
प्रिय छोरा, मुटुभरिको माया अनि हृदयभरिको अनन्तः आशीर्वाद तिमीलाई ।
शिशिर यामको यो कठ्याङ्ग्रिने मौसममा भव्य शहरको महलभित्र बसेर तिमीले हिटर तापिरहँदा तिम्रो स्मृतिको प्रवाहमा हामी कति बग्छौँ, त्यो थाहा छैन । तर तिमी जन्मेको घरमा बसेर आगोको भुङ्ग्रोमा म मेरो बिरामी शरीर सेकाइरहँदा भने तिम्रो यादको रापमा निकै जलिरहेछु छोरा, जसरी दाउरा कोइला बनेर जलिरहेछ । म तिम्रो यादमा त्यसरी नै उडिरहेकी छु, जसरी धुवाँ माथि माथि अनन्तमा उडिरहेछ । पटपटी फुटेका अनि बुढ्यौलीले चाउरिएका हातहरू सेकाइरहँदा म बारबार तिम्रो यादको समुद्रमा डुबेकी छु । अनायासै मभित्रको पीडा अनुहारको मार्गमा तिम्रो यादको वर्षा बनेर खसिरहेछ छ । वर्षौंअगाडि यही ठाउँमा मैले आकाशमा जून देखाएर तिमीलाई खाना खुवाइरहँदा तिमी खुशीले कति नाच्थ्यौ, कतिचोटी मलाई दौडेर आई चुम्थ्यौ । आज पनि टहटह जून लागेको देखेर म कल्पिरहेछु तिम्रो त्यो निश्चल र पवित्र प्रेम, दया अनि विवेकको शक्तिलाई कुन निष्ठुरताले चुड्यो होला । तिमीभित्र बाँचिरहेको मानवतालाई कुन अहङ्कारले खेद्यो होला भनेर ।
सन्तानको सुख, सुविधा र आनन्द नै हरेक आमाबुबाको खुशी र आनन्दको मानक हो । यदि तिमी सुखमा छौ र आनन्दित जीवन व्यतीत गरिरहेका छौ भने हाम्रो खुशी र आनन्द त्यही हो बाबु । हरेक आमाबा जस्तै हामी पनि आफ्ना सन्तानको ओठमा सधैं खुशी मुस्कुराएको देख्न चाहन्छौँ । हामी चाहन्छौं, हाम्रो कारणले कुनै पनि सन्तानलाई समस्या, दुःख नपरोस् । हमेशा हाम्रा आँखा सन्तानका अनुहारमा खुशी र हाँसो देख्न व्यग्र हुन्छन् ।
हामी दुईको विवाह एक संयोग थियो । हामी दुईले राखेको सन्तान प्राप्तिको इच्छा तिम्रो जीवन यात्राको शुरुआत थियो । त्यो एउटा यस्तो समय थियो, जुन समयमा छोरी एघारबाह्र वर्ष पूरा भएपछि विवाहको कुरा चल्थ्यो । कुरा चल्दै जाँदा केटाको उमेर दशपन्ध्र वर्षदेखि बीस पच्चीस वर्ष जेठासम्मलाई केटीका लागि योग्य ठानिन्थ्यो । तिम्रो बाआमाको सवालमा पनि यही कुरा सत्य हो । तिम्रो बुबा मभन्दा बाह्र वर्ष जेठो हुनुहुन्छ । मैले कलिलै उमेरमा तिमीलाई पहिलो सन्तानको रूपमा जन्म दिएँ । भर्खरै किशोर अवस्थामा प्रवेश गरेकी सोह्र वर्षीय कलिली ठिटीले तिमीलाई जन्म दिने कुरा भन्न सजिलो छ, तर मैले भोग्नु परेको कष्टलाई बोक्न हजारौँ शब्दहरू पनि कम पर्छन् । वर्षैपिच्छे जसो सन्तानलाई जन्म दिनु, हुर्काउनु, खुवाउनु, लुगा धुनु, घरपरिवारलाई रिझाउनु, गाईवस्तु पाल्नु त्यति सजिलो थिएन बाबु । ती सबै जिम्मेवारीहरू तिमीले दिएका परीक्षाहरू भन्दा निकै कठीन थिए । न पढाइ न घुमाइ, न मनोरञ्जन न व्यक्तित्व विकास, घर परिवारको दिक्कलाग्दो अनुत्पादक र झञ्झटिलो काममा जीवनको सर्वाधिक महत्त्वपूर्ण समय बिताउने कुरा जीवनको कठीन उकालो यात्रा थियो । मेरा पनि त थुप्रै रहर थिए होलान् जसरी अरु मानिसहरूका हुन्छन् । तर आफ्ना इच्छा, आकांक्षा र रहरलाई मारेर तिनै रहरका चिहानमाथि उभिएर आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्य निभाउन म निरन्तर लागिरहेँ । अरुलाई खुशी बनाउँदा बनाउँदै आफू खुशी हुनै बिर्सेकी मैले कतिबेला आफ्नो जीवनमा बैँस चढ्यो, कतिबेला बैँस झर्यो, पत्तै पाइनँ । अवसर पाएका मेरै उमेरका साथीहरू जवानीको इन्द्रेणीमा मस्त रमाइरहेको बेला म भने काखभरि बच्चा अनि मष्तिस्कभरि जिम्मेवारीको भारी बोकिरहेकी थिएँ ।
तिमीले पढेका थुप्रै पुस्तकहरूको भारीभन्दा जिम्मेवारीको भारी निकै वजनदार र गह्रुङ्गो थियो बाबु । बाबा बन्न पनि सजिलो त कहाँ थियो र? पहाडी जनजीवन, बाटोघाटोको पहुँच नभएको समय । कुनै पेशा, जागिर, शिक्षा नभएको तिम्रो बुबालाई छोराछोरी पढाउन, लेखाउन पैसाको जोहो गर्ने कुरा पनि उत्तिकै चुनौतीपूर्ण थियो । तिम्रो बुबाबाट नियतिले धेरै कुराहरू खोसे पनि छोराछोरीलाई राम्रो शिक्षा र राम्रो वातावरण दिनुपर्छ भन्ने चेतना उनमा थियो । त्यही चेतनाले गर्दा त तिमीलाई एसएलसीपछि ऋण, धन गरेर काठमाडांै पढ्न पठाउनुभयो । देशको सबैभन्दा सुविधासम्पन्न ठाउँ राजधानीमै पठाएर छोरो पढाउने हाम्रो रहर र सपना पूरा गर्न हामीले आफ्ना थुप्रै रहर, चाहना र सपनाहरू बेच्नु पर्यो । तिम्रो बुबाले आफ्नो सपना किन्न कहिले ५० डिग्रीको गर्मीमा खाडी मुलुकमा गएर भेडा चराउनु पर्यो, कहिले अर्काको देशमा आत्मसम्मान बेचेर पैसा कमाउनु पर्यो । त्यहाँबाट फर्केर आएपछि हामीले बाख्रापालन गर्यौँ । त्यतिले मात्र पुगेन । कहिले किराना व्यवसाय, कहिले ऋण गर्दै तिमीलाई भाडामा बस्न, खान, पढ्न पैसाको जोहो गरिरह्यौँ । तिमीले पनि निकै मिहिनेत गर्यौ । हामीले गरेको दुःख र मिहिनेतलाई तिमीले खेर जान दिएनौ । पढाइमा अब्बल बन्दै गयौ । पढ्नु पर्ने जति सबै तहको शिक्षा पूरा गर्यौ । थुप्रै पुस्तकहरू पढ्यौ, थुप्रै पुस्तकहरू लेख्यौ । चाङका चाङ सर्टिफिकेट जम्मा पार्यौ । विद्यालयदेखि विश्वविद्यालयसम्मको अध्ययन पूरा गर्दा तिमीले थुप्रै मेडलहरू पनि जित्यौ । गर्नु पर्ने जति सबै गर्यौ बाबु । तिम्रो प्रगति देखेर हामीले आफ्ना सारा दुःखहरू बिस्र्यौ । खुशीले गदगद भयौँ । हाम्रो शिर गर्वले अग्लो भयो, छाती चौडा भयो ।
सबै कुरा सुन्दर तरिकाले चलिरहेको तिमीहरूको जीवनमा हामी प्रवेश गर्यौँ, त्यसपछि हामीले तिमीबाट थुप्रै कुराहरू सिक्ने मौका पायौँ । सन्तानको लागि आफूलाई सम्पूर्ण रूपमा सुम्पिनु हुँदैन, हरेक व्यक्तिलाई शङ्कासँगै विश्वास गर्नुपर्छ भन्ने कुरा हामीले सिक्यौँ । आफू सधैँ आर्थिक रूपमा बलियो बनेर बस्नुपर्छ भन्ने कुरा सिक्यौँ । छोरा मात्र सम्पूर्ण हुन्, बूढेसकालका सहारा छोराहरू मात्र हुन् भनेर छोरीलाई अधिकारविहीन बनाउने कुरा एकदमै गलत थियो भन्ने कुरा हामीले महसूस गर्यौँ । मीठो मीठो खानेकुरा तिमीलाई लुकाइलुकाइ दिने कुराले मीठो खाने हक मेरो मात्र हो भन्ने कुरा तिमीले बुझ्यौ । तिम्रो खुशीका लागि आफूलाई मेटेर, आफूभित्रको आफूलाई मारेर हामी जसरी लाग्यौँ, त्यो शायद गलत थियो बाबु । सबै मानिसको आत्मामा ईश्वरको बास हुन्छ, सबैलाई प्रेम गर्नुपर्छ भन्ने कुरा सिकाउन हामी चुक्यौँ । पढाइको सफलता मात्र सबै कुरा होइन, असल संस्कार सिक्ने कुरा त्योभन्दा पनि महत्त्वपूर्ण हो भन्ने कुरा सिकाउन हामीले सकेनौँ । अहङ्कारले आफूलाई मात्र राम्रो देख्छ र अरुलाई नजरअन्दाज गर्छ, त्यसैले अहङ्कार पाल्नु हुँदैन भन्ने कुरा हामीले सिकाउन सकेनौँ । आफूले अरुबाट कति पाएँ भन्दा पनि कसैलाई कति दिन सकेँ भनेर हेर्नुपर्छ भन्ने कुरा हामीले तिमीलाई बुझाउन सकेनछौँ । आफूले गर्न सक्ने सहयोग र माया सबैलाई गर्नुपर्छ, तिम्रो सानो सहयोगले कसैलाई धेरै खुशी मिल्छ भने त्यसका लागि तिमी सधैँ तयार रहनुपर्छ भन्ने कुरा हामीले बुझाउन सकेनौँ । सन्तानलाई आवश्यकताभन्दा बढी विश्वास गर्ने कुरा हाम्रो दोष थियो बाबु । भनिन्छ नि, कुनै पनि अति राम्रो होइन । अतिलाई सधैँ वर्जित गर्नुपर्छ भनेर त्यसै भनिएको होइन रहेछ ।
एउटा कुरामा भने मलाई अचम्म लागिरहेछ बाबु । हामी अशिक्षित बुबाआमाले सिकाउन नसकेका कुराहरू तिमीले पढेका हजारौँ पुस्तकहरूले पनि सिकाउन सकेनछन् । आफूलाई जन्म दिने बाआमा पनि निश्चित उमेरपश्चात् सन्तानका लागि बोझ हुन्छन् भन्ने कुरा हामीले जानेनाैं । जानेको भए ठूलो भइसक्दा समेत आफू रित्तिएर किन तिमीलाई भर्थ्याैं र बाबु ! दोष तिमीहरूको मात्र थिएन । दोष हाम्रो पनि थियो । तिमीहरूलाई कम्फर्ट जोनमा मात्र राखिरहनु, दुःखको आभास हुन नदिनु हाम्रो दोष थियो । जसले दुःख चिन्छ, उसले मात्र सुख चिन्छ र सुखको महसूस गर्न सक्छ । तिमीहरू जस्तो छौ त्यसमा हामी पनि दोषी छौँ । त्यसैले तिमी र तिम्रा सन्तानहरूसँग अब कुनै गुनासो त छैन तर हामीलाई एउटा कुराको भने चिन्ता छ बाबु । तिमीहरूले जुन संस्कार बुबाआमालाई देखाएका छौ, त्यो संस्कार तिम्रो छोराछोरीले तिमीहरूलाई देखाए भने तिमी धेरै दुःखी हुनेछौ । हामीले पाएको मानसिक पीडाभन्दा तिमीले पाएको पीडाले हामीलाई अझ धेरै पिरोल्नेछ । शायद तिमीहरू दुःखी भएको हेर्न त हामी नहुन पनि सक्छौँ बाबु । त्यसैले त्यतिबेला हाम्रो पार्थिव शरीरसँगै तिम्रो अहङ्कार, तिमीभित्रको संस्कार अनि पश्चाताप सबै सबै जलाइदिनु ताकि तिम्रो सन्तानका कारण तिमीहरूलाई कुनै पनि खालको दुःख नहोस् ।
उही तिम्रो सधैँ भलो चाहने
तिम्री आमा



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

