
वृद्धाश्रममा छोराले कताकता भनसुन गरेर हामी दुई – म र मेरी बूढीलाई भर्ना गरिछाड्यो । वृद्धाश्रम भनेर पनि नहुने, अझ सरकारी वृद्धाश्रम ! हामीलाई त भनियो तपाईंहरू पचास-पचपन्नको लाग्नुहुन्छ । त्यही बाधा उपस्थित भयो । हामी बूढाबूढी दुवै थियौं, सत्तरी, बहत्तरका । म बाह्र वर्षको, बूढी नौ वर्षकी छँदै बिहे भएको । हामी बूढाबूढी जस्ता लाग्दैनौँ भनेपछि छोराले माथि कता हो भनसुन गरेर फेरि फोन गरायो ।
बूढाबूढी हुँदमा सुख छैन । सरकारी हण्डी खान सजिलो छैन । फोकटमा खान आइएजस्तो हुने रहेछ, हामीजस्तालाई जसको उमेर सत्तरी–पचहत्तर भए पनि पचासपचपन्नका देखिन्छन् । यसमा पनि सोर्सफोर्स लगाउनै पर्ने रहेछ भन्यो छोरोले । उसलाई हामी भार भइरहेका थियौं । श्रवणकुमारले अन्धा आमामबाबुलाई खर्पनमा हालेर तीर्थतीर्थ डुलाएको सानैदेखि सुन्दै आइएको थियो । सँगसँगै एउटा अर्को कथा पनि चल्न लागेको थियो, जुन डोकोमा राखेर छोराले आमाबालाई भीरबाट फालेको थियो त्यही डोको नातिले भोलिका दिन मैले तपाईंहरूलाई फाल्नुपर्छ भनेर नातिले भन्यो भन्ने कथाको जमानामा आइएको छ ।
तर हामी छोराप्रति कृतार्थ भयौं किनभने छोरोले हामीलाई डोकोमा राखेर भीरबाट गुल्टाएको त थिएन तर ट्याक्सीमा राखेर वृद्धाश्रममा ल्याएको थियो । हामीलाई सिकाएको पनि थियो— हामी छिमेकका असहाय वृद्धवृद्धाहरू हौँ जसलाई कता गाउँको एक युवकले मेरा बाआमा तिर्खाएका छन् भनेर पानी मागेर खुवायो अनि पानीसम्म त खुवायो तर त्यसपछि कता हो कता बेपत्ता भयो भनेर भन्नू ।
छोराको आर्थिक भार कम हुन्छ भनेर हामी बूढाबूढीले हुन्छ भन्ने मौन स्वीकृति दियौं । मन त लागिरहेको थिएन,वृद्धाश्रममा भर्ना हुन जान ठगी गरेर । आफ्नै छोरोलाई कताको ऊ अपरिचित गृहस्थ हो र उसले हामीलाई वृद्धाश्रममा भर्ना गर्न ल्याएर लोभलाग्दो पुण्य कमायो । अचेल मानवता भन्ने चीज नै रहेन, तर ऊ एक नीतिवान् र धार्मिक व्यक्ति रहेछ भनेर उल्टै प्रशंसाका शब्द खर्चिनुपर्ने भयो । त्यही गर्यौं पनि, देखावटी कृतार्थता देखाएर ।
सरकारी वृद्धाश्रममा भर्ना नभई पनि नहुने । छोरोले आर्थिक सङ्कट छ त्यसैले तपाईंहरू सरकारी हण्डी खान पाइने वृद्धाश्रममा जानुपर्यो भन्यो । उसले यो पनि भन्यो गर्वका साथ, ‘म अरू छोरा जस्तो होइन, वृद्ध आमाबालाई औषधिउपचारका लागि लैजान्छु भनेर झुक्क्याएर सडकछेउमा अहिले आइहालें, यहीं पर्खराख्नोस् भनेर छाडिजाने ।’ त्यो उसले गरेन, यो साँचो हो, ट्याक्सीमा ल्याएर छाडेको हो ।
एक मात्र प्यारो छोरो, उसले आफ्नो आर्थिक विवशता देखाएपछि नमानी पनि भएन, ‘हुन्छ’ भन्यौं । जेष्ठ नागरिक भत्ता आउँथ्यो । वृद्धाश्रममा त्यो गोप्य राख्ने प्रयास भइरहेको थियो । त्यो पनि उसैलाई दिने भयौं, नातिनातिनाको पढाइ खर्चमा भरथेग हुन्छ भनेर ।
जाने बेलामा उसले यति मात्र भन्यो सुटुक्क, ‘म गएँ त ।’
ऊ गएको हामीले हेरिरह्यौं । हाम्रो मन रोएको कसले देख्ने ? छोराका खातिर मन रोएको आँसु बगाएर देखाउनु पनि भएन । परिस्थितिको परिबन्दमा थियौं हामी ।
पछि यहाँबाट फर्केर छोरो विदेशतिर लाग्यो होला । विदेश जान्छु भनिरहन्थ्यो । हामीले छेकेजस्तो भएको थियो । सरकारी जागीरमा त थियो तर त्यसको तलबले पुग्दैन भनिरहन्थ्यो । जागीर छाडेर जान सके विदेशमा बढी कमाइ हुने सम्भावना छ भन्थ्यो । हामीलाई यता दुःख थिएन मानसिक क्लेशबाहेक । खानलाउन बेलाबेला दानदाताबाट पाइरहन्थ्यो । आश्रमको बसाइँ राम्रै थियो । तर नियाँस्रो लाग्ने रहेछ । नातिनातिना र छोराको मुख हेर्न नपाइने । आफ्नै सन्तानसँग कहिले हो भेट हुने ? भेट हुने मौका जुर्ने हो कि होइन, यतैबाट जानुपर्ने हो कि भन्ने त्रास भइरहने ?
तर म र बूढी त्यस्तरी रोगाएका पनि थिएनौं । हामी बसिरहेका थियौं । झन्झन् स्वस्थ देखिन थालनुभो भन्थे हामीसँगैका अरू वृद्धवृद्धाले । छ महिनाजति पछि आश्रममा खैलाबैला यो भयो, एक प्रसारण परीक्षणकालको टिभीको पत्रकार इन्टरभ्यु लिन आउँदै छ रे ! कुन विषयको इन्टरभ्यु लिने हो त्यो आश्रमको व्यवस्थापकलाई पनि थाहा थिएन । हाम्रा अग्रजहरूको अवस्था केकस्तो छ र वृद्धाश्रममा सुखले वा दुःखले कसरी बसेका छन् भन्ने सर्वेक्षण गर्नलाई पो हो कि पनि भनियो । बूढाहरूमध्ये म छानिएँ । म स्वस्थ थिएँ र अलि चलाख पनि देखिन्थें । दुईचार वटा अङ्ग्रेजी शब्द मिसाएर बोल्न पनि सक्थें । अलि बढी बोल्ने र फरासिलो । पढेलेखेको जस्तो । रिटायर्ड । म अगि सरेर इन्टरभ्यु दिनैपर्यो । आश्रमको नाक पनि राख्नै थियो ।
बुझ्दैजाँदा समसामयिक रूपमा मुलुक केकस्तो अवस्थाबाट गुज्रिरहेको छ भन्ने विषयमा मेरो विचार जान्न चाहन्छ टिभीको वार्ताकारले भन्ने घुइरोघुइरो थाहा भयो । एउटा ठूलो दायित्वको भार मेरो काँधमाथि टिभीवालाले हालिदियो । मुलुकले त के जान्न चाहन्थ्यो किनभने प्रसारण परीक्षणकालको थियो । टिभी हेर्ने नै कति पो हुँदा हुन् । प्रसिद्ध र लोकप्रिय टिभीमा दिइएको इन्टरभ्यु भए पो चर्चामा जाने थियो । तर यो पनि त थियो, मेरो विचार पो कति सुन्नयोग्य हुन्छ र ? सरकार प्रमुखको विचार त मुलुकलाई स्वीकार्य भइरहेको बेला छैन । गफ हो जति खोके पनि भो भनेर हावामा उडाइदिने गर्थें । मुलुक मेरो विचारमा हिँड्ने होइन र मैले जानेजतिले मुलुकलाई दुरवस्थाबाट उब्रिन पुग्ने पनि होइन ।
लाइट, क्यामेरा र अरू सबै आवश्यक प्रविधि सबै ठीक पारेपछि पहिलो प्रश्न यस्तो आयो, ‘मुलुक अहिले गरीबीमा छ । किन ?’ सोध्नेले मलाई मानवभक्षी बाघलाई खोरमा पारेँ भन्ने भावले सोध्यो । म त्यति विधि देख्दैमा मुरमुरिनुपर्ने खालको थिइनँ तर सोध्नेको मूड अलि आक्रामक जस्तो लाग्यो । लाग्यो होला, वृद्धाश्रममा यस्ता बूढा पनि छन् जो खाएरपिएर मोटाएका छन् ? मरन्च्याँसे ख्याउटे होलान् भनेको होइन रहेछ ।
मुलुकलाई पिछडिएको भनेन प्रश्नकर्ताले । पिछडिनुमा र गरीब हुनुमा भिन्नता छ- यस्तो स्पष्ट पार्यो । यसमा थप्नु केही थिएन, मैले टाउको मात्र हल्लाएँ ।
“मुलुक गरीब छ – यसबारे म के भन्न सक्छु र ?”
म स्वयम् गरीब छु । छोरोको आश्रयमा थियौं हामी बूढाबूढी नै । छोरोले नै पनि गुनासो गरिरहन्थ्यो आफ्नो मान्छे माथि नभएसम्म हुने रहेनछ भनेर । नेताहरूलाई चाकरी पुर्याउनुपर्छ नत्र केही उन्नति प्रगति सक्दैन पनि भन्थ्यो । मेरो छोरो गरीब छ किनभने ऊसँग पैसा छैन । पैसा नभएकाहरू नै गरीब मानिन्छन् । मैले यही सोझो उत्तर सोचें र त्यही भनें- ‘पैसा नभएर ?’
क्यामेराम्यान मुसुक्क मुस्कायो । हाँस्न सकेन । ऊसँग पनि पैसा छैन होला । म गम्भीर थिएँ । उत्तर हँसाउन दिइएको थिएन । गम्भीरता आवश्यक थियो । प्रश्नकर्ता पनि हाँस्न सक्थ्यो । मुस्काउनधरि मुस्काएन । पैसा नभएपछि गरीब हुनु स्वाभाविकै हो । उसले यो कुरो अहिलेसम्म नबुझेको हैन ।
तैपनि अर्कोतिर यो थियो, मुस्काए कुरा चिप्लिन्छ भन्ने लागेर ऊ बलजफती गम्भीर बनिरह्यो र सोध्यो, ‘पैसा किन छैन ?’
यो फेरि अर्को अप्ठेरो प्रश्न थियो । छोरो भन्थ्यो, ‘घर धान्न पैसै पुग्दैन ।’ त पैसा कहाँ जान्छ ? यो छोरोलाई पनि थाहा थिएन । ऊ खुइय सुसेलेर भन्थ्यो, ‘पैसै हुँदैन । मालदार अड्डा र राम्रो पोस्टमा नबसुन्जेल घूस पनि दिंदैनन् । घूस खान पनि सजिलो छैन ।’
छोरो केही न केही त खान्थ्यो, सय–हजार । माथिल्लो रकम खान उसले भनेझैं मालदार अड्डा वा ठूलै पदमा बस्नुपर्ने रहेछ ।
छोरोको गुनासो यही थियो, ‘घूस खान सजिलो छैन ।’ माथि बस्ने नीतिनिर्माताहरूले नै खाएर तल पठाइदिन्छन् बिचौलियाहरूलाई । बिचौलियाहरू पनि प्रभावशाली छन् । ती हाम्रो पहुँचभन्दा बाहिर छन् । तिनले अराएको काम गरेन भने सरुवा गरिदिन्छन् भन्छ छोरो । चिन्ता लिन्छ । मुलुक कता जाँदै छ भनेर होइन परिवारको खर्च कसरी चलाउने भनेर ।
म कहिलेकाहीँ उसलाई सान्त्वना दिन भन्थें, ‘मुलुक पनि एउटा ठूलो परिवार हो ।’
ऊ प्रत्युत्तरमा केही भन्दैनथ्यो । मुलुक नै गरीब छ त परिवार नै गरीब छ, किनभने मुलुक पनि एउटा परिवार हो । तर कहिलेकाहीँ भनिहाल्छ, ‘तपाईंको जमाना छैन बाबा !’
हो, मेरो जमाना छैन र मेरो जमाना अब फर्कने पनि होइन । तर म दाबीका साथ भन्न सक्छु, गरीबी त्यति बेला पनि थियो । तर मुख खोल्न डराउँथे, शासन–प्रशासनको डरले त होला ।
अहिले जमाना जस्तो छ त्यो त मैले पनि भोगिरहेको छु । दुई डुङ्गामा खुट्टा राखेको मान्छे हुँ- मैले पुरानो जमाना पनि भोगेँ, नयाँ जमाना त भोग्दै छु । विवशता छ । पैसा छैन त गरिबी छ । हल्ला छ- बैङ्कहरूमा पैसा थुप्रेको थुप्रै छ । सस्तो ब्याजदरमा पनि रिन लिन कोही तयार छैन । अनि कोसँग कोसँग बोराका बोरा पैसा छ रे ! भोलि अनिश्चित छ । तर यसतिर हामी के गर्न सक्छौं ?
यही भन्ने विचार लिँदै थिएँ म, प्रश्नकर्ताले बीचैमा चेताउँदै सोध्यो, ‘भन्नोस् बाबा, हामीसँग पैसा किन छैन । पैसा नभएरै गरीब भयौँ हामी भन्नु भा’छ तपाईंले । कुरो गहिरो छ ।’
मैले भनें, ‘प्रश्न पनि गहिरै छ ।’ प्रश्नकर्ताले मैले प्रश्नलाई गहिरो भनिदिएकोमा अलमल पर्यो । भन्यो, ‘प्रश्न त आज जनजनका अगाडि यही तेर्सिएको छ । हामीसँग मात्र पैसा किन छैन ?’ यो वृत्ताकार प्रश्नबाट उम्किन नसकिने देखेर उसले भन्यो, ‘तपाईंको उमेर कति भो बाबा ?’ प्रश्न पनि उचित नै थियो । बूढो त म भैसकेको छु । उमेर जति भने पनि भो । सय वर्ष ! वार्ताकारले आश्चर्य मान्न सक्छ । तर भनें, ‘सत्तरी–पचहत्तर ।’
प्रश्नकर्ताले स्वगत भन्यो, ‘ए उमेर त भइसकेको रहेछ ।’
उमेर के भइसकेको रहेछ ? माथि जाने ? वार्ताकारको आशय के हो ? यो मैले बुझ्न सकिनँ । मप्रति अनिष्ट चिताएको पो हो कि ? तर भनें, ‘भयो उमेर त, जानै पर्ला ।’
प्रश्नकर्ता अलि समालियो र भन्यो, ‘होइन त्यसो भनेको होइन । जानु त हामी सबैलाई छँदै छ ।’ ऊ के जाँदो हो, भर्खर परीक्षणकालको टिभीमा जागीरे भएको छ । टिभीवालाले उसैलाई परीक्षणकालमा फेल भयौ भनेर ढोकाबाहिर जाऊ भन्ने पो हुन् कि ?
‘त्यो म पनि जान्दछु । जानु हामी सबैलाई छ । जन्मेपछि सँगै आएको हुन्छ जानु । तर यो कुराले केही फाइदा छैन । बाँच्नुको कुरा गर्न सकिएन । बाँच्नै अप्ठेरो छ । खै यो बुझेको कसैले ?’ यो एउटा दर्शन मैले विकसित गरेको थिएँ । मर्ने चोला हो यो त भन्थे सबैले तर बाँच्ने चोलाको कुरा कोही गर्न चाहँदैनथ्यो । किन ? बाँच्नु जटिल छ ?
छोरो पनि यही भन्थ्यो, ‘मरेर जानेहरूलाई सुख छ ।’ मलाई दुःख लाग्थ्यो । आफू मर्न सकिएको छैन । छोरोको आशय यही हुन्थ्यो- बूढाहरूजति मरेर गए ठाउँ खाली हुने थियो र बाँकीलाई सुख हुने थियो । युवाकालमै अर्थात् केही गरौं र माथि जाऔं भन्ने उमेरमा यो केटोले यस्तो नैराश्य र अनिष्टपूर्ण गनगन गरिरहेछ । मलाई लाग्यो उसको काँधमा परिवारको बोझ छ । मुलुकको त परै छ । त्यता सोच्नै पर्दैन । मुलुक सोच्न लाग्यो भने कुप्री पर्ने हो ।
प्रश्नकर्ताले वार्ताको प्रसङ्ग पैसाबाट यता अर्कैतिर ल्याइसकेको थियो । पैसाको प्रसङ्ग कायम राखे पनि म मुलुकको मुख्य बैङ्कको गभर्नर थिइनँ । मैले मौद्रिक नीति प्रतिपादन गर्ने हैसियत राख्दैनथें । महँगी घट्दै छ भन्थें मौद्रिक नीतिकारले तर त्यो खोलाको पानीमा डुबेको सिनोझैं झन्झन् ढाडिँदै थियो । यसो भनें भने यो फाल्टु कुरा थियो, टिभीमा देखाइने थिएन । धेरै जान्ने भएर यस्तो भन्न नहुने, भन्नेले भने पनि हामीले नदेखाउने, सेन्सर गर् भनेर भनिने थियो । अन्ततः जुन कुरोलाई सेन्सर गरिन्छ त्यो किन बोल्नु भनेर म चूप लागें तर बोल्नेले बोलुन् र सत्य नबोली नछाड्ने रहेछ यो व्यक्ति भन्ने जस लिऊन् । म त बुढो भएँ । घरमै अटाइनँ । बोल्ने साहस नै आएन ।
र प्रश्नकताले भन्यो, ‘यो सोच्नुपर्ने कुरा हो सबैले ।’ मेरो विचार र डर बुझेछ प्रश्नकर्ताले, यस्तो लाग्यो । मैले बीचैमा सोधें, ‘सोच्नुपर्ने सबैले भन्नाले ककसले ?’ वार्ताकार यस्तो प्रतिप्रश्नले अलि खुम्चियो तर मतिर हेर्यो मानौँ भनिरहेछ- ‘प्रश्न मैले गर्ने हो कि तपाईंले ?’ म केही उपाय नपाएर फिस्स हाँसिदिएँ । बूढाहरू डराएर हाँस्दा कस्तो देखिन्छन् हो त्यस्तै र्याले देखिएँ हुँला ।
‘अचेल के गर्दै हुनुहुन्छ ?’ प्रश्नकर्ताले अलि फुर्ती झिक्दै सोध्यो ।
के गर्नु थियो र के गर्नु ? बूढाहरूलाई कसले सोध्छ । बाटोमा हिंड्दा त घच्च्याएर पारि पुर्याइदिने व्यस्तता छ । कहिलेकाहीं बसमा यात्रा गर्दा सीट छाडिदिन्छन् त्यही सुखद लाग्छ । तर सबैले छाड्दैनन् । बूढाहरू बस चढेको देखेपछि जेष्ठ नागरिक भनेर लेखिएको ठाउँमुनिका सीटमा बसेका भए पनि नदेखेझैं झ्यालबाहिर हेरेझैं गर्छन् । उठाउनु न गुनासो गर्नु । डरै हुन्छ ।
प्रश्नकर्ताले जस्तो उत्तर चाहन्थ्यो त्यससँग अलि मेल खाए जस्तो सोचाइ लाग्यो मेरो तर उसले सोधेको थियो, ‘अचेल के गर्दै हुनुहुन्छ ?’ म पार्टीको उमेर हदले अवकाश पाएको पार्टी सभापति त थिइनँ । त्यसो भए पनि राजनीतिक चलखेलका लागि गोटी चालेर बस्ने थिएँ । सरकारी गाडी र भत्ता त पाइने थियो । के गर्ने ? गर्नु के नै छ र ? मुलुकै खालीखाली छ । पैसै छैन । जोसँग छ ऊसँग बोराका बोरा छ भन्छन् । अरू बोराका बोरा पनि थपिएको थपियै छन् ।
पैसा नभएको बेला विपन्नताको सपना आइरहन्छ । अनिद्राको शिकार भइन्छ कि ? खाना खाइसकेपछि अपच भयो भन्छ, ग्यास्ट्रिकको गुनासो आदि गर्थ्यो छोरो । ईंटा पत्थर हजम गर्ने उमेरमा यस्तो सिकायत गर्छ छोरो । चिन्ताको कारणले हो । टन्न पैसा भएकाहरूलाई खाएपछि खुलेर डकार आउँछ । डकारले ग्यास्ट्रिक हुन दिँदैन ।
‘अचेल तपाईंका छोरा कहाँ छन् ?’ प्रश्नकर्ताले बेकारमा यस्ता प्रश्न गरिरहेछ । वार्ता गर्नुअगि मेरो र मेरा परिवारबारे वृद्धाश्रमको रेकर्डबाट अध्ययन गरेको हुनुपर्छ । म टाउको हल्लाउँछु । छोरो त छ तर कहाँ छ मलाई नै थाहा छैन । छोरो गइसक्यो । तर कता हो, यो कसैले हामी बूढाबूढीलाई बताएको छैन ।
‘थाहा छैन ।’ मैले भएकै कुरा भनें । सत्य कठोर र तीतो हुन्छ । आफ्नै छोराबारे थाहा नहुनु कठोर लाग्न सक्थ्यो तर तीतो लाग्ने कुरो थिएन प्रश्नकर्तालाई । कठोर यस कारण, बूढो कति अररिएको रहेछ भन्ने उसलाई लाग्न सक्थ्यो । छोरो कहाँ छ भनेर सोध्दा थाहा छैन भन्छ । आफ्नै छोरोको थाहापत्तो नहुनु पनि, के हो ? बूढाहरू बटारिएका हुन्छन् ।
‘अहिले तपाईं कहाँ हुनुहुन्थ्यो त ? यहाँ आउनुअगि छोरोसँगै होइन ?’
म कहाँ थिएँ । अरे भाइ यसै धर्तीमा थिएँ । यी वार्तामा छु । वृद्धाश्रममा छु । तर म र मेरी बूढी बस्छौं सरकारी वृद्धाश्रम भनौं वा अनाथालयमा । छोरोले नै ‘बा ! मेरो आर्थिक अवस्था कमजोर छ, तपाईंहरूलाई पाल्न सक्दिनँ’ भनेपछि मैले नै भनें, ‘हामीलाई अनाथालय वृद्धाश्रम जे हो त्यहीँ पुरा । सन्तानको कष्ट म हेर्न सक्दिनँ । सरकारीमा पुरा, त्याँ पैसो लाग्दैन ।’ मैले छातीमाथि ढुङ्गा राखेरै भनें । कति बोझ भएर लादिनु । बाँचें भने बाँचिरहिन्छ नत्र बूढी र मेरा जे हाल होला ।
छोरोले पहिले त हप्ता–पन्ध्र दिनमा अनाथालयबाट घर ल्याएर यसो खुवाउने–पियाउने गरुँला भन्थ्यो । के हुन्थ्यो, पहिलो हप्तादेखि नै गायब भयो । कुचोले बढार्नुपर्ने कसिङ्गर बतासले नै उडाएर लग्यो, हाइसन्चो मानिरहेको होला । अहिले दुई वर्ष बितिसक्यो उसको थाहापत्तो छैन । नातिनातिनाको यसो मुख हेर्न पाए परत्र सप्रिन्थ्यो कि भन्ने थियो, त्यो पनि छैन । नातिले डोको नि खोजेन होला । मेरो छोरो उनीहरूको बाउ नै कता गयो थाहा छैन । मलाई त खबरै छैन ।
प्रश्नकर्ताले गलत मान्छेको छनोट गरिएछ भनेझैं मलाई उपेक्षाले हेर्यो ।
म कसैसँग डराउनेवाला थिइन जस्ता आँखाले हेरें पनि । सरकारको हन्डी खाइया छ । जसबाट आफ्नो स्वार्थ पूरा हुँदैन मानिसमा ऊप्रति दुर्भावना उब्जनु स्वाभाविक हो ।
पुनश्च- यो वार्ता प्रसारित हुन सकेन भन्ने लाग्छ । तर यो पनि सत्य हो- यसमा प्रसारणयोग्य छ नै के र ?



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

