कथाकार वसन्त पराजुलीको नवीनतम् कथासङ्ग्रह ‘कुमाता’भर्खरै बजारमा आएको छ । उक्त कथासङ्ग्रहले पाठकको मन तरङ्गित पारेको छ । शीर्षकले एकातिर नारीवादी दृष्टिकोणमाथि पटाक्षेप गरेको देखिन्छ भने अर्कोतिर पाठकमा उत्सुकता पैदा गराएको छ । संस्कृतमा एउटा उक्ति छ, ‘कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति’ अर्थात् पुत्र कुपुत्र हुन सक्ला तर माता कहिल्यै कुमाता हुन्नन् । यो कथनलाई भत्काएर हाल समाजमा विद्यमान विकृति ,विसङ्गति एवम् अवैधानिक रूपमा गर्भधारण गर्नुको कारण कयौँ नवजात शिशुहरूको हत्या गर्न विवश छन् माताहरू भन्ने तथ्यलाई कथामा प्रस्तुत गरिएको छ । फक्रन नपाउँदै कोपिलामै निमोठिन्छ । थाहा छैन, सायद देशका कयौँ भविष्यका होनहार नागरिक यसरी मृत्युवरण गर्न विवश हुन्छन् । आफू र आफ्नो अस्तित्वलाई समाजमा कायम राख्न गरिने यस्ता कर्तुतहरू दिनप्रतिदिन बढ्दै छन् । जुन कुरा सभ्य र समुन्नत समाजका लागि तगारो बन्ने गर्छन् । यद्यपि यस सङ्ग्रहमा सङ्ग्रहित कथाहरू भिन्नभिन्न स्वाद र विषयका छन् तथापि पङ्तिकारको ध्येय कथाभित्र प्रस्तुत नारी संवेदनालाई उजिल्याउनु रहेको छ ।

‘कुमाता’भित्रको नारी संवेदना
नारी संवेदनाका दृष्टिले ‘कुमाता’ सशक्त देखिन्छ । यसमा सङ्ग्रहित प्रायः कथाहरूमा नारीका संवेदना कुनै न कुनै रूपमा प्रस्तुत भएका छन् । सहमतिमै भए पनि कथाका पात्रहरू बीको अवैध यौन सम्पर्कका कारण झेल्नु परेको दुर्दशाले नारी संवेदनालाई उत्कर्षमा पुर्‍याएको छ । यसरी सर्सर्ती हेर्दा कथाका नारी पात्र सजिलै पुरुषसँग प्रेममा फँस्ने अनि सम्बन्ध बसिसकेपछि शरीर सुम्पन पनि पछि नपर्ने भएका कारण उनीहरूले विभिन्न परिस्थितिसँग सिँगौरी खेल्नु परेको देखिन्छ । यसकै ज्वलन्त उदाहरण हो, कुमाता कथा । कुमाताकी कान्छीले साहिँलो भन्ने चिरपरिचित ट्रक ड्राइभरको विश्वास गरी प्रेममा फँसेर गर्भवती भएकी तर गर्भवती भएपछि साहिँलो फरार भएका कारण बच्चा जन्मेपछि आफैँले घाँटी थिचेर मार्न र स्वघोषित कुमाता बन्न विवश भएकी छ । पुरुषले जेजसो गरे पनि हुने सामाजिक संरचनाका कारण पुरुषहरू कहिल्यै कुपिता नबन्ने तर नारीहरू कुमाता बन्नुपर्ने अवस्थाको सृजना भएको छ ।

‘एउटी आमाले शिशु जन्माउने र हुर्काउने चाहना हुँदाहुँदै पनि समाजले त्यसलाई नाजायज ठान्छ, पतित भन्छ र कलङ्कको टीका लगाउँछ भने एक नारी निर्दयी बन्न विवश अवश्य बन्छे । मैले केही सोच्नै सकिनँ आमाको ममतालाई नै चुनौती दिँदै आँखा चिम्लिएँ । कुमाता बनेर त्यो शिशु च्याँ गर्न नपाउँदै कठोर हातले घाँटी थिचेर मारिदिएँ । अनि भनिदिएँ मरेको बच्चा जन्मिएछ ।’(पृ ..३३)

त्यसैगरी परिबन्द कथामा नाटकीय प्रेममा फँसेकी मङ्गलीको उस्तै दुर्दान्त अवस्थाको चित्रण छ । आफ्नो औँला चिरेर निस्केको रगतले मङ्गलीको सिउँदो भरेर तथा कथित लोग्ने बन्ने नाटक गरेको सन्तेको विश्वासका भरमा शरीर सुम्पेकी मङ्गलीले गर्भवती भएपछि उसको झूटो आश्वासन बुझ्छे तर नेपाली उखान ‘ ……….दैलो पनि देख्यो’भनेझैँ पश्चातापको अग्निमा जल्न पुग्छे ।

‘एक मन त आत्महत्या गरूँ जस्तो पनि हुन्छ । केटी मान्छे । समाजले जान्ने र बुझ्ने गरी विवाह भएको छैन । उसले माइतमै बसेर बच्चा जन्माउनु पनि त्यति सजिलो कहाँ हुन्छ र यो समाजमा ? तर पनि त्यै अप्ठ्यारो बाटो जाने निष्कर्षमा पुगी मङ्गली ।’(पृ .६७ )

अस्मिता कथाकी पात्र अस्मिता अमितसँगको अन्तर्जातीय प्रेममा फँस्छे तर अवैधानिक रूपमा गर्भवती भइसकेपछि भ्रूण हत्या गराउन बाध्य पार्ने अमितले हत्यापछि अस्मितालाई छाड्छ । अमितले छाडेपछि रविनसँग वैवाहिक जीवनमा बाँधिएकी अस्मिता रविन विदेश गएपछि परस्त्रीसँग यौनसम्पर्क गरेकै कारण उतै जेल पर्छ । श्रीमान् जेल परेपछि खर्च धान्न धौधौ परेकाले यौनधन्दामा लाग्न विवश हुन्छे । सामूहिक बलात्कारमा परेर दुर्दान्त अवस्थामा पुगेकी अस्मिता आफूले अत्यन्तै विश्वास गरेको यौन पार्टनरले ‘मलाई पनि दिन्छ्यौ कि ?’ भनी माग गरेपछि अत्यन्त आक्रोशित भएर भन्छे, “हो, म वेश्या हो ! वेश्या ! वेश्या भन्दैमा जहाँ पायो त्यहीँ जति जना पायो उति जनासँग सम्बन्ध राख्न सक्छे ?” (पृ .८०) “हामीलाई वेश्या यही समाजले बनायो । यिनै पुरुषहरूले बाध्यपारे । पुरुष कतिसम्म निर्दयी र स्वार्थी हुन्छ । के पुरुषले मानवता गुमाइसक्यो ? ” (पृ ८१) ‘नियति’कथामा तेह्र वर्षे बालिकालाई गर्भवती बनाएर वैभव भागेको छ ।आफ्नो गर्भपतन गराउन अस्पताल पुगेकी ती बालिकाको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको घटना प्रस्तुत गरिएको छ ।

‘दोषीको ?’ अर्को नारी संवेदनाले भिजेको कथा हो । नारीको यौनमनोविज्ञानलाई कथामा देखाइएको छ । विवाह गरेपछि, श्रीमान् श्रीमतीले वैधानिक रूपमा यौन सम्पर्क गर्न सक्छन् तर यस कथाकी सरितालाई बिहेपछि पनि लोग्नेले यौन प्रति कुनै चासो नदेखाएका हुनाले उसलाई अचम्म लाग्नु स्वभाविकै हो । एकातिर साथीहरूले सुहागरातको वर्णन गरेका अर्कोतिर लोग्नेले सुहागरातमा पनि आफूलाई वास्ता नगरेका कारण उसमा लोग्ने प्रतिको वितृष्णा बढ्दै जान्छ । आखिर किन…? भन्ने प्रश्नले उसलाई कोपरिरहन्छ । ‘घरमा सासूससुराले त अझै आफ्नो वंशवृद्धि छिटो भएहुन्थ्यो भन्ने चाहना राख्छन् । तर आफूलाई आफ्नै श्रीमान् ले अहिलेसम्म छोएका छैनन् ।” (पृ .१०६) बिहे गरेको तीन वर्षसम्म पनि श्रीमान् ले सम्पर्क गर्न नखोजेपछि ऊ परपुरुष (आकाश)सँग लहसिन्छे । आखिर प्राकृतिक रूपमा नारीका पनि त इच्छा चाहनाहरू हुन्छन् नि तर भन्ने कसलाई ? केही सीप नलागेपछि उसले आकाशकै गर्भधारण गर्छे र त्यसबाट जन्मेको बच्चा जबरजस्ती श्रीमानलाई स्वीकार गर्न लगाउँछे । “यो मेरो सम्बन्धको निसानी हो । सक्छौ मेरो पेटको बच्चा तिमीले मेरो हो भनेर स्वीकार्ने, हैन भने यसलाई कसरी जन्माउनुपर्छ मलाई थाहा छ ।” (पृ.११० ) यहाँनेर सरिताको माध्यमबाट नारीलाई सक्षम र सबल देखाउन कथाकार सफल भएको देखिन्छ । नारीका इच्छा, चाहनालाई प्रस्फुटित हुन नदिने पुरुष प्रधान समाजलाई चुनौती दिँदै आफ्नो आमा बन्न पाउने नैसर्गिक अधिकार प्राप्त गर्न सफल भएकी छ, यस कथाकी पात्र सरिता । आफू तेस्रो लिङ्गी भएकै कारण पनि समाजमा आफ्नो अस्तित्व कायम गर्नको लागि बच्चा स्वीकार्न उसको लोग्ने मञ्जुर भएको छ । यहाँनेर नारीको मनसायको स्वीकार गरेर होइन कि समाजमा आफ्नो पुरुषत्व कायम राख्न उसले स्वीकृति दिएको मान्न सकिन्छ ।

यसरी ‘कुमाता’ कथासङ्ग्रहमा सङ्ग्रहित प्रायः कथाहरूमा नारी संवेदना प्रचुर मात्रामा पाउन सकिन्छ । पितृसत्तात्मक सामाजिक संरचनामा जकडिएको नेपाली समाजमा घटिरहेका थुप्रै यस्ता घटनाहरूलाई टपक्क टिपेर काल्पनिकताको जलप लगाउन सक्नु कथाकारको प्राप्ति देखिन्छ । पाठकलाई आन्दोलित बनाउने खुबी कथाकारमा प्रशस्त देखिन्छ । कथा पढ्दै जाँदा पाठक आफ्नो सम्पूर्ण कुरा बिर्सेर कथामा डुब्न सक्छ । नारीका संवेदना पुरुषले बुझ्न सक्नुपर्छ अन्यथा यसले गम्भीर रूप लिन सक्छ । कुमाता बन्न विवश बनाउने सामाजलाई पुनः एकपटक गम्भीर रूपमा सोच्न बाध्य बनाएका छन्, सङ्ग्रह भित्रका कथाहरूले । नारीहरूले सजिलै पुरुषको विश्वास गर्न पुग्दा कसरी दुःख सागरमा डुब्नु पर्ने अवस्थामा पुग्नुपर्छ भन्ने कुराको सचेतता कथामा प्रशस्त पाइन्छ । समग्रमा नदीझैँ सलल बगेको कथावस्तु , भाषामा सरलता र बोधगम्यताका कारण कथासङ्ग्रह उत्कृष्ट बन्न पुगेको छ ।

कृतिः कुमाता कथासंग्रह
लेखकः वसन्त पराजुली
पृष्ठः ११२
कथा संख्याः १०
मूल्यः २००
प्रकाशकः भुँडीपुराण प्रकाशन प्रालि