“जसले कुहिरो भएर बरी र मलाई प्रत्यक्ष, शिवराजलाई अप्रत्यक्ष रूपले बेरेको छ, शायद त्यो कहिल्यै फाट्दैन र हामी कहिल्यै एउटा पर्दा उघारेर एक अर्कालाई हेर्न सक्तैनौं ।”

शिरीषको फूलबाट

दशैं र तिहारको आगमनसँगै काठमाडौं उपत्यकामा कुहिरो लाग्न थाल्छ । जब बादल आकाशमा नउडी जमीनलाई चुम्बन गर्नतिर लहसिन्छ, त्यही अल्छी बादललाई हामी कुहिरो भन्दछौं । रातमा जमीन सेलाएपछि बिहानीपख वायुको तापक्रम घट्दै गई वायुले आफ्नो गर्भभित्रका जलकण ओकलेर कुहिरो निर्माण गरिदिन्छ । अनि वायुले आफ्नो पारदर्शिता गुमाउँछ । हामी टाढाका वस्तु देख्न सक्तैनौं । कुहिरो बाक्लो भयो भने त्यसलाई हुस्सु भन्दछौं अनि थोरै दूरीका वस्तु पनि स्पष्ट हुँदैनन् । सडक र हवाई यातायातमा समेत अवरोध पुग्छ । पुस-माघतिर रातको तापक्रम अरू शीघ्रातिशीघ्र घट्न सक्छ । त्यस्तो स्थितिमा वायुमा रहेको वाफ कुहिरोमा परिणत हुन नपाउँदै जम्न थाल्छ र तुषारो बन्दछ । खुला ठाउँ र चौरहरू चिनी छरे झैं सेताम्य हुन्छन् । तर, वातावण अधिक प्रदूषित छ भने तुषारो पर्न सक्दैन । कुहिरोले नै आफ्नो राज जमाउँछ । यता आएर काठमाडौंको कुहिरो कुहिरो रहेन । धुवाँ र धूलोले लादिएको हुनाले यो ‘धुइरो’ संज्ञा पाउन लायक भएको छ । नेपाली बृहत् शब्दकोशअनुसार चारैतिरबाट एकै ठाउँमा जम्मा हुने क्रियालाई धुइरो भनिंदो रहेछ ।

वर्तमान काठमाडौंको नियती पनि धुइरो नै हो । यस लेखमा चाहिं धुइरो भन्नाले धुवाँ र धूलोसहितको कुहिरोलाई प्रस्ट्याउन खोजिएको हो । सन् १९५० को दशकमा बेलायतीहरूले कुहिरो (Fog) लाई स्मग (Smog) भने । यसको कारण कुहिरोमा धुवाँ (Smoke) मिसिनु नै थियो । हामीले पनि बँदेल र सुँगुरको ठिमाहालाई बङ्गुर भन्ने जस्तै अब राजधानी उपत्यकाको हिउँदे कुहिरालाई ‘धुइरो’ नामकरण किन नगर्ने ?

बिहानीको हावा खान निस्कनेहरू धुइरोबाट सावधान हुनुपर्ला । त्यो स्वस्थकर नभई हानिकारक हुन्छ, आँखा र फोक्सोका लागि । दमखोकीका रोगीहरू त धुइरोबाट टाढा हुनु नै जाती हुन्छ । आजकालको धुइरो दिनपरदिन विषाक्त हुँदैछ, त्यसबाट दमखोकी मात्र नभई क्यान्सर जस्ता अनेकौं रोगको कारण पनि यही धुइरो बन्न सक्छ । प्रत्येक दिनजसो यहाँका सडकमा टायर बल्न थालेको छ । हाम्रो युवापुस्ताको आक्रोश वा लोकनेताहरूको प्यास ट्रकका ट्रक टायर खरानी भइसक्दा पनि शान्त भएको छैन । बलेको टायरबाट उत्सर्जन हुने धुँवामा डाइअक्सिन (dioxin) लगायत अनेकौं विषाक्त रसायन मौजुद हुने हुनाले विशेष नियन्त्रित भट्टीमा समेत बाल्न निषेध छ, अमेरिका र अन्य देशमा । टायरको धुवाँले क्यान्सर रोग निम्त्याउने, यौनशक्ति क्षीण हुने र शारीरिक विकासमा बाधा पुग्ने वैज्ञानिक तथ्यहरू इन्टरनेटभरि व्याप्त छन् । विद्यार्थी एवम् युवाहरूमा यो चेतना प्रवाह नहुनु चिन्ताको विषय हो । उनीहरूलाई यस्तो आत्मघाती कार्यमा लगाउनु निश्चिय पनि धुइरो दिमागकै उपज मान्नुपर्छ ।

काठमाडौंको कुहिरोसँग इन्द्रजात्राको प्रसङ्ग जोड्ने चलन छ । आफ्नी आमाका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौं आएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिन हामी इन्द्रजात्रा मनाउँछौँ । त्यस बन्धबाट मुक्त गराउन इन्द्रकी आमा स्वयम् काठमाडौं आएर छोराको बदलामा कुहिरो दिन बाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भन्ने कथन अझै पनि जनजिब्रोमा जीवितै छ ।

यसैगरी पारिजात फूलका बारे पनि रोचक पौराणिक कथाहरू सुन्न पाइन्छ । यसको सुगन्ध र रातको महकलाई लिएर कतैकतै यस फूललाई रातकी रानी पनि भन्ने चलन छ । वैज्ञानिक क्षेत्रमा पनि यस बिरुवाको जातीय नाम निक्टान्थस (Nyctanthus) अर्थात् निशा-पुष्प हो । यो जाई परिवारको वनस्पति हो, तर यसको पात भने कमलो र मुलायम नभई झन्डै खाक्सी जस्तै खस्रो हुन्छ । पारिजातको फूल महिलाको नाकमा लगाउने फूली झैं फक्रिएको हुन्छ र चाँदी जस्तै सेतो हुन्छ । फूलीको नली भने सुन्तला रङमा आधी पहेंलोपहेंलो हुन्छ । यस फूलप्रति इन्द्र, कुबेर, कृष्ण र सत्यभामासमेत मोहित भएका शास्त्रोक्तिहरू भेटिन्छन् तर पारिजातको दुखान्त कथा पनि कम मार्मिक छैन ।

पारिजातका एक राजपुत्री थिइन् । तिनको अगाध प्रेम सूर्यसँग कायम हुन्छ । पछि गएर सूर्यले तिनलाई तिरस्कार गर्छन् । प्रेमपीडामा पारिजातले आत्महत्या गर्छिन् । दाहसंस्कार हुन्छ । त्यहाँको खरानीबाट एउटा वनस्पति पैदा हुन्छ । त्यही हो पारिजात । रातको सन्नटामा बोटैभरि फूल फुल्दछन्, तर सूर्योदय हुनुअगावै सबै भरी पनि हाल्छन् । शायद सूर्यलाई तिरस्कार गर्छन् यी फूलहरू । अनेक देवदेवीको प्रिय यो फूल बटुल्न साँझदेखि पारिजातको बोटमुनि चोखो कपडा वा नाङ्लो ओछ्याउने प्रचलन छ । बोटबाट फूल टिप्न हुन्न, पाप लाग्छ भन्ने जनविश्वास निकै प्रबल छ । यस वनस्पतिको प्रजातीय नाम आर्वोट्रिस्टिस (arbortristis) ले पनि दुःखित वृक्ष भन्ने नै अर्थ जनाउँछ । पारिजातको पूरा नाम निक्टान्थस आर्वोट्रिस्टिस (Nyctanthus arbortristis) को अर्थ लगाउन थाल्यौं भने ‘रातमा फुल्ने दुःखित वृक्ष’ भन्ने कुरा खुल्न आउँछ । गीक भाषाको शाब्दिक संयोजनले यही भन्छ । पारिजात, नेपाली साहित्यको एक स्रष्टाको नाम पनि हो । एक सफल साहित्यकारका रूपमा स्थापित विष्णुकुमारी वाइबाले आफ्नो साहित्यिक नामका लागि किन र कसरी पारिजात चयन गरिन्, त्यो बुझ्नु मेरो वशको विषय भएन । तर पारिजात भनेपछि नेपाली वाङ्मयमा शिरीषको फूल आफैं टाँसिएर आउँछ । त्यो शिरीषको फूलका बारे पनि केही चर्चा गरौं ।

हिमाली खण्डमा पाइने शिरीष-खयर, बबुल तथा लज्जावती वर्गमा पर्ने माइमोसा (Mimosa) जातिको वनस्पति हो । नेपालका तराई भावर, चुरे, भित्री मधेस र उष्ण पहाडी क्षेत्रमा सात आठ प्रजातिका शिरीष भेटिन्छन् । यसको वृक्ष मझौलादेखि निकै अग्लो (१०-१५ मिटर पनि) हुन सक्छ । शिरीषका पात मुलायम र उन्यूका पात असङ्ख्य स-साना पातहरूको संयुक्त पुञ्जमा सजिएको हुन्छ । फूल भने रेसमका अनगिन्ती धागोका पुञ्जहरू मिलेर हाँगाभरि लटरम्म हुन्छ । यी फूलको रङ जातअनुसार, गुलाबी, प्याजी, फिका पहेँलो वा हल्का नीलो पनि हुन्छ, तर गाढा निलो फूल भने कुनै पनि नेपाली रैथाने शिरीषमा फल्दैन । टिप्नासाथ ओइलाएर जाने हुनाले शिरीषको फूल अति संवेदनशील वस्तुको प्रतीक मानिन्छ । अरू देवपूजामा प्रतिष्ठित भए पनि गणेशजीलाई यो फूल चल्दैन ।

दशैं-तिहारको बेलादेखि शिरीषका पात झर्न थाल्छन् र फलहरू भने लामा-लामा चेप्टा कोसाका रूपमा रूखैमा पछिसम्म झुन्डी बस्दछन् । रूखैबाट टिपेको कोसामा राम्रो बिउ हुन्छ । कुनै शिरीषको बिउ सय वर्ष पनि बाँच्न सक्छ वसन्तको आगमनसँगै वृक्षभरि पात झाँगिने र गर्मीयाममा निकै भरपर्दो छहारी दिने भएकाले शिरीषले हावाको नाइट्रोजन खिँची माटोलाई मलिलो बनाउन सहयोग पनि गर्छ । यो ज्यादै गुनिलो वनस्पति हो । यही वनस्पतिका नाममा एक लोकप्रिय उपन्यास सृजना हुनु निश्चित नै शोभायमान विषय हो । उपन्यासको शिरीषबारे पनि केही खोजीनिती र चर्चा हुनु आवश्यक छ । अब त्यतैतिर लागौं पनि ।

उपन्यासको स्रष्टा पारिजात दार्जीलिङको एक चिया बगानकी छोरी हुन् । निश्चय नै उनको बाल्यावस्थालाई चिया बगानका शिरीषका वृक्षले छहारी दिएको हुनुपर्छ । झापा, इलाम र दार्जीलिङका चिया बगानमा फुल्ने शिरीष र पारिजातको उपन्यासमा फुल्ने काठमाडौं विशालनगरको शिरीष एकै जातका हुन् वा भिन्दै भन्ने प्रश्न धेरै दिनदेखि उब्जँदै बिलाउने गर्दैछ मेरो मनमा । हुन त शङ्कर लामिछानेले किताबको भूमिकामा लेखिसकेका छन् । “र म चाहिं शिरीषको फूल नै नचिनेको मान्छे । किताब पढुन्जेल मेरा आँखामा ज्याकारान्डा आइरह्यो, पछि थाहा पाएँ अङ्ग्रेजीमा यसलाई (Mimosa Sirissa) भन्दा रहेछन् । यो फूल पत्याइनसक्नु किसिमले राम्रो फुल्छ रे !”

त्यसो हो भने यो चियाबारीकै शिरीष हो ? त्यसमा फुल्ने फूल रेसम धागोको डल्लो जस्तो झुप्पोमा फुल्दछ । यो प्याजी रङ्को वा गुलाबी रङको हुन्छ । पारिजातले धेरैपल्ट वर्णन गरे जस्तो नीलो भने हुँदैन । ठाउँ ठाउँमा उनी लेख्छिन्, “र ठीक त्यही याम जहिले यी रूखले आफूलाई नीलै बनाएर फुलाउँछन् …. एक चोक्टा हरियो ‘चौर नीला शिरीषका फूलहरूले झन्डै छोपिएको … नीलो फूल र एउटी स्वास्नी मान्छे मेरो आँखाबाट ओझेल भइसकेका थिए… फेरि शिरीषका नीला फूलहरू क्रमशः झर्न लागेका थिए …!

यस वर्णनका आधारमा त्यो उपन्यासको शिरीषको फूल चिया बारीको शिरीष नभई काठमाडौं बगैंचाको ज्याराकान्डासँग बढी मिल्न आउँछ । यसको पात शिरीषको पातसँग धेरै मिल्ने खालको भएकाले वैज्ञानिक नाम पनि ज्याराकान्डा माइमोसिफोलिया राखिएको छ । अर्थात् शिरीषपाते ज्याराकान्डा, वनस्पति दक्षिण अमेरिका विशेषतः ब्राजिलको रैथाने भए तापनि यसको अति आकर्षक र नीलो फूल र त्यो पनि अत्यधिक मात्रामा रूखै छोपिने गरी फुल्ने भएकाले उष्ण क्षेत्रमा पर्ने विश्वका अधिक शहर र बगैंचामा यसले स्थान पाएको छ ।

वर्तमान काठमाडौंको सडक र बगैंचा चैतको उग्र घाम र वैशाखको खडेरीले तात्दा ज्याकारान्डा बौलाएर फुल्दछ । रूखै ढकमक्क नीलो हुने मात्र होइन भरेका फूलहरूले रूखको फेदी पनि नीलै हुन्छ । पारिजातको उपन्यासले यही ज्याराकान्डालाई नीलो शिरीषका रूपमा प्रस्तुत गरेको छ । ज्याकारान्डालाई शिरीष नाम दिने श्रेय यस अर्थमा पारिजातलाई नै जानु पर्दछ । काठमाडौंका मालीहरूले भने ज्याकारान्डालाई ‘चखुँचा स्वाँ’ अर्थात् भँगेरी फूल भन्ने नाम दिएका थिए । हुन पनि ज्याकारान्डाको झरेको फूल हातमा राखेर हेर्दा भँगेराको आकृति निर्माण हुन्छ । तर, पारिजातको प्रचारले आज थुप्रै नेपालीहरू ज्याकारान्डालाई शिरीष ठान्न थालेका छन् । काठमाडौंको सडकछेउलाई ज्याकारान्डा शिरीषले ढाकेको धेरै वर्ष भएको छैन ।

पचास वर्ष पहिलेको काठमाडौं शहरमा यी शिरीष यसरी फुलेको मलाई सम्झना छैन । त्रिचन्द्र कलेजमा वनस्पतिशास्त्र पढ्दा घण्टाघर अगाडि मसला र काँगियोका वृक्ष थिए, आजको जस्तो शिरीष थिएन । त्यसैले शङ्कर लामिछानेले २०२२ सालमा पनि शिरीषको फूलबारे अनभिज्ञता प्रकट गरे । त्यस बेलाको काठमाडौंका राणादरबार र क्याम्पसहरूमा भने अनेकौं आयातित फूल बिरुवा हुने गरेको तथ्य भेट्टाइन्छ । ‘उसको घर शिरीषका रूखहरूले घेरेको क्याम्पभित्र रहेछ !’ भन्नु चिया बारीको सेरोफेरोमा आफ्नो बाल्यावस्था बिताउँदाको शिरीषको सम्झना नै शिरीषका फूल थिए वा नीला ज्याकारान्डामा नै उनले आफ्नो शिरीषका फूल भेट्टाइन्, त्यो अतीतको कुहिरोमा बेरिएको छ ।

मेरो र पारिजातको जन्म वर्ष एकै रहेछ वि.सं. १९९४ । वि.सं २०५० वैशाख ४ मा उहाँको स्वर्गारोहण भइसकेको थियो । तसर्थ शिरीषको फूलको रहस्य खोल्न हामी पर्दा उघारेर एक-अर्कालाई हेर्न सक्तैनौं । श्रद्धाको एक अँजुली भने अवश्य दिन सकिन्छ ।

(तीर्थबहादुर श्रेष्ठको पुस्तक ‘नेपाल नखुलेका पाटाहरू’बाट)