विलियम सेक्सपियरका पितालाई तानाशाही, रिसाहा र घरेलु हिंसा मच्चाउने एक व्यक्तिका रूपमा चित्रण गरेको भन्दै उपन्यासकार म्यागी ओफरेलको आलोचना हुन थालेपछि उनले पाठकहरूसँग माफी मागेकी छन् ।
हालै चर्चामा रहेको र पुरस्कारसमेत प्राप्त गरेको उपन्यास ‘ह्यामनेट’मा उनले सेक्सपियरको पारिवारिक जीवनभित्र चिहाउने प्रयास गरेकी थिइन् । जसमा सेक्सपियरका पिता जोन अति निरंकुश र हिंसा मनोवृत्ति भएको व्यक्तिका रूपमा चित्रण गरिएको थियो ।
उनले देशकै चर्चित व्यक्तित्वका पितामाथि गलत चित्रण गरेपछि चित्त दुखाउनेहरूसँग माफी मागेकी भए पनि उनले भनेकी छन्, ‘मैले बिना प्रमाण भने लेखेकी होइन र जसरी लेखेँ, त्यसका लागि मसँग पर्याप्त प्रमाण भएको पनि होइन । मात्र ‘कोरियोलानस’ र ‘म्याकबेथ’मा सेक्सपियरले पिताको चरित्रलाई जसरी चित्रण गरेका छन्, त्यस हिसाबले उनले घरमा भोगेका भोगाईलाई नै मूर्त रूप दिएका हुन् कि भन्ने मेरो कल्पनाशीलतालाई उपयोग गरेकी हुँ ।’
उनले यो माफी हालै सम्पन्न डिजिटल हे फेस्टिभलमा बोल्ने क्रममा मागेकी हुन् ।
सेक्सपियर संसारकै सबैभन्दा परिचित व्यक्तिमध्येमा मानिइन्छन् । यस्तोमा उनको जीवनका बारेमा धेरैलाई चासो हुने गरेको तर सेक्सपियरको बालापनदेखि लन्डनमा अभिनेता हुञ्जेलसम्मका घटनाक्रमहरूका बारेमा जान्न जीवनीकार र उपन्यासकारहरूलाई निकै रूचि छ ।
१७ औँ शताब्दीमा आएर मात्र सेक्सपियरका बारेमा अलि बढी चासो राखिएको थियो तर त्यो बेलाको चासोको वृत्तमा उनको बालापन र युवावस्था पर्न नसक्दा अहिले पनि निकै कम जानकारी उपलब्ध छ ।
सेक्सपियरकी पत्नी एन हाथवेका तीन सन्तान थिए । छोरा हामनेटको ११ वर्षकै उमेरमा देहान्त भएको थियो भने जुडिथ र सुसाना दुई छोरी थिए । यता जुडिथ र हामनेट जुम्ल्याहा थिए।
हामनेट उपन्यास जन्मिनुको कारण खोतल्दै उनले भनेकी छन्, ‘मलाई सधैँ सेक्सपियरका छोरीहरूप्रति रूचि थियो । तिनलाई मैले भेटेकी भए सेक्सपियरसँग केके प्रश्न सोध्थेँ होला भनेर अनेकन् कुरा मनमा खेल्थे । सेक्सपियरका रूचि, अरूचि, पिताका रूपमा सेक्सपियर, जब लन्डनबाट घर फर्कन्थे, त्यो बेला उनको फुर्तिफार्ती र अनेकन् कुरा मनमा खेलिरहन्थे । तर दुःखको कुरा त्यस्ता महान् व्यक्तिका मूल्यवान सूचना र जानकारी दिनसक्ने कोही पनि छैन ।’
तर सेक्सपियरका बारेमा उनले लामो शोधपछि मात्र उपन्यास लेख्न सकेको बताएकी छन् । उनले यसका लागि सेक्सपियर युग चिहाउन त्यस बेलाका ठाउँहरू मात्र घुमिनन्, एलिजाबेथको निजी बगैँचाबारेको जानकारी बटुलेर घरैमा ती बोटबिरूवा उमारेकी थिइन् ।
त्यो बेलाका जडिबुटी बारेका जानकारी बटुलेर आफैँ घरमा प्रयोग गर्ने गर्थिन् ।
उपन्यास लेख्दै गर्दा आफूले एलिजाबेथन डाइलगलाई नै प्राथमिकता दिएको र यसका लागि त्यो बेला प्रयोग गरिने शब्दभण्डार नै उपयोग गरेको उनले बताइन् । ‘अक्सफोर्डले निकालेको एलाजबेथन् पिरियडका शब्दार्थयुक्त डिक्सनरी हरबखत मसँगै हुन्थ्यो ताकि त्यो बेला प्रयोग नगरिने शब्दहरू उपन्यासमा नघुसोस्,’ म्यागीले लेखन क्रमका बारेमा बताइन् ।