नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातान्त्रिक कांग्रेसको एकीकरणबाट सन् १९५० अप्रिल ९ मा नेपाली कांग्रेसको स्थापना भएको थियो । यस पार्टीको मुख्य उद्देश्य राणा शासनको अन्त्य गरी नेपालमा प्रजातन्त्र स्थापना गर्नु थियो । बिपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूले यस पार्टीलाई नेतृत्व प्रदान गरेका थिए । त्यसपछि पनि देशमा धेरै राजनीतिक उतारचढावहरू आइरहे ।

नेपाली कांग्रेस एकीकरण अभियान २०६३ पनि एउटा महत्त्वपूर्ण राजनीतिक घटना थियो, जसले नेपालको राजनीतिक परिदृश्यमा ठूलो परिवर्तन ल्यायो । यस अभियानले विभिन्न गुटमा विभाजित नेपाली कांग्रेसलाई एकताबद्ध गरी बलियो राजनीतिक शक्तिको रूपमा स्थापित गर्‍यो । कांग्रेस एकीकरण अभियान २०६३ का संयोजक अनि नेपाली कांग्रेस पार्टीका एक निष्ठावान् नेताका रूपमा परिचित व्यक्तित्वको नाम हो – चिजकुमार श्रेष्ठ ।

२०३३ सालदेखि नेपाली कांग्रेसमा सक्रिय रहेर राजनीतिलाई नजिकबाट बुझेका एक सच्चा नेपालीको आत्मसंस्मरण हो – ‘यात्रा आफैंभित्र’ । प्रतिकूल पारिवारिक राजनीतिक वातावरण हुँदाहुँदै पनि कांग्रेसी राजनीतिमा प्रवेश गरेका चिजकुमार श्रेष्ठले अतीतका समग्र पक्षलाई फर्किएर हेर्दा आफ्नो जीवन कतै घाम कतै छायामा परेको अनुमान लगाउँछन् । राजनीतिको ‘र’ पनि नबुझ्ने ६–७ वर्षको त्यो कलिलो बालक आज देशले चिन्ने एउटा आदर्शवान् नेता हुँदासम्मका सबै सम्झना र सङ्घर्षहरूलाई समेटेर उनले एउटा पुस्तक लेखेका छन् ।

आत्मसंस्मरण विधा अर्न्तगत ‘यात्रा आफैंभित्र’ नामक पुस्तक आवृत्ति छापाखानाले २०८० को अन्त्यतिर बजारमा ल्याएको हो । यो पुस्तकमा २७ वटा लेख रहेका छन् भने लेखकले आफ्ना छोराछोरीका नाममा लेखेको एउटा चिठी र त्यसरी नै छोराछोरीले पनि आफ्नो पिताजीको नाममा लेखेका चिठी पनि यो सङ्ग्रहभित्र सुरक्षित बसेका छन् । त्यसैगरी, “मैले बुझेको मेरो मान्छे” शीर्षकमा राजनीतिज्ञ श्रीमान्‌का नाममा लेखककी श्रीमतीले पनि एउटा हृदयस्पर्शी पत्र लेखेकी छन् । अन्त्यमा “मलाई जसले जसरी चिने” शीर्षकमा केही नेता र साहित्यकारका विचारहरू समाविष्ट छन् भने किताबको ब्लर्वमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, भरतप्रसाद उप्रेती र डा. नवराज लम्सालको पाठक प्रतिक्रिया देख्न पाइन्छ ।

पुर्ख्यौली थलो ललितपुरको ओटुबहालबाट बाजे बेखालाल श्रेष्ठ धादिङको सुनौलाबजार बसाइँ सरेका रहेछन् । त्यो समयका सुनौलाबजारभरिमा नामुद कपडा व्यापारी रहेछन् उनीहरू । ‘सुकौराको किनारैकिनार’ शीर्षकको लेखमा आफ्नो जन्मथलोलाई लेखकले यसरी सम्झेका छन्‌ : धादिङ जिल्लाको उत्तरतर्फ भैरवीमाईको मन्दिर, दक्षिणतर्फ चुलेडाँडाको चुचुरो । राम्रो हावापानी, प्राकृतिक सुन्दरताले भरिपूर्ण रमणीय ठाउँ ! त्यही उपत्यका हुँदै बग्थ्यो सुकौरा खोला । पछि सुकौरा शब्दबाट अपभ्रंश भई सुनौला भएको हो । र भएको हो आजको सुनौला बजार ।

त्यही सुन्दर सुनौलाबजारका स्थायी वासिन्दा हुन् श्रेष्ठ । उनले कहिल्यै भुल्न नसक्ने सुनौला बजार र बजारको छेउ भएर गुनगुनाउँदै कुदिहिंड्ने उही प्रिय सुकौरा खोला उनका यादभरि तरेलीहरू बनेर बगिरहेछन् उस्तैगरी …लेखक तुलना गर्छन् खोलासँग आफैंलाई, त्यो सुकौरा खोला जस्तै मेरो जिन्दगी पनि बगिरहेछ, खोला त उस्तै छ तर खोलामा पौडिने अनुहारहरू बद्लिए ।

सात वर्षको उमेरमा नै राजनीतिक हावाको तरङ्ग देखेको सम्झना पनि ताजै छ उनलाई । ठाँटी स्कूलमा पढ्दा २०१७ सालको उथलपुथल देखेको सम्झँदै उनी लेख्छन् : नियोजित आतङ्क मच्चाई देशबाट प्रजातन्त्र खोसिएको रहेछ । आज सम्झेर ल्याउँदा त्यो पो रहेछ, नेपाली राजनीतिको कालो वर्ष ।

‘नेपाली कांग्रेस जिन्दावाद’ नारा लगाउँदै त्यो भीडमा मान्छेहरू दौडादौड गरेको देखेका उनले, त्यो जिन्दावाद शब्दलाई जीवनभर माया गरिरहे । उनका पिताजीले पढाइमा मात्र केन्द्रित हुनुपर्छ, बाहिरी अन्य क्रियाकलापमा लाग्नुहुँदैन भनेर अर्ती दिइरहने तर उनी भने किताबी ज्ञान मात्र नभई बाहिरी क्रियाकलाप सबैमा उत्तिकै सहभागिता जनाउनुपर्छ भन्ने । विशेषगरी खेलकूद, नाचगान, घोडादौड, पौडी उनलाई असाध्यै मनपर्ने । एकदिन पौडी खेल्दाखेल्दै त्रिशुली नदी तरेर पारी पुगेको, घोडालाई तालिम दिनेहुँदा घोडाले पछारिदिएको, घोडा दौडमा लडेर साथीको हात भाँचिएको, लाहुर जाने भनेर साथीसँग घर छोडी भागेको जस्ता धेरै प्रसङ्गहरू लेखकले ‘खेल, साथीसङ्गत र जालझेल’ शीर्षकमा कैद गरेका छन् ।

उनी लेख्छन् : हाम्रा अग्रज हाम्रो भविष्यका बारेमा बडो चिन्तित थिए तर चिन्ता गर्ने तरिका ठीक थिएन । लट्ठीको डर देखाउनु ठीक थियो तर लट्ठीको साम्राज्य ठीक थिएन । स्कूल जाँदा जुन गुरु लट्ठी बोकी जानुहुन्थ्यो उहाँलाई राम्रो मान्ने युगका प्रतिनिधि हौं, हामी । तर अब त्यसरी टिचरले विद्यार्थी कुट्न पाइन्न । यदि कसैले त्यस्तो निन्दनीय कार्य गरेको थाहा पाइएमा ती शिक्षकहरू सजायको भागिदार बन्नेछन् ।

त्यतिबेला गाउँका सबै स्कूलहरू माध्यमिक स्तरका बनिसकेका थिएनन् । उनी पढ्ने स्कूलमा पनि आठ कक्षासम्म मात्र पढाइ हुनेरहेछ । आठ कक्षा सकेपछि पढाइलाई निरन्तरता दिन उनी पनि काठमाडौं आए । काठमाडौंको डेरामा बसेर उनका दुई जना दाजु क्याम्पस पढ्थे ।

काठमाडौं पढ्न आएपछि बाको अधीनमा कुँजिएर बस्नु परेन उनलाई । त्यसपछि त उनका अधुरा इच्छाहरू सबै जुर्मुराए । पढाइ बाहेकका अन्य क्षेत्रमा पनि आफूलाई तुरुन्तै संलग्न गराइहाले उनले । अतिरिक्त क्रियाकलापमध्ये खेलकूद र नाचगानमा धेरै झुकाव भएको कारण नयाँ स्कूलमा बेलाबेलामा उनले आफ्नो प्रतिभा देखाउने मौका पाउँथे । सङ्घर्षको मैदानमा दौडिरहेका थिए उनी ।

‘उच्च शिक्षाका लागि सङ्घर्ष’ लेखभित्र मीठो अतीतलाई उनले यसरी स्मरण गरेका छन् । तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको जन्मोत्सवको उपलक्ष्यमा सांस्कृतिक कार्यक्रमका लागि बाल कलाकारको खोजी भएको जानकारी पाएपछि आफूले त्यो मौका पाएर भाग लिएको र प्रथम भएर पुरस्कार थापेको । त्यसबेला, नाटकको बीचमा नृत्य कार्यक्रम राख्ने चलन थियो, त्यहाँ एउटा भोटेशेलो गीत राखिएको थियो जसमा मैले भाग लिएँ र प्रथम पनि भएँ । जाडोको न्यानो घामजस्तै कति मीठो सफलताको मिठास । तत्कालीन बडामहारानी रत्न राज्यलक्ष्मी देवी शाहको हातबाट प्रमाणपत्र पाएँ । जीवनमै पहिलोपल्ट कुनै सफलता प्राप्त गरेर प्रमाणपत्र पाएको थिएँ मैले ।

किताब फूलबारी जस्तै हो, जहाँ अनुभवको सानासाना छरिएका फूलका थुँगाहरू भेटिन्छन् । जीवन हो घनाजङ्गल, जहाँ भेटिन्छन् अनन्तसम्म फैलिएका अनेकन् अनुभवका वनफूलहरू, जसलाई आफैंले छुन पाइने । उनी पनि अनुभवका ती फूल छुन र टिप्न चाहन्थे । नाचेर जितेको त्यो प्रथम पुरस्कार उनको अन्तरमनमा लुकेर बसेको इच्छा र रहरको एउटा सुन्दर फूल नै त थियो । तर यी सबै कुरा पिताजीलाई स्वीकार्य थिएन ।उहाँको एउटै मात्र चाहना थियो – सारा संसार भुलेर छोराले राम्रोसँग पढोस् र ज्ञानी बनोस् । तर सोचे जस्तो भएन । बा-छोरा बीचको कुरा नमिल्दा अन्ततः घरबाट आउने उनको पढाइ खर्च काटियो । दुवै दाजु पनि विदेश उडेपछि उनी सहाराविहीन बने ।

त्यो क्षणको सम्झनालाई उनले यसरी उतारेका छन् : बाको मप्रतिको असन्तुष्टिका कारण मैले एक्लै हिंड्ने अठोट गरें ।

जीवनमा ठूलो कुरा रहेछ अभाव । अभावले नै सिकायो उनलाई आफू भएर बाँच्न, आफ्नो धरातलमा उभिन, परिश्रमी, मेहनती र लगनशील हुन, जीवन बुझ्न, दुःख के हो अनुभूत गर्न र आफ्नो खुट्टामा आफैं उभिन । यसरी जीवनमा आइपरेका अनेक दुःख र सङ्घर्षका बावजुद पनि उनले स्नातक तह सम्मको अध्ययन पूरा गरेरै छाडे ।

बाध्यताको अगाडि कसको के लाग्छ र ! कलेज पढ्दापढ्दै साथीको सङ्गतमा लागेर उनले पनि ठेक्कापट्टाको काम शुरू गरे । १८/१९ वर्षको उमेरमा पहिलो पटक चित्लाङमा बाटो बनाउने कामको ठेक्का लिएको र त्यसै कामबाट बिस्तारै जीवनले नयाँ मार्गमा हिँड्न सिकेको कुरा पढ्दा कति आँट र साहस रहेछ उनमा प्रष्ट हुन्छ । यिनै अनुभव र सिकाइको कसीमा उनको व्यावसायिक, राजनीतिक र सामाजिक जीवनका यात्राहरू सहज बनेर अगाडि बढेका हुन् भनेर पाठकले सहजै अनुमान लगाउन सक्छन् ।

उनको जीवनमा राजनीति र प्रेम एकै पटक शुरू भएछ । २०२८ सालतिर पद्मकन्या कलेज पढ्ने युवतीसँग प्रेममा परेको तर विभिन्न व्यावहारिक अप्ठेरोका कारण पाँच वर्षसम्म चलेको प्रेम एकाएक सक्किएको तर त्यो प्रेमले मनको अन्तरकुन्तरमा आजसम्म पनि दुखाइरहेको त्यो रहस्यलाई उनले प्रेम र विवाह शीर्षकभित्र खोलेका छन् । प्रेमको दुखाइले बिरामी परेको त्यो मन राजनीतिमा सक्रिय भएपछि बिस्तारै तङ्ग्रिन थालेको अनि राजनीतिको नशा चढेपछि प्रेमको नशा उत्रिएको उनी भन्छन् ।

उनी लेख्छन्, “जीवनको कठीन यात्रामा कति आत्तिएँ, कति रोमाञ्चित भएँ, कति उकुसमुकुस भएँ, कति छट्पटाएँ तर विचलित भइनँ । त्यही कालखण्डको जगमा टेकेर आज पनि उभिइरहेको छु । कुनैबेला सदरमुकाम धादिङबेँसी भरि नेपाली कांग्रेसप्रति आस्था राख्नेहरूको लहरमा लगभग म एक्लो थिएँ । राजनीतिको जङ्गलमा हुर्कंदै गरेको एक्लो सानो बिरुवा म । कुनैपनि बिरुवालाई उभिने आड चाहिन्छ भन्छन् । मेरो सानो आड बनिदियो तरुण पत्रिका । त्यो पत्रिका लिएर मकहाँ आउँथे दीपकराज भण्डारी, बाल्यकालदेखिका साथी । नरदेवी यट्खा टोलमा डेरा गरी बस्थेँ म । ती पत्रिका ओछ्यानमुनि लुकाएर राखिन्थ्यो र मौका छोपी वितरण गरिन्थ्यो । बिपी कोइराला, गणेशमान सिंह लगायत ने. का. का नेता बनारसमा हुँदा त्यहाँबाट प्रकाशित हुन्थ्यो तरुण पत्रिका । कांग्रेस पार्टीमा आवद्घ स्याङ्जा निवासी हेडमास्टर मेरा राजनीतिक गुरु जयप्रसाद पौडेललाई र त्यो तरुण पत्रिकालाई म हरपल सम्झिरहन्छु ।

जीवन यात्रामा धेरै थोरै कर्म अनुसारको फल पाउन सकेँ वा सकिन तैपनि जिउँदै गएँ । कैयौँ ठेसहरू लागे तर म हिँडिरहेँ । अघि बढ्न खोज्दा खुट्टा नतानिएका पनि होइनन्, तर म नवीन गन्तव्य खोजतर्फ जीवन केन्द्रित गर्दै रहेँ । यथार्थमा समाजवाद भनेको के हो, समाजवादमा आर्थिक स्वरुप कस्तो हुनुपर्छ र हुन्छ । उत्पादनको समाजवादी वितरण र साम्यवादी वितरण प्रणालीमा फरक के हो जस्ता अनेक जिज्ञासाका लहरहरू मनमा उर्लन्थे । यसलाई शान्त पार्न अध्ययन जरुरी थियो । अध्ययनका लागि प्रकाशित कृतिहरू उनै प्रिय जे. पी. अर्थात जयप्रसाद पौडेलले उपलब्ध गराइदिने भएकाले गर्दा पनि उनलाई म सम्झिरहन्छु ।”

किसुनजीको आमसभामा वामपन्थीको अवरोध, राजनीतिको भेलभित्र, तगराहरू छिचोल्दै धादिङमा गणेशमानजी, ट्याक्टरमा गिरिजाबाबुको धादिङ भ्रमण, संगठनभित्र मेरो जीवन, सक्कली/नक्कली दुर्घटनाहरू, चाक्सीबारीमा महासम्मेलन र जनआन्दोलन, निर्वाचनका अनुभूतिहरू, २०४९को पहिलो स्थानीय निर्वाचन, २०५१ को मध्यावधि निर्वाचन, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण, बैठक बस्दाबस्दै बम विस्फोट, सङ्घर्षका खुड्किलाहरू, कुर्सीमा किसुनजी छटपटीमा गिरिजाबाबु, कांग्रेस एकीकरण अभियान, एक शेरको अवसान र संघियताको सङ्कट, यी शीर्षकमा आबद्ध लेखहरूमा २०१७ सालदेखिको देशको राजनैतिक अवस्थाका बारेमा बुझ्न सकिन्छ ।

जीवनमा अकस्मात् आइपरेका जटिल समस्याहरूका बारे उनले यस्तो लेखेका छन्, थाहा नपाईकन अथवा कुनै लक्षण बिना शरीरले कति डरलाग्दा बिमारहरू बोकिराखेको हुँदोरहेछ । हामीलाई बेलाबेलामा होलबडी चेक गर्नुपर्छ भन्ने कुराको ज्ञान नै छैन । आफ्नो शारीरिक अवस्था के कस्तो छ भनेर बेलाबेलामा डाक्टरी परामर्श लिइरहनु पर्ने रहेछ, नत्र थाहै नपाईकन ज्यान जाने रहेछ । उनको जीवनमा पनि अकस्मात् आइपरेको जटिल समस्यालाई ‘यमराजसँग जम्काभेट’मा लेखेका छन् ।

पुस्तक पढ्ने सबैलाई यस किसिमका बिमारको बारेमा अवगत होस् भन्ने हेतुले यो लेख पढेर सचेत रहन विनम्र अनुरोध पनि गरेका छन् । एकपटक बाइपास सर्जरी र दोस्रोपटक टाउकाको दाहिने भागमा रगत जमेर ब्रेनस्ट्रोक भएपछि दुवैपटक मेजर अप्रेशन गर्नुपरेको तीतो सम्झना पनि यथावतै छ उनीसँग । आफ्नै अगाडि मृत्यु नाचेको त्यो समयलाई उनले यसरी सम्झेका छन् । मान्छेका आफ्नै शरीरभित्र काल लुकेको हुँदोरहेछ । त्यो काल आफ्नो कला देखाउँदै बाहिर निक्लँदो रहेछ यमराजको रुपमा । त्यो डरलाग्दो यमराजसँग भेट भएको त्यो क्षण सम्झँदा पनि मन सिरिङ्ग हुन्छ ।

देशप्रतिको प्रगाढ माया पनि छचल्किन्छ उनको लेखाइमा । मलाई मन परेको एउटा सानो अनुच्छेद यहाँहरूलाई : अमेरिका मलाई सुविधा सम्पन्न जेल जस्तो लाग्छ । मैले मेरो जीवनकालमा आफ्ना चाहनासँग सकेसम्म सम्झौता गरिनँ । मेरो अन्तिम समय म मेरै देशमा बिताउन चाहन्छु । प्रिय छोराछोरी यस बारेमा मलाई कुनै किसिमको दबाब दिने छैनौ भन्ने विश्वास छ ।

हाल राजनीतिबाट सन्यास लिएर सामाजिक कार्यहरूमा मात्रै सक्रिय छन् उनी । यसरी एउटा उमेरहद पार भएपछि युवालाई पालो दिनुपर्छ भन्ने यिनको सकारात्मक सोचलाई मान्नैपर्छ । उमेरले साठी कटेपछि उनले राजनीतिलाई बिसाए सँगै ठेक्कापट्टाको काम पनि छोडे । ठेक्केदारी पेशालाई छोड्नुपर्ने कारणहरू जे जति भए पनि उनकै भनाइमध्येबाट एउटा सानो अनुच्छेदलाई सापटी लिँदै यता राखिदिएँ मैले । मानिसहरू बाध्यता बुझ्दैनन् । सङ्घर्ष बुझ्दैनन् । पन्ध्र वर्षको उमेरदेखि आफ्नै खुट्टामा उभिनुपर्ने व्यक्ति भएको कारण पेशा व्यवसाय पनि चलाउनु पर्ने र राजनीति गर्ने इच्छा पनि भएको हुँदा दुवै एकैसाथ लैजानु पर्ने बाध्यता । तर यो यथार्थ बुझ्दैनन् मानिसहरू । विरोधका लागि विरोध गर्नेहरूले ठेकेदार भन्थे । त्यो ठेकेदार शब्दले बारम्बार घोच्न थालेपछि क वर्गको ठेकेदारी इजाजत पत्र नै खारेज गरेको थिएँ मैले ।

हाम्रो देशका वृद्ध नेताहरूको अनुहार कहिल्यै कतै पनि देख्नु नपरे हुन्थ्यो जस्तो लाग्छ मलाई त अचेल । हो, यसैगरी चिजकुमार श्रेष्ठले जस्तै सबै नेताले आफ्नो जीवनभरि गरेको राम्रा नराम्रा सबै पक्षलाई समेटेर किताब लेखुन्, आफ्नै जीवनको समीक्षा गरुन् । दान, धर्मकर्म गरुन् । गरीबको उद्धार गरुन् । केही गर्न मन लागेन भने सबैले आफ्ना आफ्ना ईश्वरको नाम जप्तै एकान्तमा बसुन् । बिन्ती छ ! राजनीतिक खेल खेल्न मैदानमा उत्रन छोडुन् । हाल आएर कुनै पनि नेताहरूप्रति विश्वास गर्न सकिने अवस्था छैन । दिनानुदिन सक्किँदैछन् हाम्रा नेताहरू । पार्टीमार्फत जनताको सेवा गर्न यसरी कुनै पद नै ओगटेर बस्नुपर्छ भन्ने त छैन नि । अन्तिम श्वास रहुन्जेल नेतृत्वमा टाँसिएर बसिरहने प्रवृत्तिले गर्दा एकातिर नेतृत्व विकासमा अवरोध आइरहेको हुन्छ भने नयाँ पुस्ताको ऊर्जा र क्षमता पार्टी अभियानसँग जोडिन पनि पाउँदैन । यो कुरा केन्द्रदेखि स्थानीय तहसम्मका नेताहरूले कहिले महसूस गर्ने हुन् कुन्नि ? सबै पार्टीहरूमा केन्द्रदेखि स्थानीय तहसम्म उस्तै छ अवस्था । अब सबै जनता वाक्कदिक्क भइसके ।

नेपाल विकसित नहुनुमा नेतृत्व विकासमा अवरोधको यस्तै अभ्यासहरू पनि दोषी छन् कि ? जुन देशमा युवाशक्ति जागरूक र गतिशील हुन्छ त्यो देश पक्कै नै अग्रगामी पथमा जान सक्तछ । त्यसैले अब यो देशको राजनीतिक नेतृत्व शिक्षित युवावर्गमा हस्तान्तरण हुनु जरूरी छ ।

पाठक प्रतिक्रियाको अन्त्यमा यति नै भए पनि आफ्नो मनको कुरा मिसाउन पाउँदा प्रसन्नताले दिप्त आफ्नै मुहार ऐनाअगाडि उभिएर हेर्दा झलल्ल बलेको देखेँ ।