
सन् सत्तरीको दशकको शुरूवातमा नै भारतीय नेपाली साहित्यले अद्वितीय कवि अगमसिंह गिरीलाई गुमाउनु परेको पीडालाई आत्मसात् गरेर यो शोकलाई शक्तिमा परिवर्तन गर्दै थुप्रै कविहरू नयाँ जोश र जाँगर लिएर साहित्य महायज्ञमा होमिन आए ।
दार्जीलिङबाट गुमानसिंह चाम्लिङ, मोहन ठकुरी, शीला लामा, विकाश गोतामे, मदन ओझा, खँडकसिंह काँडा, टेकध्वज जिम्बा, पी अर्जुन, हरेन आले, भीम थापा, कर्ण थामी, नोर्जाङ स्याङदेन, जस योञ्जन ‘प्यासी’ले आयाम-इतरका कविताहरू लिएर सशक्त रूपमा प्रस्तुत भए, यी मध्ये केही साठीको दशकदेखि कविता लेख्न सक्रिय थिए । उता सिक्किमबाट केदर गुरूङ, गिर्मी शेर्पा र जीवन थिङ अनि आसामबाट स्थापित कवि हरिभक्त कटुवाल, भविलाल लामिछाने, नवसापकोटा, अविनाश श्रेष्ठ आदिले लेखनको रूप र स्वरूप परिवर्तन गर्दै कविता लेख्न थालेका थिए ।
यही समयले जन्माए दार्जीलिङदेखि २५ किलोमिटर टाढा बिजनबारीमा एक होनहार कवि मनप्रसाद सुब्बा । यो एउटा संयोग थिएन पक्कै । त्यो बेला दार्जीलिङमा गाउँ गाउँमा कवि गोष्ठी हुन्थे, हस्तलिखित र छापा दुवै थरीकाको साहित्यिक पत्रिकाको बाढी आएको थियो । त्यही उर्वर समयमा उदय हुन्छ कवि – मनप्रसाद सुब्बा ।
कवि मनप्रसाद सुब्बा अवतारी जस्तो लाग्छ मलाई । लेखनको प्रायः सबै विधामा पोख्त । मूलतः उनी कवि हुन्, त्यसपछिको अवतारमा उनी कुशल अनुवादक, प्रखर समालोचक र अप्रितम कथाकारको रूपमा प्रस्तुत भएका छन् ।
पाँच दशक लामो काव्य साधनाको नवीनतम् प्रस्तुति हो- ‘पञ्चतत्त्वको पालाम’ । सन् १९७९मा प्रकाशित ‘बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू’ कवितासंग्रह देखि सन् २०२४ मा प्रकाशित ‘पञ्चतत्त्वको पालाम’ कविता संग्रहसम्म आइपुग्दा कवि मनप्रसाद सुब्बाले ४५ वर्षको यात्रा पूरा गरिसके अपितु कविता लेखन यो भन्दा निक्कै अगाडि देखि शुरू भएको हो । मनप्रसाद सुब्बाको ५ दशक लामो काव्यिक यात्राको शुरू देखि अहिले सम्म कविले निरन्तरता दिइरहेछन् आफ्नो लेखन- माटो, मान्छे, म र पानी । शायद मुन्दुम पनि जोडिन्छ पछिल्लो समयमा ।
यान्त्रिक मान्छे
काँचको शरीर काठको खुट्टामाथि
अणुबमको टाउको काँचको शरीरमाथि
कत्ति हाँसो उठ्दो
कार्टून मान्छे !!
काँचको शरीरभित्र ग्रिनेडको मुटु
स्पन्दनहीन !
अणुबमको टाउकोमा बुलेटका आँखा
दृष्टिहीन !!
(‘बिब्ल्याँटो युगभित्र कार्टुन मान्छेहरू’ बाट) ।
यो कविताबाट शुरू भएको मान्छेको कथा सन् बीसको दशकमा आइपुग्दा माटो र पानी हुँदै पर्या चेतनामा पुग्छ । कविको लेखनमा निरन्तर अद्यावधिक हुनु अपरिहार्य छ तर विचारमा एकरूपता र वैचारिक विचलनबाट मुक्त हुनु जरूरी छ ।
५ दशकको साधना पछि कवि सुब्बा ‘पञ्चतत्त्वको पालाम’मा आइपुग्दा वैचारिक स्खलनको कतै पनि आभास हुँदैन र यही विशेषता हो कवि सुब्बाको । विचार र तर्कमा परिपक्वता उन्नयन भएका नै पाउँछौं । रेमिका थापासँग संयुक्त रूपमा नेपाली र अंग्रेजीमा ‘किनाराका आवाजहरू’ कवितासंग्रह प्रकाशित गरी किनाराकृत साहित्यको प्रवर्धनमा योगदान दिए । किनाराकृतहरूको आवाज बने ।
“गाउँका मुखिया बूढा भन्थे-
हिंडे छेउ लाग्छ…
अरे ! यहीं त बसेको छु म
शताब्दी शताब्दीको भुइँमुनि पैताला रोपेर
बसेको बसेकै बसिराखेकै छु आमाको सालनालसितै
तर किन आज म छेउ लागिसकें हँ ?
कुन्नि कस-कसले हुत्त्याएर ठेलेर डिलमै पुऱ्याइसक्यो मलाई
डिलमुन्तिर चैँ छ मुख आँ गरिबसेको-
विलुप्तिको
ब्ल्याकहोल !
मुखिया बूढा भन्थे-
…बसे लेउ लाग्छ ।”
(छेउबाट- कविताबाट)
अरू जस्तै उनले स्वघोषित (Self declared) पर्या साहित्य खुलेर कहिले लेखेनन् । तर उनको कवितामा प्रशस्त पर्या चेत पाउनु अस्वाभाविक भने पक्कै होइन । उनी ठाडै पर्यावरण बचाऊ भन्दैनन् कवितामा, तर केही समय अगाडि छोटा रङ्गित बचाऊ आन्दोलनमा खुलेरै समर्थन गरेका थिए ।
‘बडा रङ्गित अनि टिस्टाका कथा’ कवितामा उनी लेख्छन्,
“दक्षिणतिरबाट आएको उसको भाइ छोटा रङ्गितले
उसलाई ढाडमा बोकेर लान्छ अचेल तल त्रिवेणीसम्म
र खुइय्य गर्दै आइपुगेको टिस्टाको हातमा सुम्पिन्छ
अनि एकअर्काको हाल हेरेर दुवै रुन्छन् अँगालोमा
नभनेरै बुझ्छन् कि दुवैको हंस
पातालबाट आउने अँध्यारो नजरले टिपेर लगेको छ ।”
कुनै समय गीङ्ग कमानसम्म सुनिने रङ्गितको आवाज आजकल बिजुली निकाल्ने लोभीपापीको प्रकोपमा परेर आफैभित्र सीमित भएको छन् त्यो आवाज अनि यस्तै हाल छ टिस्टा नदीको पनि । त्यही कवितामा सम्झन्छन् उनले टिस्टामाथि देवकोटाले लेखेका अंग्रेजी कविता अनि अल्पायुमा बितेका समकालीन कवि विकाश गोतामेका कविता:
“उहिले नै एन्डर्सन ब्रिजमा उभेर
देवकोटाले गरेका गर्विलो सम्बोधन ‘ओ माइती टिस्टा !’
उसको स्मृतिमा टल्किन्छ टिलिक्क
जस्तो कि चाँदीको तक्मा कुनै पूर्व सैनिकको
जसको चहलपहल ह्विल चेयरमा खुम्चिएको छ ।
यस्तो असक्त अवस्थामा अचेल उसले
विकास गोतामेले सुनाएका कविता पनि सम्झिरहन्छ –
‘टिस्टा, तिमी बग्नू, बग्नू…’
अनि भन्छ आफैलाई – ‘टिस्टा, तिमी बग्नू, बग्नू…”
‘पञ्चतत्त्वको पालाम’ कवितासंग्रह विभिन्न तत्त्वमा विभाजित छ । पहिलो तत्त्व लिएको छ आकाश ।
‘तानमा बुनेको आकाश’ शीर्षक कवितामा उनी लेख्छन्,
“समयको यौटा प्राचीन कुइनेटोमा
मेरा जिजुबाजेका जिजुबाजेले
आफ्नो ज्यानको २०६ वटै हड्डी जोडजाड पारी
यौटा अनौठो तान बनाए
र उपहार दिए मेरी जिजुबोजुकी जिजुबोजुलाई
त्यही तानमा ती प्राचीन जिजुबोजुले
बुनिन् नीलो आकाश
संवेदनाका अनन्त रेसाहरू निकालेर”
इतिहासलाई वर्तमानभित्र बाँधेर कविता लेख्नु कवि सुब्बाको खूबी हो । उनी सपाट कविता लेख्दैनन् । निरस विषयवस्तुलाई सरस तरिकाले अभिव्यक्ति गर्नसक्ने क्षमता राख्नु कवि सुब्बाको विशेषता हो । उनको कवितामा उपदेश हुँदैन पर्यावरणको, तर सूक्ष्म रूपमा सन्देश भने दिएकै हुन्छ- यो नै उनको कविताको गुण है । कविता चाहे हावाको बारेमा होस् वा पानी या सूर्य उनको कवितामा तत्त्व ज्ञान हुन्छ, विज्ञान लुकेको हुन्छ । ‘म सूर्य’ कविता भन्दा उपयुक्त कुन कविता होला उनको तत्त्व ज्ञानलाई बोध गर्ने,
“यो साँझ-बिहान र रात-दिन भन्नु त
तिम्रो आख्यान पो हो, ओ पृथ्वी !
म त कहाँ अस्ताउँछु र !
म त सधैं छु मात्र भएर छु
यसरी अनवरत छु मात्र भइरहनुमा
उदय-अस्तको अर्थ नै पो के र !
त्यसैले समयातीत हुँ म …”
एघार वटा कवितासंग्रह प्रकाशित गरिसकेका ७३ वर्षे कवि सुब्बा मोफसलमा बसेर पनि दरिलो उपस्थिति दिने सशक्त कवि हुन् । ४६ वर्षको उमेरमा भारतीय साहित्य अकादमी पुरस्कार प्राप्त गरेका कवि सुब्बा दार्जीलिङ शहरलाई कहिले पनि लेखनको केन्द्रबिन्दु बनाएनन् । बरु दार्जीलिङ भन्दा २५ किलोमिटर टाढा बिजनबारीमा प्राध्यापन गरेर बस्न रुचाए सेवा निवृत्त भएपछि पनि । दार्जीलिङमा त उनी पर्यटक भएर आउँछन् समयान्तरमा । जन्म र कर्मथलो रहे बिजनबारी उनको । आफ्नै थलोको पञ्चतत्वमा नाच्न रमाउने कवि, कवितामा झैं त्यहीको हावा, पानी, आगो, माटो र आकाशलाई प्रेम गर्न रुचाए ।
पेज टर्नरले प्रकाशित गरेको यो पुस्तक शायद यो वर्षकै उत्कृष्ट कवितासंग्रह हो जस्तो लाग्छ । कविता लेखनमा कहिले पनि विचलित नहुने कवि सुब्बा नयाँ पुस्तालाई प्रोहोत्सान गर्नुहुन्छ ।
यो कविता संग्रहको भूमिकामा युवा समालोचक महेश पौड्याल लेख्छन् – “’पञ्चतत्त्वको पालाम’ मनप्रसाद सुब्बाभित्रको गतिशील कविको युगसापेक्षित परिवर्तनको प्रमाणपत्र हो । कवि सुब्बाले विविध दशकमा कविता लेखे, तर तर्क र विचारको एउटै फेरोलाई समातेर कहिल्यै उभिएनन् । परिवर्तित समयका परिवर्तित मूल्य र आग्रहहरू उनको कविताका विषय हुने गरेका छन् । ‘पालाम’मा उनले पञ्चतत्त्व, यानि आकाश, अग्नि, हावा, पानी र धरतीलाई हेर्न अति-मानवीकृत दृष्टिकोणको विनिर्माण गरेका छन् । कतै तिनको मानवीकरण गरेर त कतै एउटा संवेदनशील चिन्तकको चिन्ताको विषय बनाएर उनले यी तत्त्वहरूको शाश्वत मूल्य, जीवनका लागि तिनको अपरिहार्यता, र मान्छेका असंवेदनशील र स्वार्थपूर्ण कुकृत्यका कारण तिनका पर्दै गएको नकारात्मक असर बारे पाठकलाई सचेत गराउने प्रचेष्टा गरेका छन् ।“
वास्ततवमा महेश पौड्याल भनाइ नै यो कविता संग्रहको मूल मर्म हो, मुटु हो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

