६४ वर्षे लामलाई पुस्तक मोह यति थियो कि उनी रिहापछि पनि आफ्नो अभियानमा रत्तिभर डग्मगिएका छैनन् । उनले हङकङमा पसल खोले पुनः पक्राउ पर्ने देखेपछि ताइवानमा सोही अभियानलाई निरन्तरता दिने भएका छन् ।

यसका लागि उनले इन्टरनेटमार्फत सहयोग जुटाएर पुस्तक पसल खोल्न लागेका हुन् । यसका लागि उनले १ लाख ६० हजार पाउन्ड जम्मा गरिसकेका छन् ।
‘अब हङकङमा स्वतन्त्र विचार र स्वतन्त्रता भन्ने चिज रहेन,’ उनले लन्डन टाइम्सलाई भनेका छन्, ‘त्यसैले भोलिका पुस्तालाई स्वतन्त्रताको महत्त्व बुझाउन भए पनि मैले पुस्तक पसल खोल्नै पर्छ । त्यसैले मैले ताइवान रोजेँ ।’


उनलाई चिनियाँ सरकारले ८ महिना बन्दी बनाएपछि २०१६ मा छाडेको थियो । त्यसपछिका दिनमा उनले आफूमाथि भएका ज्यादतिबारे बोल्दै हिँड्न थालेका थिए ।

उनलाई चिनियाँ राज्यद्वारा सञ्चालित टेलिभिजनमा आफूले प्रतिबन्धित पुस्तक बेचेको र त्यसमा आत्मालोचना गरेको भिडियो प्रसारण गरिएको थियो ।

स्विट्जरल्यान्डको नागरिकता बोकेका गुई मिन्हाई उनको साझेदार थिए । गुई लामो समयदेखि थाइल्यान्ड बस्दै आइरहेका थिए । उनलाई पनि चीन सरकारले विदेशीलाई गोप्य दस्तावेज बेचेको आरोमा कैद गरिएको थियो । त्यसयता उनी लापत्ता छन् । यसले हङकङमा बसेर व्यवसाय गर्ने कुनै पनि चिनियाँ मूलका मानिसहरूको जिउज्यान सुरक्षित नरहेको देखाएको भन्दै हङकङमा आन्दोलन चर्किएको थियो ।

यतिबेला ताइवान चीनविरोधीहरूका लागि सुरक्षित ठाउँ बन्न पुगेको छ । त्यसैले पनि लाम त्यहाँ पुस्तक पसल खोल्न पुगेका हुन् ।

लामले पुस्तक पसल खोलेका दिन आफूहरू खुसी हुने संसद सदस्य यु सिकुनले प्रतिक्रिया मात्र दिएका छैनन्, ताइवानी राष्ट्रपतिले सो समाचार प्रकाशित भएपछि लामलाई एउटा पुष्पगुच्छा उपहार पठाई यो ताइवानको प्रजातन्त्रको लागि कोशेढुंगा भएको प्रतिक्रियासमेत पठाएकी थिइन् ।

उनले खोल्ने पुस्तक पसलमा वाहियातभन्दा अर्थपूर्ण पुस्तक मात्र रहने प्रतिक्रिया दिएका छन् । पसल कहिलेसम्म खुल्छ भन्नेबारे समाचारमा खुलाइएको छैन ।