लन्डन / आख्यान पढ्ने मामिलामा पुरूषभन्दा महिलाहरू बढी जाँगरिला भएको एउटा अध्ययनले देखाएको छ । पुरूषहरूले ५० पृष्ठभन्दा बढी पढ्न नसकेको पुस्तक महिलाहरूले भने १०० पृष्ठभन्दा बढी पढिसकेको हुने देखिएको हो ।

खासगरी इबुकका मामिलामा गरिएको अध्ययनले अर्को एउटा तथ्य पनि देखाएको छ । अमेजनले गरेको अध्ययनमा ७५ प्रतिशत पाठकले पाँच प्रतिशत भन्दा कम पुस्तक पढ्ने गरेका छन् । अधिकांशले पढ्दापढ्दै आधाउधिमै किताब छाड्ने गरेका छन् ।

आर्ट काउन्सिल इंग्ल्यान्डले अमेजनसँग मिलेर यसबारे अध्ययन गरेको थियो । अमेजनले आफ्नै इबुक रिडर किन्डल बेच्ने गरेको छ । किन्डल किन्दा सित्तैमा केही पुस्तक दिइने गरेको हुन्छ भने मन परेको पुस्तक पैसा तिरेर डाउनलोड गर्न सकिन्छ ।

किन्डलजस्तै अर्को इबुक रिडर कोबोले आफूसँग भएको डाटा सार्वजनिक गरेको थियो । सो तथ्यांकमा आफ्नो पढ्ने ल्याकतभन्दा दोब्बर किताब किन्ने गरिएको तर कम नै पढ्ने गरेको देखिएको थियो ।

किनिएका ईपुस्तकमध्ये ६० प्रतिशत पुस्तक त २५ देखि ५० प्रतिशत पनि पढिएको हुँदैन । कोबोले सार्वजनिक गरेको तथ्यांकले भने सबैभन्दा बढी पढिएको विधा रोमान्टिक उपन्यास भएको देखाएको छ । ६२ प्रतिशत पाठकले डाउनलोड गरिएका ईपुस्तकमध्ये रोमान्स छानेका थिए । त्यसपछि अपराध र फेन्टासी विधाका उपन्यास रूचाएको पाइएको छ ।

७८४ पृष्ठको द गोल्डफिन्च उपन्यास किन्नेहरूमध्ये ४४ प्रतिशतले मात्र पूरै पढेको पाइएको छ ।

यस्ता तथ्यांक सार्वजनिक हुनु भनेको पुस्तक व्यापारका लागि निकै राम्रो भएको पुस्तकमाथि अध्ययन गर्ने संस्था जेलीबुक्सले जनाएको छ ।

सार्वजनिक गरिएको यो तथ्यांकको सबैभन्दा रोचक पक्ष के छ भने टेलिभिजन हेरिरहनेहरूले बरू अन्यको तुलनामा बढी पढेको देखिएको छ । सामान्यतः टेलिभिजनमा बढी समय बिताउनेले किताब पढ्न मन गर्दैनन् भन्ने एउटा सार्वजनिक मान्यता छ ।

सार्वजनिक गरिएको यो तथ्यांकको सबैभन्दा रोचक पक्ष के छ भने टेलिभिजन हेरिरहनेहरूले बरू अन्यको तुलनामा बढी पढेको देखिएको छ । सामान्यतः टेलिभिजनमा बढी समय बिताउनेले किताब पढ्न मन गर्दैनन् भन्ने एउटा सार्वजनिक मान्यता छ ।

गम्भीर किसिमका साहित्य पढ्न रूचाउनेहरूले प्रायः सप्ताहान्त रोज्ने गरेको पनि देखिएको छ ।

अध्ययनमा संलग्न सोफिया वुडली र ओलिभर मन्टेलले यस अध्ययनलाई अगुवाई गरेका थिए । उनीहरूले भनेका छन्, ‘यस किसिमको अध्ययनले पाठकको बानी र तिनले पठनलाई कसरी लिन्छन् र व्यवहार गर्छन् भन्नेबारे राम्रो जानकारी संकलन हुन सकेको छ ।’

यसले कसले, के, कहिले, के कारणले किताब पढ्न छाड्दारहेछन्, संस्कृतिले पठनमा पार्ने भूमिका के कस्तो हुन्छ र मास मिडियाको भूमिका के हुँदोरहेछ जस्ता कुराहरू पनि बुझ्न सजिलो भएको उनीहरूको भनाइ छ ।

ईपुस्तकको पठन क्रमशः घटिरहेको र अडियोबुकको चलन क्रमशः उकालो लागिरहेको पनि उनीहरूको अध्ययनले देखाएको छ । हुन पनि २०१३ देखि २०१७ सम्म अडियोबुकको बिक्री १५० प्रतिशतको दरले उकालो लागेको छ ।

बढी बिक्री हुने विधामा अडियोबुकको कविता विधा पनि हो । २०१३ देखि २०१८ सम्मको अवधिमा यसको बिक्री ६६ प्रतिशतले बढेको पाइएको छ ।

पछिल्लो समयमा इन्स्टाग्राममा युवापुस्ताको बाक्लो उपस्थिति रहेको ठाउँमा इन्स्टाकविको समूह बाक्लिएपछि त्यसले बेग्लै पाठकहरू जन्माएको पनि अध्ययनले देखाएको छ । पछिल्लो समय इन्स्टाग्राममा हिट भएकी रूपी कौरका कारण कविता विधाले आफ्नो बेग्लै उपस्थिति जनाउन थालेको छ । इन्स्टाग्राममा रूपीका ४० लाख फलोअरहरू छन् ।

उनका कविताले १८-२४ वर्ष उमेर समूहकालाई निकै सशक्त प्रभाव पारेको छ । रूपीका कारण अन्य कविता संग्रह पनि पछिल्लो समय युवापुस्तामाझ लोकप्रिय हुन थालेको अध्ययनले देखाएको जेलीबुक्सले जनाएको छ ।