
सन् १९२० को दशकमा अमेरिकामा द ग्रेट डिप्रेसन छायो। बजारमा चर्को मन्दी थियो। मन्दीका कारण मानिसहरूले रोजगारी गुमाए । साना साना लगानीकर्ताहरूले आत्महत्या नै गरे ।
यस्तो निराशाको अवस्थाबाट निकाल्नका लागि भनेर अमेरिकी सरकारले पठन संस्कृति बढाउने एउटा उपाय निकाल्यो र नाम राख्यो, मोबाइल लाइब्रेरी । यो लाइब्रेरीमा प्रायः महिलाहरू घोडा चढेर किताब बोकेर गाउँगाउँ जान्थे । किताबमा रूचि राख्नेहरूलाई दिनभर पढाएर उनीहरू साँझ घर फर्कन्थे ।
यो त्यो बेलाको कुरा हो, जुन बेला भर्खर मोटरहरू बन्दै थिए । तिनको व्यापक प्रयोग र गाउँगाउँ मोटर चल्ने अवस्था सिर्जना भइसकेको थिएन । मुख्य यातायातको साधन भनेको टाँगागाडी नै थिए । घोडा नै यातायातका प्रमुख साधन थिए ।
अमेरिकाका गाउँगाउँमा शुद्ध खानेपानीकै अभाव भइरहेका बेला पुस्तकालयलाई व्यवस्थित रूपमा चलाउने कुरा भएन ।
यो बेलामा संसारलाई चकित पार्दै अमेरिकाका राष्ट्रपति एफ.डि. रूजवेल्टले नयाँ डिल अन्तर्गत महिलाहरूलाई काममा खटाउने उपाय निकाले । नाम दिइयो, वर्क्स प्रोग्रेस एडमिनिस्ट्रेसन । यहाँ काम नपाएका र काम गर्न इच्छुक महिलाहरूको नाउँ दर्ता गरिन्थ्यो । उनीहरूलाई प्याक हर्स लाइब्रेरी इनिसिएटिभको सदस्य बनाइन्थ्यो ।
यस कार्यक्रममा सहभागी हुने महिलाहरूको पहिलो खुबी भनेको घोडा चढ्ने हुनुपर्थ्यो । उनीहरूसँग आफ्नै घोडा पनि हुनुपर्थ्यो । कहिलेकाहीँ पुरूषहरूले पनि काम चाहिँ नपाउने होइन तर महिलाहरू प्राथमिकतामा थिए । पहिलो रूचि उनीहरूको किताब हुनै पर्थ्यो । किनभने, किताबमा रूचि भएका र किताब मन पराउने महिलाहरूले नै किताबको मूल्य बुझ्छन् भन्ने बुझाइ थियो ।
यी हिम्मतिला महिलाहरू घोडामा चढ्थे र मुख्य कार्यालय पुग्थे । त्यहाँबाट गाउँगाउँमा कस्ता पुस्तक रूचाइन्छन्, त्यसको लेखाजोखा गर्थे र तिनै पुस्तक घोडामा लादेर उनीहरू गाउँगाउँ जान्थे । उनीहरू ती गाउँमा पुग्थे, जहाँ त्यतिञ्जेल पुस्तकालय बनिसकेको छैन ।
त्यस्ता गाउँमा स्वाभाविक रूपमा सडक राम्रा थिएनन् मात्र होइन, सडक नै बनिसकेका थिएनन् । घोडा पनि यही कारणले चाहिएको थियो कि उनीहरूलाई अफरोड, उकालीओराली गर्न अप्ठेरो नहोस् ।
त्यसो त अमेरिकी सरकारका लागि यो निकै महँगो सोख थियो । एउटा भवन बनाएर किताब राखिदिएर, कर्मचारी भर्ती गर्नु बरू सजिलो होला, यो काम अप्ठेरो थियो । तर अप्ठेरै भए पनि अमेरिकी सरकारले सन् १९४० र १९५० को दशकसम्म यो अभियानलाई जारी राख्यो ।
पछि जब सडकहरू बने, कारहरूको व्यापक प्रयोग हुन थाल्यो, घोडाहरू सन्दर्भहीन बने । गाउँगाउँमा पढ्ने लहर पनि चल्यो । तर त्यसका पछाडि घोडामा किताब लादी हिँड्ने यी महिलाहरूको भूमिका ठूलो थियो र त्यो भन्दा ठूलो सरकारले बनाएको नीति थियो, जसलाई इमान्दारीपूर्वक किताबप्रेमी महिलाहरूले बिँडो उठाएर सफल पारी छाडेका थिए ।
यस किसिमको घुम्ती लाइब्रेरीले गाउँगाउँको साक्षरता दर बढेको र पुस्तकप्रति सकारात्मक धारणा बनेको केहीको धारणा छ । साथै, त्यो बेला अमेरिकामा हिंसा र हत्याको दर बढेको थियो तर यस्ता घुम्ती पुस्तकालय चलाउने कुनै पनि महिलालाई एक्लै गाउँगाउँ यात्रा गर्दा केही नभएकोमा र कसैले पनि आक्रमण नगरेकामा आश्चर्य मान्नेहरूको कमी थिएन ।
घुम्ती पुस्तकालयका लागि देशभरबाट क्रिसमस कार्डहरू भेला गरिन्थे । ती क्रिसमस कार्डहरू किताबको बुकमार्कका लागि उपयोग गरिन्थे । यस्ता पुस्तकालयमा जम्मा पारिएका किताबहरू पनि प्रायः अरूले पढिसकेका किताबहरू नै हुन्थे । सरकारको आह्वानमा धेरैले दान गरेका यस्ता पुस्तकका कारण सरकारले नयाँ किताबमा धेरै लगानी पनि गर्नु परेन ।
घोडामा धेरै किताब नअट्ने तर किताबमा रूचि राख्नेहरूको संख्या धेरै हुने हुँदा कतिपय अवस्थामा लाइब्रेरियनले नै राम्रा किताबहरू वाचन गरी सुनाउँथे र गाउँलेहरू मजाले सुनेर आनन्द लिन्थे ।
सन् १९३५ देखि १९४३ सम्म यस किसिमको अभियानले एक हजार लाइब्रेरियनको सहयोगले एक लाखभन्दा बढी व्यक्तिको पहुँचमा पुस्तक पुगेको अनुमान गरिन्छ ।
घुम्ती पुस्तकालयमा सबैभन्दा लोकप्रिय पुस्तक मार्क ट्वेनद्वारा लिखित जुनसुकै उपन्यास थिए भने दोस्रोमा ड्यानियल ड्याफोद्वारा लिखित उपन्यास रबिन्सन क्रुसो थियो । केही महिला लाइब्रेरियनले भने पहाडी क्षेत्रका बालबालिकाहरू किताबका यति भोका थिए कि उनीहरूले जे फेला पारे पनि चाटचुट पारेर पढ्ने गर्थे ।
त्यो बेलाको आर्थिक मन्दीका कारण घरेलु खान्कीमा समेत कटौतीमा परेका बेला किताबका लागि बजेट छुट्याउने अवस्था थिएन ।
सन् १९४३ पछि भने यस किसिमको कामलाई सरकारले महत्त्व दिन छाड्यो । संसारले दोस्रो विश्वयुद्ध भोगिरहेको थियो । युवाहरू स्कुल, कलेज छाडेर युद्धमा भाग लिइरहेका थिए । युद्धमा भाग नलिनेहरूका लागि पनि यत्रतत्र कामैकाम उपलब्ध थियो । यस्तो अवस्थामा सरकारले रोजगारी दिलाउन महिलालाई घोडा चढाउने नीति बन्द गरेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

