बेलायती प्रधानमन्त्री बोरिस जोन्सनका ७२ वर्षे पिता स्टान्ली जोन्सनमाथि अवसरवादी लेखकको आरोप केहीले लगाएका छन् । कोविद १९ रोगका कारण संसार नै त्रस्त रहेका बेला उनले सन् १९८२ ताका प्रकाशनमा ल्याएको महामारी साहित्य ‘मारबर्थ भाइरस’ प्रकाशन गर्न प्रकाशकलाई जोड दिएको आरोप उनीमाथि लागेको छ ।
उपन्यास निस्केको केही समय राम्रै बिक्री भए पनि यतिबेला पुस्तक पुनः प्रकाशन हुन सकिरहेको थिएन । प्रकाशकहरूको प्राथमिकतामा पर्न छाडेपछि चुप लागेर बसेका स्टान्लीले यतिबेला आफ्नो पुस्तक बजारमा आए मज्जैको व्यापार गर्ने भन्दै प्रकाशककहाँ तारन्तर फोन गरेपछि उनी चर्चामा आएका हुन् ।
लामो समयदेखि स्टान्ली जोन्सनको ‘मारबर्थ भाइरस’ उपन्यास प्रकाशन हुन सकिरहेको थिएन ।
कवि टड स्विफ्टले स्वतन्त्र लेखकहरूलाई महत्त्व दिने भनी स्थापना गरेको कम्पनी ब्ल्याक स्प्रिङले सो पुस्तक प्रकाशन गरेको थियो ।
ठूला कर्पोरेट प्रकाशन गृहले यस्ता उपन्यासलाई महत्त्व नदिएका बेला ब्ल्याक स्प्रिङले उनको किताब प्रकाशन गरेको थियो । स्टान्लीले चासो दिएपछि भने प्रकाशकले पनि यसलाई मौकामा चौका हान्ने निर्णय गरेको हो ।
प्रकाशकले उपन्यासलाई पुनः नयाँ नाउँमा प्रकाशन गर्ने भएको छ । पुस्तकको नाउँ ‘द भाइरस’ राखिने भएको छ ।
उपन्यासको अन्तिम पाठमा लेखकले आफ्नो भनाइ भने थपेका छन् । उनले लेखेका छन्, ‘पुस्तकमा मैले ह्याप्पी इन्डिङ गराएको छु तर अहिलेको यो विश्वव्याधिको जुन तहको क्षति छ, त्यसलाई हेर्दा भने उपन्यासको सखुद् अन्त्य उति ठीक लागिरहेको छैन । संसारभरिका मुलुकहरूले यसको उपचार र खोपमा आफ्नो सम्पूर्ण शक्ति नलगाई धर देख्दिनँ ।’
उपन्यास पनि मारबर्ग भाइरसको चपेटामा परेपछि यसको खोप खोज्ने दौड, त्यसको प्रयास र उठापटकबारे हो । लेखक स्टान्लीको भनाइमा सन् १९६० को दशकको जर्मनीको वास्तविक घटनामा आधारित रहेर उपन्यास तयार पारिएको हो ।
अचानक विश्वव्याधिका कारण संसारमा यस्ता साहित्य खोजी जारिरहेका बेला स्टान्लीले आफ्नो उपन्यास पुनः प्रकाशन गराउन गरेको दौडधुपलाई धेरैले अवसरवादी प्रधानमन्त्रीका बाउका रूपमा चित्रित गरेका छन् । उनले भने यस आरोपलाई खण्डन गरेका छन् ।
रोचक त के भयो भने अनलाइनमा पुस्तक खरिदबिक्री गर्ने केहीले यो उपन्यासको मूल्य ५० पाउन्ड राखेर बिक्री गरे । जबकि यसको मोल मुस्किलले १० पाउन्ड छ । यो देखेपछि उनले यस उपन्यासलाई बजारमा ल्याउन सकिने सम्भावना रहेको देखेका हुन् ।
यो पुस्तकको पेपरब्याक र इबुक चाँडै बजारमा आउने जोन्सनको अपेक्षा छ । यसका साथै उनले विश्वकै ठूलो समस्याका रूपमा रहेको जलवायु परिवर्तनसम्बन्धी उपन्यास ‘द वार्मिङ’ पनि प्रकाशनका लागि तयार भएको जानकारी दिएका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

