लाशको मुखबाट अक्सिजन मास्क झिकियो। आफन्तहरु टाढैबाट गहभरी आँसु पार्दै हेरिरहेका थिए । धेरैबेरसम्म लाश घरमा नराख्ने सल्लाहानुसार लाशलाई चाँडै सद्गत गर्न लाने भए । थोरै मान्छेहरु मात्र गए सद्गत गर्न।

सबैका आ-आफ्नै सान्त्वना र गुनासाका शब्दहरु गुञ्जिरहेका थिए।

जेठो छोरो बिलौना पोख्दै थिए, “बुवालाई आजन्म आफूसँगै राखेर सेवा गर्ने धोको अपुरै रह्यो ।”

आमा उता बेहोस अवस्थामा ढलेकी थिइन्।

मलामीहरु घर फर्किए ।

बूढा खसेका पनि एक हप्ता बित्नै लागेको थियो । गाउँमा खस्याकखुसुक हल्ला चल्यो ।

“बुढा कोरोनाले गएका हैनन्। कोरोना त बहाना मात्र हो। यो मृत्युमा पक्कै केही रहस्य छ रे !”

यो हल्ला व्यापक रुपमा फैलियो, प्रहरी प्रशासनसम्म पुग्यो । अन्त्यमा प्रहरी अनुसन्धान हुने भयो ।

लाश गाडेको ठाउँबाट खोतलेर अनुसन्धानको क्रममा पुग्यो । लाश खोतल्दा छेवैमा एउटा शिशी भेटियो जुन विषको शिशी थियो। त्यही विष सेवन गराएर ती बूढाको ज्यान लिएका रहेछन् खुलासा भयो । अनुसन्धानको क्रममा स-परिवारलाई चौकीमा लगेर सोधपुछ गर्दा जेठा छोराले बयान दिन थाल्यो, “बुवाको मृत्यु कोरोनाकै कारण भएको हो। अहिलेको माहामारीमा यहाँहरुलाई कस्तो शंका लाग्या हो ?”

प्रहरीले शिशी देखाउँदै सोधे, “कोरोनाको औषधी विष हुन्छ त ?”

ऊ निरुत्तर बन्यो र परिवारलाई नियाल्न थाल्यो।

आमाले रुँदै भनिन्, “खै! सर यो छोरोले दबाई भन्दै के-के ल्याएर बुवालाई दिँदैथ्यो । त्यसपछि “आमा, बुवालाई कोरोना लागेछ” भनेर अक्सिजनको टोक्रो झुण्डाउँदैथ्यो । हामी कसैलाई छेउमा नआउनू भन्यो। केही समयपछि बुवा सकिनु भो भन्दै रुन थाल्यो। मलाई त त्यो बाहेक केही थाहा भएन ।”

प्रहरीले अलिक जंगिएर भने, “हामीले सब पत्तो लाइसक्यौं । अब तिम्ले जत्ति कोरोनाको बहाना बनाए पनि उम्किन सक्दैनौ । भन, किन यस्तो कालोकर्तुत गर्यौ?”

अन्त्यमा उसले आत्मसमर्पण गर्दै भन्यो, “सर, मैले बुवालाई बिष खुवाएर हत्या गरेकै हुँ। मलाई बुवाको जिउनीको पैसाले लालचमा पार्यो। त्यही लोभमा परेर मैले कुकृत्य गरेँ। अनि कोरोनाको बहानामा मृत्युलाई टाल्न खोजें। म सजायको लायक छु सर।”

छोरोको बयानले परिवारै चकित भए। आमा त्यहीँ मुर्छा परेर ढलिन्।

 

कोलोराडो, अमेरिका