
“पल्ला घरकी बुढी आमा बिहानदेखि नै आओ भनेर हातले इसारा गरिरहेकी छन् । मुख पनि चलाएको जस्तो देखिन्छ तर आवाज सुनिँदैन ।” भन्दै कला हामीकाहाँ आइपुगिन् ।
“बुढी आमालाई के भएछ त ?” मैले जिज्ञासा राखेँ ।

सीता अञ्जान
“के हुनु, बिचरा ! एक्लै भएर होला नि ? तीन तलामाथि टिनले बेरेर एउटा कोठा निकालेका छन् । त्यहाँ उनलाई एक्लै राख्छन् । हिँडडुल गर्न सक्तिनन् । बेलाबेला घिस्रिँदै बाहिरसम्म आउँछिन् । कोपरा कोठामा नै राखिदिएको हुन्छ । त्यसमा दिसापिसाब गर्न भनेपनि सबै बाहिर पोखिएर गुमुतमा डुबेकी हुन्छिन् । हप्तामा एक दिन नातिले फोहोर सफा गरिदिन्छ ।
पनातिले झ्यालबाट भातको थाल कोठामा छिराइदिन्छ । आधा पोख्छिन् । आधा खान्छिन् । कति तिर्खा लाग्दो हो, कति भोक लाग्दो हो । बोल्न मन लाग्दो होला । कोही छैन बोल्ने साथी । परिवार तल बस्छन् । वरिपरिका छरछिमेक, आफन्त कसैलाई त्यहाँ जान दिँदैनन् । विजोग छ बुढी आमाको । ‘के गर्नु काल पनि आउँदैन यो अलछिने बुढीलाई’ भन्दै फँलाक्छे नातिनी बुहारी । भगवान पनि निर्दयी हुँदा रहेछन् ।” धनाले बेलिविस्तार लगाइन् ।
“ती हाम्रा राम सरकी हजुरामा होइनन् ?” मैले चासो राखेँ ।
“हो नि, बुढाबुढी दुबै जागिरे, एउटा स्याहार गर्ने मान्छे राख भनेको मान्दैनन् । माका चुइयाँ छन् । विवाह गर्नुभन्दा अगाडि त रामेले खुब माया गर्थ्यो उनको, अहिले त ‘किन नमरेकी, दिक्क लगाउँछिन् ।’ भन्दै गाली गर्छ । बिचरा ! गहभरि आँसु पारेर नातिलाई ठिटलाग्दो गरेर हेरिरहन्छिन् ।” उनले थपिन् ।
“बुढी आमाका छोराबुहारी, छोरी कोही पनि छैनन् ?” कलाले प्रश्न गरिन् ।
“दुई भाइ छोरा थिए अरे । एउटा चाहिँ बालाखैमा बिफरले बितेका भन्थिन् । अर्का चाहिँ पछि हामीले देखिकनै हराका । अहिलेसम्म पत्तो छैन । कान्छो छोरा एक महिनाको हुँदा बुढा पनि परलोक गका अरे । अहिले त्यही हराका छोराको कान्छो छोरासँग बस्छिन् । जेठो नाति भिन्नै बस्छ । ऊ पहिले विदेशमा थियो । अहिले त घरमै छ । उसको आर्थिक अवस्था अलिक कमजोर छ । ऋण लिएर एउटा सफारी किनेको छ । त्यही चलाएर परिवार पालिराछ । उसले हजुरीलाई लान त खोजेको थियो तर दुःख बिराम भएको बेला उपचार गर्ने उससँग सामर्थ्य छैन । त्यही भएर समाजले उनको पूरै नभए पनि आधा जिउ नि दिलाएर पठाउन खोजेको तर ‘पाल्नेले त त्यसै पो पाल्नु पर्छ ।’ भनेर कान्छाले दिन नमानेपछि कुरो बिग्रियो ।” धनाले उत्तर दिइन् ।
अरे ! अस्ति कलेजमा वरिपरि साथीहरू राखेर उनको खुब तारिफ गर्दै थिए त राम सर, “हजुरीबिना एक्लै खाना रुची हुँदैन । उहाँका अर्तिउपदेश सुन्दै भात खान्छु । उहाँलाई देखेपछि आनन्द आउँछ । एकछिन देख्न पाइँन भने मणि हराको सर्पजस्तै हुन्छु म त … !”
“उसलाई चिप्लो घस्न त कसले भेटाउँछ ? मान्छेका अगाडि ठिक्क पार्छ । कुरा मिलाउन त बुढाबुढी नै सिपालु छन् । यिनीहरूको असली रूप त हामी छिमेकीलाई मात्र थाहा छ । के गर्नु ? बोल्न हुन्न । पोहोर साल लडेर उनको हात भाँचिएछ । त्यो हातले भर नगरेपछि कोपरा लडेर पिसाब पोखिएछ । बेलुका विद्यालयबाट आएर नातिनी बुहारीले त्यही पिसाबमा मुख गाडिदिइछ । उनी कहालिएर चिच्याइन् । के भयो भनेर आत्तिएर गकी त थरथर काँपिरहेकी, कपाल भत्ल्याङभुत्लुङ भको, मुखबाट पिसाब बगिरहेको, मलाई देख्नेबित्तिकै उनले डाको छोडिहालिन् । उनलाई हातले थुम्थुम्याउँदै मैले उनकी नातिनी बुहारीलाई यसो गर्नु हुँदैन ।” भनेर सम्झाएको मात्र थिएँ ।
‘अर्काको घरमा आएर बढी चियोचर्चो गर्ने होइन, आफै लगेर पाल्नु…।’ भनेर मलाई त तथानाम गाली गरी ।
त्यहाँदेखि म त्यो घरमा जान्न । बुढी आमाले देखिन् भने माथिबाटै हातले सङ्केत गरेर बोलाउँछिन् । कपाल जिङ्ग्रिङ्ग हुन्छ । लुगा काती जस्तै हुन्छ । आँखाभरि आँसु हुन्छ । के गर्नु ? उनको दुर्दशा हेर्न नसकेर म त भित्र पसेर रुन्छु । बिचरा बुढी आमा !” धना भक्कानिइन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

