
ढोका खोलेर भित्र पस्ने बित्तिकै भुइँमा खसेको कपाल माथि टेकियो । च्वास्स घोच्यो तर पैतालामा हैन, मुटुमा ।
काँडामाथि पैताला पर्दा पैतालामा घोच्ने गर्थ्यो तर कपालमा टेकिँदा मुटु घोच्दो रहेछ तर सबैको कपालले हैन , जो दिलमा बसेको हुन्छ उसैको कपाल । कपाल गोडामा टाँसियो, बिस्तारै निहुरिएर टिपेँ । ओल्टाइ पल्टाइ हेरेँ । त्यही सुनौलो कपाल, टलक्क टल्कियो । अघिल्लो पटक घर बिदाबाट फर्किंदा ल्याइदिएको गार्नियरको हेयर कलरले रङ्गाएकाे थियो त्यो ।
एक छिन हातैमा लिइराखेँ र सम्झिएँ ती सबै अतीत । कति जतनले सम्हालेको थिएँ ती कपालहरू । छातीमा टाउको टाँसेर दाइने हातको सिरानी राखिदिँदा कति पटक च्यापिएका थिए ती कपालहरू, तै पनि बडो जतनले हात हटाएर सपक्क मिलाएर राखिदिने गर्थें । कपाल चुँडिए दिल चुँडिन्छ जस्तो लाग्थ्यो । हातको कपाल बिस्तारै ढोका छेउको डस्टबिनमा फ्याँके, बाथरुम पसेँ, हातगोडा धोएँ ।
आज अलि बढी गर्मी थियो । जिउ अलि थकित भएको महसुस गरेँ । आज अफिसमा काम पनि बढी नै थियो । व्यस्तताले गर्दा दिउँसोको चिया पिउन पनि बिर्सेछु । भुइँको कार्पेटमा गोडा पुछ्दै झ्यालको पर्दा अलिकति खोलेँ । पर्दामा सानो चिम्टीकाँटा झुन्डिरहेको रहेछ। कालो रङको मसिनो प्लास्टिकको काँटा । सजिलै चिनिहालेँ, त्यो उनैको थियो । अस्ति हप्ता बिदाको सपिङ जाँदा आफैँले छानेर किनेकी – सानो, चिटिक्कको । थोरै कपाल च्याप्ने, बाँकी धेरै कपाल छोड्न मिल्ने गरी। मनमनै गाली गरेँ, यस्तो मन परेर किनेको चिज जहाँ पायो त्यहीँ छोड्दै हिँड्ने कस्तो नराम्रो बानी। सम्झेँ, काँटा यही छोडेर त्यो फुस्किएको कपाल लिएर कसरी गइहोलिन् ।
सिरानीमाथि पट्याएर राखेको निलो गम्छा निकालेर अनुहारको चिसो पुछेँ । मिठो अत्तरको वासना फाल्यो गम्छाले । त्यस्तै मिठो बास्ना आउने गर्छ गाडीमा म छेउमा भएको सिटबाट पनि, जहाँ धेरै पटक टाँसिएर बसेर सँगै यात्रा गरेका हुन्थ्यौँ हामी। त्यो गम्छाबाट आउने सुगन्ध अलि बेग्लै खालको थियो, हप्तौँसम्म नधोई राखूँ जस्तो । त्यहाँ अत्तरको बास्ना मात्र हैन, एउटी प्रेमिकाको प्रेम, विश्वास र समर्पण भरिएको थियो ।त्यसैले पनि त्यो मिश्रित बास्ना अलि विशेष प्रिय थियो ।
अनुहार पुछिसकेर गम्छा भित्तामा झुन्डाउन लागेको थिएँ, टक्क आँखा सिरानीमा लतपतिएको लिपिस्टिकको डोबमा पुगेर अडियो । एक पटक जिउ सिरिङ भो । त्यो रात सम्झिएँ । हुन त मैले प्राय भन्ने गर्थें – यति गाडा लिपिस्टिक नलगाऊ भनेर। प्राय कोठा भित्र आइसके पछि टिस्युले लिपिस्टिक पुछ्ने गर्थिन उनी सायद त्यो दिन टिस्यु सकिएको थियो या उनले पुछ्न भुलिन । उनले लगाउने लिपिस्टिकको स्वाद अनजानमा मेरा कोमल जिब्राले कति पटक चाखिसकेका छन् । उसो त कति पटक मेरा गालामा लिपिस्टिकको डोब देखेका थिए मेरा साथीहरूले पनि । उनीहरूले जिस्काउँदा म कति पटल लज्जित भएको थिएँ । यो लिपिस्टिककाे कहानी त कति लामो छ लामो, दिनैभरि सुनाइरहूँ जस्तो – दिनैभरि सुनिरहूँ जस्तो ।
जिउ अलि गले जस्तो भो। थकित शरीरलाई एक छिन ओछ्यानमा पल्टाऊँ जस्तो लाग्यो । खाटको तन्ना अलि कच्याक कुचुक्क भएछ, घुँडाले खाटमा टेकेर अलिअलि तन्काएर मिलाएँ । भुइँमा केही मोटा मसिना धर्साहरू अझै मेटिएका रहेनछन् जुन धर्साहरू हाम्रो पहिलो प्रेमिल संवादमा लाजले उनका गोडाका बुढी औलाले कोरेका थिए । दाइने आँखा छोपिने गरी झरेको उनको कपाललाई सुमसुम्याउँदै मैले कति पटक अनुत्तरित प्रश्नहरू सोधेको थिएँ । ती प्रश्नहरूको जवाफ मुखले फर्काउने खाले थिएनन्, कि आँखाको भावमा या गोडाको औलाले कोरेको धर्साको सङ्केतभित्र खोज्नु पर्थ्यो ।
परदेशको दिनचर्या सधैँ एउटै खाले मात्र हुने। बिहान सबेरै उठ्यो, नुहाइधुवाइ गर्यो, हतार हतार दिउँसोको खाना टिफिन बट्टामा प्याक गर्यो, ड्युटी गयो साँझ घर आयो, फ्रेस भयो, एक छिन मोबाइलतिर घोप्टियो, फेसबुक हेर्यो, टिकटक हेर्यो, खाना बनायो, खायो, सुत्यो ।
ओछ्यानमा पल्टिएर एक छिन टिकटक हेरेँ । नयाँ भिडियो पोस्ट गरेकी रहिछन् । साह्रै राम्रो भिडियो । त्यसो त उनका भिडियोहरू सबै राम्रा हुन्छन् । राम्रै भएर हो या मलाई मात्र राम्रो लागेको, मलाई थाहा छैन तै पनि मलाइ मन पर्छ ।अग्लो शारीरिक बनावट, हँसिलो मुहार, ठुला ठुला गाजलु आँखा, सलक्क परेका हातगोडा । भगवानले निकै फुर्सद लिएर मेहनत गरेर बनाए जस्तै आकृति। एक्लै बनाएका उनका कति टिकटक उनका कति भिडियो देखेर उनीप्रति स्नेह जाग्यो । साथ मैले दिनु पर्थ्यो, हात मैले दिनु पर्यो र दिलको आहत पनि त मैले दिनु पर्थ्यो तर सकिनँ ।
कार्य व्यस्तताले जीवन अस्तव्यस्त बनाएको थाहै पाइन मैले । यो परदेशको ठाउँ, जागिरको परिबन्ध, केही पारिवारिक बाध्यता, केही सामाजिक जिम्मेवारी र केही अतृप्त चाहना । यी सबै बिचको तालमेल नमिल्दा हामी बिचको प्रेम केही समय जोखिम मै रह्यो तासको घर जस्तै । दैनिक आउने फोनहरूले बाटो बिर्सन थाले, फेसबुक मेसेन्जरमा आउने मेसेजहरू अलि दुब्लाउन थाले, पातलिन थाले । भ्वाइस मेसेजका जवाफहरू लोक सेवा आयोगका बस्तुगत प्रश्नका उत्तर जस्ता “एस र नो”मा मात्र सीमित हुन थाले । प्रेमको घेरा बिस्तारै साँघुरिँदै गएको महसुस हुन थाल्यो ।
प्राय हुने गरेका भेटघाटमा हाम्रा गफहरू व्यवहारिक हुन्थे । घरपरिवार, छरछिमेक गाउँघर समाज र सामाजिक चालचलन । यस्तै यस्तै हुन्थे हाम्रा गफका विषयहरू । आमा बुबालाई असाध्यै माया गर्ने उनको स्वभाव असाध्यै मन पर्थ्यो मलाई ।गफका बिचबिचमा बाल्यकालका प्रसङ्गहरू जोडिन्थे । उनका बालापनका बयानमा हामी अझै बालक बनाइदिन्थ्यौँ । हामी घण्टौँसम्म कुरा गरिरहन्थ्यौँ भेटमा । किचनमा सँगै पकाउँथ्यौँ , सँगै भाँडा माझ्थ्यौँ, सँगै भुइँ पुच्छ्थ्यौँ । मन जोडिए जस्तै काम पनि जोडिएको थ्यो ।
त्याे दिन थियो असार पन्ध्र । संयोगले बिदाको दिन थियो । परदेशमा भए पनि गाउँघरको याद मिसाएर मनले दही चिउरा खाने निर्णय गर्याे । दिउँसोको खाजा खाने बेला हुँदै थियो । उठेर पसलतिर गएँ । एक डब्बा ताजा दही, एक काइँयो केरा किनेर ल्याएँ । छुट्टी सकेर आउँदा घरदेशबाट बोकेर आएको ताइचिनको चिउरा थियो । कोठामा आएर दहीमा चिउरा र केरा मिसाएर मोल्न थालेँ। मनभरि उनैको याद आयो । सँगै बसेर खान पाए हुन्थ्यो जस्तो लाग्यो । फोन डायल गरेँ । फोन लागेन । निकै प्रयास गरेँ, फिटिक्कै लागेन ।
मेसेन्जरमा मेसेज गर्न मेसेज लेखेँ – ” कान्छु !आज असारको पन्ध्र गते । बाहिर कुनै झरी परेको छैन, हिलो छैन, कतै रोपाइँ देखिएको छैन, हली बाउसे रोपाहार कोही कतै देखिएका छैनन् तैपनि घरदेशको झझल्को भरेर मनले पन्ध्र असार मनाउन रहर गर्यो । बिना झरी नै तिम्रो यादको बाढी मनमा पस्यो । तिमी कता छौ ? तिम्रो फुर्सद मिल्छ भने – आऊ, सँगै दही चिउरा खाऔँला । दहिले चिउरा मुछे जस्तै र केराले गुलियो भरे जस्तै तिमीलाई मेरो प्रेमले मुछेर गुलियो बनाएर राखौँला ।” मेसेज पठाएँ तर सेन्ट भएन । म झसङ्ग भएँ । म त ब्लकमा पो परेछु । हेर्दै जाँदा इमोमा एउटा मेसेज देखेँ – “मेरा केही व्यक्तिगत समस्या आए, मैले तपाईंलाई सबैतिर ब्लक गरेकी छु है, क्षमा दिनु होला ।”
सबैतिर ब्लक भैसके पछि मैले “हस् धन्यवाद” भनेर जवाफ फर्काउने अवस्था पनि रहेन । मनमनै खुब धन्यवाद दिएँ ।
दिन बित्दै गए ।अब हाम्रा कुराकानीहरू मोबाइलमा नभएर सपनामा हुन थाले । भेटघाट पनि पार्कमा, रेस्टुरेन्टमा, सिनेमा हलमा नभएर मात्र सपनामा हुन थाले। आँखा चिम्लिने बित्तिकै सपनाको सुरुवात भैहाल्ने ।तिनै अतीत, तिनै रमाइला दृश्यहरू – दोहोरिँदै दोहोरिँदै आउने । सँगै हिँडेका खाएका खेलेका सबै क्षण, सबै पल ।
करिब दुई महिना जति भयो, हामी बिच कुनै बोलचाल भेटघाट केही भएन । कहाँ छौ, के गर्दै छौ हामी एक अर्कालाई नै केही थाहा भएन । एक दिन साँझको बेला थियो । मौसम असाध्यै राम्रो थियो । घामले मुन्टो लुकाइसकेको थियो । बिस्तारै बिस्तारै चिसो हावा चल्दै थियो। कतै नजिकैको पार्कतिर गएर एक्लै टहलिन मन लाग्यो। कोठाबाट निस्किएँ । एकै छिनमा नजिकैको पार्क पुगेँ। पार्कमा सबै जना आफ्नै आफ्नै सुरमा घुम्दै थिए । कोही व्यायाम गर्दै थिए, कोही परिवार सहित केही खाँदै थिए, कोही गफमा मस्त थिए । म चाहिँ पार्कको पल्लो छेउको एउटा कुनामा तिलक सिंह पेला को “के लत बस्यो” गजल सुन्दै बसेँ ।
अचानक आँखा अगाडी बसेका एक जोडीमाथि टक्क आँखा अडिए । आँखा अलि तिरमिराए जस्तो भो । अलि निहालेर हेरेँ । कसैको काखमा टाउको अड्याएर बसेकी उनी पो रहिछन् । ओहो कस्तो आश्चर्य ! अनौठो संयोग । झट्ट इमोमा आएको मेसेज सम्झिएँ “केही व्यक्तिगत समस्याले तपाईंलाई ब्लक गरेकी छु ।”
अनि याद भयो – समस्या त म पो रहेछु । एक पटक बोलाऊँ कि जस्तो लाग्यो । ओठहरू “आ ” मात्र गरे तर बोली बनेर फुट्न सकेनन् ।
मलाई त्यहाँ एकै छिन पनि बस्नै मन लागेन । सरासर कोठामा फर्किएँ । अनि फेरि त्यहीँ आफ्नै दुनियाँ । टिकटक खोलेँ । उनैको भिडियो पहिले खुल्यो – सरसरती हेरेँ उनको भिडियो । गलामा सिक्री, बायाँ हातमा ब्रास्लेट, दायाँ हातमा आइफोन, कुनै डान्सबारमा हातमा विस्किको गिलास समाउँदै नाच्दै गरेको दृश्य देखियो ।
झट्ट प्रकाश सपुतको गीत “सकम्बरी”को याद आयो …. ….कसले किन्दियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

