छ त ? आँखाले पनि बोल्छन् भन्छन् त ? त्यो त प्रेममा होला । प्रेममा फेरि अनेक हुने, आँखाले बोल्ने, मनले हेर्ने, हृदयले छाम्ने यसको सूत्र निकै लम्बिन्छ । जानेन भने बिग्रन्छ । त्यसैले यता हल्ला नगरौं ।

तपाईं कुनै नयाँ परिवेशमा पुग्नुभयो तपाईंलाई के कुराले धेरै गाह्रो पार्दछ ? भाषाले होइन ? हावापानीले पनि गाह्रो पार्दछ भन्ने त सोच्नु भएको छैन ? हावापानीभन्दा पहिला चाहिं भाषा नै हो । भाषाले फरक नपार्ने भए हिमालका शेर्पा दाइलाई कोरिया लगेर छाडौं न त ! मधेशको रामविलास झालाई दक्षिण भारत लगेर छाडौं न त ! कुरा यहाँ छ नि शेर्पा दाइले कोरियाको चिसो एकै गाँसमा पचाइदिन्छन् । रामविलासले गर्मी गम्छाले पुछेर हटाइदिन्छन् । मानौं अब भोक लाग्यो शेर्पा दाइको ‘तोंसँगा कोदोको ढिँडो छा ?’ भनेको त्यहाँको कोरियन भोटेले के बुझ्‌नु ? यता रामविलासले ‘थोडा सा चट्नी डाल बे !’ भनेको त्यो तामिलले कसरी बुझ्‌नु ? अनि भाषा ठूलो कि हावा ?

हामी भाषाको कुरा गरिरहेका छौं । अब यहाँ अंग्रेजीलाई पनि अलिकति अचार थपौं ।

अंग्रेजी भन्नासाथ सातो जाने एक समुदाय छ । त्यो समुदायभित्र को-को पर्छौं त्यो त हामी आफैंलाई थाहा छ । यदि अंग्रेजी भाषा हुन्थेन आधा संसार नबोली बस्थ्यो होला है ? अनि भाषामा चाइनाले राज गर्ने थियो त ? अंग्रेजी सजिलो कि चाइनिज ?

परदेशमा नेपालीलाई प्रायः ‘तेरो हिन्दी ठीकठाक छ त, कसरी सिकिस् ?’ प्रश्न गरिन्छ र जवाफ सजिलो हुन्छ ‘सीमा जोडिएको छ नि त ।’ फेरि सीमा त चाइनासँग पनि त जोडिएको छ ।  खैर, भाषा सबैको गाह्रो हुन्छ । यसको सजिलो र यसको अलिक गाह्रो भन्ने हुँदैन । फरक बानीमा हो । फरक अभ्यासमा हो ।

भाषाको पनि सूत्र हुन्छ । बोलीको भाषा र लेखाइको भाषामा फेरि ३६ को आँकडा देख्छु । कि म उस्तो हुँ कि भाषा नै उस्तो !

कुरा त हो यसै बगिजान्छ । बगेर जाने कुरा फेरि समाउन पनि सकिंदैन । समाउन सकियो भयो कस्तो देखिन्थ्यो होला, तारादेवीको ‘फूलको थुङ्गा’ ?

भाषाविज्ञ भनेका कस्ता हुन्छन् ? भाषाविज्ञले के गर्छन् ? हामी त्यो बाटो छाडेर चौबाटोबाट बोलीचालीको बाटोतिर हुइँकौं । किनकि यो बाटोमा कसैले बिस्कुन सुकाएको हुँदैन । कसैले पराल तेर्साएको हुँदैन । कसैले बाटोको वारपार पुग्नेगरी बाख्रा बाँधेको हुँदैन । यो बाटो सललल कुद्छ । तर केरुङ काठमाडौंको रेलजस्तो भने होइन ।

भाषाकै कारणले तपाईंलाई कति पछुतो भएको होला ? अनि भाषाकै कारणले तपाईंलाई कति सहज भएको होला ? यति त तपाईं आफैंले सहजै अनुमान लगाउन सक्नुहुन्छ ।

भाषा सामान्य हो भन्नेले मलाई भनिदिऊन्, सांकेतिक भाषाको समाचार तपाईं कसरी बुझ्‌नुहुन्छ ?

भाषा जाने भगवान्, अनि भाषा नजाने भूत हो । तर यो भूत कुनै मसानघाटमा बस्दैन । मध्य १२ बजे नै यसको क्रियाकलाप शुरू हुँदैन । यसले त तर्साइरहन्छ मनमा । अनि भूत चाहिं हुन्छ ? मान्छेको भूत हुन्छ हुँदैन त्यो देउरालीको बिजुवालाई छाडौं तर भाषाको भूत चाहिं अवश्य हुन्छ ।

तपाईंलाई कुन भाषाको आत्माले अहिले सताइरहेको छ ?

१. अङ्ग्रेजी : बाल्यकालबाटै तर्साएको होला ?

२. कोरियन : रिनको भार सहजै उठ्ला कि भनेर ?

३. जापनिज : सबैले पास गरेर गएका छन् भनेर ?

४. अरबी : भाषा आए यसको गाली फर्काउन सक्थें कि भनेर ?

अन्य पनि होलान् । त्यो तपाईं आफैं भन्नुहोस् है ?

भाषा अभ्यास हो भनेर हामी कुदिरहेका छौं । तर यही अभ्यासको खाल्डोमा सबैभन्दा छिटो अरूको भाषा आउने भनेको चाहिं अश्लील शब्द रहेछ । त्यो शब्द कुनै बच्चाको हातले गर्ने चकचकभन्दा द्रुत गतिमा मस्तिष्कमा बस्ने रहेछ ।

मान्छेको पहिलो परिचय उसको बोली हो भन्छन् । भगवान् जाने ।

आजकाल हामी साहित्यमा पनि जमीनको भाषा पढिरहेका छौं । कति सुन्दर हुने रहेछ जमीनको भाषा । किनकि त्यो भाषामा आमाले गरेको गाली जस्ताको त्यस्तै, बाको लात शब्दमै सही तर उस्तै । पल्लाघर काकाले घाँस काट्न बोलाएको शब्द पुस्तकमा पढ्दा कति आनन्द आउने । कलेजमा उनले हात समाउँदा सरले देख्ने मनको डर भाषामा । आजकल पाठकको सम्मेलन यही जमीनको भाषामा त रहेछ । कहाँ शब्दकोश नै पल्टाउने पुस्तकको चर्चा छ र अहिले बजारमा ?

यसरी नै चलेको छ यता चलचित्र पनि, जमीनकै भाषा बोलेर जमीनभन्दा अग्ला घर बनाइसके, चलचित्रमा जमीनको भाषा बोल्नेहरूले ।

भाषाकै कारण कति योजनाले पानीसम्म भन्न भ्याएको छैन । भाषाकै कारणले कति सपना निदाएको छैन । भाषाकै कारणले कति उमेर त्यसै वृद्ध भएको छ ।

झनै अर्को मुलुकमा पुगेर भाषाको ताराबाजी खेलिरहेकाहरूलाई के बितेको होला ? यस्तो समयमा उसले आफ्नो‍ भाषामा ‘म तँलाई मार्छु,’ भन्यो भने पनि भाषा नबुझेर मुसुक्क हाँस्दै टाउको हल्लाउनबाहेक अन्य केही गर्न सकिंदैन ।

बोलीचालीको भाषा छाडेर कामकाजी भाषाको झ्यालबाट यसो चिहाउने मात्र हो भने पनि राम-राम बाहेक केही भन्न सकिन्न ।

यहाँ गणितको भाषाको कुरा गर्न मन थियो । फेरि गणितको भाषामा छनौट समूह चरणबाटै बाहिरिने डरले मैले केही भन्न सक्ने अवस्था रहेन ।

तपाईंसँग भाषा छ भने सबैभन्दा ठूलो धन रहेछ भनेर बुझ्‌नुहोला ।

मानिससँग भाषाको जादू भयो भने उसले स्वर्गको अनुभूति यही धरतीमा गर्न सक्छ ।

हरि ॐ