ब्रिटिश उपन्यासकार जे. के. रोलिङको खास नाउ जोनी रोलिङ हो। उनी रोबर्ट गल्ब्रेथको उपनामबाट पनि लेख्ने गर्छिन् । उनी ३१ जुलाई १९६५ मा बेलायतको ग्लसेस्टरशायर प्रान्तको यट सहरको वट जनरल हस्पिटलमा जन्मेकी थिइन् । आन रोलिङ नाम गरेकी उनकी आमा विज्ञान प्राविधिक थिइन् भने बाबु पिटर जेम्स रोलिङ, रोल्स रयस कम्पनीका एअरक्राफ्ट इन्जिनीयर थिए। उनले स्थानीय सेन्ट माइकल्स प्राइमरी स्कुलमा प्राथमिक शिक्षा प्राप्त गरेकी थिइन्। उनी ९ वर्षकी हुँदा उनको परिवार साउथ वेल्सको चेपस्टोया बसाई सरेको थियो। उनी सानै उमेरदेखि केही न केही लेख्ने गर्थिन् । सिन नाउँ गरेको उनको एउटा मिल्ने साथीले ‘कुनै दिन तिमी राम्रो लेखक बन्न सक्छ्यौ’ भन्दा उनी ज्यादै उत्साहित भएकी थिइन् ।

उनी उपन्यासकार बाहेक एक मानवतावादी फिल्म तथा टेलिभिजन प्रोड्यूसर र स्क्रिन राइटर समेत हुन्। खास गरी केटाकेटी र युवाका निम्ति लेखिएका स्वैरकल्पनामा आधारित (Fantasy) उपन्यास शृङ्खला ह्यारी पोर्टरबाट उनी प्रसिद्ध छन् । यस पुस्तक शृङ्खलाले अनेकौँ पुरस्कार जितेका छन् भने यसका । ५० करोडप्रति बिक्री भइसकेको बताइन्छ। इतिहासमा यस शृङ्खलालाई सबैभन्दा बढी बिक्री भएको पुस्तक भनिन्छ। यसैको आधारमा उनको स्वीकृतिमा फिल्मका पटकथा समेत बनेका छन् ।

स्कुलको पढाइ सकेपछि उनलाई इङ्लिस पढ्ने इच्छा थियो, तर उनका आमा बुवाले युनिभर्सिटी अफ एक्सटरमा फ्रेन्च पढ्ने सल्लाह दिए । प्यारिसमा एक वर्ष फ्रेन्च पढेपछि सन् १९८६ मा उनी ग्र्याजुएट भइन् । सन् १९९० मा रोलिङ अङ्ग्रेजी भाषा पढाउन पोर्चुगल गएकी थिइन् । त्यहाँ उनको पोर्चुगिज पत्रकार जर्ज अरान्तेसँग सम्पर्क भयो र ती दुवैको बिहे भयो। उनी लन्डनमा विभिन्न काम गर्न थालिन् । त्यसमध्ये एमनेस्टी इन्टरनेशनलको जागिर एक थियो ।

उनी एमनेस्टी इन्टरनेशनलमा शोधकर्ता तथा दोभाषेको रूपमा जागिर खान्थिन् । त्यसै बखत एक पटक सन् १९९० मा लामो यात्रामा म्यानचेस्टरबाट लन्डन आउँदा ट्रेन ढिलो भएको अवस्थामा उनलाई ह्यारी पोटरको कथा सुभेको थियो। त्यसपछिका सात वर्षमा उनकी आमाको देहान्त भयो, सन् १९९३ मा उनको पहिलो सन्तान, छोरी जेस्सिका जन्मी, उनले पहिलो श्रीमान् जर्ज अरान्तेसबाट सन् १९९५ मा डिभोर्स लिइन् र उनको पहिलो शृङ्खलाको उपन्यास ह्यारी पोटर र दार्शनिकको ढुङ्गा (Harry Potter and the Philosopher’s Stone, 1997) प्रकाशित नहुन्जेल उनले गरिबीको सामना समेत गरिन् । अरान्तेसँग डिभोर्स भएपछि उनी स्कटल्यान्डको एडिन्बरा बस्न थालेकी थिइन् ।

पहिलो पुस्तक लेखिसकेर प्रकाशनको निम्ति उनी प्रकाशकलाई भेट्न गइन् । एक एक गरी बाह्र वटा प्रकाशकलाई उनले भेटिन्। ती सबैले पुस्तक छाप्न अस्वीकार गरे । एउटा खासै नाउँ नचलेको ब्लुम्सबेरी चिल्ड्रेन्स बुक्स भन्ने प्रकाशन गृहले । चाहिँ २,५०० पाउन्ड रोयल्टी दिने सर्तमा छाप्न स्वीकार गर्‍यो। महिलाले लेखेको पुस्तक पाठकहरूले नरुचाउने हुन् कि भन्ने लागेर उनका प्रकाशकको अनुरोधमा उनले जोनी रोलिङबाट जे. के. रोलिङ उपनाम राखेकी थिइन् । २६ डिसेम्बर २००१ मा रोलिङले एक जना निल मरे नाउँ गरेका स्कटेली डाक्टरसँग दोस्रो विवाह गरिन् । हाल निल मरेपट्टिका दुई सन्तान डेभिड (२००३) र म्याकेन्जी (२००५) समेत उनीहरूका तीन सन्तान भए।

उनले ह्यारी पोटरका छ वटा शृङ्खला पूरा गरिसकेकी छन्। अन्तिम शृङ्खला ह्यारी पोटर र साङ्घातिक पवित्रता (Harry Potter and the Deathly Hallows) को प्रकाशन सन् २००७ मा भएको थियो । त्यसपछि रोलिङले युवा र केटाकेटीका लागि पाँच पुस्तक लेखिसकेकी छन् । ती पुस्तक हुन्: आकस्मिक रिक्त पद (The Casual Vacancy, 2012 ) र रोबर्ट गल्ब्रेथ उपनाउँले लेखिएका अपराध उपन्यास कुक्कुको कुहुँ कुहुँ (The Cuckoo’s Calling, 2013), रेशम किरो (The Silkworm, 2014), दुष्टको पेशा (Career of Evil, 2015 र साङ्घातिक गोरा (Lethal White, 2018) हुन् ।

एक जना सामान्य आर्थिक स्तरकी महिला बेलायतकी सबैभन्दा धनी लेखक बनिन् । उनले अनेकौँ परोपकारी संस्था, गरिब परिवार र अनाथहरूलाई आर्थिक सहयोग नगरेकी भए उनी विश्वकै अर्बपति महिला हुने थिइन् । फोर्बस म्यागजिनका अनुसार किताब विक्री गरेर सन् २०१७ मा ७२ मिलियन स्टर्लिङ पाउन्ड कमाउने उनी संयुक्त अधिराज्यकी सबैभन्दा बढी बिकाउ लेखक बनिन् । सन् २०१६ मा सन्डे टाइम्स म्यागेजिनले प्रकाशित गरेको रोलिङको सम्पत्ति करिव ६५० मिलियन स्टर्लिङ पाउन्ड थियो । यसबाट उनको आर्थिक हैसियत युकेका धनी मानिसको सूचीमा १९७ औँ नम्बरमा पर्थ्यो ।

रोलिङ बामपन्थी राजनीतिमा संलग्न छन् । सन् २००८ सेप्टेम्बरको लेबर पार्टी कन्फेरेन्समा उनले १० लाख स्टर्लिङ पाउन्ड आर्थिक सहयोग गरेकी थिइन् तथा प्रधानमन्त्रीका बामपन्थी उम्मेद्वार गोर्डन ब्राउनलाई समर्थन गरेकी थिइन् ।