आन्ध्र महासागर पर क्षितिजसम्म फैलिएको छ । हिउँदभरि चिसिएका न्यूयोर्कबासीहरू अलिकति न्यानो घाम र सफा आकास हुनासाथ  बिचमा भेटिन्छन् । महिलाहरू कालो चस्मामा बिकिनी  लगाएर सनस्क्रिन दल्दै बालुवामा बसिरहेका छन् । लोग्ने मान्छेहरू माथिको सर्ट फुकाएर हाफ पाइन्टमा घाम तापिरहेका छन् ।  राम्रो मौसमको तारिफ गर्ने र प्रकृतिसँग रमाउने मान्छेहरू बिनिताले  सायद अमेरिकामा मात्रै भेटेकी हो । हरेक कुरालाई दोष मात्रै थोपर्ने संस्कार हाम्रो नेपाली समाजमा व्याप्त छ ।

यहीँ भिडको एउटा कुनामा बिनिता पनि कहिलेकाहीँ पुग्छे र एक्लै  बसेर पुराना कुराहरू सम्झेर बस्छे ।  कुरा सम्झने क्रममा एकदिन बिनितालाई  अकस्मात् विवेकको याद आयो । उसलाई लाग्यो स्वर्गलोकमा विवेकका दिनहरू कसरी बित्दै होलान् कुन्नि ? सायद उसको हालत देखेर विवेकलाई  झनै छटपटी भएको हुनुपर्छ । बिनिताको चिन्ता ऊ आफैलाईभन्दा पनि विवेकलाई नै  बढी हुन्थ्यो र सधैँ भनिरहन्थ्यो,  “ तँ साह्रै सोझी छस् । मान्छेहरूले फसाउँछन् । म भइन भने कसरी गरिखान्छेस् ?“

विवेकलाई सम्झनासाथ बिनितालाई ती पुराना दिनहरूको याद आइहाल्छ ।  एका बिहानै स्काइप र भाइबरमा म्यासेज टुङ टुङ बज्थ्यो ।त्यो बेला उसको  सामसुङको अर्डिनरी मोबाइल थियो । तर विवेककै म्यासेज र फोन आइराख्ने भएर होला त्यो फोन उसलाई कति प्यारो लाग्थ्यो । अहिले बिनिताको हातमा आइफोन छ, तर  दिनभरमा एउटा पनि फोन / मेसेज नआउने भएर होला ऊसँग फोन छ कि छैन भन्ने समेत वास्ता हुँदैन । कतै कुनामा थन्किएको हुन्छ । कसैका रोमान्टिक मेसेज वा जीवनप्रति उत्साह जगाउने खालका मेसेज नआएको पनि युग भैसकेछ । सम्पर्कमा आउने मान्छेहरू सम्बन्ध गर्दैनन्, व्यापार गर्छन् ।  दुईचार दिन मीठो कुरा गर्छन्,  नाफा घाटा जोड्छन् र ऊ बाट कुनै फाइदा नहुने देखेपछि  आफैँ साइड लाग्छन् ।

त्यो बेला बिनिता भर्खरै मात्र एउटा प्रेमको दुःखद अवसान भएर आफैसँग समय बिताइरहेकी थिई । त्यसै बखत उसको विवेकसँग भेट भएको थियो । ढुङ्गालाई पनि पगालिदिने क्षमता विवेकसँग थियो । बिछडिएर भत्किएको बिनिताको मनलाई केही दिनमै उसले मलमपट्टी लगाइदियो ।  भावनात्मक समस्याहरू र कठिन परिस्थितिबाट  बाहिर निकाल्यो । एकाबिहानै उठेर आँखा मिच्दै मात्रै हुन्थी । उताबाट “तिमीलाई कस्तो छ आज ? निद्रा पर्यो ? काममा ध्यान जान सक्यो कि सकेन ?” यस्तै विविध प्रश्नहरू गर्थ्यो ।

बिनितालाई कतै कुनै हावाले धकेलेर ल्याएका बादलका दुई झुप्पा  पानी बर्सिनका लागि भेट भएजस्तो लाग्थ्यो । मनमा कुनै बेग्लै अनुभूति हुन थाल्यो ।

मन मनै लाग्थ्यो, “आहा ! कति मायालु मान्छे, ईश्वरको वरदान जस्तै गरेर फेरि एउटा अर्को मान्छे  जिन्दगीमा प्रवेश गर्यो ।” तर फेरि अर्को मनले सोच्थी, “म आफ्नो पहिलो प्रेम एतिछिट्टै बिर्सिएर  आफूले आफैँलाई शङ्काको घेरामा पार्न चाहन्न ।”

बिनिता विवेकका गफमा रमाउँदै गई । विवेकका हरेक तर्कमा दम हुन्थ्यो । बिनिताका कुरा पनि खुबै सुन्थ्यो उसले । कुरा सञ्चो-बिसञ्चोबाट सुरु गर्थ्यो । साह्रो-गाह्रो परेको वा दुःखी  मनले माया पिरतीका कुरा गर्न र रोमान्टिक बन्न सक्दैन भन्ने उसको निष्कर्ष थियो । केही समस्या भए पहिला त्यसको समाधानका अनेक उपाय खोजी गर्थ्यो र  समाधान गरिदिन्थ्यो ।  मन मनै लाग्थ्यो उ पनि माया  गर्न जानेको मान्छे रहेछ । दिन, साता, महिना हुँदै  गए, उनीहरूको कुराकानी भई नै रहेको थियो ।  बिनितालाई पनि ठिकै छ कुरा गर्ने एउटा राम्रो कम्पनी भएकै त छ नि जस्तो लागिरहेको थियो ।
एकदिन उसले बिनितालाई एउटा लामो इमेल पठाएको थियो ।  कुराकानीको क्रममा धेरै पटक भन्न  खोजे पनि आँट नआएर  इमेल लेखेको रहेछ ।

“प्यारी बिनिता, मलाई तिमी संसारकै सुन्दरी लाग्छ । म तिमीलाई अगाध प्रेम गर्छु र तिमीसँगै जिन्दगी  बिताउन चाहन्छु । यो मेरो औपचारिक रूपमा प्रस्ताव हो ।  म अब दुई महिनाको छुट्टीमा  निक्कै टाढा एक्लै घुम्न जाँदै छु । मसँग कुनै पनि सम्पर्क हुन्न । मेरो इमेल पढेर सोच बिचार गर्नु र मलाई जवाफ गर्नु । म तिमीलाई सोचबिचार गर्न तीन महिनाको  समय दिन्छु ।”

कहिल्यै आफूलाई राम्री नपाएकी बिनिता त्यस इमेलपश्चात विवेकलाई सम्झिँदै निकैबेर ऐना हेरी र विवेकले गफ दिएको होला भन्ने ठानी ।

बिनिताले उसलाई कता कता भित्र भित्रै माया गर्न  थालिसकेकी  थिई । दुई महिना सम्पर्क नहुँदा पनि बर्षौं जस्तो लागिरहेको थियो । जति मिस गरे पनि इमेलको जवाफमा भने हालै भर्खरै एउटा सम्बन्ध टुटेर अर्को अँगालिहाल्न तयार नभएकोले अलिकति समय लाग्ने कुरा लेखी ।

उसले छुट्टीबाट फर्केपछि फोन गर्यो । दुवैले लगभग अब सँगसँगै  जिन्दगी बिताउने  भन्ने कुरा पक्का गरे । विवेक आफ्नो बाँझो रहेको बगैँचामा थरी थरीका गुलाब रोपेर रङ्गी चङ्गी फुल फुलाउँथ्यो र बिनितालाई तस्बिर पठाउँथ्यो र भन्थ्यो , “ बिनि, तिमी र म  बगैँचामा सँगै बसेर फोटो खिच्नुपर्छ र ठुलो बनाएर बैठकको  भित्तामा सजाएर राख्नुपर्छ ।” विवेकले बिनितालाई मन पर्ने खालका लौका, घिरौँला, फर्सी, करेला जस्ता तरकारीहरु फलाउँथ्यो र फोटो पठाउँथ्यो । अनि भन्थ्यो, “तिमी मेरो घरमा आउनु अगाडी नै तिमीलाई मन पर्ने तरकारीहरू काटेर मैले फ्रोजनमा राखिदिएको छु । ता कि तिमीलाई पकाउन सजिलो होस् ।”

विवेकको हरेक क्रियाकलापले बिनिताको पनि मन मनै पहिलो प्रेम भन्दा दोस्रो प्रेम त झन् खास पो हुँदो रहेछ  त जस्तो लागिरहेको थियो । बिस्तारै उनीहरूको प्रेमले सबै अव्यक्त कुराहरू व्यक्त गरिसकेका थिए र उनीहरूबिच अब औपचारिक जीवन मात्रै बिताउन बाँकी थियो  ।  दुवै यसैमा जुटिरहेका थिए ।

यसैमा एकदिन विवेकले एकाबिहानै फोन गर्यो, “म हिजो डाक्टर कहाँ जँचाउन गएको थिएँ । मलाई डरलाग्दो रोग लागेको रिपोर्ट आयो । कम्तीमा छ महिना र बढीमा पाँच वर्ष मात्रै छ मेरो जीवन । तिमीले  अब मसँग हैन अरु कसैसँग सम्बन्धको हात बढाउन थाल्नुपर्छ । भविष्यमा बिहे गरेर जीवन बिताउनु पर्छ । मलाई बिस्तारै बिर्सने कोशिस गर । सबै कुराहरूलाई माफ गरिदेऊ ।” बिनिता छाँगाबाट खसी । उसले  विवेकलाई मन मुटु नै दिइसकेकी थिई ।  उसलाई  लाग्यो जब कसैलाई   दिलबाट माया गर्न थाल्छु अनि हावाको ठूलो झोक्काले किन उडाएर लान्छ होला ?  अघिल्लो प्रेमले पनि मलाई एक्लै बाँच्न सिकाइरहेको थियो, तर दोस्रो प्रेमले त झन् पीडा लुकाएर हाँस्न सिकाउन थाल्यो ।

जीवनको एउटा मोडमा बिनिताले उसलाई अर्थात् विवेकलाई  भेट्टाएकी थिई र निक्कै खुसी थिई । ऊ पनि बिनिताले कल्पना गरेकाे  सपनाको राजकुमारजस्तै थियो  । पेशाले मेडिकल डाक्टर  । तर ऊ डाक्टर भए पनि फरक किसिमको थियो । सबै विषयको ज्ञाता  थियो । बिनितालाई डाक्टरहरू  शिक्षित भन्दा पनि टेक्निकल मान्छे हुन् जस्तो लाग्छ । यस्ता टेक्निकलहरूको जति बेला जसलाई पनि आवश्यकता पर्ने भएकाले परिवारलाई समय पनि हुँदैन जस्तो लाग्छ  । उसलाई अस्त व्यस्त र अस्थिर  जीवन भन्दा पनि सधैँ सँगै साथमा नै रहेर दुःख सुख गरेर  साधारण जीवन बिताउने  मान्छे नै मन पर्छ । विवेकले आफ्नो काम गर्ने समय तालिकाको बारेमा बिनितालाई बुझाइसकेको   थियो । एकपटक भनेको कुरा ऊ दश वर्षपछि पनि ठ्याक्कै सम्झन्थ्यो ।

बिनिताले जीवनको अर्को मोडमा अब  विवेकलाई पनि गुमाउनुपर्ने कुराले ऊ निक्कै डिस्टर्ब भई । सुरुवाती दिनमा विवेकले नै सम्झाई बुझाई काउन्सिलिङ गर्यो । तर अब बिनिता विवेकसँग बिस्तारै आफैँ टाढा बन्न थाली । ऊ पनि बिनिताबाट टाढिन चाहन्थ्यो  । तर सक्दैन थियो । विवेकलाई सच्चा माया छ भने  तिम्रो र मेरो भेट अर्को जुनीमा  हुन्छ अनि बिहे गरौँला भन्थी । ऊ बेला बेलामा माफी मागिरहन्थ्यो ।  दुवैले मन मिचेर चटक्कै सम्पर्क गर्न छोडिदिए । बिनिता भविष्यमा यस्ता माया प्रेमका लफडामा नपर्ने गरी विवेकलाई चटक्कै बिर्सनलाई पुराना सम्पर्क सबै नष्ट गरेर उसलाई थाहै नदिईकन न्यूयोर्कको म्यान्हाटन सहरको बिचमा बसाई सरी ।

= = =

 एकदिनको  कुरा हो  काम विशेषले बिनिता नर्थवेल अस्पतालमा पुगेकी थिई । अस्पतालको दोस्रो तल्लामा रहेको रिसेप्सनबाट पर एउटा कुनामा किमोथेरापी गर्दै न्यूयोर्कटाईम्स पत्रिका पढिरहेको एकजना सु-परिचित अनुहार देखि । क्यान्सरको फैलने गति ढिलो बनाउनका लागि  किमोथेरापी सुस्त गतिमा तप्प तप्प नाडीबाट उसको शरीरमा गइरहेको थियो । बिनिता कसैलाई पनि नसोधी दौडेर त्यहाँ पुगी  र तिमी विवेक हौ भनेर सोधी । छाला र हड्डी मात्रै भएको एउटा सानो ख्याउटे मान्छेले चिनिहाल्यो । जुरुक्क उठेर बिनिता तिमी यहाँ कसरी ? भन्दै अँगालोमा बाँध्यो । उनीहरू निक्कै बेरसम्म  अँगालोमा बाँधिए  तर बोलेनन् । नर्सहरू पनि छक्क परेर हेरिरहेका थिए । बिनिता आफ्नो अफिसको काम विशेषले त्यहाँ पुगेकी थिई र उसलाई  हतार पनि थियो । फोन नम्बर साटासाट गरेर बिनिता आफ्नो बाटो लागी । विवेक अब जीवनको लगभग अन्तिम दिनहरू लम्ब्याउने कोसिस मात्रै गरिरहेको  कुरा उसको चेहराबाट थाहा हुन्थ्यो ।

त्यो दिन   काम सकिने बित्तिकै बिनिताले विवेकलाई फोन गरी । साढेचार वर्ष भैसकेको थियो उनीहरूबिच कुरा नभएको पनि । एक अर्काको बारेमा  बेखबर थिए । उनीहरूले निकै लामो कुराकानी गरे ।

अर्को दिन सेन्ट्रल पार्कमा भेट्ने निश्चित गरे । पूर्वनिर्धारित समय तालिका भन्दा अगाडी नै विवेक पुगिसकेको रहेछ । विवेक र बिनिताको यो मिलन निकै भावुक बन्यो । उसले बिनिताको छरपस्ट फिँजिएको अव्यवस्थित कपाल पन्छायो र  निधारमा चुम्यो । पुसको रापिलो घाम थियो । बिनिताले पनि विवेकलाई कसिलो गरी अँगालो हाली र छातीमा टाउको राखेर उसको धड्कन महसुस गरी । विवेकको न्यानोपन, प्रिय, एउटा मीठो र मधुर अनुभूति भयो । सायद विवेकलाई पनि बिनिताको ओठको चुम्बनले संसार जितेको महसुस भएको हुनुपर्छ । उसको व्यक्तित्व, पढाइलेखाइ, सरलताले बिनिताका कुमारी रहरहरू त्यसै त्यसै टुसाएर आए । बिनिताले विवेक बाहेक दोस्रो पुरुषको परिकल्पना  समेत गरेकी थिइन् ।

उनीहरूले दिनभर  कुराकानी गरे । विवेकले बिनितालाई आफ्नो अपार्मेन्टमा जाऊँ भनेर प्रस्ताव गर्यो । उनीहरूले   बाहिरबाट अर्डर गरेर सँगै डिनर खाए । अपार्टमेन्टमा एक्लै थियो विवेक । हप्तामा दुई दिन किमो थेरापी गर्न जाने घर फर्केर  पकाएर खाने अनि लेखपढ गर्ने गर्थ्यो । कहिलेकाहीँ मन बहलाउन सिनेमा हेर्ने र मेडिटेसन गर्दो रहेछ ।

त्यो दिन विवेकलाई भेटेपछि बिनितालाई पटक्कै छोड्न मन लागेन । जीवनका अन्तिम दिनमा उसैसँग बस्ने सोच आयो । विवेकलाई सँगै बस्ने प्रस्ताव गरी । विवेकले आनाकानी गर्दै भन्यो, ”तिम्रो यति सुन्दर जिन्दगी मसँग किन  खेर फाल्छ्यौ ? म जतिबेला पनि नर्सिङहोममा पुग्न सक्छु । त्यसपछि तिमी एक्लै हुन्छ्याै ।” तर बिनिताले मानिन र उसैसँग बस्ने निर्णय सुनाई । विवेक अति खुसी भयो । बिनिताले विवेकलाई किमोथेरापी गर्न अस्पताल लाने, ल्याउने, घर सफा गर्ने, लन्ड्रि गर्ने, खाना पकाउने गर्थी ।

अस्पताल जाँदा आउँदा बिनितालाई पनि  नर्सिङ कोर्स नै  गरेर लाइसन लियो भने  विवेकलाई अझ राम्रो हेरचाह गर्न सक्छु जस्तो लाग्यो ।  नर्सहरूले विवेकलाई पटक पटक घोचेर दुखाएको देखेर असह्य भइरहेको थियो । बिनिताले विवेककै लागि भनेर आफ्नो करियर नै परिवर्तन गरेर  नर्सिङ पढ्ने गर्ने निधो गरी । मेडिकल साइन्समा राम्रो दख्खल भएको विवेकले  बिनितालाई पढ्न र होमवर्क गर्न मद्दत गर्थ्यो । बिनिताको रातदिनको साथ सेवा अनि माया र ममताले विवेक पनि बिस्तारै फेरिँदै गयो । तौल पनि बढ्दै गयो । एकदिन डाक्टरले आश्चर्यजनक तरिकाले  विवेकलाई अब किमो दिनु पर्दैन, थोरै डोजको ओरल ट्याब्लेट खाए पनि हुन्छ भन्यो । विवेकको र बिनिताको खुसीको सीमा रहेन ।

अब किमोथेरापी गर्न अस्पताल जान नपर्ने भइसकेपछि विवेकले बिनितासँग संसार भ्रमण गर्न निस्कने प्रस्ताव गर्यो । प्रेम गर्नेहरूले प्राय: सँगै बाँच्ने, सँगै मर्ने कसम खान्छन् तर विवेकले विनितासँग त्यस्तो कसम कहिल्यै खाएको थिएन । तर अलिकति बोनसमा पाएको जिन्दगी आफ्नी प्राण प्यारी प्रेमिकासँगै हात समाएर विश्व भ्रमण गर्ने  वाचा गरेको थियो । बिनिता पनि साह्रै स्मार्ट केटी, स्मार्ट प्लानिङमा नै चल्ने गर्थी । तर उसको कमजोरी भने, कहिलेकाहीँ प्रेमको अगाडी भने ऊ सबै कुरालाई छोडेर दुनियाँको मतलब नगरीकन ज्यान दिन्थी । उसले पनि संसार घुम्ने रहर उहिल्यैदेखि बोकेर हिँडेकी थिई । विवेकले प्रस्ताव गर्नासाथ   हुन्छ भनिहाली ।

यात्राबारे दुवैले छलफल गरे । द्वन्द्वग्रस्त,  हिंस्रक, बढी प्रदूषित देशहरू नजाने भनेर  ५ महिनाका लागि हवाईजहाज र सामुद्रिक जहाजको यात्रा गर्ने गरी प्याकेज टुरको व्यवस्था गरेर टुरका लागि निस्के । विवेक र बिनिताले विभिन्न देशका  होटल, पार्क चिडियाखाना, सङ्ग्रहालय र सम्पदाको अद्भुत दृश्यावलोकन गरे । समुद्रको पानीमा खुट्टा डुबाए,  एकअर्काले पानी छ्यापाछ्याप गरे । समुद्री तटको सौन्दर्य र शान्त वातावरणमा आरामपूर्वक भरपुर मनोरञ्जन लिए । संसारका विभिन्न स्वादका खाना खाए ।

तर एकदिनको कुरा हो इजिप्टको नाइल नदीको क्रुजमा एकदमै विलासी क्याबिनमा बसेर रातको डिस्को डान्स हेरिरहेका थिए । त्यहीँ बेलामा एक्कासि विवेकले बिनितालाई नै चिनेन । उसको स्मरण शक्ति पुरै गायब भयो । ऊ केही छिनपछि पुरै बेहोस भयो । मानिसहरूको सहयोगमा त्यहीँ स्थानीय अस्पतालको आइसियुमा भर्ना गरियो । ४८ घण्टापछि उसको होस खुल्यो । तर विवेक पहिलेको जस्तो थिएन । विवेकको ब्रेनमा क्यान्सर फैलिइसकेका कारण होस गुम्ने र आउने क्रम हुन थालेको रहेछ ।

हतार हतार बिनिताले विवेकलाई लिएर अमेरिकाको न्यूयोर्क शहरमा रहेको नर्थवेल अस्पतालमा  भर्ना गरी । डाक्टरहरूले खाने किमोले काम नगरेका कारण लगभग शरीरका सबै भागमा क्यान्सर फैलिएकोले अब बचाउन मुस्किल हुने बताए । विवेकलाई आफ्नो मृत्यु चिन्तन गर्न केही दिनका लागि समय होस् भनेर डाक्टरहरूले होस फर्काई दिने थेरापी र उपतार गरे । जीवनको अन्तिम समय भएकोले अब हस्पिसमा बस्नुपर्ने बताइदिए । विनिताले पनि भारी मनले विवेकलाई हस्पिसमा लिएर गई ।

ऊ नर्सिङ पेसामा  थिई तर उसले  त्यो सिर्फ विवेकको रेख देख गर्नका लागि मात्रै पढेकी थिई । विवेक जीवित हुन्जेल ऊ आफैँले नै सेवा गरी  । ६ महिना बितिसकेको थियो, एकदिन बिनिताको बिदाको दिन परेकोले  ऊ घरमै थिई । विवेकले बिनितालाई थाहै नदिईकन  नै वकिललाई आफ्नो मृत्यु हुनु केही मिनेट अगाडी आफ्नी प्रेमिकासँग गुड बाई गराइदिन सर्त राखेको रहेछ ।  विवेकको वकिलले  फेसटाइम गरेको १५ मिनेटमा डाक्टरले  “Bibek is no more with Us” भनेर बिनितालाई भने, अनि बिनिताले तुरुन्तै राजिनामा गरी भविष्यमा नर्स नहुने गरी त्यो पेसा पनि छोडी ।

अचेल बिनिता मायाप्रेमका प्रश्नउत्तरहरू सुन्ने गर्दिनन्, candy crush खेलेर   बसिदिन्थी । उसले प्रेमलाई  एउटा अन्तर मनमा निहित अनौठो अनुभूति र भोगाइको रूपमा मात्रै  लिएकी छे ! कोही यसै भेटिएका मान्छे पनि अति राम्रा, प्यारा र मायालु हुन्छन् । कुरा मिल्छ र सहयात्रा हुन्छ भन्ने बुझी । एक्लैमा रमाउने कोसिस गर्थी ।

बिनिता विवेकलाई सम्झँदै कहिलेकाहीँ एक्लै  एटलान्टिक महासागरमा पुग्छे र मनमनै सम्झन्छे, “विवेक तिमी र मैले छोएको, खेलेको  र सँगै खुट्टा डुबाएको  पानी महासागरमा बगेर कहाँ पुग्यो होला हगी ?”  बिनिताको जीवनको यो  प्रेमको एउटा दुःखद अवसानपछि  अब कहिल्यै पनि प्रेममा नपग्लने  प्रण गरेकी छे ।