अब्दुल कलामको एउटा सर्वप्रिय भनाइ छ, ‘सपना त्यो होइन, जो निदाएको वेला देखिन्छ । सपना त त्यो हो, जसले निदाउन दिंदैन ।’ हो पनि, सपनाले हामीलाई सधैं जागरूक र उत्साहित बनाइरहन्छ । कतै प्यारो र संघर्ष विहीनको ‘प्राप्ति’ हुन्छन् सपना । त कतै संघर्ष र मेहनतको प्राप्ति हुन्छ सपना । कतै खुशी र मक्ख बन्न सपना देखिन्छ वा देखाइन्छ भने कतै ठूलो लक्ष्यका र उद्देश्यले देखिन्छ । जे होस् सपना आफैमा जिन्दगीको एउटा अभिन्न अङ्ग बन्न पुग्छ । त्यसैले सपना एउटा संसार हो । अनि सपना कल्पनाको महासागर हो । कताकता सपना जीवनको रेखा अनि बाँच्नुको आधार पनि हो ।  सपना बिना के मान्छेहरू बाँच्न सक्छन् ? मान्छेलाई मान्छे बन्न पनि सपना चाहिन्छ ।

सपना अर्थात् सुदूर भविष्यका लागि कोरिएको एउटा मोहक मार्गचित्र हो । यो इच्छा र आकाङ्क्षाको प्रारूप पनि हो ।

एउटा प्रेमीको सपना के हुन्छ ?

आफ्ना प्रियतमसँग सधैं सधैंका लागि जीवन बन्धनमा बाँधिएको ।

एउटा नेताको सपना के हुन्छ ?

मुलुकको कार्यकारी प्रमुखको हैसियतमा गरिमामय पदमा विराजमान भएको ।

एउटा किसानको सपना के हुन्छ

आफ्नो खेतीबाली लहलह भएर सप्रिएको ।

सपना त्यही हुन्छ, जहाँ उनको धरातल हुन्छ । धरातल अनुसार नै मान्छेले आफ्नो सपना सजाउँछन् । सपना कतै सामान्य इच्छा मात्र हुन्छ भने कतै महत्त्वाकाङ्क्षा बनिदिन्छ । कुनै कुनै वेला यस्तो महत्त्वाकाङ्क्षा, जो शायदै पूरा हुन्छ । जस्तो एउटा नवजवान, जसले कुनै बलिउड सुन्दरीलाई आफ्नो जीवनसाथी भएको सपना देख्न सक्छ । त्यसैले सपना देख्न कुनै खर्च गर्नुपर्दैन । बस्, सपना देखे पुग्छ ।

सानो छँदा जब हाम्रा हजुरआमाहरू हामीलाई काखमा सुताएर परीका कथा सुनाउँथे । त्यहाँ राजकुमारको पराक्रमको बखान गरिएको हुन्थ्यो । ती राजकुमार अत्यन्तै सुन्दर, ज्ञानी र पराक्रमी हुन्छन् र उनले सुशील, सुन्दर, मेहनती, बुद्धिमानी कन्यासँग विवाह गर्छन् ।  कथाले एउटा सपना जन्मिन्छ । विवाह के हो, विवाह किन गरिन्छ  र यसको बारेमा धेरै ज्ञान नभए पनि हामी आफूलाई राजकुमार भएको सपना देख्थ्यौं । परीसँग विवाह गरेको सपना देख्थ्यौं । तर, जति जति हुर्कंदै जान्थ्यौं, त्यो सपनाको रंग फिका हुँदै जान्थ्यो । र, हामीलाई आफ्नो धरातल बोध हुन्थ्यो । सपना भङ्ग हुन्थ्यो । हामी तन्द्राबाट ब्यूँझन्थ्यौं र आफूलाई वास्तविक जीवनमा बाँच्ने यत्न गर्थ्यौं ।

अहिले यस्तै सपना हो, डाक्टर बन्ने पनि । डाक्टर भएपछि पाइने मान प्रतिष्ठा, कतिपय अवस्थामा धन ऐश्वर्यले धेरैलाई यसतर्फ लोभ्याएको छ । अन्ततः धेरै युवायुवती डाक्टर बन्ने सपना बुनेर संघर्ष गर्न थाल्छन् । पुस्तकका ठेलीहरू घोक्न थाल्छन् । अनिदो रात कटाउन थाल्छन् । हाँसखेल, रमाइलो छाडेर आफ्नो पढाइमा दत्तचित्त हुन्छन् । तर, जब डाक्टर बनेर वास्तविक धरातलमा अवतरण हुन्छन् तब उनीहरूको तन्द्रा टुट्छ ।

सपना भन्दा कति फरक रहेछ जिन्दगी ? उनीहरू महसूस गर्न थाल्छन् । डाक्टर बनिसकेपछि जे जस्तो प्राप्ति हुन्छ भनेर सपना देखेको हुन्छन्, त्यो फगत सपनामा सीमित हुनसक्छ । त्यसैले कतिपय भित्रभित्रै छटपटाउँछन् । कति भित्रभित्रै निसासिन्छन् । मनमा अनेक कुण्ठा र गुनासो बोकेर कोही देशमै बस्छन् । कोही सपनाकै खोजीमा परदेशिन्छन् । अहिले नेपालमा यस्तै परिदृश्य देख्न पाइन्छ ।

कस्तो हुन्छ डाक्टरको सपना ?

हरेकको सपना फरक फरक होला । अधिकाशं डाक्टर बन्नेहरूले भावनात्मक रूपमा मानव सेवाका सपना देखेका हुन्छन् । अरूको जीवन बचाउने, र पीडामा  भएकाहरूको उपचार गरिदिने, बिरामीहरूको पीडा कम गर्ने, जिम्मेवारीपूर्ण काममा योगदान दिने, भावना र यसले दिने सन्तुष्टि नै सपना हुन्छन् । कतिलाई बाल्यकालमा देखेको डाक्टरको काम, परिवारका सदस्यको उपचार, वा कुनै प्रेरणादायक कथा वा घटनाले यो सपना देख्न प्रेरित गरेको हुन्छ । समाजमा स्वास्थ्य सेवाको आवश्यकता देखेर, विशेषगरी दुर्गम स्थानहरूमा जहाँ स्वास्थ्य सेवा पुग्न गाह्रो छ, सेवा गर्न चाहने इच्छाले पनि कतिपयले डाक्टरको सपना देखेका हुन्छन् । आकर्षक व्यक्तित्व, सफा र छरितो पहिरनमा सज्जिएको डाक्टर अस्पताल पुग्दा बिमारी र बिमारीका आफन्तहरूको भेट्ने लाइन हुन्छ, शायद यसैले पनि ठूलो सपना देखाएको हुनुपर्छ ।

तर अहिले समाजले डाक्टरको सफलतालाई उनको पेशा मात्रै सम्झन्छन् । र एक असफलताको खोजीमा हुन्छन् । डाक्टरले सेवा गरेको भन्दा पनि सेवा बेचेको मात्रै सम्झन्छन् । समाजले डाक्टरले चढेको ठूलो गाडी देख्छन् । तर मध्यरातमा पनि शल्यकक्षमा उभिएर अप्रेशन गरेको देख्दैनन् । शनिवार होस् या सार्वजनिक बिदाहरू सबै आफ्ना घर–परिवारसँग रमाइरहेका अवस्थामा पनि अस्पतालको आकस्मिक कक्षमा खटिएका डाक्टरलाई चिन्दैनन् । दशैंको रमाइलोमा पीङबाट लड्दा होस् या तिहारको मसलादार खानेकुराले पेटमा समस्या होस् अस्पतालमा भन्ने बित्तिकै डाक्टर हुनुपर्छ । मानौं डाक्टरलाई टीका थाप्ने रहर हुँदैन । डाक्टरका दिदीबहिनी हुँदैनन् ।

समयले कोल्टो फेरेको छ, अहिले डाक्टरले गरेको सेवा समाजले चाँडै बिर्सन्छन् । कोभिडको महामारी नै सम्झे पनि, यथार्थ चित्रण हुन्छ । मानव स्वास्थ्यमा आएको त्यो खतरनाक महामारी । सबै घरमा कैद भए तर डाक्टर ? त्यस महामारीमा पनि भ्रष्टाचार (ओम्नी काण्ड) भए, मास्कमा कालाबजारी गरे, अस्पतालका शैया र औषधी-भ्याक्सिनमा समेत राजनीति भए । नेता, व्यापारीहरूले मानव लाश माथि नि व्यापार गरे । पैसा नि कमाए, सम्मानित पनि भए । तर डाक्टरले जोखिम लिएर सेवा गरे । कतिले त्यस वेला न कोठा पाए, न खाना पाए ।

अहिलेको वास्तविकता यस्तै छ । पहिचान, प्रतिष्ठा र पैसा पाउने सपनाले बनेका डाक्टरहरूले न पहिचान, न प्रतिष्ठा, न त आर्थिक सम्पन्नता पाएका छन् । पाएका छन् त केवल लगातार ३६ घण्टासम्मको जिम्मेवारी अनि एकै असफलतामा ‘लुटेर, ज्यानमारा’ को उपाधि । अहिले सुन्दर संसार, सुखी जीवनका सपनाले डाक्टरहरूको लागि ‘उडायो सपना सबै हुरीले’ भन्दा कत्ति पनि फरक नपर्ला ।