(यो कथा एक रक्स्याहा, असफल बूढो चित्रकारको हो जो आफ्नो अन्तिम मास्टरपिस कलाकृति “अन्तिम पात’ पेन्ट गरेर एक निर्दोष बिरामी केटीको ज्यान बचाउँछ ।)

वाशिङ्गटन चोकको पश्चिमतर्फ एउटा क्षेत्र छ जहाँ बाङ्गाटिङ्गा असङ्ख्य गल्लीहरूको जालमा धेरै बस्तीहरू बसेका छन् । यी बस्तीहरू बिना योजना नै बसाएजस्ता देखिन्छन् । कुनै समय कुनै एक चित्रकार यहाँ आएको हुनुपर्छ । उसलाई शायद यो ठाउँ सस्तो र राम्रो लाग्यो होला, त्यसैले उसले यहाँ आफ्नो डेरा बसायो होला । बिस्तारै बिस्तारै त्यहाँ अरु पनि धेरै चित्रकारहरू आएर बस्न थाले । केही वर्षमै यो इलाका कलाकारहरूको एउटा बस्तीमा परिणत भयो ।

यही ठाउँमा एउटा तीनतले इँटको भवनको सबभन्दा माथिल्लो कोठामा सू र जौन्सीको स्टुडियो थियो । जौन्सीको वास्तविक नाम जोआना थियो तर सबै मानिसहरू उसलाई जौन्सी नै भनेर बोलाउने गर्दथे । एउटी अमेरिकी शहर मेइन कि बासिन्दा थिई भने अर्की क्यालिफोर्नियाकी थिई । दुवै जनाको पहिलो भेट एउटा रेस्टुरेन्टको टेबलमा भएको थियो । गफगाफकै सिलसिलामा दुवैले एक अर्काका कलात्मक रुचिहरू धेरैहदसम्म समान पाए । त्यसकारण दुवै मिलेर एउटा स्टुडियो खोले ।

यो घटना मे महिनाको थियो । नोभेम्बर महिनाको ठन्डी शुरु हुँदै नै एउटा अनौठो रोगले च्याप्यो । जसलाई डाक्टरहरूले निमोनिया भन्थे । लेबस्तीका कयौँ मानिसहरूलाई मृत्युको चिसो पन्जाले आफ्नो शिकार बनाएको थियो । बस्तीको पूर्वीभागमा आफ्नो पूरा असर देखाएर यो बिराम बस्तीका साँगुरा गल्लीहरूका अन्य घरहरूमा प्रवेश गरिसकेको थियो ।

कम उमेरकी जौन्सी, जसको रगत क्यालिफोर्नियाको पश्चिमी हावाको असरले पहिल्यै पातलो भएको थियो र उक्त कमजोरीका कारणले नयाँ बिमारले उसलाई आक्रमण गरिहाल्यो । जौन्सी हिँडडुल नगरीकनै दिनभर आफ्नो पलङमा सुतिरहन्थी र सिसाको सानो झ्यालबाट नजिकैको इँटाको पर्खालतर्फ हेरिरहन्थी ।

मूलकथाकार : ओ हेनरी

एकदिन डाक्टरले आएर जौन्सीको स्वास्थ्य अवस्था जाँच गरे र ढोका छेउमा आएर सूको कानमा बिस्तारै यसो भने– “दशमा केवल एक मात्र बाँच्ने सम्भावना छ ।” थर्ममिटरको पारोलाई झट्कार्दै फेरि भने– “त्यो पनि तब, जब उसमा बाँच्ने भित्री इच्छा जागृत हुन्छ । यो भयानक बिमारीका सामु हाम्रा सबै औषधीहरू असफल छन् । यति धेरै मानिसहरू मरिरहेका छन् कि तिनीहरूको अन्तिम संस्कार गर्ने ठाउँसमेत पाइरहिएको छैन । फेरि तिम्री साथी जौन्सीले निको नै नहुने कसम खाएकी हुन् कि जस्तो छ । उसलाई के कुनै निराशाले सताएको छ ?”

“ऊ– ऊ त कुनै दिन नेपल्सको खाडीको चित्र बनाउन चाहन्छे,” सू ले भनी । “यस्तो अवस्थामा पेन्टिङको कुरा ! छाडिदेऊ यस्तो कुरा । बरु ऊ कुनै पुरुषको चक्करमा परेर त दुःखी भएको छैनन् ? भन त ?”

“हैन डाक्टर, त्यस्तो केही पनि छैन,” सूले डाक्टरलाई आश्वस्त पार्दै भनी ।

“त्यसो भए यो सब उनको शारीरिक कमजोरीकै कारणले भएको हुनुपर्छ । डाक्टरले भने– “मेरो जुन मेडिकल ज्ञान छ, त्यसको भरमा म आफूले सकेको त गर्ने नै छु तर यदि तिमीले ऊसँग जाडो मौसममा प्रयोग हुने कुनै नयाँ लुगा या त्यस्तै कुनै रुचिकर चिजको बारेमा बातचित गरेर मन बहलाउन सक्यौ भने उसको निको हुने सम्भावना बढेर जानेछ, मलाई चैँ त्यस्तो लाग्छ है !”

डाक्टर त्यहाँबाट गएपछि सू आफ्नो कोठामा गएर डाको छोडेर रुन थाली । उसको जापानी रुमाल आँशूले ल्याप्पै भिज्यो । फेरि ऊ ड्रइङबोर्ड लिएर एउटा प्रसिद्ध गानाको धुन निकालेर सिटी बजाउँदै जौन्सीको कोठामा गई । जौन्सीको मुख झ्यालतर्फ फर्किएको थियो । ऊ पलङमा चुपचाप सुतिरहेकी थिई, अलिकति पनि हलचल नगरी । जौन्सी निदाइरहेकी होली जस्तो लागेर सूले सिठ्ठी बजाउन बन्द गरी ।

एकछिनपछि सू आफ्नो पेन्टिङमा मग्न भई । ऊ दुईओटा घोडा बनाउँदै थिई । जुनमध्ये एउटा घोडामा एउटा रेड इन्डियन सवार थियो । त्यति नै बेला उसले बिस्तारै कुनै आवाज आएजस्तै सुनी । जब आवाज अझ प्रष्ट भयो तब उसले पेन्टिङको काम छाडेर जौन्सीको पलङ छेउ गई । जौन्सी चुपचाप सुतिराखेकी थिई । उसका दुवै आँखाहरू खुल्लै थिए । ऊ झ्यालबाहिर एक टकले हेर्दै उल्टो तर्फबाट गन्दै थिई ।

अनुवादक : गायत्री न्यौपाने

“बाह्र,” उसले भनी । फेरि केही समयपछि “एघार” फेरि “दश”, “नौ”, “आठ”, “सात” उसले एकै सासमा भनी । सू पनि ध्यानले झ्यालबाहिर हेर्न थाली । वास्तवमा जौन्सी के गन्दै थिई ? बाहिर एउटा सानो मैदान थियो र त्यसकै बीस फिट जति दुरीमा इँटाले बनेको अर्को घरको पर्खाल थियो । एउटा पुरानो र छिन्न लागेको लहरो उक्त पर्खालको झन्नैझन्नै आधा उचाइसम्म पुगेको थियो । उक्त लहरो पर्खालमा टपक्कै टाँसिएर अडिएको थियो । चिसो मौसमको हावाले प्रायः सम्पूर्ण पातहरू झारिदिएको थियो र त्यसको अस्थिपञ्जररूपी मूल लहरो मात्र त्यो पुरानो पर्खालको इँटामा अडिएर टाँसिरहेको थियो ।

“के भयो जौन्सी ? के गनेकी ?” सू ले सोधी ।

“छ,” जौन्सीले साउती मारेजस्तै गरी बिस्तारै फुसफुसाई । “तिनीहरू अब धेरै छिटोछिटो झरिरहेका छन् । तीन दिन अगाडिसम्म सयओटा जति थिए । तिनीहरूलाई गन्दागन्दै मलाई रिङ्गटा चल्न थालेको थियो तर अब त गन्न धेरै सजिलो भएको छ । लौ, अर्को पनि पो झर्यो ! अब केवल पाँचओटा मात्र बाँकी छन् । “के पाँच ? केही त बताऊ जौन्सी ।”

“पातहरू, उः त्यो पुरानो छिन्न लागेको लहरामा । जब अन्तिम पात झर्नेछ र लहरो मात्र बाँकी रहनेछ । तब म पनि झर्नेछु, रहने छैन । मलाई विगत तीन दिनदेखि त्यस्तै लागिरहेको छ । के तिमीलाई डाक्टरले केही बताएनन् ?” जौन्सीले भनिन् ।

“मैले यस प्रकारको बाहियात कुरा कहिल्यै सुनेकी थिइन,” सूले अलि रिसाएझैँ गरी भनिन्, “यी पुराना पातहरू झर्नुसँग तिम्रो स्वास्थ्यको के सम्बन्ध हुन सक्छ र ? मलाई थाहा छ, तिमीलाई त्यो लहरो अति मन परेको छ । तर यति पागल नबन जौन्सी । आज नै बिहान डाक्टरले तिम्रो स्वास्थ्य ठीक हुने सम्भावना दशमा एक छ रे भन्ने सुनाइरहेका थिए । यो एउटा राम्रो सम्भावना हो । थोरै धैर्य होऊ । लेऊ, यो सुप पिऊ । म आफ्नो पेन्टिङ पूरा गर्छु जसलाई बेचेर तिमीलाई केही मिठो खाना र वाइन किनिदिन्छु ।”

“अब तिमी अरु वाइन नल्याऊ,” जौन्सीले झ्याल बाहिर एकटकले हेर्दै भनी ।

“लौ, अर्को एउटा पात पनि झर्यो । अब केवल चार पातहरू मात्र बाँकी रहे । म रात पर्नुअगाडि नै अन्तिम पात झरेको हेर्न चाहन्छु । त्यसपछि म पनि जानेछु ।”

“मेरी प्यारी जौन्सी,” सूले केही झुकेर भनी, “तिमी मलाई वाचा गर कि तिमी अब आँखा बन्द गर्नेछ्यौ र जबसम्म म यो पेन्टिङको काम गर्छु, त्यतिञ्जेलसम्म तिमी झ्यालबाहिर हेर्ने छैनौ । मलाई यो पेन्टिङ भोलिसम्म पूरा गरेर दिनु छ । के गर्नु, चित्र बनाउन यहाँ अलिक उज्यालो चाहिएको छ । नत्र त म झ्यालको पर्दा झारिदिने थिएँ ।”

“के तिमी अर्को कोठामा गएर पेन्टिङ गर्न सक्दिनौ र ?” जौन्सीले अलि झर्किएर भनी ।

“यतिबेला म तिमीलाई एक्लै छाड्न सक्दिनँ,” सूले भनिन्, “र, अर्को कुरा, तिमी ती बाँकी बचेका पातहरू मात्र हेरिराख भन्ने पनि म चाहन्नँ ।”

“जब तिम्रो काम सकिन्छ, मलाई भन,” जौन्सीले आँखाहरू चिम्म गर्दै भनी । उसका आँखाहरू एकदम निस्तेज र सेता भइसकेका थिए । ऊ कुनै निश्चल मूर्तिझैँ शान्त पल्टिएकी थिई । उसले भनी, “म अन्तिम पात झर्दै गरेको हेर्न चाहन्छु । म त्यो समय पर्खदापर्खदै थाकिसकेँ । म सोच्दासोच्दै पनि थाकिसकेँ । म अब यस संसारका सम्पूर्ण कुराहरूबाट आफ्नो लगावलाई हटाउन चाहन्छु र आफूलाई फुक्का बनाएर र स्वतन्त्र भएर यी सुकेका पातहरूझैँ बिस्तारै बिस्तारै तल तल झर्न चाहन्छु ।”

“एकछिन भए पनि निदाउने प्रयास गर जौन्सी,” सूले भनी ।

“म एकैछिन बेह्रमनलाई बोलाउन जान्छु । म एउटा खानी मजदुरको चित्र बनाइराखेकी छु । बेह्रमन एकछिन एउटा मोडेलको रूपमा मेरो अगाडि उभिएला कि ? म दुई मिनेटमै आइहालेँ है । त्यति बेलासम्म तिमी नहल्ली सुतिराख ।”

बूढो बेह्रमन पनि एउटा पेन्टर थियो । ऊ त्यसै घरको तल्लो तलामा बस्थ्यो । ऊ त्यस्तै ६० वर्ष जतिको थियो । उसको दाह्री लामो थियो । बैह्रमन एक पराजित र असफल चित्रकार थियो । चालीस वर्षसम्म रङ र ब्रससँग खेल्दा पनि खासै उपलब्धि हासिल गर्न सकेको थिएन । उसलाई भित्र कताकता हृदयमा सधैँ नै एउटा महत्त्वपूर्ण चिरकालसम्म चर्चा गर्न लायकको मास्टरपिस (एउटा अमर कृति) पेन्ट गर्ने चाहना थियो तर उसले त्यस्तो कलाकृति कहिल्यै सिर्जना गर्न सकेको थिएन । केही वर्ष यता त झन् उसले कुनै खासै राम्रो कलाकृति बनाएकै थिएन । रोजीरोटीको लागि ऊ कहिलेकाहीँ साइनबोर्ड र केही सामान्यखालका व्यापारिक पेन्टिङ गर्थ्यो । आफ्नो बस्तीका युवा चित्रकारका लागि ऊ मोडलको काम गर्थ्यो । केही पैसा कमाउँथ्यो । ऊ त्यो पैसाले साँझमा टिलिक्क मात्ने गरी पिउँथ्यो । आफ्नो भविष्यमा बनाउन बाँकी अमर कलाकृतिको बारेमा गफ दिन्थ्यो । ऊ एक सन्की, लामो दाह्री पालेको बूढो थियो, जो अरुको कमजोरीमा हाँस्ने गर्दथ्यो । तर उसको हृदयमा त्यसै घरमा बस्ने ती दुई युवा चित्रकारप्रति अगाध माया थियो । सू जब तल मधुरो प्रकाश भएको कोठामा झरिन्, बैह्रमनको शरीरबाट अनौठो गन्ध आइरहेको थियो । उसको छेवैमा उसको चित्र बनाउने बोर्ड थियो । उक्त बोर्डमा भएको खाली क्यानभास उसको अजम्बरी कृतिको लागि विगत पच्चीस वर्षदेखि प्रतीक्षा गरिरहेको थियो । सूले बैह्रमनलाई जौन्सीको बारेमा सबै कुरा बताइदिई र यो पनि बताई कि कसरी प्रत्येक पातको झराईसँगै जौन्सीको जिन्दगी पनि ढलिराखेको थियो ।

“कस्ता कस्ता मुर्ख मानिसहरू यस संसारमा जन्म लिन्छन्, जो कुनै सुकेको लहराबाट पातहरू झरे भनेर मर्न चाहन्छन् । मैले यस्तो कुरा पहिले कहिल्यै सुनेको थिइनँ । तैपनि केही छैन, तर म अहिले तिम्रो चित्रको लागि मोडलिङ गर्न असमर्थ छु र म जौन्सीलाई पनि कसरी पो मद्दत गर्न सकौला र खोई !” बूढो बैह्रमन ले भन्यो ।

“यति बेला जौन्सी अत्यन्तै बिमार र कमजोर छे,” सू ले भनी, “उसलाई तेज ज्वरोका कारण दिमागमा नानाभाँतीका नचाहिने कुराहरू मात्र आइरहन्छन् । बैह्रमन तिम्रो जो विचार ! तिमी मेरो चित्रको मोडल बन्दैनौ भने नबन । आखिर तिमी काम न काजको गफाडी न पर्यौ !”

बैह्रमनले चिच्याएर भन्यो– “कसले भन्यो, म मोडल बन्दिनँ ? तिमी जाँदै गर, म आधा घण्टामा माथि आउँछु । जौन्सीको स्वास्थ्यस्थिति सुनेर मलाई अत्यन्त दुःख लाग्यो । एक दिन म आफ्नो अमर कलाकृति अवश्य पेन्ट गरेरै छाड्छु र अनि हामी सबै यो ठाउँ छोडेर जानुपर्छ, हुन्छ नि ?”

जब उनीहरू दुवैजना माथि कोठामा गए, जौन्सी मिठो निन्द्रामा थिई । सूले पर्दा झारी र बैह्रमनलाई अर्को कोठामा लिएर गई । त्यस कोठाको झ्यालबाट उनीहरूले त्यो लहरालाई एकटकले हेर्न थाले । फेरि उनीहरूले एक छिन केही नबोली एकअर्कालाई हेरीमात्र राखे । बाहिर हिउँ सहितको पानी परिराखेकोले चिसो थियो । अनि बेह्रमन खानी मजदुरको मोडलिङको लागि बस्यो । सूले उसको चित्र बनाउन थाली ।

जब बिहानै सू सुतेर उठी, उसले जौन्सीले एकटकले झ्यालको हरियो पर्दामा हेरिराखेको देखी ।

“पर्दा हटाऊ, म बाहिर हेर्न चाहन्छु,” जौन्सीले मधुरो आवाजमा आदेश दिई । मनले नमान्दा नमान्दै पनि सूले जौन्सीको आदेशको पालना गरी ।

तर अचम्म यत्रो रातभरको भयानक चिसो तुफान र वर्षाको बाबजुद पनि त्यो इँटाको पर्खालको त्यो लहरामा अझ पनि एउटा पात त झुन्डिराखेको थियो । पात फेदतिर हरियै थियो, तर त्यसको किनार भाग भने समयसँगै पहेँलो भएको थियो । त्यो कमजोर पात अझ पनि आफ्नो पूरै शक्ति लगाएर जमिनभन्दा त्यस्तै बीस फिटमाथि झुन्डिराखेको थियो ।

“त्यो अन्तिम पात हो,” जौन्सीले भनी । “यो पात अवश्य पनि राति झर्छ होला भनेर सोचेकी थिएँ । मैले रातभरि चलेको आँधी र हुरीको भयानक आवाज सुनेकी थिएँ । यो पात आज त अवश्य झर्नेछ र त्यसपछि त म पनि सदाका लागि बिदा हुनेछु ।”

“जौन्सी,” सूले आफ्नो उदास र निन्याउरो अनुहारलाई सिरानीले छोप्दै भनी, “यदि तिमीलाई आफ्नो बारेमा मतलब नभए पनि मेरो बारेमा त अलिकति सोच । तिमी बेगर म कसरी बाँचुली ?”

जौन्सीले कुनै उत्तर दिइनन् । संसारमा सबैभन्दा एक्लो आत्मा त्यो हुन्छ, जुन कुनै अर्को अनजान दुनियाँमा जाने तयारी गरिराखेको हुन्छ । कसो कसो गरेर त्यो दिन पनि बित्यो । साँझको मधुरो प्रकाशमा पनि जौन्सीले त्यो पात देखिराखेकी थिई । रात पर्ने बित्तिकै उत्तरी चिसो हावाले आफ्नो तान्डव नृत्य फेरि सुरु गर्न थाल्यो । मुसलधारे वर्षा उनीहरूको झ्यालको सिसामा ठोकिएर तल झरिराखेको थियो । जब उज्यालो भयो, जौन्सीले झ्यालको पर्दा खोल्ने आदेश दिई । लहरामा झुण्डिएको त्यो अन्तिम पात अझै पनि त्यहीँ थियो । जौन्सीले धेरै बेरसम्म सुती सुती त्यो पातलाई नियाली राखी । फेरि उसले सूलाई बोलाई जो भान्सामा ग्याँस बालेर कुखुराको मासुको सूप बनाउँदै थिई ।

“म बाट ठूलो भूल भएको छ सू,”– जौन्सीले भनी, “खोई किन हो, त्यो अन्तिम पात अझै त्यहीँ छ । त्यो पातले मेरो दुष्टतालाई बताइरहेको छ । म मर्ने बारेमा सोचिराखेकी थिएँ । यो पाप हो । अब तिमी मेरो लागि अलिकति तातो सूप लिएर आऊ र साथमा एक कप दुध पनि । अँ, अनि त्यो भन्दा पहिला मलाई ऐना ल्याइदेऊ । अनि मेरो पछाडि सिरानी लगाएर अडेसा लगाइदेऊ । म सजिलो गरी तिमीले खाना बनाउँदै गरेको हर्न सक्छु ।”

एक घण्टापछि जौन्सीले फेरि भनी, “सू एकदिन म नेपल्समा समुद्रको खाडीको चित्र बनाउन चाहन्छु ।”

साँझ जब डाक्टर आए तब सू उनलाई छोड्न तल ढोकासम्म आइन् । “अब जौन्सी निको हुने धेरै सम्भावना छ,” डाक्टरले सूसँग हात मिलाउँदै भने, “यसैगरी तिमीले उनलाई देखभाल गर्यौ भने, तिमीले अवश्य जित्ने छ्यौ । अब म तलको कोठामा जान्छु जहाँ एउटा बिरामीलाई हेर्नुछ । एउटा बूढो मानिस छ, उसको नाम बैह्रमन हो, शायद ऊ एउटा चित्रकार हो । उसलाई पनि निमोनियाले सताएजस्तो छ । उसको हालत अत्यन्त खराब छ र बाँच्ने खासै सम्भावना छैन । आज उसलाई उपचारको लागि अस्पताल लगिँदैछ ।”

अर्कोदिन डाक्टरले सूलाई भने, “तिम्री साथी अब खतरामुक्त भइसकिन् । तिमीले बाजी जित्यौ । उनलाई मीठो र पोषिलो खानेकुराहरू खुवाऊ, अरु केही गर्नु पर्दैन ।”

त्यो साँझ जब सू जौन्सीको नजिक गई तब उनले देखी, जौन्सी त पलङमा बसेर मजाले ऊनीको स्कार्फ बुनिरहेकी थिई । सूले आफ्नो हात उनको काँधमा राखी र भनी, “तिमीलाई एउटा कुरा सुनाउनु छ ।”

“बैह्रमनको आज अस्पतालमा निमोनियाको कारणले मृत्यु भयो । ऊ दुई दिन मात्र बिरामी पर्यो । घरको चौकीदारले पहिलो दिन बिहानै बैह्रमनलाई आफ्नो कोठामा पीडाले छटपटाउँदै गरेको देखेको थियो । बैह्रमनले लगाएका लुगा र जुत्ता पूरै भिजेका थिए । हिउँजस्तै चिसा थिए । कसैलाई केही थाहा नै भएन कि ऊ त्यस्तो हावाहुरी चलेको र हिउँसहितको वर्षा भएको रात कहाँ गएको थियो । अनि त्यो चौकीदारले एउटा लालटिन भेट्टायो । त्यति बेला पनि लालटीन बलिराखेको थियो । बाहिर एउटा भ-याङ पनि थियो, जुन सधैँको ठाउँबाट हटाइएको थियो । उसले पेन्ट गर्ने केही ब्रसहरू पनि यताउता छरिएको अवस्थामा भेट्टाएको थियो अनि एउटा प्लेट पनि भेट्टाइयो, जसमा हरियो र पहेँलो रङ घोलिएको थियो ।

जौन्सी, तिमी एकपटक राम्ररी झ्यालबाहिर त्यस पातलाई हेर त ! के तिमीले विचार गरेकी छ्यौ कि, किन त्यो पात हावा चल्दा हल्लँदैन र फर्फराउँदैन ? मेरी प्यारी जौन्सी, यो अन्तिम पात बैह्रमनको अमर कलाकृति हो । उसले त्यसलाई त्यसै रात पेन्ट गरेको थियो, जब त्यो लहराको अन्तिम पात भुइँमा झर्यो ।”