(कवि ओ साय्–योङको जन्म सन् १९४२ मा दक्षिण कोरियामा भएको हो । उनका कविताका एक दर्जन र आलोचनाका आधा दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । सन् १९८४ मा उनले कोरियाली आधुनिक कवितामा पुर्याएको योगदानका लागि सर्वोच्च बुद्धिष्ट सम्मान “नेकोन अवार्ड” प्राप्त गरे । उनी क्यालिफोर्निया विश्वविद्यालयमा आमन्त्रित प्राध्यापक समेत रहेका थिए । उनको यो कविता अङ्ग्रेजीमा प्रकाशित “फ्लार्वस लङ फर स्टार्स” नामक कविता सङ्ग्रहबाट अनुवाद गरिएको हो ।– अनुवादक )
कफी
म तिमीलाई माया गर्छु भनेर लेखूँ ?
म तिमीलाई घृणा गर्छु भनेर लेखूँ ?
नोटबुकको पानाअगाडि
कलम हल्लिन्छ
म काँपिरहेको हातले
एक कप कफी पिउँछु
यो गुलियो छैन
यो तीतो छैन
तिनीहरूमा विशेष स्वाद मिसिएको छ
अलिकति चिनी हालेकाले
यो ठिक्कको स्वादको छ
मलाई कालो कफी मन पर्दैन
कपमा चिनी पग्लिएजस्तै गरी
मेरो चेतना विवेकको कपमा घोलिन्छ
राति एक्लै कफी पिउँदै
नेटबुकको खाली पाना अगाडि
म आफूलाई हेर्छु ।
अनुवादक – भीष्म उप्रेती



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

