आचार्य रजनीश भन्छन् – समयको वर्तुलमा जे चीज पैदा हुन्छ त्यो चिज समयकै भित्र नष्ट हुन्छ । त्यस्तै मनको वर्तुलमा उत्पन्न हुने पानी फोका झैं विचारहरू पनि मनकै परिधिमा समाहित हुन्छन् ।

आकाशको छानोमुनि पृथ्वी जस्ता थुप्रै ग्रहहरू छन्/होलान् । सूर्य, मंगल, बृहस्पति, चन्द्रमा आदि जस्ता अनेक ग्रहहरू, उपग्रहहरू, ताराहरू लगायत अनेक आकाशगङ्गाहरू होलान् । यो अनन्त आकाशको छानो ओढेर बसेको पृथ्वी अर्को विशाल र रहस्यमय ग्रह हो । पृथ्वीको गर्तमा प्रकृतिको जादूले झनै कौतूहल जगाउँछ । प्रकृतिको काखमा आकाश झैँ अनन्तता बोकेको अर्को प्राणी मान्छे छ । यत्रो अपरिमित ब्रह्माण्डको झोलीमा मान्छे नामक प्राणीभित्र रहेको मन त्यतिकै अनन्त र नगण्य छ । 

मनुष्य अर्थात् मन भएको जीव । मन भएका कारण मनुष्य जीवन सार्थक छ । जीवनको सार्थकतामा मनसँगै अरू धेरै कुराहरूले सम्बन्ध राख्छन् । मन मध्यमा छ र मनको वृत्तमा अरू धेरै सहयोगीहरू छन् । केन्द्रमा रहेको मनलाई चलायमान गराउन अनेक चीजहरूले सहयोग अर्थात् उद्वेलित गर्छन् ।

मन आगो हो । मनलाई जलाउन अनेक प्रकारका घ्यू र तेलको प्रयोग सूक्ष्म रूपमा भैरहन्छ । मन पानी हो । मनलाई बग्न कसैको सहारा र जरूरत पर्दैन । ऊ आफै किनारा बनाउँछ र बिना आवाज बगिरहन्छ ।

मन निकै शोभनीय छ । निकै सरल र स्वाभाविक छ । तर त्यही मन अशोभनीय र अनौठो छ । मन कहिले कृष्णको जस्तो विराट स्वरूपमा प्रस्तुत हुन्छ त कहिले रामको जस्तो स्तुत्य ताण्डवमा समाहित हुन्छ । मन शिव जस्तो कहिले सौम्य रूपमा देखा पर्छ त कहिले रौद्र रूपमा । मनको चञ्चलता र स्थिरता यो लोकको अनौठो संयोग हो ।

मन सत्, चित्त, आनन्दको प्रतीक हो । मन शुद्ध चेतनाको दिव्य ऊर्जा हो । यही मन रहरको दास र समाजको ऐना हो । स्वभावले निम्त्याएको कष्ट र मेल हुन नसकेको सौन्दर्यको कुरूप रूप हो ।

म यति बेला जे लेखिरहेछु त्यो मनको छनौट प्रक्रियाको उपज हो । मनको उपजमा आउने विचरणहरू संगत, समाज र प्रकृतिका अवयवहरू हुन् ।

मन ब्रह्माण्ड हो । मनको ब्रह्माण्डीय वर्तुलमा चेतनाका सूक्ष्म बीजहरू कैयौं पटक टुसाइरहेछन् र कैयौं पटक मुर्झाइरहेछन् । अपरिमित खण्डहरूमा निस्कने मनका ध्वनिहरू खगोलीय ध्वनि भन्दा अझै भयंकर र विशाल छन् । मनको परख गर्नु शानदार चुनौती हो ।

मनको आकाश जहाँ सब थोक सम्भव छ । नियम सम्भव छ । अनियमितता सम्भव छ । शुद्ध सम्भव छ । अशुद्ध सम्भव छ । वासना–दुर्गन्ध सम्भव छ । चरण–विचरण सम्भव छ । सुख–दुःख सम्भव छ । प्रेम–घृणा सम्भव छ । यही मन भित्र दानव र देउता सम्भव छ । यही मन कहिले राजा बनेर आफूलाई जङ्गी उभ्याउँछ त कहिले दरिद्रताको पराकाष्ठा नाघ्छ ।

सम्भव मनको आकाश प्रायः असम्भव मात्रै देख्छ र असम्भव मनको अर्को आकाश सम्भव देख्छ । मनभित्र चलिरहने यही द्वन्द्वका कारण मानिस जिउँदो छ । मित्र जस्तो देखिने मन दुश्मन भई लड्न आउँछ । जीत जस्तो देखिने मन हार लिई आउँछ । मनको चक्रमा रात र दिनको गणित चलिरहन्छ । त्यसैले मनको अर्को नाम परिवर्तन हो । लाओत्सेले भने झैँं मन नामक नाम स्मरण गराउने ढङ्ग मात्रै हो । त्यसैले मनलाई सम्भावना र सम्भावनाहीनताको द्रुत मार्ग मान्न सकिन्छ ।

एकैछिन चूपचाप उभिएर मनका हर्कतहरू हेरौं । साक्षी बनौं । पहिले त मनले चूपचाप उभिन दिंदैन । कतै न कतैबाट छटपटीका छिटाहरू ल्याई पुर्‍याउँछ । चञ्चल मनको बेहिसाब छटपटी नै उसको नग्न रूप हो । व्यक्ति द्रष्टा बनिरहेको अवस्थामा प्रष्ट देखिने नग्न रूप नै मनको हो । अरू अवयवहरूले देख्ने, सुन्ने र छुने रूपहरू भ्रमका उपज हुन ।

मन जगतको दर्पण हो । मन आगमन र निर्गमनको सहज प्रक्रिया हो । मन सूचनाहरूको संग्राहलय हो । मन परिवर्तनशील छ तब नवीन खोजको पथमा उभिन्छ ।

सम्यक् अस्थिरता मनको सुन्दर कला हो । मन अस्थिर भएकै कारण जगतमा अनेक परिवर्तन भैरहन्छन । जो हामीले हरबखत देखिरहेका र भोगिरहेका छौं । स्थिरता मनसँग घट्ने विरल संयोग हो । मनको स्थिरता बुद्धत्व मार्ग हो ।

मन शाश्वत यात्री हो । डिजिटल दुनियाँमा अपवाद मन नामक यात्री मुक्तिको बाटोमा हिंड्छ र मोक्ष रूप धारण गर्छ । मनको यो अपवाद दुनियाँ उस्तै चाखलाग्दो र अपरिमित छ ।

मन के हो ? मन के होइन ? भन्ने प्रश्नका उत्तर तत्त्वमीमांसाका तिन भेद (सृष्टि मीमांसा, ईश्वर मीमांसा र मनोविज्ञान) ले दिन सकिरहेका छैनन् । त्यसैले तत्त्वमीमांसा भन्दा पर मनको वर्तुल रहस्यमय घुमिरहेछ । न त विभिन्न कालखण्डका दार्शनिक र वैज्ञानिकहरू मनको जडमा पुग्न सकेका छन् । आशा गरौं मनको जडको पोयो कुनै कालखण्डमा फुक्नेछ र वास्तवमै जीवनको अर्थ बेअर्थ ठहरिनेछ या त प्रलय हुनेछ या त कुनै अभूतपूर्व चमत्कार हुनेछ । 

मनको अवर्णनीय संसारमा न कोही साथी छ न कोही दुश्मन । यदि कोही छ त मनको नजिक मन मात्रै छ ।   आफूले आफैलाई बिथोल्छ र आफैलाई स्वतः नियन्त्रण गर्छ । यो मनको स्वाभाविक र शाश्वत प्रक्रिया हो ।

मनले एक प्रश्नको अङ्कुरण गर्छ र जवाफको बदलामा अनेकौं उत्तरहरू सिर्जना गर्छ । त्यस्तै कुनै एक उत्तरको बदलामा अनेक प्रश्नहरू तेर्स्याउँछ । मन प्रश्न र उत्तरहरूले जेलिएको अद्भुत जाल हो । मन प्रश्नहरूको कारखाना र उत्तरहरूको खजाना हो ।

मन विश्लेषक हो । मन हुने–नहुने सोच्ने दशा हो । मन हिजो सोचेर पछुतो मान्छ र भोलि सोचेर त्रसित हुन्छ । हिजो र भोलि बाँचेर आज जो दुःखी छ त्यो मन हो । हिजोको पश्चताप र भोलिको भयमा आज दुःखी हुने मन द्वन्द्वको भूमि हो । मनको द्वन्द्वकै कारण यो अस्थिर छ । अस्थिरता मनको आवाज हो ।

मन भगुवा हो । यो जहिले भागिरहन्छ । मन हरुवा हो । यो जहिले डराइरहन्छ, तर्सिरहन्छ र हारिरहन्छ । तर मन जागिरहन्छ । जागरण मनको सुन्दर कला हो । जागेकै कारण मन अमृत हो । जागृत मनमा घट्ने घटनाहरू राम्रा हुन या नराम्रा, चाहे सुन्दर हुन या कुरूप, हुन र होइनन्को मध्यमार्ग नै मनको स्वरूप हो । अस्थिरता र स्थिरता कै कारण मनको फैलावट अनन्त छ ।

मन फूल झैं कोमल छ । सुकोमल मनको ढाँचा सुललित छ । संवेदनाको भानमा मन बहेली खेलिबस्छ । यादको कोमलतामा गलिबस्छ । मन पहाड जस्तो कडा छ । प्रतिमा जस्तो अटल छ । रहरको अङ्कुरणमा मनले आकाश छुन्छ । मन बहुलट्टी छ । मन सम्भावनाहरूको दोभान हो ।

मन वसन्त झैं वासनामा मोहित र ग्रीष्म झैं उष्ण छ । वर्षाको भेल जस्तो उर्लंदो र शरदको निर्मलता जस्तो छ । हेमन्तको हतारो र शिशिर जस्तो नग्न छ ।  मन यशोधराको पटुकी जस्तो छ । बाँधिएको कृष्ण जस्तो छ । हनुमान झैं विशाल र सूक्ष्म छ । अष्टावक्र झैं भाँचिएको तर विद्वत छ । रावण जस्तो अहंकारी तर कर्तव्यपरायण छ । शकुनिको पासा जस्तो छ । नकुलको प्रेमयुक्त सुन्दरता जस्तो छ । मनसँग बुद्ध र अङ्गुलिमाल दुवै मार्ग छ ।  मन कतै कबीरको फकिरी जस्तो छ त कतै मार्क्सको जीवन जस्तो प्रशंसित त आलोचित छ ।

मन बहुरङ्ग र बहुढङ्गको छ । मनको उकालो चढेर आकाशको उचाइ छुन सकिन्छ । मनको ओरालो झरेर आकाशको गहिराई छाम्न सकिन्छ । मन देखि भागेर जानु कहीँ छैन । मनलाई बुझे यही स्वर्ग छ । मनलाई बुझे यही नर्क छ । मनको यो विशालतामा सब थोक सम्भव छ । मन बाहिर जति फैलिएको छ उति नै भित्र समाहित छ ।

मन ज्ञानी छ र ज्ञानबाट मुक्त छ । मुक्तिको मार्गमा मनको आफ्‌नो अर्को संसार छ । जो आफैमा स्थिर र अलौकिक छ । मन स्वयं मृत्युको घोषणा गर्छ र एकाकारको कुनै अस्तित्वमा पुग्छ । सायद यो मनको परमात्मासँगको साक्षात्कारको कुनै बिन्दु होला । यो रहस्यमय मनको त्यो ब्रह्माण्ड हो जो शून्यमा बिलाइ जान्छ । र शून्यको अर्थ स्वभावतः सबै अर्थमा उपयुक्त हुन्छ ।

मन वादहरूमा बल्झिरहन्छ । परिवर्तनको सार्थक निकास मनको बल्झाइका उपजलाई मान्न सकिन्छ । चञ्चल मन विकास र विनाश दुवैको कारक हो ।  मन कै कारण प्रियहरू अप्रिय बन्दै जान्छन् । अप्रियहरू नजिकिंदै जान्छन् र प्रिय बन्छन् । मनको घट्टमा केही आघात पिसिन्छन्, केही सग्लै निस्कन्छन् । यस्तै हुन्छ र यस्तै गर्न सकिन्छ भन्नु छैन । मनको चक्रवातमा हरथोक जायज छ । 

मन छाया जस्तो छ । किरणको सहारामा सानो ठुलो हुने जस्तो । बिलाइजाने जस्तो, साथै हिंडिरहने जस्तो । मनको यो अस्वाभाविक स्वभाव कतै शून्य जस्तो त कतै पूर्ण जस्तो छ ।

मनको आँगन टेकेर हिंडेपछि मात्र काम र राम दुवै सम्भव छ । मनको रनवनमा विस्मरणका बिस्कुनहरू पोखिएका छन् ।  स्मृतिका डोबहरूलाई बटुल्नका लागि मन भित्रका मनहरू सक्रिय छन् ।  विस्मरणका बिस्कुनहरूलाई उठाएर रूपान्तरणको खोज यही मनबाट सम्भव छ । जागरण मनको अर्को रूप हो ।

मन प्राकृत छ । मन अविरल सुसाइरहने नदी हो । यो निरन्तर प्रवाहमा छ । मनबाट बहने भाव या विचारहरूलाई नियन्त्रण गर्न खोज्नु आगोमा घ्यू थप्नु जस्तो हो । मनबाट उत्पन्न विचारहरूले दमन सहन गर्दैनन् । भाव र विचारको साक्षी बस्न सक्नु मन माथि विजय प्राप्त गर्नु हो ।  त्यसैले प्राकृत मनलाई सहज बहन दिऊँ र विजय प्राप्त गरूँ । यही नै मनुष्यको स्व जीत हो ।

मन अदृश्य तत्त्व हो । महसूस नै मनसम्म पुग्ने बाटो हो । मनुष्य शरीर भावना, संवेदना, अनुभूति, चेतना लगायतको यात्राबाट मनसम्म पुग्छ । यिनै तत्त्वहरूको जागृत अवस्थाले मनुष्य जीवन जाज्वल्य छ । सब थोक आफूभित्र छ । आफू भित्रको मोती चिन्न नसकेको मनुष्य व्यर्थै अशान्त छ । थाहा भएका कतिपय चिजहरु सहज प्राप्त हुँदैनन्  किनकि मनले विद्रोह गरिरहन्छ । त्यसैले मनसँग सम्झौता गर्दै थाहा भएका चीजहरूको विस्तार गर्नु विजयको शुरूवात गर्ने खुड्किलो हो ।

उपनिषद्हरू भन्छन् – वाणी र दृष्टि नपुगेको ठाउँमा मन पुग्छ । त्यसलाई मनले न चिन्दछ न त जान्दछ । अब त्यसलाई कसले कसरी सिक्न सक्दछ ? त्यस्तै ताओ दर्शन भन्छ –  मनको असाधारण अवस्थाबाट जागृत रहस्यमय विलय र प्रलयलाई मात्रै महसुस गर्न सकिन्छ ।  मनको साम्राज्यमा विष र अमृतको नदी बगिरहेछ । जसलाई प्रत्येक मनुष्यले आफ्‌नै तरिकाले उपभोग गर्न सक्छ ।

मनले वासनासँग निकट सम्बन्ध राख्दछ । वासनाको मोहमा मनुष्य आफैले खाडल खन्छ र आफै फस्छ । अष्टावक्र भन्छन् – मनले मनुष्य जीवनका सम्बन्धहरू विकृत गर्दछ ।  जीवनलाई रेगिस्तान जस्तो बनाउँछ । जहाँ फूल मुस्कुराउन सक्थ्यो तर हातभरि काँडा उमारिदिन्छ । यसलाई प्रेमले बिदा गर र साक्षी बन । त्यसैले भन्न सकिन्छ – ज्ञानवान् मनको अज्ञानी रूप वासना होला । वासनाबाट मुक्ति पाउनु मनको मुक्ति होला ।

पानीको निरन्तर प्रवाहमा उठ्ने फोकाहरू झैँ मनबाट विचारहरू निरन्तर उत्पन्न भैरहन्छन् । पानीका फोकाहरू तत्काल र केही दूरीमा फुटे झैं मनबाट प्रवाहित विचारहरू पनि केही उसैबेला बिलाइ जान्छन् र केही विचारहरू अलिक लामो समयसम्म स्मृतिमा रहिरहन्छन् । समयको एक खण्डमा विचारहरू हराइ जान्छन् या परिवर्तन हुन्छन् ।  मनबाट प्रवाहित हुने विचारको शृङ्खलाले मानिसलाई जिउँदो बनाइरहन्छ र केही गर्ने हुटहुटी जगाइरहन्छ ।

मनको खेल रहस्यमय छ । जसले जुनसुकै बेला गोल गर्न सक्छ । गोल गर्ने व्यक्तिले मनको स्थिरतालाई  बुझ्‌दछ । मनको आवेगलाई सहन गर्दछ । मनको अस्थिरतालाई स्थिर बनाई शानदार प्रस्तुति गर्न सफल हुन्छ । मनको स्वतन्त्र र द्रुतगति बाट पार पाउनु आनन्दलाई ग्रहण गर्नु हो । स्वतन्त्र मनलाई रूपान्तरण गर्नु सम्भावनाका द्वारहरू खोल्नु हो ।

आचार्य रजनीश भन्दछन् – मन नै मनुष्य जीवनको बन्धन र मोक्षको कारण हो ।