
यो रेडियो नफाल हो ! अब लम्फुप्रसाद दामी जान्नेबाट समाचार सुन्नुहोस् । शुरूमा मुख्य सँगै भुख्खा समाचार त्यसपछि सुख्खा समाचार ! अरू के के छ खै विचार ?
खसीको मासु र च्युरा सँगै आलु र तामाको पिरो अचार । अर्बपति दलका खर्बपति नेता र उनका नाता गोताहरूको माग । आफ्नो घ्याम्पो जत्रो भुँडी भरिए सँगै सबैको भागाभाग !
हिजो बस्ने भनिएको सर्वदलीय बैठक झुक्किएर अस्ति पो बस्यो । शुरूमै सर्वदलीय बैठक भन्दा पाठकको पारो तात्ने डरले खर्ब दलिया नाम राखियो ।
“बेला न कुबेला किन यो बैठक डाकियो ?” बैठकमा एक जना अभागी नाम गरेका सहभागीले केरकार पारे । उनले खायोजकको धन्नैले बङ्गारा झारे ! उनले शुरूमै प्रश्नको पोको तेर्साउँदा बैठक बोलाउने दलको होसहवास उडेर गयो । त्यसपछि खै के भयो भयो ?
करीब एक घण्टा जति समय खेरफाले पछि बल्ल माहौल अलि सेलाएर गयो ।
अब सुन्नुहोस्, पूरा समाचार ! त्यसपछि कुरा अलि धेरै नै हुनेछन् लगभग डोकाचार । गुदी कुरा अरू धेरै नै छन् बैठक त केवल देखाउने लोकाचार ।
बैठकको शुरूमै आयो-गयो तथा खायोजक दलका अड्कफसाद कोलीले आफ्नो कड्के बोली छड्के पाराले शुरू गर्नुभयो । उहाँले एउटा उखान हाल्नुभयो, र अगाडि भन्नुभयो, “ एउटा दल थियो बेथेको साग जस्तै हलक्क बडेको मैले एउटा अरेली काँडाको छेस्कोले छोइदिएको फुस्स भुइँमा लडेको ।”
यो कुरा सुनेर छेवैमा बसेका विपक्षी दलका नरभक्षी नेता खितित्त हाँसे । उनी थिए खामरेड खर्चन्ड ! नजिकै थिए गमक्क परेका गम खामरेड वर्षायाम । वर्षाले हर्ष परेका दाँत देखाउँदै हाँसे । अरू सबै थिए कोही आसेपासे कोही गाँसे ।
अब बोल्ने पालो जेउवा दाइको आयो । जब पालो आयो तब उहाँको गालो हाँसे झैं गर्यो । अनि अलि अलि तरल पदार्थ ओठबाट झुन्डेर भुइँमा झर्यो । रुमाल निकालेर पुछ्नुभयो अनि वाक्के छुट्यो । उता खेपी बाको अनारमा हाँसो फुट्यो । अर्ब खर्ब हुँदै घोटाला घुस, जुस लगायत चुस सबै कुरा भयो । कसैको त धन्नैले सातो नै गयो । कोलीबाले सबैको सातो बोलाउनुभयो । फुस्स कमल छुस्स बात छ भन्दै वाथ रुममा पस्नुभयो ।
फर्केर आउँदा धन्नै सिँढीबाट लडेर तल खस्नुभयो । बल्ल बल्ल बोली फुटेको फाइल खोल्ने कुराले होस नै छुटेको रहेछ । होइन भन्ने को रहेछ ?
उता अर्का एक जना मुर्मुरेर बस्नु भएको थियो । उहाँको नाम दामरेड डाकुने थियो । उहाँ के हो कुन्नि जमातवादीका नेता रे कहिले यता रे कहिले उता रे । उहाँले “मेरो अपमान भयो वर्तमान अन्तरिक्षमा, म सधैं फेल हुने पार्टीको आन्तरिक परीक्षामा ।“ भन्नु भयो । उहाँले आफू खाहा सचिव भएको र पार्टी भड्खालोमा गएको स्वीकार गर्नुभयो । आफ्ना मन्तरीको पद खुस्केको धन्नैले आफ्नो बुद्धि फुस्केको कुरा उहाँले उराल्नुभयो । पद र पैसा हाताहाती पार्नुपर्ने कोलीबाको सेखी झार्नुपर्ने ठोकुवा गर्नुभयो ।
बाले जवाफ दिंदै भन्नु भयो, “तपाईं को पर्नुभयो ?”
यो सुनेर छलनाथ छक्क पर्नुभयो ।
कालो मुख बनाउँदै बसेका दाउरामको बोल्ने पालो आयो । आफू नयाँ शक्ति भएको र भारतको भक्ति गाएको कुरा छुरा जस्तै राख्नुभयो । आफूले भाग नपाए खुलेर बोल्ने, सबै पोल खोल्ने सारा संसार डोल्ने कुरा ओकल्नुभयो ।
यसै बीच साना भुरे टाकुरे राजा जस्ता दललाई बल लगाएर मकै भुटे झैं भुट्ने कुरा भयो । नसके जहाँ भेट्यो त्यहीं कुट्ने कुरा पनि पारित गरियो । यो सुनेर पर्चन्न सर मुसुमुसु हाँस्नुभयो । खाउराम सर ख्याक्क खास्नुभयो ।
“हामीलाई लाइराछ, खान नपाउॅंदा आफूलाई यता ज्वरो आइराछ ।“ बैठक मुख्य विषयमा प्रवेश गर्यो ।
भागबन्डाको संस्कृति अब बढाउनुपर्ने कुरामा जोड दिने नमान्ने दलको सेखी तोड्दिने कुरा भयो । ताली पटटट् बज्यो । एकाएक सबैमा खुशी छायो । लाजदूत सिइओ धागो खाओ भागो मन्तरी जन्तरी सबैमा भागबन्डाको छुः मन्तरी हुने पक्का हैन छक्का हाने झैं भयो ।
सबैको कुरो मिले झैं भयो प्रचन्नजीको जुरो हिलेझैं भयो । जे होस् अस्तिको बैठगमा खुबै मस्ती नै भयो ।
अनि फेरि अड्क फसाद कोली बोलिहाल्नु भयो । मै हुँ भन्नेहरूलाई बुखानतिरको उखानले पोलिहाल्नु भयो । प्रचन्न सरलाई दाह्रा झरेको बाघ भन्नुभयो । यो सुनेर सबै खितित्त हाँसे क्या मजाले डाम्नुभयो !
प्रचन्नजीले आफ्ना दाँत छाम्नु भयो । कोलीसरले आफ्नो सरकार अरू जस्तो नभएको कुरा गर्नु भयो । बरु हलोमा अड्केको गोरु जस्तो भएको कुरा सुनाउनु भयो । सरकारमा अड्केर बस्ने रिस उठेमा पड्केर तल खस्ने कुरा बडा बुरा हिसाबले गर्नुभयो । जेउवा दाइ हाँसेर धन्नै पिसाब नै गर्नुभयो ।
एक जना सहभागीले सोधिहाले, “ सरकारले अहिले के काम गर्दै छ ?” प्रेमले धर्म निभाउँदै जवाफ दिंदै विकास र सम्वृद्धिको बतासे फुल कोरल्दै गरेको कुरा सबै ठूला र भुरा दलको अगाडि राख्नुभयो ।
अलिकति मति नहुनेहरू पनि सहमतिमा नजिक पुगे । बैठकमा गुन्डा, नाइके, लुच्चा, लफङ्गा, लोभी, पापी, चोर, डाँकू तस्कर सबैको सुरक्षा सरकारले गर्ने कुरा अड्कफसाद कोलीले आश्वासन दिनुभयो । यो सुनेर सबैको मनमुहार चम्केको जून झैं उज्यालो हुने नै भयो ।
बैठकको अन्तमा फुस्स कमाल सर, जेउवा दाइको मुखमा हेरेर मुसुमुसु हाँस्नु भयो । फेरी उहाँसँग मिल्न सक्ने कुरा गर्नुभयो । कोलीबालाई एकै गाँसमा निल्नसक्ने कुरा सुनाउनु भयो । यो सुनेर अड्कफसाद रुनै मात्र हैन धन्नै बेहोस हुनै थाल्नुभयो ।
यो देखेर अरिष्ट ‘खा’ दक्ष विश्वर प्वांखरेलले बालाई काखमा हाल्नुभयो ।
हात समातेर सम्हाल्नु भयो ।
अन्त्यमा बैठक टुङ्गाउने कुरा भयो । तर आफू सबै बुङ्गा हुन नहुने कुरामा गतिसँगै मति मिल्यो । बैठकको नाम बदलेर अब बैठग हुने कुरा पनि भयो । ठग राखेमा नामसँग काम कुरो पनि मिल्ने कुरो भयो । तर यो कुराले कसलाई पो चिल्ने भयो । अर्ब दलीय नराखेर खर्ब दलीय नै राखिने भइयो । अर्को पटक सम्म सबै कुरा दलको गर्भभित्र नै राखिने भैयो । सर्व, अर्ब, गर्ब हुँदै खर्ब दलीय बैठग बस्ने सहमति भयो ।
यसैगरी सबै दलका एक एक हल नेता हलगोरु झैं नारिएर बाटैबाट गए । अर्को पटक यसरी नै भेटेर खर्ब दलीय बैठग गर्ने भए । दलबल सहित जुटेर देशको ढुकुटी लुटेर खाने कुरा भयो । खान जन्मेका खन्चुवाहरूको मनको इच्छा पूरा हुने भयो ।
आजको समाचार पूरै सकियो । अरू साना दलको कुरै सकियो । जो ठूलो चोर उसकै ठूलो स्वर । अड्कफसाद कोलीका दाहिने हात हुन् उनै प्वाँखरेल विश्वर । यिनीहरूले कसरी देश चलाउने होलान् हे ईश्वर ! खानेलाई खान कै तलतल देशलाई बनायौ रसातल । कति गर्छौ विश्वासघात अनि छल । यो रेडियो नफाल हो ! यस्सो नेता अब देशले नपाल भो ! यस्तो खेललाई बैठग भन्दा ऐ ठग भन्दा अझै ठीक हुने हो । होइन भन्ने को ..?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

