
गत हप्ता पवित्राले दोस्रो पटक कसैको शोकमा सेतो पोशाक लगाइन् । लगभग मलामीहरू घर फर्किसकेका थिए, तर पनि उनी माई खोलाको दोभानमा टोलाएर बसिरहेकी थिइन् । एकोहोरो, शून्यताभित्र हराएकी जस्ती ।
पहिलेझैं यो चोटि पनि आँसुहरू लुकेका थिए । बोलाइभन्दा मौनता धेरै बाक्लिएको थियो । धेरै नबोल्ने अनुहारमा थकान मात्रै बाँकी रहेको थियो । आँखा पनि थाकिसकेका थिए । अब त उनीभित्र बाँकी केही थिएन । न सपना, न विश्वास । केवल अब आफैंले बाँच्नुपर्ने आफ्नै बाँकी जीवनको बोझ मात्रै ।
पवित्राको मन छिनछिनमा कताकता भौतारिन्थ्यो, शायद बितिसकेका मानिसहरूसँग, या अझ गहिरो त आफ्नै जीवनको चिप्लिएको कुनामा । झट्ट नीरा सम्झनामा आई । त्यो रात सम्झिइन्, जुन रात पवित्राले सानी नीरालाई मामा घरमा छाडेर नयाँ बिहे गरेकी थिइन् ।
त्यो रात ओछ्यान त न्यानो थियो, तर पवित्राको मन भने चीसो थियो । आफूलाई सम्झाउँदै थिइन्, “यो मेरो जीवनको नयाँ शुरूवात हो ।” तर त्यो शुरूवात कहिल्यै साँचो लागेन । त्यो अध्याय लेखिंदासम्म नीराको नाम निशाना नै छुटिसकेको थियो ।
पहिलो लोग्ने त नीरा जन्मिनुअघि नै बिते । त्यो कुरा उनले कहिल्यै नीरालाई भनेकी थिइनन् । शायद सम्झन चाहिनन् । पवित्रा पनि भर्खरै टीनएजकै थिइन् । या भन्न नसक्ने गहिरो पीडामा थिइन् उनी । किनकि त्यो समयको समाजमा विधवा हुनु सजिलो पनि थिएन ।
दोस्रो बिहे गरेपछि न त पुरानो संसारले स्वागत गर्यो न त नयाँले ।उनको नयाँ लोग्नेले स्पष्ट भनेको थियो, “तेरो अघिल्लो कोखको कुरा अब कहिल्यै नउठोस् ।”पवित्राले त्यसैलाई आफ्नो मौन शपथ बनाइन् ।
उनी कहिल्यै बोलिनन्, तर भित्रभित्रै सोधिरहिन्, “यदि मैले नीराको ठाउँमा छोरा जन्माएको भए के म त्यो रात
नीरालाई सुटुक्कै सुतिरहेको ओच्छ्यानमै छाडेर बिहे गर्न म पटक्कै जान्नथें ।”
यदि नीरा छोरो भएर जन्मिएको भए पवित्राले बिहे गर्ने पनि थिइनन् । तर नीरा छोरी थिई । समाजको हिसाबले ‘बोझ’ । भविष्यको सुरक्षाको ग्यारेन्टी पनि नभएको र कुनै उत्तरदायित्व पनि नभएको । त्यसैले पवित्राले आफ्नो मातृत्वसँग गद्दारी गरिन् ।आफ्नो छोरी नीरालाई अनाथ बनाइन् र ओच्छ्यानमा एक्लै छोडेर हिंडिन् ।
नीरा सानै थिई । उसलाई मामा घरमा छोडेर पवित्रा अर्को लोग्नेको घरमा आफ्नै जिन्दगी सम्हाल्न भनेर गइन् । तर त्यति बेला नीरालाई मनमा लाग्थ्यो, “आमा त फर्केर आउँछिन् नि, एक-दुई दिनमै ।” तर नीराको जीवनमा त्यस्तो दिन कहिल्यै आएन ।
समयसँगै सम्बन्ध पुरानिंदै गयो र खाटा बस्दै गयो । नीरा आमा खोजेर कहिल्यै रोइन, चिच्याइन, सिर्फ चूप लागी । मामाहरूको हात समाउँदै दगुर्न थाली र माइजूहरूको काखमा रमाउन थाली । अन्ततः आफूभित्र कठोर आत्मा पनि बनाई जहाँ ‘आमा’ भन्ने शब्द मनमै राख्न पनि छाडी । पढ्दै, लेख्दै, ऊ बलियो बन्दै गई । त्यही बलियोपना भित्र धेरै नबोलेको दुःख पीडा पनि थन्किएको थियो ।
पवित्राले नीरालाई टुहुरी बनाएर दोस्रो बिहे गर्दा समाजले भन्यो, “एक विधवाले फेरि जीवन शुरू गरिन् । छोरी त अब हुर्किहाल्छे नि, अर्काको घर जाने जात बिहे गर्दिहाल्नुपर्छ ।” सबै मान्छेहरू त्यति सन्तोषमै चूप लागे र पवित्राको त्यो शुरूवातलाई सबैले मौन समर्थन जनाए ।
नीरा जब ठूली भई र स्कूलमा भर्ना हुन गएकी थिई अनि फारममा बुवाको नामको ठाउँ खाली थियो, आमाको नाम पनि थिएन र उसलाई कताकता आफ्नै नाम पनि आधा लाग्यो । जस्तो कि ऊ आफै अरूभन्दा अपूर्ण थिई ।
पछि नौ कक्षामा पढ्दा सरले बाबूको नाम जसरी पनि लिएरै आऊ भनेपछि बाकसबाट आफ्नै मामाको नागरिकता सुटुक्कै चोरेर किताबको गातामा लुकाएर लगेर सरलाई देखाएकी थिई र फेरि त्यहीं ठाउँमा राखिदिएकी थिई ।
उता पवित्राले पनि दोस्रो पतिबाट अरू तीन सन्तान जन्माएर खुलेर आफ्नो छोराछोरी भन्न थालिसकेकी थिइन् । उनीहरूका नाम, थर, सबै चिटिक्क र राखिदिए । नीरा मात्र ‘कसैकी होइन’ भन्ने कुरा पवित्राले समाजमा स्थापित गराइन् ।
कहिलेकाहीं गाउँलेहरूले पनि पवित्रालाई प्याच्च भन्थे, “नीरा पनि त्यही तिम्रै छोराछोरी मध्येकी एउटी हैनन् र ?”
तर पवित्रा ठाडो रूपमा अस्वीकार गरेर भन्थिन् कि, “त्यो मेरी छोरी होइन ।”
यस्तो हुनुमा चाहिं पवित्राको दोस्रो लोग्नेको ठूलो हात थियो । अनपढ र ल्याप्चे पवित्रालाई सधैं सिकायो “नीरालाई तँ बिर्सिदे र मनबाट मेटिदे । त्यो संस्कार नभएकी । उनको रगत र वंशमा नै खराबी छ । तँ नयाँ परिवार र नयाँ नाम मात्रै सम्झी । म तँलाई नागरिकता पनि भिन्दै बनाइदिन्छु । जहाँ नीराले तेरो परिचय नै नपाओस् ।” पवित्राले त्यो सिकाइ लाई नै आत्मसात् गरिन् । उनले आफ्नो पहिलो कोख बिर्सेको अभिनय गरिन् । त्यही अभिनय वर्षौंपछि उनको आफ्नै स्वभाव बन्यो ।
यता नीरा भने आफूलाई स्थापित गर्न लागिपरेकी थिई शिक्षामा, काममा, पहिचानमा । तर भित्र गुमेको त्यो ‘म’को खोज अझ बाँकी थियो । ऊ अब ‘कसैकी छोरी’ कहलिनुपर्ने अवस्थामा थिइन । समाजमा आफ्नो परिचय ऊ आफैंले बनाइसकेकी थिई ।
तर समय फेरियो । उता पवित्राका छोराछोरी पनि ठूला भए । पवित्राले यो कुराको सुईको पाएपछि आफ्ना छोराछोरीलाई नीराकै शरणमा पढ्न पठाइन् र उनीहरूलाई सम्झाएकी पनि थिइन्, “केही समय उसैसँग बस । केही सिक, केही बुझ ।”
पवित्राका सन्तानहरू चकित परे, “हिजोसम्म सम्बन्ध नै स्वीकार नगरेकी मान्छे, आज उसकै शरणमा पठाउँछौ त ?”
नीरा जब पवित्राका छोराछोरी मेरो घरमा आउनेछन् भनेर पहिलो पटक निक्कै डराई र निक्कै रिसाई पनि ।
तर नीराको अर्को मनले भन्यो, “शायद यिनैका आँखाबाट म मेरी आफ्नी आमा देख्न र महसूस गर्न सकूँ ।”
ती छोराछोरी नीराको घरमा बस्न भनी आए । नीराकोमा बसे र चूपचाप उसैको सिको गर्दै गए । नीराले पनि केही क्षण त हो नि गइहाल्छन् भनेर कलेजमा फिस तिरेर भर्ना गरिदिई र आँखा चिम्लिदिई ।
पवित्राले चूपचाप “तैंले मात्रै सहयोग गर्न सक्छेस्, हामी गरीब छौं,” भने जस्तो गरिन् । नीराले पनि केही प्रश्न गरिन । न त विगतमा गरेको व्यवहार नै सम्झिई ।
छोराछोरी विदेश जाने सपना देख्न थाले । नागरिकता, सिफारिस, आर्थिक सहयोग सबै कुरामा समस्या देखिन थाल्यो । नीराले कागजात मिलाइदिई, सबै प्रक्रिया सम्हाली, सिफारिस गरी अनि आफ्नो सामाजिक पहिचान जोखिममा हालेर आफैं भित्रको बाँकी सम्मानलाई समेत सस्तो मूल्यमा बेचेर पवित्राकी छोरीलाई अमेरिका पठाई ।
तर पवित्रा ती छोराछोरी आफ्नै भाग्यले अमेरिका पुगेका हुन् भन्छिन् ।
अमेरिका पुगेकी पवित्राकी छोरी पनि पवित्राकै स्वर दोहोर्याउन थाली ।
“त्यसले त केही पनि गरिदिएकी थिइन । म त आफैं पास भएर आएकी हुँ ।”
“पैसा पनि मेरै नै थियो । सिफारिस त अरूले पनि त गर्न सक्थे ।”
किनकि छोराछोरी त्यही पवित्राको लोग्नेको अहंको छायामा हुर्किएका थिए । पवित्राकी छोरीले नीरालाई सामाजिक सञ्जालमा, फोनमा ब्लक हानेकी छे ।
मानौं कि विगतमा कुनै सम्बन्ध नै कहिल्यै भएको थिएन जस्तो ।
अन्ततः पवित्राका छोराछोरी अमेरिका पुगे, सपनाको संसार । ठूला गाडी, सिटिजनसिप, जागीर, गर गहना । तर पवित्राले कहिल्यै भनिनन्, “नीराले सहयोग गरिदिई ।” नीरालाई अझै घृणा गर्छे पवित्राले ।
बरु उल्टै भनिन्न्, “मेरा छोराछेरी साह्रै भाग्यमानी थिए । उनीहरू आफ्नै प्रयासले अमेरिका पुगेका हुन् ।”
नीराले पवित्राको त्यो कुरो पनि सुनी । त्यो वाक्यले नीरालाई चोट त दिंदैन । तर अब ऊ त्यो भन्दा निक्कै पर गइसकेकी छे ।
अहिले पवित्राका अमेरिकामा छन् त्यो उही छोरीको कारण जसलाई उनले जन्म दिइन्, स्वीकार गरिनन्, र पछि ‘अपनत्व’ पनि खोजिन ।
जुन कोखमा नौ महिना बोकिन्, त्यही कोखबाट जन्मेकी छोरीले अर्को लोग्नेका सन्तानलाई जीवनको ठूलो मोडमा पुल बनाइदिई ।
अहिले पवित्राको घर छ र भित्तामा केही तस्वीरहरू झुन्डिएका छन् । तर कुनै पनि फ्रेममा नीरा छैन । तस्वीरहरूमै अनुपस्थित एउटी छोरी कहिल्यै ‘परिवार’को हिस्सा हुन पाइन ।
केही मानिसहरू कहिल्यै फोटोमा पर्दैनन् ।तर त्यो अनुपस्थिति नै सबैभन्दा ठूलो प्रमाण हो । नीरा त्यही बलियो प्रमाण हो ।
गतहप्ता पवित्राको दोस्रो लोग्नेको मृत्यु भयो । पवित्राको लागि यो नयाँ कुरो होइन । घरको आँगनमा फेरि मलामी भेला भए । फेरि सेतो कपडा । फेरि सिन्दूरको अन्त्य । पवित्रा उही चूप जसरी पहिले पनि थिई अहिले अझ शिथिल । पहिले पनि ऊ एक्ली भएकी थिई र अहिले पनि एक्ली भई । फरक यत्ति मात्रै हो कि, पहिलेको एक्लोपनमा समाजको आश थियो तर अब छैन । अहिलेको मौनतामा कुनै प्रतीक्षा पनि छैन न त नीरामाथि नै क्षमा गर्ने मनस्थितिमा छिन् पवित्रा ।
उता नीरा पनि त्यो मृत्युमा न त नाता महसुस गर्छे न त भावनात्मक जिम्मेवारी सहितको कुनै समवेदना र श्रद्धाञ्जलीका कुनै शब्द नै खर्च गर्न खोज्छे ।
नीराको त्यो संवेदनहीनता प्रतिशोध भने पटक्कै होइन । यो वर्षौंको अस्वीकार, अपमान र मौन अपहेलनाको प्रतिक्रियामा विकसित भएको उसको नयाँ अस्तित्व हो । नीरा यी कुनै पनि विषयमा कसैलाई पनि दोषी बनाउँदिन । उसको जीवन आफ्नै गतिमा चलिरहेको छ । मायाविहीन, सम्बन्धविहीन तर उच्च आत्मसम्मानले भरिपूर्ण ।
त्यही मान्छेले पवित्रालाई सिकायो, “नीरालाई आफ्नो नभन्नु ।” त्यही मान्छेले नीरा नामलाई पवित्राको जीवनबाट मेट्ने प्रयास गर्यो । पवित्राको आफ्नो जन्मदिने बाबूको नाम हटायो । वास्तविक उमेर र ठेगाना समेत परिवर्तन गरायो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

