फूकुवका ल्याण्ड गर्नासाथ भेन्डिङ मसिनसँग एक बोटल पानी किनें । लामो लिफ्ट हुँदै सव वे झरें । २६० येनको टिकट लिएँ । र सरासर हाकोजाकीको अपार्टमेन्ट नम्बर २ सय ४ मा पुगेर डोरबेल बजाएँ । रित्तो हात थिएँ । बुहारीले हातमा ढोगिन् ।

छिर्नासाथ जुत्ता राख्ने र्‍याक, पुरानो वासिङ मसिन पार गरेपछि सानो किचन, लिभिङ रुम, भित्र एउटा मास्टर बेडरूम र साथमा मसिनो टेवल राखेको अर्को कोठा । भतिज स्कूल गएको थियो । भाइ खाइसा । बुहारीले मनतातो पानी दिइन् ।

फ्रेममा बा को फोटो थियो ।

कौसीमा निस्केर लामो श्वास तानें । एक थान गोलभेडाका लहराहरू उभिएका रहेछन् । धनियाँका केही बोटहरू र एउटा फुल्छ कि फुल्दैन भन्ने दोधारे खुर्सानीको बोट !

“अनि कस्तो चल्दै छ त निमिशा ?” बाहिरै हेरेर सोधें ।

“सबै ठीक छ दिदी !”

जागीरे अन्तरवार्ता जस्ता दुई-चार सवाल जवाफ पछि म वासरुम छिरें । ऐनामा आफैलाई हेर्न मन लागेन । भाइले टेकेका भर्‍याङका खुड्किलाहरू गन्दै बाटोमा झरें ।

निमिशा अलमल्ल पर्दै मसँगै तलसम्म झरिन् ।

“एउटा काम गर न है निमिशा ? मलाई समुद्रसम्म पुर्‍याइदेऊ न है । ”

उसले नाइँ भन्न सकिन । लगभग चूपचाप चूपचाप हामी दश मिनेट हिंड्यौं । माछा मार्ने सानासाना डुङ्गाहरू बाँधेको किनारमा पुगेर एक अञ्जुली पानी समाएँ र अनन्त सागरमा मिसाइदिएँ ।

यही किनारामा भाइ अभिले एक थोपा बालाई कहिल्यै नभेटिने गरी सागरमा मिसाएको थियो, बाको तेह्रौं दिनको तिथिमा । त्यो पनि जागीरमा आधा दिनको बिदा लिएर ।

टोकियोमा एक हप्ताको तालिमका लागि नेपालबाट जापान आएकी थिएँ म ।

बाटोबाटै निमिशालाई ‘धन्यवाद !’ भनी बिदा लिएँ र २६० येनको एयरपोर्टसम्मको टिकट काटें ।

एक घण्टामा मैले भाइले फेरेको हावा, टेकेको माटो र छोएको पानीले आफूलाई उकासेर आएँ ।

अब मैले दिएको दागबत्तीले वैधता पायो होला त बा ?