जुन बेला भारतका प्रख्यात कवि तथा फिल्मकर्मी गुल्जार मुम्बई आए, त्यो बेला उनी आफन्तको ग्यारेजमा काम गर्थे ।

उनको काम भनेको बिग्रेका कारमा रङ लगाउनु हुन्थ्यो । त्यो बेला रङ लगाउने कार निकै कम हुन्थे । त्यसैले ग्यारेजमा उनी प्रायः फुर्सदिला हुन्थे । फुर्सदमा उनी जासुसी उपन्यासहरू पढ्थे ।

उनी काम गर्ने ग्यारेजभन्दा केही पर एउटा पुस्तक पसल थियो । त्यहाँ चार आना तिरेपछि भने जति पुस्तक पढ्न पाइन्थ्यो ।

त्यहीँबाट उनले जासुसी उपन्यास ल्याउँथे र रातभर पढेर सिध्याउँथे । किताब पसले पनि दिक्क हुन थाल्यो- दिन्छ चार आना, पढ्छ, १२ आनाको !

जुन दिन उनी रातभर पढेको उपन्यास फर्काउन र अर्को उपन्यास लिन भनी गएका थिए, पसले झन्कियो- कति पढेको ?

जासुसी उपन्यास यसले धेरै पढ्यो भनेर पसलेले प्रायः कसैले नपढ्ने एउटा कविताको किताब झिकेर दियो ।

किताब थियो, रवीन्द्रनाथ टैगोरको ‘माली’ (द गार्डनर) । यो कविता सङ्ग्रह थियो । आकारमा निकै सानो ।

यो कविता गुल्जारलाई यति मन पर्यो कि केही दिनसम्म उनले दोहोर्याइतेहोर्याई पढे । गुल्जारले अनुपम खेरद्वारा सञ्चालित एउटा टेलिभिजन शोमा भनेका छन्, ”माली’ कविता मेरो जीवन बदल्ने पुस्तक थियो । त्यो कवितासङ्ग्रह नपढेको भए म शायद एउटा राम्रो ग्यारेज चलाउँथेँ होला तर राम्रो कविका रूपमा शायदै परिचय बनाउन सक्थेँ होला ।’

गुल्जार भन्छन्, ‘जब मैले टैगोर पढेँ, त्यसपछि बाङ्ला साहित्यका अन्य साहित्यकारहरूका सिर्जना पनि खोज्न थालेँ । मैले यसपछि शरत्चन्द्र पढेँ र अन्य सुन्दर कृतिहरू पढेँ ।’

यस्ता कृतिहरू पढ्दै गएपछि पूरा साहित्य संसारको एउटा कुनो फेला पर्छ र त्यो कुनोलाई पछ्याउँदै त्यो संसारसम्म पुग्न सकिन्छ भन्ने गुल्जारको धारणा छ ।

राम्रो कवि कसरी बन्ने भन्ने प्रश्नमा गुल्जार आफ्नो उदाहरण दिँदै भन्छन्, ‘बच्चा बेलामा हामी स्कुलमा अन्ताक्षरी खेल्थ्यौं । त्यस्ता अन्ताक्षरीमा कहिलेकाहीँ नभएका सिर्जना पनि गढ्नु पर्थ्यो । जित्नै पर्ने धारणाका साथ केही सुन्दर पंक्तिहरू याद गरिन्थ्यो । ती महान् पंक्तिहरू पहिले त थाहा हुँदैनन्, मात्र याद गरिन्छन्, पछि तिनले बिस्तारै अर्थ दिन थाल्छन् । बच्चाबेला याद गरिएका कयौँ कविताहरूले पछि उमेर बढ्दै गएपछि नयाँ अर्थ दिन थाले । तिनै अर्थलाई आफ्नो तरिकाले व्यक्त गर्न थालियो । त्यसैले कोही भविष्यमा लेखक बन्नु छ भने उसले सानोमा धेरैभन्दा धेरै कुरा पढ्नु, याद गर्नुपर्छ । ती कुराहरू पछि काम लाग्छन् ।’

‘तपाईं रातारात लेखक बन्न सक्नुहुन्न, सिकेका, जानेका र बुझेका कुराहरूबाट तपाईं क्रमशः लेखक बन्नुहुन्छ,’ उनको भनाइ छ ।

उदासी निकै लामो समयसम्म रहन्छ । यो अगरबत्तीजस्तै हुन्छ । खुसी चाहिँ फुलझडी (झिर्झिरे) जस्तै हुन्छ, सीमित अवधिको । त्यसैले गुल्जार भन्छन्, ‘उदासी लेखिएको साहित्यले धेरै लामो समयसम्म मान्छेलाई समातिरहन्छ । बिछोडले मानिसलाई पछिसम्म पिरोलिरहन्छ, जति खुसीले उसलाई अल्झाउन सक्दैन । त्यसैले संसारभर उदासी बढी बिक्छ, रोदन बढी बिक्छ ।’

पढ्नुको फाइदा कति भयो भने उनी जब एक पटक फिल्म निर्देशक विमल रोयकहाँ कसैले लिएर गयो, रोयले सोधे, ‘काबुलीवाला भन्ने कथा पढेका छौ ?’

गुल्जारले भने, ‘पढेको छु । मलाई कथा पूरै याद छ ।’

‘उसो भए, त्यसमाथि मैले फिल्म बनाउँदैछु, त्यसको पटकथा लेखेर ल्याऊ,’ विमल रोयले शुरूमै काम दिए ।

उनले भोलिपल्ट केही दृश्य लेखेर रोयलाई देखाए । उनलाई मन पर्यो । कति मन पर्यो भने, ‘भोलिदेखि तिमी मेरो सहायक भयौ ।’

गुल्जार भन्छन्, ‘पढ्ने बानीका कारण नै उनले मलाई मन पराएका थिए, त्यसपछि सधैँ उनी मेरालागि एक पितासमान व्यक्ति सधैँभरि रहिरहे । उनले मलाई फिल्मउद्योगमा जम्न सहयोग गरिरहे ।’

तर काममा लिनुअघि विमल रोयले भनेका थिए, ‘अब तिम्रो ठाउँ ग्यारेज होइन, त्यहाँ फर्केर नजानू ।’

त्यसपछि उनी फर्केर पनि ग्यारेज गएनन् । यद्यपि, जीवनमा सधैँ गुल्जारलाई लागिरहन्थ्यो कि म फिल्म उद्योग प्रथम रूचिको ठाउँ होइन । म कहिल्यै कविता लेख्दिनँ । तर उनी फिल्म उद्योगमै जमे, उनी कविकै रूपमा परिचय स्थापित गरे । उनले कालजयी बलिउड गीतहरू लेखे, जुन विरलै कविको भागमा पर्ने गर्छ ।

अमिताभ बच्चन र राजेश खन्ना अभिनित तथा ऋषिकेश मुखर्जीद्वारा निर्देशित ‘आनन्द’ जब हिट भयो, त्यसपछि मात्र उनी मागवाला फिल्म लेखकका रूपमा जमे । उनले यसमा पटकथा तथा संवाद लेखेका थिए । यसका गीत पनि उनैले सिर्जना गरेका थिए ।

सन् १९९९ मा हुतुतु फिल्मपछि उनले निर्देशनलाई चटक्कै माया मारे । एक त यो फिल्मलाई निर्माताले जान्ने बनेर काटकुट पारे । फलस्वरूप फ्लप भयो । अर्को चाहिँ, उनलाई धेरै किताबमाथि काम गर्न मन थियो । त्यसै पनि फिल्म फ्लप भएपछि निर्माताहरू टक्टकिन्छन् नै ! उनलाई पनि किताबमा काम गर्न पर्याप्त समय हुन थाल्यो । जुन उनको मनपर्ने विषय पनि थियो ।

उनकी छोरी मेघना गुल्जारले फिल्म बनाउने काम थालेपछि उनलाई पनि हाई सञ्चो भएको छ । छोरीलाई चाहिएका कथा, पटकथा तथा गीतहरूमा सहयोग गर्छन्, नत्र भने आफ्नो मनमर्जीका किताबमा काम गरिरहेका हुन्छन् ।

मन दुख्दा प्रायः लेखकले राम्रो लेख्छन्, के यो जरूरी छ ? भन्ने प्रश्नमा गुल्जार भन्छन्, ‘मन दुख्दा मात्र कविले वा लेखकले राम्रो लेख्छन् भन्ने छैन । लेख्नेमा कति बुझाइ छ, त्यसमा राम्रो लेख्ने वा नराम्रो लेख्ने कुरा भर पर्छ । महसुस गरेको कुरा लेख्न सक्नु नै राम्रो लेखकको परिचय हो ।’