
“ऐया ! दुख्यो मरे नि, हात किन बाँधेको ? प्लिज यस्तो नगर्नुस्, प्लिज मलाई छोडिदिनू ।”
“सिसिसिस्…चुप ! बिलकुल चुप, तँलाई रातभरिको लागि भनेर मैले पैसा दिएर ल्याको हो, हैन ? त्यसैले आजको रात मैले जे भने त्यही मान्नु पर्छ तैँले, बुझिस् नि ?”
बिहान ६ बजे मोबाइलको रिङ बज्छ ।
– हेल्लो (यताबाट)
(उताबाट फोनमा) “ओइ त कहाँ छस् अहिलेसम्म ? आउने बेला भएन तेरो ? यता ग्राहक आको आई छन् छिटो आइज ।”
“आज सक्दिनँ । हिजो राती यहाँ मलाई जबरजस्ती गरियो । उसको २ जना साथीहरू आका थिए । सारै गारो भाको छ ।”
“कस्तो मान्छे रहेछ साला, एक्लैको पैसा दिएर अरूलाई पनि बोलाउने । ल ल ठीक छ, उसो भए दिनभरिलाई आराम गर । तर नाइटमा जानुपर्छ । अनि त्यो दुइटा साथीहरूको पनि पैसा माग्ने बुझिस् ?”
“हुन्छ । मेरो छोरा का छ ?”
“यतै बाहिर खेल्दै होला । तेरो छोराले नि दिमाग खराब गराउँछ । का गै भनेर ।”
“हस् । एक्छिनमा आउँछु ।” (फोन कट्यो)
(बेडबाट आवाज आयो) “ओइ के गन्थन गर्दै छस् ? के भो हामी यहाँ सुतेको देखिनस् ?”
“अब जानी समय नि भयो । पैसा दिनु न ।”
“एकछिन बस न ।”
“जान्छु अब । कोठामा मेरो छोराले मलाई खोज्दै होला ।”
“छोरा रे ! ए तेरो छोरा नि छ ।”
(साइडबाट अर्को साथी)
“ओइ तँलाई उसको छोरा–छोरी जे भए पनि के मतलब । पैसा निकालेर दे न ।”
“ल तेरो पैसा । रातभरि आनन्द भयो । फेरि बोलाउँदा आइज है ।”
“हस् । म गएँ अब ।”
====
मेरो नाम निशा हो । एस कथाकी पात्र अहिलेसम्म यहाँहरूले अन्दाज लगाउनु भयो । म को हुँ भनेर । हो तपाईंले ठिक चिन्नु भयो म एउटा वेश्या नै हुँ । आफ्नो शरीर बेचेर गुजारा चलाउँदै छु । अनि एउटा सन्तान पनि हुर्काउँदै छु । यो काम मेरो दैनिकी हो । तर आजका मान्छेहरूले सारै पीडा दिए । तीन जना थिए । रातभरि नसामा धुत भएर बलात्कार गरे । सारै गारो भयो । कहिलेकाहीँ यस्तै भेटिन्छन् । के गर्नु नचाहेर पनि सहनु पर्छ ।
तर म एउटा वेश्या मात्र हैन । वेश्या हुनु अघि म पनि कसैको छोरी थिएँ । कसैको स्वास्नी बनेँ । कसैको बुहारी बनेँ । र एक सन्तानको आमा पनि बनेँ । धेरै माया गर्ने श्रीमान् हुनुहुन्थ्यो । परिवार पनि राम्रै नै थियो ।
तर जिन्दगीले नसोचेको मोड लियो । सुन्दर बगैंचामा फुलेको फूललाई हिलोमा पुर्याइदियो । यसमा दोष न त मेरो श्रीमान्को थियो । न त घर परिवारको । दोष केही हाम्रो समाजको थियो त बाँकी मेरो थियो । समाजकै कुराको लहैलहैमा आएर, समाजको कुरा सुनेर, आफ्नो परिवार र जीवनसाथीको विश्वास नगर्दा । म त्यो स्वर्ग जस्तो घरबाट यो वेश्यालयसम्म पुगेँ ।
आज सुनाउँछु म तपाईँहरूलाई मेरो जीवन कथा । जसले मलाई स्वर्ग जस्तो घरदेखि यो वेश्यालयसम्म पुर्यायो ।
कुरा आजभन्दा करिब छ वर्ष पहिलेको हो । गाउँको हाई स्कूलमा ११ कक्षामा पढ्दै थिएँ । त्यो बेला मेरो श्रीमान् पनि म सँगै ११ कक्षामा पढ्नु हुन्थ्यो । उहाँको नाम निशान । हामी ९ कक्षामा हुँदा नै एकअर्कालाई मन पराउँथ्यौं । १० कक्षा पढ्दा उहाँले मलाई प्रपोज गर्नुभएको थियो । हामी एक अर्कालाई धेरै माया गर्थ्यौं । ११ पढ्दै गर्दा घरमा मेरो बिहेको कुरा चल्न थाल्यो ।
तर घरमा निशान र मेरो बारेमा थाहा थिएन । र आफन्तहरू मेरो लागि केटा चुन्दै हुनुहुन्थ्यो । दिनहरू बित्न थाले । ११ को परीक्षा पनि सकियो । अब भने मेरो बिहे जसरी गरिदिने भन्दै घरमा कुरा चल्यो । मैले त्यो कुरा निशानलाई सुनाएँ । केही दिनमा निशान मेरो हात माग्न आए । तर घरमा कुरो मिलेन
निशान र मेरो सम्बन्ध एकदमै गाढा थियो । मेरो घरबाट कुरा नमिलेपछि हामीले भागेर बिहे गर्ने निर्णय लियौं । र केही दिनमा हामीले भागेर मन्दिर गएर बिहे पनि गर्यौं । अनि म निशानकी श्रीमती बनेँ । निशानको परिवारले मलाई बुहारी स्विकार्नु भयो । बुबा आमा केही दिन रिसाउनु भयो तर पछि मान्नु भयो ।
दिनहरू हाँसी खुसी चल्दै थिए । बिहे गरेको पनि वर्ष दिन हुन पुगेछ । मेरो गर्भमा हाम्रो सन्तान हुर्कंदै थियो । एक दिन बेलुका घर दैलो मै यता उता गर्दै थिएँ । निशान बाहिरबाट आउनु भयो । र पिँढी छेउमा बस्दै मलाई भन्नु भयो, “निशा एक छिन यता आऊ त !”
“हजुर ! भन्नु न” भन्दै म निशानको छेउमै गएर बसेँ ।
“निशा ! म त अब विदेश जाने सोच बनाउँदै छु । यता बसेर खास्सै केही उपाय लागेन ।”
“विदेश ? हैन तपाईं विदेश जाँदा मेरो के हुन्छ ? म एक्लै यहाँ कसरी बस्नु ? फेरि अब दुई–तीन महिनामा म आमा बन्दै छु, यस्तो अवस्थामा मलाई छोडेर जानु हुन्छ ? केही अफ्ठेरो पर्यो भने म के गर्नु मैले ? प्लिज बरु यतै नजिकै केही काम गर्नुस् तर विदेश जाने कुरा नगर्नुस्” भावुक हुँदै भनेँ ।
“हैन तिमी किन आत्तिएको ? म अहिले नै जान लागेको हैन नि । तयारी गर्दै गरुँला । हाम्रो सन्तान यो दुनियाँमा आएपछि मात्रै जाउँला नि । हुन्न ?”
प्रश्न तेर्स्याएँ, “नगए हुँदैन ?”
“खुसीसाथ जान लागेको म पनि काँ हो र । अब पहिले देखिनै काकु बाबुले दुःख मजदुरी गर्दै गुजारा चलाउनु भयो । जग्गा–जमिन धेरै छैन । भएको जग्गामा पनि पहिले जस्तो उब्जाउ छैन । सानो तिनै भए नि केही जागिर गरम् भन्यो पढाइ पनि पूरा भको छैन । भए पनि जागिर पाउने हैन ।”
“म के भनु तपाईंलाई खै…समय हाम्रो हातमा छ । यो कुरा पछि गरुँला । अहिले नै किन चिन्ता लिनू !”
“हैन निशा ! अहिले चिन्ता नगरे कहिले गर्ने ? हाम्रो सन्तान पनि आउँदै छ । उसलाई पढाउनु–बढाउनु छ । म चाहन्न कि मेरा छोरा छोरीले मैले जस्तै दुःख गर्नु परोस् । यसमा तिमीले मलाई साथ दिनु पर्छ ।”
“हस्, हुन्छ तर अहिले साँझ भयो । हजुर गाई बाख्रालाई घाँस पात गरेर आउनू । आमाबुबा मेलाबाट आइपुग्ने बेला भयो । म खाना पकाउँछु ।”
“ल हुन्छ” भन्दै निशान गाई वस्तुलाई घाँसपात गर्न जानु भो । म घरको काममा लागेँ ।
त्यसरी नै दिनहरू जाँदै थिए । निशानको विदेश जाने कुराले मन दुखेको थियो । तर हाम्रो गाउँमा प्रायः सबैले जवान हुनासाथ धन कमाउन मुगलान जाने गरेको सानैदेखि देख्दै आको भएर जसो त्यसो मनलाई सम्हाल्दै थिएँ ।
त्यस दिनको करिब साढे तीन महिना जति बितेको हुँदो हो, छोरा जन्मियो । छोरा जन्मिएको केही दिन मै निशानको पनि भिसा लाग्यो । भिसा मलेसियाको थियो । निशान विदेश जाने क्रममा बुबाले यताउता सरसापट गरेर, ऋण कारेर पैसा तयार पार्नुभयो । त्यो दिन पनि आयो जुन दिनको लागि म तयार थिइनँ । निशान विदेश जानुभयो ।
निशान विदेश गएपछि केही दिनमै काममा लाग्नु भएछ । फोन गरेर खबर गर्नु भयो । निशानले हरेक महिना पैसा पठाउनु हुन्थ्यो । साहुको ऋणहरू सबै तिरियो । यसरी नै २ वर्षसम्म सबै राम्रै चल्दै थियो ।
एकदिन निशानले फोनमा भन्नु भयो, “आज भोलि कम्पनीमा मान्छे धेरै हालेको छ । सेलरी नि घटाउने कुरा हुँदै छ । त्यसैले म अरू केही कामहरू पनि सिक्ने कोसिस गर्दै छु । यो अर्काको चाकरी मात्रै कति गर्नु र, यसरी गुलामी मात्रै गरेर पुग्दैन, त्यसैले अब पहिले जस्तोमा फोनमा बोल्न पाउँदिन फ्री समयमा काम सिक्छु । नरिसाऊ है निशा ।”
“काम के हो ?” भनेर सोधेँ ।
“भारी काम हैन । तिमीलाई थाह छ नि म स्कुलमा हुँदा कति टेलेन्ट थिएँ ? हो त्यही कुराहरूलाई निखार्नु पर्यो अनि बिस्तारै हाम्रो राम्रा दिनहरू आउने छन् ।”
के हो कस्तो हो बुझिनँ । र पनि भनेँ, “ठिकै छ तपाईंलाई जे राम्रो लाग्छ गर्नुहोस् । तर घरमा श्रीमती र छोरा छ भन्ने कुरा न बिर्सनु नि ?”
“मैले तिमीहरू कै सुखको लागि भनेको हो । म चाहन्न, मेरी निशाले सधैँ भारी, मेलापात, कुटोकोदालो गरोस् मलाई हाम्रा दिन फेर्नु छ । प्लिज तिमी मलाई साथ देऊ ।”
“हुन्छ । अब तपाईंले राम्रो नै सोच्नु भको होला । म के भनम र ।”
त्यसपछि हाम्रो फोनकल पातलिँदै गयो । निशानले पैसा पठाउन पनि कम गर्नुभयो । उताबाट पैसा नआउँदा घर परिवारमा पनि बदलाव आउन थाल्यो । निशानलाई फोन गर्दा यस्तो गर्नु, त्यस्तो गर्नु भनी के के भाषण दिनु हुन्थ्यो जुन मैले बुझ्न सक्दैन थिएँ । समाजले सारै कुरा काट्न थालिसकेका थिए । निशानले मुस्किलले खर्च चल्नी पैसा मात्रै पठाउनु हुन्थ्यो । मलाई बुझ्नै गारो भइरहेको थियो । गाउँ समाजले बिचरीको दर्जा दिन थालेका थिए । उतै कोही केटीसँग भुल्यो, अब आउँदैन होला । आए पनि तँलाई छोड्छ । गाउँलेहरू, आफन्तहरू सधैँ यस्तै नचाहिँदा कुरा काट्ने गर्थे । निशानलाई भन्दा त्यस्तो केही हैन म केही राम्रो काम गर्दै छु, तिमी विश्वास गर अरूको कुरा नसुन भनेर भन्नुहुन्थ्यो । के काम हो भनी सोध्दा तिमी बुझ्दिनौ, मात्र एक चोटि काम सफल हुन देऊ । अनि सधैँभरि हामी खुसी हुनेछौँ भन्नुहुन्थ्यो ।
====
लगभग तीन वर्ष भन्दा बढी नै बितिसकेको थियो । निशानको व्यवहार त्यस्तै थियो । अब त मलाई विश्वास लाग्न छोडिसकेको थियो । दोधारमा थिएँ । के गरम् कसो गरम् भाकी थिएँ । गाउँ घरमा सबैले बिचरीलाई बिचल्ली पारेर छोड्यो भन्दै कुरा गर्ने गर्थे । तँ पनि कोही दुःख पाएको र तेरो छोरा पाल्दिने खोज भन्न थाले ।
४ वर्ष बितिसक्दा पनि निशानले केही समय पर्ख भन्दै टार्न थाल्नुभयो । फर्केर आउनु भन्दा पनि मान्नु भएन आखिर गाउँलेहरूको कुरामा विश्वास लाग्न थाल्यो । अब म पनि केटा मान्छेको फोन नम्बर खोजी खोजी फोनमा बोल्न थालेँ । फोनमा बोल्दै बोल्दै दुई तीन जनासँग भेटेँ पनि ।
बिस्तारै बिस्तारै त्यही लहैलहैमा फस्दै गएँ । उनीहरूकै बाइकमा घुम्न जाने केही खर्च पैसा पनि दिने । र शरीरको प्यास पनि मेट्न पाउने भइयो । तर मलाई भने कोही त्यस्तो चाहिएको थियो जसले मेरो छोरासहित मेरो जिम्मा लेओस् । तर भेटेको थिइनँ ।
एक दिन हाम्रो गाउँदेखि अलि पारीको गाउँमा पढाउने मास्टरसँग परिचय भयो । अन्दाजी त्यस्तै ३२–३३ वर्ष को फोन नम्बर साटियो । फोनमा कुरा हुन थाल्यो । उसको घर पोखरा भन्यो । बिहे गरेको । विदेश हुँदा स्वास्नीले छाडेर गएको भन्यो । म झसङ्ग भएँ मेरो श्रीमान् पनि त विदेशमा छ । म किन श्रीमान् खोज्दै छु ?
फेरि सोच्न थालेँ निशानलाई फोन गर्दा उही पुरानै कुरा केही समय पर्ख मेरो काम बन्नै लाग्यो भन्नुहुन्थ्यो । पैसा पठाउनु भन्दा यस्तो भयो उस्तो भयो अलि पछि पठाउँछु यताउता सरसापट गरेर चलाऊ भन्नुहुन्यो ।
म त्यो मास्टरसँग दिनौँ बोल्न थालेँ । भेट्न थालेँ । उसले राम्रै कुरा गर्थ्यो । ४ महिना जति कुर तिम्रो श्रीमान् आएन भने म बिहे गर्छु छोरा समेत भन्यो । स्वास्नीले धोका दिएकी हो भनेर सुनाउँथ्यो । म उसैसँग हराउँदै गएँ । कति महिना बित्यो निशान आउनुभएन ।
अब मैले मास्टरसँगै भाग्न निर्णय गरेँ । हामीले दुई–चार दिन योजना बनायौँ । मास्टरले राजीनामा दियो । र हामी भाग्यौं छोरालाई लिएर ।
दोस्रो दिन हामी पोखरा पुग्यौं । पोखरामा कोठा रहेछ आमाबुवा स्याङ्जा गाउँमा बस्नुहुन्छ भन्यो । केही दिन त राम्रै बित्यो ।
एकदिन को कुरा हो, उसको साथी आएको थियो । उनीहरू किचेन मै बसेर रक्सी खाँदै थिए । म बेडमा थिएँ लगभग रातिको ११ बजेको हुँदो हो । म निदाएर बिउँझिएछु । मेरो कानमा केही आवाज गुन्जियो । माल त राम्रै हो तर यो बोनस चैँ किन ल्याएको ? ल सम्हाल त यो बोनसलाई म उद्घाटन गर्न जान्छु । यो आवाज त्यो मास्टरको साथीको थियो । मैले केही बुझिन यताउता हेरेँ छोरा थिएन ।
मास्टरको साथी बेडको छेउमै आएर आफ्नो कपडा खोल्न थाल्यो । म कराएँ, “के गरेको ? हेर्नु न तपाईंको साथी त …” मेरो शब्द रोकियो नजर किचेनको ढोकातिर पुग्यो । ढोकामा मास्टर मेरो छोराको घाँटीमा चाकु राखेर उभिएको थियो ।
र उस्ले नै बोल्यो, “ओइ चुप लाग् । हल्ला गरिस् भने तेरो छोरालाई सिद्ध्याइदिन्छु । बुझिस् तँलाई यही कामको लागि ल्याएको । जबसम्म ग्राहकलाई खुस गरेर पैसा कमाएर दिन्छस् तेरो छोरा सुरक्षित छ । नत्र …”
अब म के नै गर्न सक्थेँ । रुँदै तिनै पापीहरूलाई सुम्पिदिएँ आफूलाई र त्यही दिनदेखि वेश्या बनेँ । अघि बिहान मलाई फोन गर्ने पनि त्यही मास्टर थियो । जसको लहैलहैमा मैले मेरो श्रीमानलाई छोडेर आएकी थिएँ ।
निशानले मलाई साँच्चिकै धोका दिनु भएको थिएन । उहाँ हाम्रो उज्ज्वल भविष्यको लागि सङ्घर्ष गर्दै हुनुहुन्थ्यो । मैले नै उहाँको विश्वास गरिनँ । र आज यो अवस्थामा आइपुगेँ ।
गाउँकी मिल्ने साथीलाई फोन गरेर निशानको बारेमा बुझेकी थिएँ । म भागेको ६ महिनापछि निशान घर आउनु भएछ । धेरै राम्रो काम सिकेर आउनु भएको छ रे ! पैसा पनि धेरै कमाउनु हुन्छ रे ! घर आएपछि हामी आमा छोरालाई धेरै खोज्नु भएछ । धेरै पछुतो नि गर्नु भयो रे । मेरै गल्ती हो सपना पूरा गर्दा सुन्दर घर भत्काए भन्दै मेरो नाममा माफी माग्नु भयो रे !
तर माफी माग्नु पर्ने त मैले हो । आफ्नो श्रीमानको विश्वास नगरी अरूको कुरामा परेर आफूसँगै छोराको पनि जिन्दगी बरबाद पारेँ । अरूको भरमा आफ्नै श्रीमानको विश्वास तोडेँ । निशानजी ! मलाई माफ गरिदिनुस् । मैले जुन पाप गरेँ अहिले त्यसको सजाए भोग्दै छु । यसमा मलाई कुनै गुनासो छैन ।
यसरी मजस्तै कोही दिदी बहिनीबाट यस्तो पाप नहोस् । म भन्दिन आफ्नो श्रीमानलाई आँखा चिम्लेर विश्वास गर्नुस् । तर तपाईंको श्रीमानले तपाईंको र सन्तानको भविष्यको लागि सोच्दै छ भने अलिकति केही अवश्य सोच्नु होस्, विश्वास गर्नुहोस् । नत्र म जस्तै पश्चात्तापमा नरकमय जीवन बिताउनु पर्ने छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

