“अइ सरीता ! रमेश किन नबोलेको ? स्कुल पढ्दा त बोलिरहन्थ्यो । रेला गरेर सबैलाई हँसाउँथ्यो । ऊ एक दिन आएन भने पनि हामी सबै उसको घरैमा जान्थ्यौँ र रमाइलो गरेर फर्कन्थ्यौँ । उसकी आमा पनि हामी जाँदा कति खुसी हुनुहुन्थ्यो । भोकाएर आएका होलाउ भन्दै कोदाको रोटी पकाएर टमाटरको अचारसँग दिनुहुन्थ्यो । हामी जिब्रो फट्काई फट्काइ खान्थ्यौँ । ऊ पनि हामीसँगै बसेर जिस्कनै खान्थ्यो । त्यो दृश्य देखेर आमा मुस्कुराउनु हुन्थ्यो । उसको घर त स्वर्गजस्तै लाग्थ्यो तर अहिले उसलाई के भएको छ ? हिजो साथीहरूसँगको भेटघाट कार्यक्रममा खुलेर बोलेन । अनुहार पनि मलिन थियो । बेलाबेला बाहिर निस्कँदै फोनमा बोलिरहन्थ्यो । रामले त भाउजूलाई एकछिन पनि छोड्न सक्दैनस् भन्दै जिस्क्यायो पनि ।”

“खोइ के भन्नु र सरला ? रातदिनको घरझगडाले उसको स्वर्गजस्तो घर अहिले नरकमा परिणत भएको छ । त्यही भएर ऊ कसैसँग बोल्दैन, कतै पनि जाँदैन । हिजो पनि मैले उसलाई जबरजस्ती लगेकी हुँ । क-कसले फोन गरेर उसलाई हैरान पार्छन् ।”

“ला के भएर त्यस्तो भयो त ?” सरलाले जिज्ञासा राखिन् ।

“सासू-बुहारी नमिलेर ।” मैले छोटो उत्तर दिएँ ।

“उसकी आमा मिलनसार हुनुहुन्थ्यो त ! हामीसँग पनि मीठा मीठा गफ गर्नुहुन्थ्यो । जाँदैपिच्छे खाजा नखाई आउनै दिनुहुन्नथ्यो । रमेश र उसकी बहिनी पनि कति मिल्थे । बाबा नभए पनि उनीहरू आमासँग खुसी थिए । कहिलेकाहीँ आमा बिरामी हुँदा रमेश कति पिर गर्थ्यो । उसलाई सम्झाउँथ्यौँ । आमा पनि छोराछोरी भनेपछि मरिहत्ते गर्नुहुन्थ्यो । अहिले चाहिँ बुहारीसँग कसरी मिल्नुभएन त ? उही नै उस्ती हो कि ?” सरलाले शङ्का प्रकट गरिन् ।

“खोइ को उस्तो को उस्तो ! पत्तै लगाउन सकिएन । सासूका कुरा सुन्दा बुहारी र बुहारीका कुरा सुन्दा सासू गलत जस्तो लाग्छ । समाजले धेरै चोटि मिलाउने प्रयत्न पनि गर्‍यो तर सम्भव भएन । समाजका सामु मिल्ने बाचा गर्छन् तर व्यवहारमा मिल्दैनन् । बिचरा ! विदेश गएर पनि श्रीमती र आमालाई एक अर्कालाई थाहा नदिईकनै दुवैलाई पैसा पठाइदिन्थ्यो । एउटै घरमा भिन्दै भान्सा बनाएर पनि राख्यो तर उसको केही चलेन । उसकी एउटी छोरी पनि छे । त्यो छोरीलाई पनि हजुरामासँग बोल्न दिन्नन् अरे भाउजूले । उनले कति चोटि सासूलाई हातै हालिसकिन् । के गर्नु हौ ! मान्छेलाई चाख्न नमिल्ने रहेछ । अनुहार सेतो छ तापनि त्यसभित्र के छ के ? कहिलेकाहीँ मकहाँ आएर रमेश रुन्छ । सम्झाएर पठाउँछु ।” मैले थाहा पाएको कुरा उसलाई भनेँ ।

“दिदीहरू नमस्कार ! सन्चै हुनुहुन्छ अनि सरला दिदी कहिले आउनुभएको ?” हामी गन्थन गर्दै थियौँ । पल्ला घरकी वडाध्यक्ष बबिता पनि आइपुगिन् र सरलासँग बोल्न थालिन् । मैले भित्र पसेर चिया पकाएर ल्याएँ । चिया पिउँदै म पनि उनीहरूसँग गफिन थालेँ । एक छिनपछि थाहा भयो । उनी पनि रमेशकै घरमा हिँडेकी रहिछन् । हामी रमेशको विषयमा नै केन्द्रित भयौँ । त्यस समस्यालाई कसरी समाधान गर्ने भनेर छलफल गर्दै थियौँ ।

“रमेशकी बुढी नै उस्ती छे भन्छन् त ! सिन्को पनि भाँच्दिन अरे । मीठो खाने राम्रो लगाउने मात्र भन्छे अरे । आधा दिनसम्म सुतिरहन्छे अरे । त्यो नानीलाई पनि बाहिरकै खानेकुरा खुवाएर विद्यालय पठाउँछे अरे । बिचरा ! सासूले काम सकेर खाना बनाएर बोलाउँदा पनि उठ्तिन अरे । जब उनी घाँस काट्न बारीतिर निस्किन्छिन् अनि उठेर घुम्न जान्छे अरे । बेलुका नानी लिन पनि काकी नै जान्छिन् अरे । आधा रातमा आएर छोरी कुट्न थाल्छे अरे । नकुट भन्यो भने तथानाम भनेर झगडा गर्छे अरे । छरछिमेक पनि उसको चर्तिकला देखेर वाक्क भइसकेका रहेछन् । अस्ति मलाई जागिर लगाइदे भनेर हत्ते गरी । कमला मिसलाई भनेर मन्टेस्वरीमा लगाइदिएँ । दुई महिना जति काम गरेपछि गारो भयो भनेर छोडिछ । त्यस्तालाई के गर्नु ? बाहिर नि गर्न नसक्ने भित्र पनि जाँगर नचल्ने । मुख चाहिँ भन्नु हुन्छ भने छुराजस्तै छ अरे । ऊ बोल्न थालेपछि वरिपरि कोही पनि बस्न नसकेर ‘बौलाही’ भन्दै भाग्छन् अरे ।” बबिताले सुनेको कुरा बताइन् ।

“ बिचरा ! रमेश भाइ फसे । रमेशकी बुढी त माइतमा पनि त्यस्तै हो । कसैसँग मिल्दैनथी । भाउजूसँग त कति चोटि जगटा छराछर भएको । आमा पनि हैरान भएर रुनुहुन्थ्यो । दाजुले त केटी माग्न जाँदै बहिनी छुच्ची भएको अवगत गराउनू भएको अरे ।” बबिता बोल्दाबोल्दै आइपुगेकी पदमाले उसको विषयमा वर्णन गरिन् ।

“तपाईंले कसरी थाहा पाउनुभयो त ?” मैले प्रश्न गरेँ । “ऊ मेरी मामाकी नातिनी हो माइतपट्टि अनि घरपट्टि देउरानी(मामा ससुराकी बुहारी) ।

“तपाईं उसको विषयमा जान्नु हुँदो रहेछ त ! किन आफ्नैलाई फसाउनु भएको ?” मैले जिज्ञासा राखेँ ।

“मैले त कुरा छिनेपछि मात्र थाहा पाए“ । त्यही पनि मैले उसको बारेमा भने“ । पशुलाई त सजाउन सकिन्छ । मान्छेलाई कसाे नसकिएला त भन्ने कुरा भएपछि मैले के गर्नु ?” पदमाले वस्तुस्थितिको वर्णन गरिन् ।

पदमा पनि रमेशकातिर नै हिँडेकी रहिछन् । हामीसँग त्यति बोलेपछि बबितालाई लिएर गइन् । गफ गर्दै मैले खाना पनि बनाए“ । बच्चाबच्चीलाई खुवाएर स्कुल पठाए“ । सरला र मैले पनि खायौ“ अनि हामी पनि उतैतिर लाग्यौ“ । त्यहा“ पुग्दा थुप्रै मानिस भेला भइसकेका रहेछन् । एक छिनपछि उपमेयरको पनि आगमन भयो । रमेशका ससुरालीतिरका मानिस पनि आए । दुवै पक्षका मान्छे भेला भएपछि उपमेयरले “तपाईंहरूको समस्या के हो ? हामीलाई किन बोलाउनु भएको हो ?” भन्ने प्रश्न गरिन् तर कोही पनि बोलेनन् । सबै मानिस एकर्काका मुखमा हेराहेर गर्न थाले । बैठकमा सन्नाटा छायो ।

“यस्ता टन्टलापुर घाममा हामीलाई सेकाउने अनि आफू चाहिँ मौन रहने ? किन बोलाको ? कारण भन्नु पर्दैन ?” भीडबाट आवाज आयो ।

“हामीलाई त लक्ष्मीले बोलाएर आएका हौ“ । किन बोलाएकी हुन् ? तिम्राे समस्या के हो भन ?” वडाध्यक्षले प्रश्न गरिन्  ।

“मेरो समस्या तपाईंहरूलाई थाहा नै छ त ! मैले के भन्नु ?”

“नभनी तिम्रो समस्या कसरी थाहा हुन्छ ? जहिले पनि नयाँनयाँ समस्या जन्मिन्छन् । एउटा समाधान गर्‍यो अर्को उत्पन्न …” वडाध्यक्ष झर्किन् ।

“म स“गै बस्न सक्तिन“ । मलाई बाहिर कोठा खोजेर राख्नुपर्छ । हामी आमाछोरी मात्र बस्छौ“ ।” लक्ष्मीले माग राखिन् ।

“घर हुँदाहुँदै म बाहिर कोठा खोजेर राख्न सक्तिन । घरमा आमा मात्र हुनुहुन्छ । म दुई महिनाको छुट्टीमा आएको हुँ। अब गइहाल्छु । जम्मा तीन जनाको परिवार छ । बुढी भएकी आमालाई एक्लै छाडेर उसलाई कोठा खोजेर कसरी राख्नु ? तपाईंहरू नै भन्नु त ?” रमेशले समाजलाई प्रश्न राख्यो ।

“लक्ष्मी ! तिमी सासूसँग किन नबस्ने ?” समाजले प्रश्न गर्‍यो ।

“उहाँसँग मेरो कुरा मिल्दैन ।”

“नमिल्ने केही कारण त होला नि ?” उपमेयरले पुनः प्रश्न गरिन् ।

“मेरो भावना बुझ्नु नै हुन्न । आफ्नै पालाको कहानी सुनाउनु हुन्छ । कसैसँग हाँस्योबोल्यो भने पनि छोरालाई पोल सुनाएर बिनाकारण गाली खुवाउनु हुन्छ अनि चित्त दुख्दैन ? रातदिन झगडा गरेर सँगै बस्नु भन्दा बरु भिन्नै बस्नु राम्रो होइन ?” लक्ष्मी एक सासमा बोलिन् ।

“पहिले पनि भिन्नै राखेको हो त ! फेरि के भयो ?” छिमेकीले प्रश्न गरे ।

“भान्सा मात्र छुट्याएको हो ।” उसले घर पनि अर्कै हुनुपर्ने सङ्केत गरिन् ।

“लक्ष्मी तिमी जहिले बिरामी मात्र हुन्छ्याै । बिचरा दिदी ! बिहानै घरधन्दा सकेर जङ्गलबाट घाँसदाउरा लिएर आउँदा पनि तिमी उठेकी हुँदिनौ । नानीलाई पनि ओछ्यानमा नै चाउचाउ बिस्कुट खान दिन्छ्यौ । गलेर आए पनि दिदी आफै भान्सामा पसेर खाना बनाउनुहुन्छ । खाना खान बोलाउँदा पनि सन्च छैन भन्छ्यौ । उहाँ भैंसी चराउन हिँडेपछि उठेर केके खाना मन लाग्छ पकाएर खान्छ्यौ र भाँडा रैमट्ट पारेर डुल्न जान्छेउ । हामीले सम्झायो भने तिमेरलाई के खाँचो भनेर थर्काउँछाै । जहिले यसरी पुग्छ ? तिमीलाई भिन्नै पनि राखेकै हो । एक्लै गारो भयो भनेर छ महिना पनि नभई मिसिएकी होइनौ ?” करेसो जोडिएकी रक्षाले थाहा पाएको कुरा बताउँदै लक्ष्मीलाई प्रश्न गरिन्  ।

“यही(लक्ष्मीलाई देखाउँदै) आइमाई उस्ती हो । बिचरा ! यो(रमेशकी आमालाई देखाउँदै) सोझी छ । कसैलाई केही पनि भन्दिन । जतिखेर पनि काममा नै व्यस्त हुन्छे । न कसैका घर जान्छे । न माइती नजिक छन् । यसो दुःखसुख बाँड्ने पनि कोही छैनन् । छोरी पनि टाढा छ । छोरो पनि अर्काको देशमा छ । चिन्ता गर्छे । कहिलेकाहीँ यसो विचार गर्छु । आँखा सुनिएर यत्रा यत्रा भाका हुन्छन् । के भयो ? भनेर सोध्दा, केही पनि भको छैन भनेर टार्छे । १९ वर्षको उमेरमा बिधुवा भएर यही छोरो भनेर आफूलाई बिर्सी । अहिले बुहारी यस्ती आई । के गर्नु आइमाईको खप्परमा पनि केके लेखेको हुँदो रहेछ !” पल्लघरकी अजीले खुइय्य गरिन् ।

“छरछिमेकको कुरा सुन्दा तिमी नै उस्ती देखिन्छ्यौ त नानी ?” उपमेयरले प्रश्न गरिन् ।

“सबै कुरा अरूलाई थाहा हुन्छ र ? मेरो परिवारमा को कस्ता छन् भन्ने कुरा त मलाई पो थाहा छ त ?”

“आफू चाहिँ कस्ती छस् ? छरछिमेक, इष्टमित्र, आफन्त कोसँग मिल्छेस् अलच्छिनी ? काम सिन्को भाँच्न मन लाग्दैन । मीठो खानु पर्ने । राम्रो लाउनु पर्ने । लिपस्टिक, पाउडर दलेर नयाँनयाँ ठाउँ घुम्न जानु पर्ने ? फरक फरक मान्छेसँग सङ्गत गर्नु पर्ने । ‘अल्छे तिघ्रो स्वादे जिब्रो’ भनेको यही हो ।” रमेशकी काकीले आक्रोश पोखिन् ।

“यसरी समस्याको समाधान हुँदैन । रमेश भाइ केही बोल्नु भएको छैन । उहाँको विचार के छ ? भन्नुहोस् ।” उपमेयरले प्रश्न गरिन् ।

“खै म के भनूँ ? सबै कुरा तपाईंहरूले थाहा पाइसक्नुभयो । बहिनी गर्भमा हुँदा नै बुबा परलोक हुन भएको अरे । त्यतिखेर म दुई वर्षको थिएँ अरे । बिस वर्ष मुनिकी मेरी आमाले एक्लै सङ्घर्ष गरेर  हामीलाई हुर्काउने, पढाउने, बढाउने काम गर्नुभयो । पिठ्युँमा बोकेर अर्काको मेलापात, ढिकीजाँतो गरेर हामीलाई यो अवस्थामा ल्याउनु भएको कुरा पल्ला घरकी अजी अझै पनि मलाई सम्झाइरहनु हुन्छ । अब त म पनि कमाउन सक्ने भएँ तर पनि आमाले काम गर्न छाड्नुभएको छैन । सबैसँग उहाँको मेलमिलाप छ । कसैसँग झगडा गरेको मलाई आझसम्म थाहा छैन तर मेरै श्रीमतीलाईं चाहिँ विष हुनुभयो ।

मैले मेरी श्रीमतीलाई कति सम्झाएँ तर बुझाउन सकिनँ । उसलाई छुट्याएर पनि राखेँ । खाने, लगाउने, छोरी पढाउने सबै खर्च मैले नै बन्दोबस्त गरेँ र पनि उसको चित्त बुझ्दैन । कहिले एउटा छुट्टै घर बनाएर राख भन्छे । कहिले तेरी आमालाई मान्छेसँग बोल्न आउँदैन, कस्ती पाखे, बोल्न सिका कि घरबाट निकालिहाल भन्छे । कहिले मसँग छोडपत्र गरिहाल । तँभन्दा राम्रोसँग विवाह गर्छु भन्छे । कहिले के, कहिले के ? म त यसका कुरा सुनेर पागल भइसकेँ । के गर्नु ? के नगर्नु ? यहाँ यत्रो घर छ । उसलाई भिन्नै घरमा कोठा खोजेर कसरी राख्नु ? त्यहाँ भाडा तिर्नु पर्दैन ? विदेशको कमाइ कति नै हुन्छ र ? आफूले पनि खानुलाउनु पर्‍यो । घर बनाउँदाको ऋण छ । त्यो पनि तिर्नु पर्‍यो । यता पनि पैसा पठाउनु पर्‍यो ।

एउटाको कमाइले मैले कसरी उसले जेजे भन्छे त्यही त्यही गर्न सक्छु । तपाईंहरू नै भन्नुहोस् । रातदिनको महाभारतले गर्दा आमा मानसिक रोगी हुनुभएको छ । महिनाको पाँच हजारको औषधि खानुहुन्छ । बिचरा ! तँलाई सारै गारो भयो । मलाई वृद्धाश्रम लगिदे । कहिलेकाहीँ भेट्न आइज । त्यसो भए तेरो परिवार सँगै हुन्छौ भनेर आँखाभरि आँसु पार्नु हुन्छ । आमाले त्यसो भनिरहँदा अनि उहाँको त्यो अवस्था देख्दा मलाई कस्तो हुन्छ होला ? तपाईंहरू नै बुझ्नुहोस् ।” बिचरा रमेश ! भक्कानियो ।

“मैले त्यस्तो नराम्रो के भनेकी छु र ? तपाईं विदेश नजानुहोस् । नेपालमै बसेर केही गरौँ भन्दा तपाईं मान्नु भएन । त्यही भएर रिसको झोकमा केके भनेँ होला । कहिलेकाहीँ बुढाबुढीको झगडा हुँदा केके भनिन्छ केके ? ती सबै कुरालाई मनमा राखेर बस्ता व्यवहार चल्छ ? आफूmले भनेको चाहिँ सबै बिर्सिने अनि अर्काले भनेको चाहिँ सम्झिरहने, यो लोग्ने मान्छेको जात ? तपार्ईं यहीँ बस्नुभयो भने सबै समस्या समाधान हुन्छ । उमेर होउन्जेल विदेशमै रमाउने अनि बुढेसकालमा चाहिँ सँगै बसेर के काम ? मैले जीवनभरि एक्लै हुन विवाह गरेकी हुँ ?” लक्ष्मीले पीडा पोखिन् ।