ठूलाठूला अक्षरमा लेखिएको छ, “गोमा फाउन्डेसन ।”

ठीक तलपट्टि हाइलाइट गरिएको  अक्षरमा लेखिएको छ…”घरेलु हिंसा, हत्या, मानसिक तनाउ, यौन उत्पीडन, विधवा सहायता केन्द्र, केटा अनि केटीको पुनर्विवाह, महिला शोषण,  बेवारिसे शिशु संरक्षण, समाजबाट बहिष्कृत महिला अनि पुरुषहरूको आस्था र भरोसाको सहायता केन्द्र ।” धानबारी, गेजिङ  जिल्ला

आज नव निर्मित “गोमा फाउन्डेसन” भवनको विधिवत् उद्घाटन ! सृष्टिको वर्षौंदेखिको सपना ।  सृष्टि बिहानैदेखि कार्यक्रमलाई  सफल पार्न अथक खटिरहेकी छन् । साथमा उनका पति सुशील तथा मित्रहरू सभ्यता, शकुन्तला अनि लामा दाइ पनि  उत्तिकै लागिपरेका छन् । उनीहरूसँग “गोमा फाउन्डेसन”का  नारी-पुरुष सदस्यहरू पनि  छन् जसलाई सबैले हरेक दृष्टिकोण र व्यक्तिगत तर्फबाट सहयोग गरेपछि यो संस्था बन्न सफल भएको छ ।

राज्य तथा राज्यबाहिरबाट अतिथि, विशेष अतिथि लगायत गन्यमान्य व्यक्तिहरूलाई पनि बोलाइएको छ । विभागीय प्रमुख, सरकारी निकायका कर्मचारी, सामाजिक संस्थाका सक्रिय कार्यकर्ता, गैरसरकारी संस्था तथा जन साधारण जनसमुदायहरूको पनि बाक्लो उपस्थिति थियो । सृष्टिका साथीभाइ, घर गाउँले, छरछिमेक,  आफन्त र इष्टमित्रहरूको उपस्थितिले यस संस्थाको हल खचाखच छ, लाग्छ यस प्रकारको भव्य कार्यक्रम यस भेकमा प्रथम पटक हुँदै छ । देश-विदेशका पत्रकार, सम्वाददाता लगायत प्रख्यात  टेलिभिजनहरूले पनि यस संस्थाको निर्माण किन आवश्यक पर्यो ? सृष्टिको अन्तरवार्ता लिन समय मागिरहेका छन् । उद्घाटन समारोहमा सबै रहस्य खुल्ने तय भइसके तापनि  कार्यक्रमपछि  सभाकक्षमा पत्रकार सम्मेलन गरिने निधो गरिएको छ यसर्थ सबै पत्रकार महोदयहरूलाई लगेर त्यहाँ राखिदिने आग्रह  पति सुशीललाई सृष्टिले गरिसकेकी छन् । टेलिभिजनको लाइभ  प्रसारण पनि गरिने भएको छ ।

सबैको मनमा कौतुहलता त थियो नै अब फेरि जान्ने जिज्ञासासमेत जाग्रत् भयो । आखिर सृष्टिले उक्त सामाजिक संस्थाको नाम “गोमा” राख्नुको पछि के रहस्य छ ! उक्त सत्यतथ्य पति सुशील बाहेक अदृश्य भगवानलाई  मात्र थाह थियो ।

कार्यक्रमका सञ्चालक मनोहर थेबेले कार्यक्रम सुरुआत भएको घोषणा गर्दै क्रमैसित उपस्थित अतिथि वर्गको परिचय गराए । आजसम्म यस भेकमा कसैले नचिनेकी, नामै नसुनेकी नौलो अनुहार, पूर्ण परिचयसँग “गोमादेवी”लाई मञ्चमा निम्त्याइयो । सबै जना एकाअर्कामा कानेखुसी गर्न थाले, खस्याकखुसुक भयो । विशिष्ट व्यक्तिको बाहुलीबाट दीप प्रज्वलन भइसकेपछि सञ्चालक मनोहर थेबेको विशेष आग्रहमा गोमादेवीको हातबाट संस्था लगायत भव्य भवनको उद्घाटन गरिने भयो, रिबन काटियो । सुशीलको स्वागत भाषणमा गोमाको संक्षिप्त परिचय गराइयो तर पूर्ण जानकारीलाई रहस्यमय राखियो ।

डा. कल्याण मगर, डा. समरसेन अधिकारी, प्रो गुणराज न्यौपाने, प्रो. छत्रपति ढकाल, शिवराम राई, नमस्ते तामाङ जस्ता प्रखर र पोख्त वक्ताहरू थिए तर पनि गोमाका बारेमा नाम मात्र  लिएर गर्जो टारे, वास्तवमा भन्नु हो भने सबै अनभिज्ञ  थिए । सृष्टिलाई बधाई दिए अनि आउने  दिनहरूमा सँगै मिलेर काम गर्ने आश्वासन सबैको थियो । एक्लो सृष्टिले सृष्टि गरेको सामाजिक कार्य आज संस्थामा परिणत भएकोमा बधाई दिनेहरूको लामो लर्को लाग्यो ।

करिब करिब तीनघण्टा सत्र मिनटको  कार्यक्रमको समापनपछि खानपानको व्यवस्था थियो । सबैलाई बेलुका समय निकालेर “निवेदन टेलिभिजन” हेरिदिने आग्रह गर्दै सृष्टिले संस्थाको मुखपत्र “सर्वजन हिताय सर्वजन सुखाय” हातहातमा थमाउँदै बिदा गरिन् ।
अतिथिहरू बिदा गरिसकेपछि  सृष्टि टीभी च्यानलको लाइभ अन्तर्वार्ता दिन बसिन् । प्रश्नकर्ता थिए खप्पिस व्यक्तित्व अनमोलप्रसाद कुमाईं । उनका घुमाउरा र कठिन प्रश्नहरूको प्रत्युत्तर दिन फलामका चिउरा चबाउनु मात्र होइन भन्न नचाहने तथ्यहरू पनि उगेल्न पर्ने हुन्थ्यो ।
अनमोलप्रसादले भूमिका बाँधिसकेपछि  पहिलो प्रश्न राखे,  ” सृष्टिजी माफ गर्नुहोला,  हामीसित समयको अभाव छ यसर्थ सर्वप्रथम नै आजको मुख्य  आकर्षण तर्फ आउँ है, यस संस्थाको नाम ‘गोमा’ किन राखियो ?”

सृष्टिले दिनभरिको थकान नै मेटाएजस्तो गरेर  लामो सास फेरिन्, आधा निधार छोपिएको सुकोमल केशराशिलाई हातका औँलाले मिलाएर कानको पछाडि लगेर राखिन्, उनको मुहार उज्यालियो ।

“हेर्नुहोस् महोदय ! मलाई वास्तविक कुरा भन्न कुनै असजिलो हुनेछैन ! सत्य डग्दैन झूटो तक्दैन भनिन्छ नि ।”

सृष्टिले वास्तविकता  भन्दै गइन्, अनमोलले सीधा प्रसारणमा कुनै रोकावट नहोस् भनेर बीचबीचमा आँसु चुहाउने मार्मिक  कुरालाई पनि रोमान्टिक ढङ्गले श्रोताहरूको ध्यान आफूतिर आकर्षित पारिरहेका थिए ।

० ० ० ०

सृष्टिको छेउमा कालो सुट, कालै चस्मा लगाएर  बसेका सुशील भने हिन्दी फिल्मको कथाजस्तो फर्किएर त्यो पुरानो दिनको सम्झनामा पुगे, सृष्टि जुन समय साथी  सारिकाको घर र नानीहरूको रेखदेखपछि घर फर्किएर आएकी थिइन् । सृष्टिको मुहारमा हाँसो  थिएन, खुशी हराएको थियो, फुङ्ग हराएको थियो यौवन, गम्भीर देखिन्थिन् । सुशीलले सृष्टिका हरेक हावभाव नियालिरहेका थिए । उनी  हर पल सृष्टिको निन्याउरो मुहार र मौनतालाई बुझ्ने प्रयास गर्थे । आखिर के कुराले सृष्टिलाई पिरोलेको छ ? ऊ आफैलाई प्रश्न गरेर आफैँमा उत्तर खोज्ने गर्थे ।

सृष्टि र सारिका बाल सखी । उमेरमा फरक  थिएन, मास्टरसम्म सँगै पढेका । कतिपय पारिवारिक समस्याका कारण सारिकाको भन्दा सृष्टिको छिटो बिहे भएको थियो । उनका छोरा र छोरी निकै ठूला-ठूला भइसकेका हुँदा छात्रावासमा  बसेर पढ्दै थिए । बसाइ निकै टाढा अनि पारिवारिक जीवन र आफ्नो घरेलु जीवनमा व्यस्त भए पनि सृष्टि र सारिकाको मित्रता घनिष्ठ र बलियो थियो, विश्वास कम भएको थिएन । बरु पहिले भन्दा झाँगिएको थियो । दुवैमाझ फोनवार्ता भइरहन्थ्यो ।

एक दिन बिहानै सारिकाले फोन गरेर सृष्टिलाई भनिन्, “दुष्यन्तलाई मिर्गौलाको या नि किड्नीको समस्या देखा परेको छ, उपचारको क्रममा डाक्टरले दिल्ली लानुपर्ने सल्लाह दिएका छन् ।”

सारिकाका नानीहरू सृष्टिका भन्दा निकै साना थिए, कहाँ र कसलाई छोडेर पतिको उपचारमा जाने, सारिकाले साथी सृष्टिलाई सुनाइन् । सारिकाको समस्या बुझेर  सृष्टिले सबै समस्या हल हुने कुरा सजिलै बताइदिएपछि सारिका आफ्नो बिमारी पतिलाई लिएर उपचारका निम्ति दिल्ली जाने भइन् ।

सारिकाको घरको समस्या सुनेपछि सुशीलले पनि सृष्टिलाई सारिकाको घरैमा बसेर नानीहरूको हेरचाह गरिदिने सल्लाह दिए । सृष्टिका नानीहरू होस्टेलमा भएकाले न्यास्रो लागिरहेको बेलामा नानीहरूसित खेल्न पाउँदा खुसी भइन्  । दुश्यन्तलाई  दिल्लीको गङ्गाराम अस्पतालमा भर्ना गरिराखेर सुशील फर्किए ।

सारिका  दुष्यन्तको उपचार सकेर घर फर्किएपछि पनि करिब पैँतालीस दिनको अन्तरालपछि मात्र सृष्टि घर आएकी थिइन् ।

सुशील आफ्नो कार्यालयको काममा निकै व्यस्त हुन्थे अनि कहिलेकाहीँ गाउँ-घरमा मराउ-पराउ, बिहा-बटुलो, पूजा-आजामा जानुपर्थ्यो, सधैँ व्यस्त रहेकोले सृष्टिलाई खासै समय दिन सकिरहेका थिएनन् ।

समय बित्दै गयो । धेरै दिनपछि सृष्टिले नानीहरू भेट्न जाने इच्छा गरेको सुशीलले बुझे । नानीहरूको मन पर्ने खाना बनाएर  हटकेसमा राखेर आइतबार बिहानै  नानीहरूको छात्रवासतिर लागे दुवै जना ।

सुशीलले गाडी आफैँ चलाइरहेका थिए, नेपाली गीतको सुमधुर आवाज आइरहेको थियो । अचानक गीतको भल्युम सानो गरेर सुशीलले सृष्टिलाई भने, “सृष्टि तिमी सारिकाको घरबाट आएपछि मैले तिमीलाई खासै समय दिन पनि सकिरहेको छैन, यसैकारण हुनसक्छ तिमीलाई मनमा पीर परेको छ ? आजकल तिमी कम बोल्छ्यौ । के दुष्यन्त अझ ठीक भएनन् ? या अरू के समस्या थपियो ? नत्र किन तिमी आजकल टोह्लाइरहन्छ्यौ ?”

सुशीलको प्रश्नले सृष्टि झसङ्ग  भइन्, आफूलाई सम्हाल्दै भनिन्, “मलाई के हुन्छ र, केही पनि भएको छैन । नानीहरू नभेटेको पनि दुई महिना हुन लाग्यो, आज भेट हुँदै छ यसैको खुशीले  हो ?” सुशीललाई विश्वास लागेन, “होइन सृष्टि, पहिला पनि यसरी तीन-चार महिनासम्म भेट नहुँदा पनि उदास भएको पटक्कै देखेको थिइनँ, तिमीसँग एउटै ओछ्यान, सिरानी ओगटेको यतिका वर्ष भयो, मनोविज्ञान नपढे पनि  म  अलिअलि तिम्रो अनुहार पढ्न सक्छु नि ।” सुशीलले एकै वाक्यमा आफ्ना कुरा सके ।

“आजभोलि सारिकाको घरमा बसेकी गोमा दिदीलाई म धेरै सम्झिन्छु सुशील । रातदिन उनको सम्झना आइरहन्छ, कति कष्ट भोग्नुपर्छ नारीले । यस धरामा नारीले मात्र किन पीर बोक्नु पर्ने ?  के नानीहरू नारीका मात्र सृष्टि हुन् त ?  जन्म दिएपछि लालन-पालनमा बाबाको जिम्मेवारी हुँदैन र सुशील ?”

सृष्टिले आफ्ना मनमा उकुसमुकुस भएर उम्लिरहेका शब्दवाण सुशील समक्ष पोखिन् । सुशील कान दह्रिलो पारेर सुनिरहेका थिए, अचानक वाक्य फुट्यो, “सबै पुरुष बराबर हुँदैनन् सृष्टि, सोचाइ आ-आफ्नो हो, एउटाले गल्ती गर्यो भन्दैमा सबैलाई मुछ्नु पनि त भएन नि । यो संसारमा कैयौँ गल्ती पुरुषहरूले गरेका छन् भने कति भूलहरू नारीका पनि छन् । तिमी नारी हौ यसैकारण नारीका पीडासँग छिटो  परिचित हुन चाहन्छ्यौ तर सँगसँगै पुरुषहरू पनि कति पीडित छन्, के त्यसको हिसाबकिताब तिमीले राखेकी छौ ? पुरुषहरू आफ्नो वेदनालाई मनमा दबाएर राख्छन्, बिलौना गाउँदैनन् । फरक यति मात्र हो ।”

सृष्टि मौन रहेर  सुशीलका कुरा स्वस्थानी कथा सुने सरि सुनिरहिन् ।

“ल अब  भन त के भएछ तिम्री गोमा दिदीलाई ?” सुशीलले सोधे ।

० ० ० ०

“गोमा दिदी भर्खर चालीस वसन्त पार गरेकी होलिन् । सिउँदोमा रातो सिन्दूर, निधारमा ठूलो  रातो टीका, गलामा हरियो पोते, हातभरि छमछम बज्ने चुरा लाएर हिँड्ने नारी पूर्ण पतिभक्त सम्झन्थेँ म ।  छन् पनि उस्तै । हँसिलो मिजास, सुमधुर बोली अनि उनले सारिकाको घरलाई आफ्नै ठानेर गरेको स्याहार सुसार, नानीहरूलाई गरेको माया, व्यवहारबाट लाग्छ घरभन्दा परकी सदस्य हुँदै  होइनन् । मैले पनि निकै दिनपछि मात्र थाहा पाएँ  गोमा त त्यस घरमा कामदार रहिछिन् ।”

सुशील गाडी चलाउँदै सृष्टिका कुरा मग्न भएर सुनिरहेका थिए ।

“मलाई लाग्यो उनका श्रीमान् या त वैदेशिक रोजगारीमा कतै बाहिर छन् या कुनै टाढा काम गर्न गएका छन्, फेरि यदाकदा सोच्ने गर्थें यदि गोमा दिदीका पति कतै गएर काम गर्दथे भने दिदीलाई अर्काको घरमा बसेर यसरी काम गर्ने जरुरत नै के पर्थ्यो र । कुरैकुरामा मैले एक दिन अनायासै सोधेँ, ‘दिदी तपाईंका श्रीमान् कतै बाहिर जानुभएको छ ?’ गोमा दिदी उत्ताउली भएर  खित्का छोड्दै हाँस्न थालिन् । मलाई अप्ठ्यारो लाग्यो ।  कतै मेरो प्रश्न गर्ने तरीका गलत त भएन  ? फेरि एकै क्षणमा तिरस्कारपूर्ण हाँसोलाई दबाउने कोशिश गर्दै भनिन्, ‘खै कता छन् कता ?’ उनको हाँसोमा दर्द थियो, अट्टहास देखिन्थ्यो, माया झल्कन्थ्यो, ‘खै के भन्ने बहिनी पोइल गएको पतिलाई ?’  गोमाको अनुहारमा जताततै दुःख र दर्द देखिए तापनि उनले छोप्ने भरमग्दुर प्रचेष्टा गरिरहेकी थिइन् ।

मेरो मनमा धेरै खुल्दुली भयो । जब म एउटा कुरा सोध्छु उनले दुई तीन वटा जवाफ दिन्थिन् । उनको मनमा  भएको गहिरो वेदनाको कुवा भरिएर निकासी खोज्दै हुन्थ्यो, कहिले निकासी पाएर बाहिर  निस्कन्थे , पोखिन्थे र छरिन्थे ।

कति दिन यसरी  सस्पेन्समा बस्ने, बरु गोमा दिदीका मनबाट बाढ नै किन नफुटोस् आज सत्यता निकालेरै छोड्ने अठोट गरेर मैले फेरि  प्रश्न गरें, ‘अनि  तपाईं यतै किन बस्नु हुन्न त दिदी ?’

‘के गर्नु बहिनी चोरको रगरगी छ, आँखा झिमिक्क गर्नुहुन्न । घरमा मलाई देखेनन् भने मेरा आफन्त, शाखा-सन्तान मात्र कहाँ हो, वरपर, छरछिमेकका पनि आँखा तन्किन्छन् । कहाँ गई ? कोसँग थिई ? कोसँग गई, किन र कता बसेर आई भनेर खोज्ने र सोध्ने गल्ली-गल्लीमा तैनात देखिन्छन् । मलाई यस्ता प्रश्नहरू गर्ने मौका  दिन मन पर्दैन ।’

मैले दिदीलाई सान्त्वना दिने चेष्टा गरेँ, “के गर्नु दिदी, हाम्रो समाज अन्धविश्वास र पितृसत्तात्मक  छ, यो दलदलबाट निस्कन तपाईँ हामीले मात्र होइन आधुनिक पिँढीका युवा समाजले एउटा आन्दोलन नै ल्याउनुपर्छ ! कि के भन्नुहुन्छ  दिदी ।’

सुशील सृष्टिका कुराले निकै आकर्षित मात्र होइन प्रभावित देखिन्थे, बिहे भएको यतिका वर्षसम्म पनि उनले सृष्टि यतिको बोल्छिन्, सामाजिक सेवाको भावना राख्छिन् भन्ने सोचेका थिएनन् ।
सृष्टिले सुशीललाई पुलुक्क हेरिन् । सुशील गम्भीर देखिन्थे, गीतको धुन बन्द गरेर गाडीको गियर चेन्ज गरे ।

‘म र गोमा दिदी घुलमिल हुँदै गयौँ, दिदीले आफ्ना मनका बोझहरू ममा सार्दै गइन्, मलाई लाग्थ्यो आफ्नो गह्रौँ भारी ममाथि  बिसाएर  उनी हलुका भएर रमाउँदै छिन् ।’

कुरै कुरामा एक दिन हिम्मत गरेर मैले सोधेँ, ‘दिदी ! के तपाईँका जय जन्म भएनन् ?’

उनको अनुहारमा खुशी झल्कियो, ‘छन्  नि बहिनी, दुई दुई जना छन्, श्रीमान् पोइला जाँदा मेरो काखमा चार वर्षको छोरो र तेह्र महिनाकी छोरी छोडेका थिए । अर्कीसित  लोग्ने पोइल गएको थाहा पाएपछि म घरमा सहाराविहीन भएँ । अब कहाँ जाने ? के गर्ने ? कसरी नानीहरूलाई खुवाउने ? कुनै उपाय नदेख्दा सहारा  खोज्दै नानीहरू लिएर म मूलघर पुग्दा मात्र थाहा पाएँ, मैले यतिका वर्षसम्म पतिपरमेश्वर भनेर पुजेका श्रीमानले त अर्की कान्छी स्वास्नी त सासु-ससुरा समक्ष मूलघरमै भित्र्याएका रहेछन् । मेरो हंसले झण्डै ठाउँ छोड्यो । धनाढ्य परिवारकी नयाँ बुहारीको अगाडि मेरो कुनै जोर चलेन । मलाई सासू-ससुराले घरको सङ्घार टेक्नै दिएनन् । अलच्छिनी, कुलाङ्गार, घरमा पस्तै नपस भनेर गलहत्त्याएर बाहिर निकाले, आफ्ना नाता-नातिनीलाई समेत उपनाम दिएर  मुखसम्म नहेरी घर छोडेर जाइजा भनेपछि बत्ती बाल्ने बेलामा निस्किएर पर धर्मशालामा गएर भोकै रात बिताएपछि भोलिपल्ट  बिहानदेखि एउटा बच्चा काखमा र अर्को साथमा लिएर म गाँस र बासको खोजीमा अर्काको घर घर घुमें । कतै बास पाउन सकिएन । कहीँ कहीँ मानवता पनि बाँचेको हुन्छ, एउटा दोकानमा पुगेर नाकमा लगाएको फुली बेचेर नानीहरूलाई खुवाउँदै चार दिनको पैदल यात्रापछि बल्ल आफूले जन्म लिएर बाल्यकाल बिताएको माइत घर पुगें । आमा-बाबा सिधासादा, अनपढ, घरको राखनधरन बुहारीका हातमा पुगिसकेको  रहेछ तर पनि मेरो कतै जाने ठाउँ थिएन, बुहारी रिझाएर बसें ।’

सृष्टिका आँखाबाट अजस्र अश्रुजल बगिरहेका थिए, गाडी नाक ठोकिने उकालो कुदिरहेको थियो ।  सुशीलले पानीको बोतल खोलेर ठाडो घाँटी लगाएर  घटघट पारेर सृष्टिलाई दिए । सृष्टिले पानी खाइसकेपछि पुनः कथा सुरु गरिन्

मैले फेरि गोमा दिदीलाई सोधेँ, ‘यसपछि नानीहरूको शिक्षा-दीक्षा, लालन-पालन  ?’

आफ्नै बहिनी सम्झी सबै कुरा खोलिन्, ‘पारिपट्टिको एउटा लाहुरे दाइले घरको हेरचाह र वृद्ध भएका आमा-बाबा र श्रीमतीको साथी बस्ने खालकी विश्वासी घरेलु कामदार खोज्दै छन् भनी सुनेँ । लाहुरे दाइलाई भेट्न गएँ । सबै दुखेसो पोखेँ । मेरा कुरा सुनेपछि नानीहरूको पढाइलेखाइ, लालन-पालन लाहुरे दाइले जिम्मा लिइदिने भए । म भोलिपल्ट नानीहरूसित लाहुरे दाइको घर गएँ । केही दिनमै नानीहरू पनि आपसमा मिलेर स्कुल जाने भए । लाहुरे दाइको पनि छुट्टी सकिएछ, पल्टन  फर्किने  दिन मलाई  गर्नुपर्ने सबै कामको जिम्मा लगाएर, पल्टन हिँडे । लाहुरेनी दिदी पनि ठूलो मनकी हुनुहुँदोरहेछ, सबै कुरा सियर गर्ने खालकी, मलाई साथी पाएर खुशी भइन् ।

नानीहरू पनि सबै खुशी देखिन्थे, खूब मिलेर खेल्थे । हामीले पनि कुनै कुरामा कमी हुन दिएनौँ, समय समयमा खर्च लाहुरे दाइले नै पठाइदिन्थे । एकजना मेरो ठूलो नानी पनि लाहुरे दाइकै नानीहरूसँग स्कुल जान्थ्यो । तीन वर्ष बितेको थाहै भएन ।  लाहुरे दाइ फेरि अडाई महिनाको छुट्टी मिलाएर आएको समयमा सानो छोरीलाई पनि त्यही अङ्ग्रेजी स्कुलमा दाखिला गरिदिए । मलाई लाग्यो भगवान् खोज्न कतै जान पर्दैन रहेछ यही पृथ्वीमै मानवरूपी रूप धारण गरेर बसेका रहेछन् ।’

गोमा दिदी आफ्नो कथा कमा नबिराई भनिरहेकी थिइन्, मैले मेरो सोचाइ अर्कातर्फ लगेँ, “आखिर गोमा दिदीले पारपाचुके किन गरिनन् ? नानीहरूको हक र अधिकार खोजिनन् किन ?  आखिर अंशबन्डा त  पाउँथिन् बराबरी ! चाहेको भए  पुलिस केश पनि त गर्न सक्ने थिइन् । मलाई आफू पढेकी छु भनेर खूब घमण्ड थियो तर अनपढ गोमा दिदीको परिपक्वता, अनुभव, व्यवहार र शालीनताकाअघि फिका लाग्यो तर पनि एक दिन मैले मौका पारेर सोधेँ, ‘दिदी तपाईंले डिभोर्स किन गर्नु भएन ?’

उनले हाँसेर भनिन्, ‘छ-सात वर्ष एउटै सिरानी लगाएर सुतेको लोग्नेले धनी देखेर मलाई छोडेर अर्कीसित पोइल गयो भने  म जस्ती अनपढ, निर्धन, दुखियाको केस कुन वकिलले लड्छ बहिनी ? मेरोमा वकिललाई बगाउने पैसा कहाँबाट आउँछ र ! फेरि भएन त्यो पोइल गएको लोग्नेले वकिललाई मात्र होइन जजलाई नै पैसाले पुरेर केस उसको पक्षमा पार्ने नै हो ।  बल्लबल्ल देवताजस्ता आफ्नै दाइ अभिभावक लाहुरे भेटेकी छु, नानीहरू पढाएर खूब रानी जस्ती भएर बसेकै छु  भनेर कुनै झमेलातिर लागिनँ । पछि पो थाहा पाएँ, लाहुरे दाइले नै त्यो मेरो पोइल गएको लोग्नेलाई हावाकावा  पारेछन्, केस गर्ने धम्की दिएछन्, पुलिस लगाउने । भएन  भने सोसियल जस्टिसबाट न्याय दिलाउने कुरा गरेपछि नानीहरूको खर्च मेरो ब्याङ्क  एकाउन्टमा पस्न थालेछ । नानीहरूको खर्च लाहुरे दाइले उठाइदिएकै थियो । यिनै पैसाहरू बँचाएर लाहुरे दाइले दिएको जमिनमा सानो घर बनाएँ ।’ गोमा दिदीको अनुहार उज्यालो थियो । त्यसै पनि उनी राम्री नै हुन् अझ उनको सङ्घर्ष र व्यवहारले सुनमा सुगन्ध थपिदिएको अनुभव मैले गरें । मानिसहरू शिक्षा, पढाइलेखाइलाई लिएर नाक घोक्र्याउँछन् नि तर मलाई त गोमा दिदीलाई देखेर अनुभव, व्यवहार र परिपक्वता पनि एउटा अमूल्य शिक्षा हो ।”
अनि फेरि अथकित सिलसिला मिलाउँदै नानीहरूका विषयमा प्रसङ्ग उठाएँ ।

“काम गर्छु, आमालाई पालो दिन्छु भन्दै थिइन् छोरीले,  दाजु चाहिँले मानेन, अब नर्सिङ गर, खर्चको चिन्ता छैन भन्दै आफू अमेरिका गयो, लाहुरे दाइले नै सबै व्यवस्था मिलाइदिएको रहेछ ।”

राम्रो कामको फल पनि राम्रो पाइन्छ,  गोमा दिदीको निःस्वार्थ सेवा र निष्कलङ्कित मनको प्रतिफल हुन् छोरा र छोरी । धन र स्वार्थमा डुबेर पोइल गएको लोग्नेलाई पनि कुनै दबाब र दुःख नदिई गोमा दिदीले गरेको सङ्घर्ष मानिसहरूका निम्ति उदाहरण हो । सुन्दर सुनका बाला र हातमा सुनको औँठी लाएको देखेर गोमा दिदीलाई चिढ्याउन मैले सोधें, “छोराले अमेरिकाबाट पठाएको होला नि यी गहना ?”

“होइन बहिनी ! म लाहुरे दाइको घरमा बसेर ती वृद्ध आमा-बाबाको राम्रो सेवा गरेँ भनेर लाहुरे दाइले मलायाबाट पुरस्कार स्वरूप ल्याइदिनुभएछ,  मैले त पर्दैन भनेको थिएँ तर दाइले मान्नु भएन, भरखरै बित्नु भएका आमा-बाबाको आत्माको शान्तिको लागि पनि तिमीले स्वीकार गर्नै पर्छ भन्नुभयो, मैले बोल्नै पाइन । उहाँहरू पनि शहर पस्नुभयो ।”

गोमा दिदीका आँखाबाट झरेका आँसुले अझ पनि हृष्टपुष्ट रहेको छाती भिजिसकेको थियो । उनी अझ पनि धेरै कुराहरू भन्ने तरखरमा थिइन् । तर म मनमनै कल्पना गर्न लागें, मेरो हातमा युनिभर्सिटीको सर्टिफिकेट थियो भने दिदीको साथमा अनुभवको आजन्म नहराउने प्रमाण-पत्र । गोमा दिदीको छेउमा मेरो शिक्षा फिक्का लाग्न थाल्यो ।

सम्पत्ति, सुन्दरता र यौवनको मोहमा फसेर श्रीमान् कान्छीसितै पोइल गएपछि असहाय बनेकी नारी होलिन् गोमा तर मेरा नजरमा उनी  मौन योद्धा हुन्, मानव समाजकी उदाहरणीय पात्रा अनि हाम्रो समाजले आजसम्म सच्चाउन नसेकेको इतिहासलाई नयाँ इतिहास बनाउन सक्ने हाम्रो समाजकी विरङ्गना हुन् गोमा दिदी । हामी सम्झन्थ्यौँ  हामीले धैरै पढेर हाम्रो समाजका निम्ति धेरै काम गर्यौं, नाम कमायौं भनेर तर जुन दिन मैले गोमा दिदीलाई भित्रबाट छर्लङ्ग बुझ्न सकें उसै दिनदेखि मेरो सोचाइ फिक्का भएको छ । गोमा दिदीबाट हाम्रो समाजले धेरै शिक्षा लिनेछ अनि आफ्नो अधिकार र हकका निम्ति हाम्रा नारीहरू दबिएर होइन दाँजिएर निस्कने छन् ।”

“तिमीसँग म छु सृष्टि, तिमी मसित, हामी एक अर्काका पूरक हौँ ।” गाडी छात्रावासको गेटमा पुगेर रोकिन्छ, सुशील झस्किन्छन् ।

० ० ० ०

“गोमा दिदीको प्रेरणादायी गाथा हो यो संस्था ! पत्रकार, सम्वाददाता र जीवनी लेखकहरूले प्रेरणा, प्रोत्साहन र जागरूक मूलक लेखनकला समाजलाई दिउन्, तपाईँहरूले लिनुभएको उद्देश्यमा सफलता मिलोस्, शुभकामना !”

सम्वाददाताहरू क्यामरा बन्द गर्दै थिए, सुशील ‘भोलिको उज्यालो’ छात्रावास बाहिर पर्खिरहेका थिए ।

गान्तोक, सिक्किम