
आजभन्दा धेरै वर्षअघि, लगभग पचास–एकाउन्न वर्षअगाडिको कुरा हो, च्याङ्थापुको कालीडाँडाबाट गाउँका जम्मै तन्नेरीहरू घिउका टिन बोकेर हिंड्दैहिंड्दै नूनतेल खेप्न दोर्लिङ (दार्जेलिङ) पुगेका थिए ।
सौदापात गर्न भनी हिंडेका ती तन्नेरीको जमातभित्र ठूले र सुतार कान्छो पनि थिए । घिउका टिन दोर्लिङमा बेची नूनतेल (घरायसी सामग्री) बोकेर घरतिर लाग्नुपर्ने ती दुई अल्लारे युवा घिउ बेचेको पैसा बोकेर मुगलानको मीठो कल्पनामा अर्कै लोकतिर हान्निए । आशा, उमङ्गका साथ केही मीठा सपनाको भारी बोकेर मुगलानको खोजीमा भौंतारिएका ती दुई सोह्र वर्षे ठिटाको अत्यन्तै हृदयविदारक कथा पढेको सम्झना आलै छ ।
त्यो मुगलानले धेरै तन्नेरी नेपालीहरूको करुण कथा बोकेको थियो । त्यहाँ मानिस किनिन्छन्, बेचिन्छन्, चुसिन्छन्, रुन्छन्, कराउँछन्, धेरै ता अकालमै मर्छन् र कोही कोही भाग्न सफल हुन्छन् । तीनै दुःखी पात्रहरू मध्ये बौलाएर हिंडेको सुतार कान्छो बाँचेको रहेछ । हुन त ! मुगलानका लेखकले उपन्यासको अन्त्यमा एकदिन सुतार फिर्नेछ लेखेर उपन्यास टुङ्ग्याएका थिए । आज बल्ल बुझ्दैछु : सुतार फिर्नेछ लेख्नुको तात्पर्य । हेर्नुहोस् त लेखकको कस्तो दूरदृष्टि ! मुगलान जानेहरूको कथा सक्कियो त ? अहँ छैन ।
पचास वर्ष पहिले लेखिएको मुगलानले एउटै कथा बोकेको थियो । ती पात्रका धेरै ठूलाठूला सपना थिएनन् । त्यो कथा भोकको थियो, पेटको मात्र थियो । तर आजको नयाँ मुगलानले विविध विषयलाई उजागर गरेको छ । साँच्चै भन्नुपर्दा यस उपन्यासले परम्परित औपन्यासिक संरचनाका सिद्धान्तहरूलाई भत्काइदिएको छ । नेपाली उपन्यासका क्षेत्रमा नयाँ मुगलानले पृथक् शैलीलाई भित्र्याएको छ । साहित्यिक जगत्का अग्रज स्रष्टा गोविन्दराज भट्टराईको हालसालै निक्लिएको डिस्टोपियन आख्यानको नाम हो – ‘नयाँ मुगलान’ । यस उपन्यासले परिवर्तनशील समाजको यथार्थलाई उजागर गरेको छ अनि आजको विज्ञानप्रविधिले हाम्रा आदिम लयलाई तितरबितर पारिदिएको दृष्टान्त छ ।
उपन्यासमा थुप्रै भिन्नाभिन्नै पात्र छन् । ती सबैको आ–आफ्नै कथाव्यथा छ । कथाका प्रत्येक पात्र जुझारु र निडर लाग्दछन् । उपन्यासमा अन्धमुस्टि मात्रै पनि छैन, कतैकतै जुनकीरीको जस्तो पिलिक्क उज्यालोले पनि चिहाउँछ तर पात्रका छेउछाउ त्यो उज्यालो आइपुग्ने बेलामा कथा गएर अन्धकारमा झ्वाम्म हाम्फाल्छ ।
नयाँ मुगलानका प्रत्येक पात्र आफैंमा सशक्त छन् भनेर मैले अघि पनि लेखिसकें । उक्त पुस्तककी पहिलो पात्र हो लिली । जङ्गलको छेउमा उसको एउटा दोकान छ । उसले आफ्नो नामबाटै दोकानको परिचय खुलाएकी छ – लिलीको चिया दोकान । चिया, चुरोट, सुर्ती, बिँडी, करेन्ट, भोला जस्ता खाद्य सामग्री पाइन्छन् उसका दोकानमा ।
“जङ्गलको छेउमै बसेर पनि किन ग्याँसमा पकाउनु भएको नी”, चिया खान आएको ग्राहकले सोध्छ । समयको मागलाई लिलीले बुझेकी छे, “अहिलेको जमानामा पनि कसले दाउरा पोल्छ र, ग्याँसमा पाक्छन् सबै कुरा : दाउरा त मान्छे मर्दा पोल्न र गाईवस्तु छन् भने खोले पकाउन मात्र चलाइन्छ ।”
लेखक लेख्छन्, “गाउँमा गाईवस्तु सकिए, पशुप्राणी सकिए । वनका पशुप्राणी गाउँमा व्याप्त भए । खेतीपाती सारा बञ्जर भए, उब्जने केही छैन तर मानिस बिक्दैछन् । शिक्षा छैन, चेतना छैन, देशको सिमाना काट्दै र कटाउँदै अज्ञात मुगलानमा विलीन हुन्छन् । देशका शासकहरू यसैगरी आफ्नै नागरिकलाई समाप्त गर्न लागिपरेका छन् । आफ्ना नागरिक बेचेर ती झन् शक्तिशाली बन्दैछन् । पुरानो मुगलानका प्रवेशद्वार टालिए तर नयाँनयाँ खोजीमा नेपाली जाति र तिनका इच्छा पूरा गर्न लागिपरेको छ हाम्रो सरकार ।” (पेज १२६)
चिन्तन नभएका नेताहरू भ्यू टावर बनाउनु र जताततै वनजङ्गल नष्ट गर्नु अनि खेतीयोग्य जमीन मासेर बाटाघाटा पिच गर्नुलाई मात्र विकास हो भन्छन् । अहिलेको ताजा मुक्कुमलुङ घटना यहाँहरूलाई अवगत छँदैछ । प्रकृति, सभ्यता, संस्कृति, आस्था र विश्वासलाई कुल्चिएर धेरै माथि पुग्न कोशिश गर्दैछ सरकार ।
यसरी देशको पहिचान मासेर समृद्ध नेपाल सुखी नेपाली बनाउने भन्दैछन् हाम्रा प्रिय नेताहरू ! राजा महेन्द्रले २०२४ सालमै गाउँ फर्क राष्ट्रिय अभियान शुरू गरेका कुरा कति दूरदर्शितापूर्ण रहेछ । यो दीर्घकालीन सोचलाई कुर्सीमा बस्नेहरूले देशव्यापी गरिदिएका भए आज गाउँ रित्तिने थिएन, कृषियोग्य जमीन बाँझो रहने थिएन, अरू देशको खाद्यान्नमा नेपालीले परनिर्भर भएर बाँच्नुपर्ने अवस्था सृजना हुने थिएन । देशलाई यस्तो जटिल अवस्थामा पुर्याउनेले एकदिन त पक्कै यो जडज्ञानको चुरो पत्ता लगाउलान् की !
काठमाडौंमा ब्यूटीपार्लर सिकेकी छे लिलीले, उसका बाउन (श्रीमान्) कतार छन्, यता गाउँमा दाजुभाइ सबै खाडीमुलुक गएपछि वृद्ध बाआमाको स्याहारसुसार गर्न यहाँ आएकी हुँ भन्छे लिली । उसका दुई छोराछोरी पनि ऊसँगै छन् ।
आइए पास लिलीको अन्य कुनै पेशा छैन, पार्लर चलाउन त्यो गाउँमा मान्छे नै छैन । टाइमपासका लागि मात्र दोकान चलाएकी लिलीलाई छोराछोरी पढाउने मन त छ नि तर त्यहाँ कुनै बोर्डिङस्कूल छैनन् । त्यसैले अब यिनीहरू लिएर मधेश नै जान्छु भन्छे लिली । ऊ गएपछि ती बाआमाको अवस्था कस्तो होला ? लिली त एउटी प्रतिनिधि पात्र मात्रै हो । कुनै घरमा पनि युवा छैनन्, किशोरकिशोरी छैनन् । कोही अध्ययनका नाउँमा देश छोड्ने, कोही रोजगारीका नाउँमा । गाउँमा अब बुढाबुढी, अशक्त र केटाकेटी मात्र बाँकी छन् । गाउँ सुनसान छ, गाउँ रित्तिसक्यो । हेर्नोस् त ! हाम्रो देशले कस्तो विकराल रूप लिँदैछ ।
उपन्यासकी अर्की साहसी पात्र छे कोपिला । नयाँ मुगलानकी मुख्य नायिका हो ऊ । मधेशमा जन्मेहुर्केकी कोपिलाले जीवनभरि नै दुःख र सङ्घर्षका अक्करे भीरहरू चढिरही । बहत्तर सालको विनासकारी भूकम्पमा परेर आमाबा दुवै बितेपछि कोपिला एक्ली भई ।
एक्लै बसेरै भए पनि पढाइलाई निरन्तरता दिने उसको चाहना मधेशमा पूरा हुन सकेन । त्यसपछि, पाँचथरमा बस्ने सानिमा नै उसको आडभरोसा र सहारा बनिन् । अन्ततः फिदिम कलेजमा प्लसटु गर्न कोपिला हिंडी ।
पुस्तक पढ्दैजाँदा यस्तो लाग्छ, आमाबा बितेदेखि शुरू भएको दुःखले उसलाई कहिल्यै छोड्दैन होला । यता फिदिम पाँचथर आएर कलेजमा पढ्न थालेपछि उसका धेरै साथी बनेका थिए । ऊ असाध्यै राम्री थिई, उसलाई मन पराउने अनेकौं थिए तर उसलाई मनपर्ने चैं एउटै केटो थियो । त्यो हो – अशेष ।
कलेज जाँदाआउँदाका साथीहरूमा त्यही कलेजमा बिए पढ्दै गरेको अशेष नाम गरेको केटोलाई उसले मन पराउनुको पछाडि एउटै मुख्य कारण थियो, त्यो हो – नजानेको विषय सिकाइमाग्ने चाहना । अशेषसँग उसले नोट्सहरू मागेर पढ्ने गर्थी । सहयोगी थियो अशेष । कोपिला पनि मेहनती थिई । दिनदिनै बोल्दाबोल्दै उनीहरू नजिक भैसकेका थिए ।
प्लसटु सक्किने बेलामा अशेषलाई कहिल्यै भुल्न नसक्ने अवस्थामा पुगिसकेकी थिई कोपिला । अशेष पनि उत्तिकै माया गर्थ्यो कोपिलालाई ।
अशेषा थियो – मुगलानबाट बाँचेर फर्किन सफल एक मात्र साहसी पात्र सुतार कान्छाको छोरा ! उसले डिप्लोमा सम्मको अध्ययन नेपालमै सक्दा कोपिलाले पनि प्लसटु सम्मको अध्ययन पूरा गर्छे । कसैलाई खबर नगरी उनीहरू वैवाहिक बन्धनमा बाँधिन्छन् । सँगै बाँच्ने, सँगै मर्ने भन्दै अशेषले एक वर्षसम्म जागीर खोजिगर्यो तर अहँ, कतै केही भेटेन ।
हेर्नोस् न ! दुईवटा मुगलान बीचको समय कति हेरफेर भइसक्यो । पचास वर्षको अवधि भनेको सानो कुरा होइन नि ! यत्रो समयसम्म ती मुगलानका पात्रहरू लेखकको दिमागमा सुरक्षित बसेको देखेर छक्कै पर्छु म । पचास वर्षअघिको मुगलान पुरुषप्रधान थियो । यता नयाँ मुगलानले नारी पात्रलाई स्पट लाइटमा राखेको छ । त्यतिबेलाका प्रायः महिलाहरू घरधन्दामा मात्र सीमित रहन्थे । तर अहिले समय फेरिएको छ । अबका नारीहरू घरधन्दामा मात्र सीमित छैनन् । समाजमा घटेका र घट्नसक्ने सत्य घटनाहरू एकपछि अर्को गर्दै नयाँ मुगलानभित्र अटाएका छन् । सामाजिक सञ्जालको दुरुप्रयोगले ग्रस्त बनेको हाम्रो समाजको चित्रण गरेको छ उक्त उपन्यासले ।
गाउँमा सात दिनमा एकपल्ट आउँछन् कहाँ-कहाँ देखिका गल्लावाल–खाडी लाने, मलेसिया, कोरिया, युरोप, अस्ट्रेलिया, बिना पैसामा उडाउँछौं भन्नेहरू । यता मधेशमा जन्मेहुर्केकी कोपिला च्याङ्थापुको सादेवा गाउँभन्दा तलको भीरमा पुगी । अशेषसँगको प्रेमले उसलाई जीवनभरि अनेकौं सङ्घर्षको मैदानमा उफारिरह्यो । जङ्गलका दाउरा ओसार्ने, भीरको घाँस काट्ने, सबै काम चूपचाप गरिरही कोपिलाले ।
पहाडको खेतीले परिवारलाई खानै नपुग्ने, यता देशमा जागीर छैन । भरसक्के विदेश जान नपरे हुन्थ्यो भन्ने चाहन्छ विचरो अशेष । एकदिन आफ्ना बाले सुनाएका नयाँ मुगलानको कथा सुनेपछि मामा भेट्न पनि गयो विराटनगरसम्म । भूटानीका नाममा अमेरिका उडाउने मानव तस्करीका नाइके आफ्ना मामाले तीस लाख लाग्ने गोप्य रहस्य खोलेपछि घरै फर्कियो ऊ । त्यो गरिब मनुवासँग कहाँबाट होस् र तीस लाख रुपैँया, साथमा सुकोपैसो थिएन उसको । आमाले पालेका खसीबोका बेचेर बल्लतल्ल खर्च जुगाड गरेपछि मामा भेट्न हिँडेको थियो ।
अन्त कतै केही पार नलागेपछि अब खाडी मुलुकको सपना बुन्न शुरू गर्यो उसले । परिवार पाल्ने जिम्मेवारी उसकै काँधमा थियो । अर्थोपार्जनको स्रोत अर्थोक केही नहुँदा कति दुःख थियो होला त्यो परिवारमा । अनेक मेनपावर धाउँदा धाउँदा बल्ल उसलाई साउदी अरेवियन ओइल कम्पनीमा काम मिल्ने पक्कापक्की भयो । वृद्घ मातापिता र यौवना श्रीमती छोडेर अरब उड्यो अशेष । ऊ हिंडेको केही समयपश्चात् कोरोना नामको महामारी फैलियो जताततै । त्यो महामारीले संसारै तहसनहस बनायो । यता गाउँमा पनि छिरेको त्यो व्याधीले अशेषकी आमालाई पनि लगेरै छाड्यो । त्यस्ता दुःखका घडीमा ऊ गाउँ फर्कन सकेन । संसारै ठप्प थियो, आओस् पनि कसरी । आमा बितेका चार वर्षपछि अशेष एकपटक तीन महिने छुट्टीमा घर आयो । छुट्टी सकिएपछि ऊ फेरि उतै फर्कियो, आफ्नो कर्मभूमितर्फ ।
एकदिनको कुरा हो । खोलादोभान छेउमा रहेको मिलमा कोपिला तोरी पेल्न गएकी थिई । तेल पेलेर घर फर्कंदै गर्दा रोयल एनफिल्ड चढेर आएका दुई युवकले उनलाई केही सोधपुछ गरे । सुतार कान्छाकी बुहारी र अशेष बहादुर कार्कीकी श्रीमती भन्ने थाहा लागेपछि एउटा चिठी निकालेर कोपिलालाई हस्तान्तरण गरे । त्यो चिठीमा के थियो, ती युवकहरू को थिए, किन आएका थिए, त्यसपछि कथाले कस्तो मोड लिन्छ, यी सबै प्रश्नका उत्तरहरू पत्ता लगाउने जिम्मा मैले पाठककै हातमा छोडिदिएँ । एकदिन अचानक कोपिला ग्वालीमा आगो झोसेर हिँड्छे । ऊ किन त्यसरी हिंडी ? आफ्नो अतीतलाई आगो लाउनु एउटा बिम्ब हो, बिम्बको मर्म नबुझी नारी चरित्रलाई औंल्याउने ती सबै सङ्कुचित मनस्थितिका दास हुन् । नारी प्रतिको दृष्टिकोण कस्तो रहेछ त्यो उनीहरूको लेखाइले प्रष्ट पार्छ । हामी नेपालीहरू अझै पनि हाम्रो समाज परिवर्तन भएको हेर्न चाहँदैनौ विशेषतः नारी जातिलाई । विगतलाई मेटेर, भूलेर, उसले आफ्नो जीवनको सबै अन्धकारलाई आगो लगाइदिन्छे र उज्यालोको खोजीमा ऊ हिंडेकी हुन्छे ।
साँच्चै भन्नुपर्दा, हिजोआज समाज बिथोलिएको छ । ऐले प्रत्येक घर भत्किँदै छ, किनभने प्रत्येक पात्रका गन्तव्य चारैतिर खुलेका छन् । को कहाँ जान्छ र उतै हराउँछ, उतै सकिन्छ – फर्किने चाहना र असमर्थतालाई सुतार बाले मुगलान भनेका थिए । मानिस फर्किन पनि सक्छ तर चोइटिएर, चिरिएर, टुक्रिएर । अर्को ठाउँको सम्झनाको दाग बोकेर । नयाँ मुगलान नवीनताको धारमा टेकेर लेखिएको उपन्यास हो भने उता फर्केर हेर्दा एकतीस सालको मुगलानलाई नेपाली डायस्पोरा प्रयोग मानिन्छ ।
अशेष र कोपिलाको जस्तो जीवन बाँचिरहेका नेपाली दाजु–भाइ, दिदी–बहिनीहरू थुप्रै हुनुहुन्छ । विदेशिएको जीवन, एकान्त रेगिस्तानको हावामा उडेको बालुवा जस्तै हो । न घरको न घाटको, जसको अस्तित्व शून्यतातर्फ धकेलिंदै गइरहेको छ । कठोर नियतिको भूमरीमा परी कत्तिले त आफ्नै देशको माटोमा अन्तिम सास फेर्ने सौभाग्य पनि पाउँदैनन् । यो कथा, ती युवाहरूको नियतिको एउटा सानो अंश मात्र हो, जसले आफ्नो जीवन विदेशी भूमिमा समर्पण गरे । रेमिट्यान्सको चमकले तत्कालका लागि अर्थतन्त्रलाई टेवा दिएको देखिन्छ, तर यो चमकभित्र विकासको खोक्रोपन लुकेको छ । समयको प्रवाहसँगै सम्झनाहरू पनि धमिलो हुँदै जान्छन् । स्वदेशको हरियाली डाँडाकाँडा, खोलानाला, र आफ्ना प्रियजनहरूको अनुहार, सबै विस्मृतिका पर्खालहरूभित्र हराउँदै जान्छन् । तर हराउँदैनन् कसै गरेर पनि ती सुनौला सपना बोकेका आशावादी मिहिनेतका दागहरू, मेटिँदैनन् ती अनिदा रातका आँसुका टाटाहरू । यिनै अलिखित पीडा, हाम्रो समाजको एउटा गहिरो घाउ हो, जुन निको हुन धेरै समय लाग्नेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

