
‘रमेश दाइ ! भरे बेलुका टेकबहादुर काका कहाँ भेला हुनुपर्छ है !’ भन्दै जीवन बिहान झिसमिसमा म कहाँ आइपुग्यो । उसको अभिव्यक्तिले म झस्केँ र अतालिँदै ‘के भयो ?’ भन्ने जिज्ञासा राखेँ । पटकपटक हाम्रो परिवारमा समस्या उत्पन्न भइरहने हुँदा कोही आयो भने पनि मनमा त्रास उत्पन्न हुन्छ र मन बिजुलीभन्दा पनि छिटो कुद्छ । म हतासिएको देखेर होला ‘के हुनु नि त्यही एउटै समस्या बल्झिरहन्छ क्या वासुदेव दाजुको ? जीवनले एक स्वासमा उत्तर दियो ।
‘फेरि उनले के गरेछन् जीवन ?’ मैले प्रति प्रश्न गरेँ । ‘यिनले के गरेनन् भन्नु न दाजु ! कहिले कान्छी ल्याएर जेठीलाई कुटेर घरबाट निकाल्छन्, कहिले जेठी भाउजूको नाबालक छोरालाई आमाबाट छुटाएर हजुरामासँग राख्छन् र छोरालाई फकाएर भाउजूलाई तथानाम गाली गर्न लगाएर, उनी गलत भएको प्रमाण पेस गर्छन् । कहिले आफ्नै आमालाई समेत घरबाट निकाल्छन् । विचरा ! जेठी भाउजू नुनतेल समेत माइतीबाट बोकेर गुजारा गर्थिन् । माइती आएर अलिकति पैसा दिएछन् अनि अलिकति पैसा छिमेकीसँग ऋण लिएर एउटा भैँसीको पाडो किनिछन् । त्यसैलाई हुर्काएर माउ बनाइन् अनि त्यसकै दूध बेचेर जीवन चलाउँथिन् । बासका लागि एउटा गाई बाध्ने कटेरो दिएको थियो । दाजु कान्छीसँग मूल घरमा बस्थे । एकदिन भाउजू घाँस काट्न गएका बेला भैँसीको पाडो लगेर आफ्ना घरमा बाँधेछन् । साँझमा घाँस लिएर घरमा आउँदा भैँसी एकातिर पाडो अर्कातिर कराइरहेको, दुहुने बेला भएकाले पाडो फुकाउन जाँदा दाजु र कान्छी भाउजू समेत मिलेर मरणसन्न हुने गरी कुटेछन् । धन्न गाउँलेले थाहा पाएर अस्पताल पुर्याएछन् र बाँचिन् । उपचारपछि समाज बसेर कुरा मिलाएको तर पन्ध्र दिन पनि नबित्दै फेरि पाडो आफ्ना घरमा लगेर बाँधेछन् र फुकाउँदा पनि जान नसक्ने गरी ढाट लगाएछन् । विचरा ! जेठी भाउजू फेरि रुँदै आइन् । आफन्त छरछिमेक बसेर मिलापत्र गरियो तर पनि उनी त्यस्तै गल्ती पटकपटक दोर्याउँछन् । यी कस्ता मानिस हुन् बुझ्न पनि सकिएन ।’ जीवनले चिन्ता प्रकट गर्यो ।

सीता अञ्जान
‘होइन, अहिले तत्कालको समस्या चाहिँ के रहेछ जीवन ?’ मैले फेरि जिज्ञासा राखेँ । ‘जेठी भाउजूको छोरो कृष्णाले बाउसँग अंश माग्यो अरे अनि कान्छी भाउजूले चाहिँ आफ्नो छोरो मोहनलाई बढी कृष्णलाई कम दिने कुरा गरिछन् । त्यस विषयमा दाजुले टेकबहादुर काकासँग छलफल गरेछन् तर काकाले त्यसो गर्न हुँदैन दुवैलाई बराबर पार्नुपर्छ भन्दा कान्छी भाउजू र उनको छोराले नमानेपछि घरझगडा भएछ । दाजुलाई सबै मिलेर कुटपिट गरेछन् । अहिले बाहिर बाहिरै बस्दा रहेछन् । त्यही भएर आफन्त भेला भएर छलफल गर्ने कुरा रहेछ दाजु !’ भन्दै उसले खुई गर्यो ।
‘काँक्रो चोरलाई मुड्की सास्ती’ भन्दै म मुस्कुराएँ । मेरो कुरा सुनेर अनि अनुहार देखेर जीवन पनि खिस्स हाँस्यो । ‘म जीवन दाजुलाई पनि भेट्न भनेर हिँडेको थिएँ । कस्तो संयोग हजुर पनि यही हुनुहुँदो रहेछ । दुवै दाजुहरूलाई ढोग गरेँ है ।’ भन्दै तल्लाघरे हस्ते काकाको छोरो सुरेश पनि आइपुग्यो । मैले पनि ढोग फर्काउँदै उसलाई बस्न आग्रह गरेँ । एकछिनको भलाकुसारीपछि थाहा भयो ऊ पनि हामीसँग त्यही वासुदेव दाजुको विषयमा सल्लाह गर्न आएको रहेछ ।
मैले ‘यस विषयमा पहिले कान्छी भाउजू र उनको छोरासँग बसेर छलफल गर्नुपर्छ ।’ भन्ने प्रस्ताव राखेँ । उनीहरूले पनि त्यसलाई स्वीकार गरे । खाना खाएर तिनै जना त्यतातिर लाग्यौँ । त्यस विषयमा कान्छी भाउजूसँग कुरा गर्दा ‘हामी कुनै पनि हालतमा उसलाई घरमा बस्न दिँदैनौँ’ भनिन् । मैले ‘किन र भाउजू ? लोग्ने स्वास्नीका बीच कहिलेकाहीँ सानोतिनो कुरामा मनमुटाव त भइहाल्छ नि तर त्यसलाई ठुलो इसु बनाएर मान्छेलाई घरैबाट निकाल्नु त हुन्न नि !’ भनेँ । ‘ हो त नि भाउजू ! दाजुले तपार्इँकै लागि भनेर देवताजस्ती जेठी भाउजूलाई त्याग्नु भो, छोरालाई समेत बेवारिसे बनाउनु भो । अहिले आएर तपार्इँहरूले उनलाई त्यस्तो व्यवहार गर्न मिल्छ ?’ जीवन कड्क्यो ।
‘तपार्इँले अर्काकी श्रीमतीलाई कान्छी बनाएर ल्याएपछि नै उहाँ समाजका नजरमा गिर्नु भो । परिवारबाट एक्लिनु भो । त्यसो त जे नहुनु भइगयो अब दुवैलाई मिलाएर राख्नु भनेर, आफन्त बसेर मिलाइएको थियो तर त्यस्तो भएन । तपाईँ स्वयम् पढालेखा, आफ्ना खुट्टामा उभिनु भएको मान्छेले पनि जेठी भाउजूप्रति कस्तो व्यवहार गर्नु भएको ? के त्यो एउटा मानवले अर्को मानवलाई गर्न लायकको थियो ? तपाईँ अतीततिर फर्कनुस् त ? तपाईँले नै होइन, टाइफाइड भएको भ्रम फिँजाएर बेहोस हुने इनजेक्सन लगार्इ जेठी भाउजूलाई अचेत बनाउनु भएको ? अनि उहाँलाई माइतीले नुनतेल किन्न दिएको पैसा लगेर उल्टै मेरो पैसा चोरी भनेर थानामा उजुरी हालेको ? पछि पुलिसले सबै कुरा बुझेर तपाईँलार्ई दोषी ठहर्यायो अनि तपाईँ थुनिएपछि दाजुले नै छुटाएको होइन ? उहाँले तपाईँलाई आफूलाई भन्दा पनि बढी माया गर्नुहुन्थ्यो त ? अहिले के भएर तपाईंहरूबीच झगडा भयो ?’ सुरेन्द्र जङ्गियो ।
‘तिमीविना म बाँच्न सक्तिनँ, तिमीबाट जन्मेको सन्तान मात्र मेरो सम्पत्तिको हकदार हुनेछ । तिमी मसँग आएपछि जेठी र उसको छोरालाई माइती पठाउँछु भनेर फकाको थियो तर न जेठीका आमाछोरालाई खेदाउन सक्यो न सबै सम्पत्ति मेरो छोरालाई मात्र पार्न सक्यो । यस्तो नालायकलाई सजाय नदिए कसलाई दिनु त ?’ भाउजू उफ्रिन् ।
‘ए तपार्इँको छोरालाई आफ्नै लगानीमा डाक्टर पढाएको होइन ? छोरीहरूलाई पनि काठमाडौँका महङ्गा बोर्डिङमा पढाउँदा एक विघा जग्गा बेच्नु भयो, अहिले बाँकी रहेको त्यही दश कट्ठा जग्गालाई त बराबर भाग लगाउनु भनेको हो नि ? विचरा ! त्यो कृष्णले न बाउको माया पायो न पढ्ने लेख्ने अवसर नै पायो । कृष्णलाई ठग्न पाँच कट्ठा जग्गा रिठ्ठेका सालालाई विना पैसा पास गर्नुभको होइन, अहिले त्यो त गयो नि । अरूलाई ठग्न खोज्दा आफैँ ठगिन्छ भनेको यही हो ।’ मैले वृत्तान्त बताएँ ।
‘बाउको बेहोरा भएको भए हामी घरबाट निकाल्थ्यौँ ?, तिमरलाई के थाहा छ, उनी कस्ता छन् भन्ने कुरा । त्यसैले तिमेरु यस विषयमा केही कुरा नै नगर । हामी एक राख्दिनम् दुई राख्दिनम् तीन राख्दिनम्, के गर्ने हो गर । हेर्छु म पनि ?’ मोहनले प्रतिवाद गर्यो ।
‘हैट भतिज ! तँ डाक्टर भएर पनि यति अव्यावहारिक छस् भन्ने त मैले कल्पना नै गरेको थिइनँ ।’ जीवन छक्क पर्यो । ‘बाआमाबीच कहिलेकाहीँ झगडा भए पनि छोराछोरीले मिलाउनु पर्छ ।’ सुरेन्द्रले सम्झायो ।
बेलुका सबै आफन्त, छरछिमेक छलफलमा सहभागी भइयो । जेठी भाउजू र कृष्णलाई पनि बोलाइएको थियो तर कृष्ण मात्र आएछ । ‘के कारणले तिमेरले (वासुदेव दाइलाई देखाउँदै) यसलाई घरबाट निकाल्यौ ?’ ठुलाघरे साइँला काकाले प्रश्न गरे । ‘भनेको नमान्नेलाई सँगै राख्न सकिएन’ कान्छी भाउजूले उत्तर दिइन् । ‘पहिले त दुनियाँमा तिमी बाहेक अरू कसैलार्इ देखेन ?, तिमीले जे भन्थ्यौ त्यही मान्थ्यो त, हामीले जति सम्झाए पनि टेर्दैनथ्यो ।’अहिले चाहिँ किन मानेन ? फेरि काइँला काकाले प्रश्न गरे । ‘के मानिनँ र मैले, यसले जे भन्यो त्यही मानेँ, अहिले आएर अंश पनि कृष्णलाई भन्दा मोहनलाई बढी दिनु भनी (कान्छी बुढीलाई देखाउँदै) यसले तर त्यो कुरा मैले स्वीकार्न सकिनँ । कृष्णमाथि धेरै अन्याय गरिसकेको छु । यसभन्दा बढी गर्नुहुन्न भनेर दुवैलाई बाँकी रहेको जग्गा बराबर भाग लगाइदिन्छु भन्दा झगडा भयो । म कुटिएँ र घरबाट निकालिएँ ।’ वासुदेवले पीडा ओकेले ।
‘के अब तिमेरु नमिल्ले नै हो त ?’ लेखबहादुर काकाले सोध्नु भो । ‘अहँ कुनै पनि हालतमा सँगै बस्न सकिँदैन ।’ कान्छी भाउजूले उत्तर दिइन् । ‘कि कृष्णसँग बस्छस् त वासु तँ ?’ काइँला काकाले व्यङ्ग्य गरे । दाजुले चुप लागेर ठिटलाग्दा आँखाले कान्छी भाउजूलाई हेरिरहे ।
‘बाबुले आफ्नो कर्तव्य बिर्से पनि छोराले बिर्सनु हुँदैन । कृष्ण ! बाबुलाई लगेर पाल ।’ भीडबाट आवाज आयो । ‘छोरो भएको नाताले म आफ्नो कर्तव्य पूरा गर्न तयार छु ।’ भन्दै कृष्ण मुस्कुरायो । सबै मुखामुख गरेर कृष्णलाई हेर्न थाले । वातावरणमा सन्नाटा छायो । वासु दाजुले पनि सुकसुक गर्दै कृष्णसँग माफी मागे । सबै खुसी भए ।
ठुलाघरे काकाले बाबुलाई आफूसँगै घरमा लान कृष्णलाई भने तर उसले बाबुलाई घरमा लान नसक्ने बतायो । ‘किन ?’ भन्ने प्रश्न भीडबाट आयो । घरमा मेरी आमा हुनुहुन्छ । यदि मैले बुबालाई घरमा लिएर गएँ भने उहाँले तुरुन्तै घर छोड्नुहुनेछ । म त्यस्तो अनर्थ हुने काम गर्न सक्तिनँ । मेरी आमाले आफ्ना सम्पूर्ण इच्छा चाहनालाई तिलाञ्जली दिएर कठोर परिस्थितिका बाबजुद पनि मलाई हुर्काउनु भो, बढाउनु भो । उहाँ मैमा समाहित हुनु भो । उहाँको म बाहेक यो संसारमा अरू कोही पनि छैन । म जानेर वा नजानेर पनि उहाँलाई चोट पुर्याउने काम गर्न सक्तिनँ । तर बुबालाई घरमै लगेँ भने उहाँलाई पीडा हुन्छ । त्यसैले बिन्ती छ हजुरबुबा मलाई यस्तो कठोर सजाय नदिनुहोस् । बुबालाई बाहिर कतै कोठा खोजेर राख्छु र उहाँको रेखदेख गर्नेछु । यही नै मेरो कर्तव्य हुनेछ ।’ कृष्णले दुवै हात जोडे ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

