
“हिजो चिफ सरको कोठामा चर्काचर्को गरी बोल्दै हुनुहुन्थ्यो त ! के भयो मेम ?” तिला मिसले अघिल्लो दिनको घटनाका बारेमा थाहा पाउन मलाई प्रश्न गरिन् ।
“के हुनु नि ! एउटै मान्छेलाई पटकपटक अन्याय गर्छन् । सब शोषक सामन्ती छन् । सहने पनि त सीमा हुन्छ । अतिचार भएर हिजो त मैले मुखै फोरेँ ।”
“अलि बुझ्ने गरी भन्नु न । भाको चाहिँ के हो ?” उनले प्रतिप्रश्न गरिन् । “क्याम्पसमा विभिन्न विषयका शिक्षक तथा कर्मचारीको रिक्त पद पूर्तिका लागि विज्ञापन खुलाइएको थियो । मेरो विषयको पनि शिक्षक आवश्यक भएकाले म निवेदन दर्ता गर्न गएँ तर चिफ सरले निवेदनमा हस्ताक्षर गरेनन् । मलाई दरखास्त दिनबाटै बञ्चित गरियो । त्यही भएर चर्काचर्की भएको हो ।” मैले उनलाई प्रस्ट पार्न खोजेँ ।
“तपाईंंको निवेदनमा चाहिँ हस्ताक्षर किन नगरेको ?” उनले पुनः जिज्ञासा राखिन् ।
“त्यही त म बुझ्दिँन । मैले यहाँ पढाउन थालेको अठार वर्ष भयो । अहिलेसम्म म पूणर्कालीन हुन सकेकी छुइनँ । म र विष्णु सर एकै दिन प्रवेश गरेका हौँ । हाम्रो विषय पनि एउटै हो । उनको उहिल्यै पूणर्कालीन भएर स्थायी भएको पनि दश वर्ष भइसक्यो । मभन्दा पछाडि आएका राकेश र केवल सर पनि पूणर्कालीन भइसके । मलाई चाहिँ विभिन्न बाहाना बनाएर पछाडि सारेको सारै गर्छन् । कहिले तपाईंको नानी सानो भएकाले क्याम्पसले चाहेको बेला उपस्थित हन सक्नुहुन्न, कहिले तपाईं अङ्ग्रेजी माध्यम पढाउन सक्नुहुन्न त कहिले फलानाको सोर्स माथिबाटै आएकाले उसलाई पहिले गर्नुपर्ने भयो । तपाईंले हाम्रो अप्ठ्यारो बुझिदिनु पर्यो । अर्को पल्ट तपाईंकै पालो हो भन्दै टार्थे । यसपालि दिँउसो कुनै सरकारी तथा गैरसरकारी संघसंस्थामा काम गर्नेलाई यहाँ पूणर्कालीन तथा स्थायी नगर्ने नियम सञ्चालक समितिले ल्याएकाले तपाईंले दरखास्त दिन मिल्दैन भन्दै चिफ सरले निवेदनमा हस्ताक्षर गरेनन् । त्यही भएर वातावरण अलिक गरम हुन पुग्यो ।” मैले वस्तुस्थिति अवगत गराएँ ।
“निर्मल सर र नरमाया मेम पनि त सरकारी स्कुलमा पढाउँछन् तर उनीहरूले हिजो निवेदन दर्ता गरे त ! म अफिसमै थिएँ । नरमाया मेमको निवेदनमा त केके त्रुटि रहेछ । प्रमुख सरले हेरेर सच्याउन लगाए अनि नरमायाले फोन गरेर थप सामग्री मगाइन् । सबै सामग्री उपलब्ध भएपछि उनले फेरि अर्को निवेदन लेखेर चिफ सरलाई हस्ताक्षर गराएर पेस गरिन् ।” तिलाले आफूले थाहा पाएको कुराको जानकारी गराइन् ।
“त्यही भएर त मलाई रिस उठेको । नियम सबैलाई बराबर हुनपर्ने हो नि ? यहाँ त मान्छेपिच्छे फरकफरक नियम लागु गर्छन् । उत्तिकैमा उनीहरूको निवेदन दर्ता भयो तर मलाई निवेदन दिनबाटै बञ्चित गरियो । यिनीहरूको व्यवहारले त क्याम्पसै नआऊँ जस्तो लाग्छ । नआएर पनि के गर्नु ? मुखमा माड लगाउने उपाय छैन । उमेर होऊन्जेल यहीँ पसिना बगाइयो । अब छोडेर नयाँ ठाउँ कहाँ जानु ?” मैले निरासा पोखेँ ।
त्यसपछि पढाउन जाँगर नै भएन । मन त्यसै भारी भएर आयो । विद्यार्थीलाई बिसन्चो भएकाले पढाउन नसक्ने जानकारी गराएँ । उनीहरूले पनि सहमति जनाए । घर जान पनि मन लागेन । बरु चिया पिएर फ्रेस हुनुपर्यो भनेर चमेनागृहतिर लागेँ । त्यहाँ सरहरूबिच मेरै विषयमा छलफल भइरहेको रहेछ । म पुग्नेबित्तिकै “मेडम नमस्कार ! हिजो अफिसमा के भयो ? सारोसारो कराउँदै हुनुहुन्थ्यो त ?” रमेश सरले सोधिहाले ।
मैले हिजोको घटनाका बारेमा सुनाउँदै खाली रहेको कुर्सी तानेर बसेँ ।
“मेडम अलिक आवेशमा आउनुभो । त्यसरी निवेदन चाहिँ च्यात्न हुँदैनथ्यो ।” पल्लो कुनाबाट हरि सर प्याच्च बोले ।
“ठीक गर्नुभो मेमले । अति भएपछि खति हुन्छ । एउटै मानिसलाई यसरी पटकपटक दबाउन हुन्छ ? उहाँ भन्दा पछि आएकाहरू सबै पूणर्कालीन तथा स्थायी भइसके तर मेडमलाईं किन नगरेको, किन नगरेको ? बुझ्नै सकिँदैन । बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल पनि बिक्तैन भनेको यही होला ।” केदार सरले आक्रोश पोखे ।
“यहाँ महिलालाई हेर्ने दृष्टिकोण अलिक फरक छ । ‘म कसैलाई काखा, कसैलाई पाखा गर्दिनँ । मेरो कार्यकालभरि ढुक्क हुनुहोओस्’ भनेर मक्ख पार्छन्, सञ्चालक समितिका अध्यक्ष तर काम चाहिँ ठीक उल्टो गर्छन् । मेरो पालामा पनि त्यस्तै भएको थियो । मभन्दा पछि प्रवेश गरेका ज्ञान सर पहिले पूणर्कालीन भए । मैले त्यसका विरुद्ध प्रतिकार गरेकी थिएँ । विभागीय प्रमुखसँग फोनमै चर्काचर्की परेको पनि थियो ।” भन्दै छेउमै बसेकी सरिता मेमले आवाज निकालिन् ।
“त्यसरी नकरात्मक दृष्टिले पनि नहेरौंँ । महिलाप्रति विभेद गरेको भए गत साल खुलाइएको विज्ञापनमा सबैभन्दा पछाडि प्रवेश गरेकी उपासना मेमलाई पूणर्कालिनका लागि सिफारिस गरेर उनीभन्दा अघाडि नियुक्ति भएका माधव र ईश्वर सर फालिन्थे ?” सुवोध सरले विरोध गरे ।
म मौन भएर सबैका कुरा सुनिरहेकी थिएँ । सबैले उदाहरणद्वारा आ-आफ्ना धारणा प्रस्तुत गर्दै थिए । कसैका कुरा सुन्दा ठीकै जस्तो पनि लाग्थ्यो भने कसैका विचारले चाहिँ भित्र चोट पुग्थ्यो । साँच्चै जो मारमा परेको छ । उसलाई पीडा हुन स्वाभाविक पनि हो । म त पीडित थिएँ । त्यसका विरुद्ध मैले बेलाबेला आवाज उठाए तापनि सुनुवाई नभएको हो ।
“सरिता मेमको अभिव्यक्ति शतप्रतिसत सत्य हो । कतिपय नयाँ शिक्षकलाई यहाँ भएका सबै कुरा थाहा नहुन पनि सक्छ । सर र मेममा गरिने व्यवहार फरक भएको मैले पनि महसुस गरेकी छु । कि हाइ, हेलो भन्दै सँगसँगै चिया कफी पिउनपियाउन सक्ने हुनुपर्यो कि कसैको आर्शिवाद हुनुपर्यो नभए हालत मेरो जस्तै हो ।” मैले सत्यतथ्य ओकेलेँ ।
“त्यस्तो आरोप नलगाउनुस् मेम ! के उपासना मेमलाई पनि तपाईंले भनेजसरी नै पूणर्कालीन गराइएको थियो त ?” अघिदेखि छटपटाइरहेका नारद सरले प्रतिवाद गर्दै प्रश्न गरे ।
“उनलाई त्यसरी ल्याइएको होइन । उनीसँग त्यस्तो कला पनि छैन तर उनलाई ल्याउनुको पछाडि छुट्टै स्वार्थ छ । दर्शनाचार्य तथा विद्यावारिधि पूरा गर्ने शिक्षकलाई प्रवेश गर्नेबित्तिकै पूणर्कालिन गराउने भन्ने कुरा क्याम्पसको विधानमा नै उल्लेख भएकाले उनलाई पूणर्कालिन गर्न बाध्य भएका हुन् ।” मैले एक सासमा थाहा पाएको कुरा बताएँ ।
“कलेज नआउने, आए पनि नपढाउने, फोन गर्दा पनि नउठाउनेलाई उत्तीर्ण गरेर विद्यार्थीका प्रिय तथा इमानदार शिक्षक महेशलाई चाहिँ किन अनुर्तीण गरेका ? मैले त केही बुझिनँ । बिचरा ! उनी अहिले कसैसँग पनि बोल्दैनन् । एकोहारो भएका छन् । आर्थिक अवस्था पनि कमजोर देखियो । बुबालाई क्यानसर भएको रहेछ । उपचार गर्ने पैसा नभएर हामीले चण्डा उठाएर भरतपर पठायौँ ।” सविता मेमले अघिल्लो वर्षको इतिहास खोतल्दै सत्य जान्न खोजिन् ।
“उनको त माथिबाटै फोन आयो अरे । प्रधानमन्त्रीले मात्र फोन गर्न बाँकी थियो भन्ने हल्ला चलेको थियो त बजारमा । बिचरा महेश सर ! दायाँबायाँ गर्न जान्दैनन् । आफ्नो काम इमानदारपूर्वक गर्छन् । कसैको चाकरी गर्ने पनि उनको बानी छैन । मूल कुरा त गणपति सरकी छोरीको ट्युसन फि लिएका थिए अरे । अन्तर्वार्तामा उनैले कति ग्रुप ट्युसन पढाइन्छ, क्याम्पसलाई समय कसरी दिइन्छ ..? जस्ता प्रश्न सोधेर टाउको दुखाएपछि चर्काचर्की भएको थियो अरे !” केदार सरले सुनेको कुरा बताए ।
“यहाँ नीति होइन, व्यक्ति प्रमुख भएको देखियो । जसले खुशी पार्न सक्छ, उसको काम हुने भयो । नसक्ने पाखा लाग्ने भए ।” तिलाले खुइ गरिन् ।
“जुनसुकै क्षेत्रमा पनि अहिले यस्तै स्थिति देखिन्छ । विद्यालय, विश्वविद्यालय, सहकारी संंस्थाजस्ता विविध स्थानमा राम्रोभन्दा हाम्रोलाई प्राथमिकता दिइएको कारणले राम्ररी काम सम्पन्न हुन नसकेको अवस्था छ ।” केदार सरले आफ्नो अनुभव सुनाए ।
“जे भए तापनि यहाँ बेथिति मौलायो । शैक्षिक संघसंस्थामा यस्ता गलत कार्य हुनु भनेको राम्रो सङ्केत होइन । यसरी स्वार्थमा लिप्त भई सक्षम मानिसलाई पाखा लगाएर असक्षम मानिसलाई प्रवेश गराउनु भनेको अपराध नै हो । पाप गर्नेले एक न एक दिन सजाय भोग्नुपर्छ ।” सविताले अदृश्य शक्तिमा विश्वास गरिन् ।
“थिति त कहाँ छ र ? सविता मेम ! विज्ञापनमा चार वर्षदेखि अविछिन्न रूपमा चार वटा कक्षा पढाइरहेको, कुनै सरकारी तथा गैर सरकारी संघ संस्थामा काम नगरेकोले मात्र दरखास्त दिन पाउने छन् भन्ने कुरा लेखिएको थियो तर एउटै स्कुलमा पढाउने गोमा र रमेश सरमा रमेशलाई पूणर्कालीन गरियो । गोमालाई निवेदन दिन नै दिइएन । त्यस्तै पाँच वर्षदेखि चार वटा कक्षा पढाउदै आएका इमानदारलाई अनुर्तीण गरेर छ महिनादेखि दुई वटा मात्र पढाउने पाहुनालाई उर्तीण गरियो । यहाँभन्दा बेथिति हुने ठाउँ छ र… ?” सरीताले आक्रोश पोखिन् । ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

