‘सबैभन्दा तीक्ष्ण दिमाग कक्षा कोठाका अन्तिम बेन्चमा भेटिन सक्छन्’ – सामान्य जस्तो लाग्ने यो भनाइको अन्तर्यमा पसेर भावार्थ खोतल्ने भने जोकोही मानिसलाई पनि यसले ४४० भोल्टको करेन्ट लगाइदिन सक्छ ।

पेशल आचार्य
यो महान्वाणी भारतका पूर्व राष्ट्रपति स्व.एपिजे अब्दुल कलामको हो । कलाम भुइँ मान्छेको तह औ तप्काबाट स्वपरिश्रम र अतुल लगनले क्रमशः माथि उठेर अन्तरिक्ष विज्ञानका क्षेत्रमा भारतमा ठूलो योगदान दिने त्यस्ता महापुरुषहरूमध्ये हुन् जसलाई भारतीय राजनीतिले सर्वसम्मत रूपले राष्ट्रपतिजस्तो उच्च गरिमामय स्थानमा पु¥यायो । उनी वैज्ञानिक, अनुसन्धाता, मोटिभेसन स्पिकर, प्राध्यापक, लेखक, सामाजिक अभियन्ता र राष्ट्रपति समेत भैसकेका बहुमुखी व्यक्तित्व हुन् ।
स्व.कलामको चर्चा यहाँ मुफ्तमा गरिएको होइन । यिनको महान्वाणी जो माथि ‘कोट’ गरियो त्यसैलाई समर्पणमा उद्धृत गरी आफ्नो निबन्धात्मक कृतिमा एकजना नेपाली निबन्धका क्रियाशील लेखकले एक दसक समय लगाएर निबन्धको कृति प्रकाशित गरेका छन् । कृतिको नाम –‘ब्याक बेन्चर’ र निबन्धकार हुन् – पेशल आचार्य ।
डिकुरा पब्लिकेसन, बागबजारद्वारा २०७६, माघमा प्रकाशित यो निबन्ध सँगालोमा २९ वटा आत्मपरक निबन्धहरू समेटिएका छन् । वरिष्ठ कवि÷निबन्धकार महेश प्रसाईंको बेजोड भूमिका रहेको यो कृति आकर्षक साजसज्जा र कलेवरमा रम्रिएको छ । २४० पृष्ठको यो किताबको मोल ३९९ रूपैयाँ राखिएको छ ।
‘जीवन, जगत, प्रेम, यौन, इतिहास, दर्शन, वाङ्मय, कला, विकास, संस्कार, सन्तती, विवाह, सन्तान र भावी संसारका बारेमा विविध विषयानुभूति र तीर्यक चित्रणका साथ प्रस्तुत गरिएको’ कुरा लेखकले एक प्रश्नमा स्वीकारेका छन् ।
‘ब्याक बेन्चर’ नामक यिनको टाइटल निबन्ध र सङ्ग्रहकै मुटु हो । यसका अलावा मिठो झन्झट, दुःख आफै दुख्ने गर्छ, शब्दका पछाडिपछाडि, असत्य मेव जयते, भार्या चिन्तन, सम्पादकको मृत्यु, कीर्तिपुरे जुत्ता, शम्भवामी युगेयुगे, समय बालापन फर्काइदे, कट्फर जिन्दगी र रित्तो गुँड र चरा
नियतिजस्ता बेजोड आत्मपरक निबन्धहरू नयाँ पुस्ताका लागि अमिट कोसेली हुन सक्छन् ।
२०३६ सालको ‘सडक कविता क्रान्ति’मा कवि भवानी घिमिरेको कविता भन्ने अद्भूत शैली र विद्रोह चेतका कविताको नटुङ्गिने रागबाट सर्लक्कै प्रभावित बनेर नेपाली साहित्यमा उदाएका पेशल आचार्य रूचिले कवि, निबन्धकार र कथाकार तथा पेसाले शिक्षक र प्राध्यापक हुन् । उनले तीन दसकको शिक्षण र प्राध्यापनका दौरानमा हजारौं विद्यार्थीहरूलाई कक्षाभित्र र बाहिर सिकाए÷सुझाए । सोही पेसाले उनलाई आफ्ना कक्षाको अन्तिम सिटमा बस्ने विद्यार्थीहरूको हाउभाउ, प्रतिभा र अन्तर्आवाजलाई सुन्यो । अन्ततः यो कृतिको जन्म भयो ।
तीसको दसकको उत्तराद्र्धदेखि कविता विधामा देखापरेको नाम हो – पेशल आचार्य । २०२३ साउन १५ गते विराटनगर –४, बरगाछी, मोरङमा माता शोभा आचार्य र पिता श्याम आचार्यका तीन भाइ छोरामध्ये जेठा छोराका रूपमा जन्मेका आचार्यले त्रिविबाट नेपालीमा एम्ए र बीएड्को शिक्षा हासिल गरेका छन् ।
यिनको लेखन २०३६ सालबाट आरम्भ भएपनि प्रकाशन चाहिँ २०४० सालबाट भएको हो । यिनी स्थानीय, क्षेत्रीय र राष्ट्रिय पत्रिकाहरूमा विस्तारै कलम चलाउँदै खारिएर आएका लेखक हुन् । जमानामा लेटरप्रेसका ग्लाली प्रुफमा काम गरेका यिनलाई लेखनको सुखदुःख र प्रकाशनका ‘लगडधस्’ राम्रोसँग थाहा छ ।
२०६० सालमा ‘कमिलाको ताँती’ नामक बालकविता सङ्ग्रह प्रकाशित गरी कृति प्रकाशनको दौडमा सामेल आचार्यका बालकथा, कविता, निबन्ध, अन्तर्वार्ता, समालोचना र आत्मपरक निबन्धका गरी १० वटा किताब प्रकाशित भैसकेका छन् । यिनका ‘डुसी बाछी र भाइटीका’ तथा ‘किस्ताको कम्प्युटर’ नामका दुई कथाहरू कक्षा ५ र ६ मा विगत् एक दसक अघिदेखि कोर्समा पढाइ हुँदै आएका छन् ।
यिनले आधुनिक र राष्ट्रिय गीतहरू पनि लेखेका छन् । यिनका गीत सङ्स नेपालले यु ट्युबमा अपलोड गरेको छ । मुक्तक, छोक र हाइकूमा यिनी आफूलाई संक्षिप्तमा प्रस्तुत गर्न औधी मन पराउँछन् । यिनी बालसाहित्य र किशोर साहित्यमा तालिम समेत दिन्छन् । लेखन, सम्पादन, प्रकाशन र गोष्ठीमा यिनले उत्पे्ररित गरेका प्रतिभाहरूले यिनलाई ‘पि गुरु’ भनेर बोलाउँछन् । अध्ययन, लेखन र प्रशिक्षणमा समर्पित आचार्य रामेछाप जिल्लाका वर्तमान समयका सबैभन्दा पुराना नेपाली भाषा शिक्षक, साहित्यिक पत्रकार र लेखक हुन् ।
शिक्षण पेसामा रहेका आचार्य हाल मन्थली नमुना मावि मन्थलीको सहायक प्र्रअ पदमा रहेका छन् । नेपाली भाषा शिक्षक समाज र अनौपचारिक साहित्यिक मञ्च रामेछापका अध्यक्ष समेत रहेका आचार्यले परिवेश पुरस्कार – २०५१, कविता महोत्सव पुरस्कार, धरान – २०५५, उत्कृष्ठ कवि, बीबीसी, लण्डन – २०५४ र राष्ट्रिय शिक्षा पदक –२०६८ समेत प्राप्त गरेका छन् ।
पुस्तक प्रकाशनको माहोल पार्दै लेखकलाई पाँच प्रश्न गरिएको छ । प्र्रस्तुत छ सवाल÷जवाफ ः
प्रश्न १) यहाँको साहित्य लेखनको मूल उद्देश्य के हो ?
उत्तर : समाज र समयलाई कलात्मक शब्द चित्रमा उतारेर भविष्यका सन्ततीलाई विविध विधा र नामका दस्तावेजका रूपमा विचार सुम्पने चाहना ।
प्रश्न २) लेखेर के पाउनु भयो ? के गुमाउनु भयो ?
उत्तर : मेरो विचारमा लेखनमा गुमाउनु पर्ने केही छैनन् । सबै पाउनु मात्रै छन् । लेख्ने मान्छेकै नाताले भलिभाँती समाज पढ्न पाएँ । नैरन्तर तरोताजा (अपडेट) हुने अवसर जो मिलेको छ । केही साथीभाइ पनि कमाएँ । विद्यार्थीलाई सकेको काउन्सिलिङ् गरेकै छु । धेरै लेखक र पाठकलाई नजिकबाट पढेको छु । एउटा जीवनमा यो भन्दा धेरै उपलब्धि अरू के हुन सक्छन् र ?
प्रश्न ३) कति कृति प्रकशनमा आए, अझै कति बाहिर ल्याउने योजना छ ?
उत्तर : १० वटा आए । ७ वटा बाल साहित्यका र ३ प्रौढ साहित्यका । बाल साहित्यका कृति अब छैनन् । प्रौढ साहित्यका चाहिँ सबै विधा गरी अझै ८÷१० वटै कृति छन् । कुनकुन आउँछन् अहिले नै भन्नु चाँडो हुनेछ । प्रकाशकले जे मन पराउँछन् ती अघि आउने रै’छन् । यो ‘ब्याक बेन्चर’ निबन्धसङ्ग्रह समेत १० वर्षका दौरानमा प्रकाशन भएको हो । अब २०७७ मङ्सिरतिर निबन्धकै कृति ‘पावर, मनी र सेक्स’ बजारमा आउँदै छ ।
प्रश्न ४) : पुरस्कारका सवालमा यहाँको धारणा जान्न सकिन्छ ?
उत्तर : लेखन अनन्त इच्छा हो भने प्रकाशन नै प्रथम पुरस्कार हो ।
प्रश्न ५) : नयाँ लेखकहरूलाई लेखनका बारेमा के सल्लाह दिनु हुन्छ ?
उत्तर : नयाँ लेखकहरू हामी पुरानाभन्दा धेरै उम्दा र चुजी छन् । तिनीहरूको विषयवस्तु पक्रने कला, लेखन शैली र अध्ययन हामीभन्दा धेरै उच्च स्तरको छ । अझ म त भन्छु ः यहाँ पुराना भन्दा नयाँ लेखकअघि, गुरुभन्दा चेलाअघि, बाबुभन्दा छोराअघि, नेताभन्दा जनताअघि र लेखकभन्दा पाठक अघि देख्छु । अहिले लेख्ने जो सुकैले पाठकलाई नजरअन्दाज गरेर लेख्यो भने त्यो टिक्दैन अनि बजारमा बिक्दैन । यो समग्रतामा हो । म केही पुरानै भए पनि सबै खाले नयाँहरूलाई असीम माया र ऊर्जाशील उत्प्रेरणा दिन्छु । दिइरहेछु ।
(आदरणीय पाठकहरू ! लेखक पेशल आचार्यलाई मोबाइल नम्बर ९८४४०४४०८३ र इमेल espeshal2023@gmail.com र peshal Acharyaनामक फेसबुक अकाउन्टमा सम्पर्क गरी साहित्यिक संवादमा जोडिन सकिने छ ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

