
माइलबा ! तपाईंको लेख्य नाम सुमानन्द पराजुली भए पनि तपाईंलाई मौखिक रूपले चिनाउने नाम जिम्माल सानो, जिम्माल माइलो, माइला, माइलदाइ, जिम्माल माइलबा, माइलबा नै थियो गाउँमा ।
सरल, सौम्य, भद्र, धैर्यवान्, सकस पर्दा पनि कहिल्यै नआत्तिने, गर पर्दा पानी मन्तरी दिने, पिनास फुकिदिने, सातो डाकिदिने, अर्मपर्मामा सहभागी हुने, केटाकेटीका लागि पेटेपेटे बनाइदिने, फिरफिरे र पिँपिँ बनाइदिने जस्ता कामले बालक, युवा र वृद्ध सबैको मन जितिलिने मायालु स्वभावका तपाईंको ठाउँ लिन सक्ने तुम्कोटमा अर्को पुरुष को होला ? मेरो जेहेनमा यही प्रश्न कुदिरहन्छ कुदिरहन्छ ।
बासामा सुर्ती बेरेर राख्ने र बेलाबेला त्यसको चुस्की लिने बाहेकको अरू कुनै अम्मल वा लत पनि त तपाईंको थिएन नि, माइलबा !
घिउ बेसाउन वा सापटी माग्न आउनेलाई ‘हाम्रा त घ्यूका मटुला यिनै हुन्’ भनेर सन्तानलाई देखाउँदा तपाईंको आँखामा कति धेरै वात्सल्य छचल्किन्थ्यो है, माइलाबा ?
आफ्ना सन्तानप्रति वात्सल्य त जोसुकैलाई हुन्छ तर तपाईंको भकारीभन्दा ठूलो मुटुमा अरूका सन्तानप्रति पनि माया र वात्सल्य भरिएको थियो, होइन र माइलबा ? अझ चार वर्षको उमेरमा आमा र सात वर्षको उमेरमा बुवा गुमाउने म टुहुरो अनाथप्रति त तपाईंको वात्सल्य अतुलनीय नै थियो, हैन र माइलबा ? त्यो अनुराग जीवनपर्यन्तका लागि मैले मुटुभित्र साँचिराखेको छु ।
तपाईंको त्यही वात्सल्य र अनुरागले द्रवीभूत भएर करीब पाँच वर्ष गाउँबाट निर्वासित भई काठमाडौंबाट गाउँ फर्कंदा मायाको चिनोको रूपमा तपाईंको निम्ति गलबन्दी लगिदिएको थिएँ नि मैले । त्यो केवल गलबन्दी मात्रै थिएन माइलबा, त्यो त गलफन्दा पनि थियो, मायाको फन्दाबाट तपाईंलाई उम्कन नदिने बन्धन थियो त्यो, हैन र माइलबा ? मेरो पौरखले आर्जेको त्यस उपहारलाई सुमसुम्याउँदै तपाईं भक्कानिनु भएको थियो, गला अवरुद्ध भएको थियो नि तपाईंको । टुहुरो केटो अब ज्यान पाल्न सक्ने भएछ भनेर तपाईंलाई सन्तोष अनुभव भएको मैले बुझेको थिइनँ र माइलबा ? के शब्द नै ओकल्नुपर्छ र ? अनुहारको भाव पढेर शब्दभन्दा धेरै बुझ्न सकिन्न र माइलबा ?
तपाईं मेरो बुबाको दौंतरी हुनुहुन्थ्यो । उमेरमा पाँच वर्ष जेठो हुनुहुन्थ्यो तापनि मेरा बुवालाई कान्छा भनेर सम्बोधन गर्नुहुन्थ्यो । तपाईंहरू दुई बीच ठूलो अनुराग थियो । नातामा मेरो बुवा तपाईंको सखेत बाहुनभाइ अर्थात् भान्जभाइ पर्नुहुन्थ्यो । घाट (बसेलटोला)बाट मेरा बाजे बजै ससुराली/माइती गाउँ तुम्कोटमा बसाइसराइ गरेकोले तपाईंको सामीप्य पाउने, तपाईंको छिमेकी बन्ने सौभाग्य मलाई पनि जुरेको थियो !
तपाईं र मेरो बुबाबीच केही समानता पनि त थिए नि । तपाईं अर्घाली जुन थरका साहु खलकका भान्जा हुनुहुन्थ्यो भने मेरो बुबा थरका आँपखोले साहुका ज्वाइँ हुनुहुन्थ्यो । तपाईंहरू दुवैले बाँगीका त्यसै थरकालाई दोस्रो ससुराली बनाउनुभएको थियो । त्यो जमानाअनुसार दुवैलाई सन्तान लाभ ढिलो हुन गएको थियो । २७ वर्षको उमेरमा तपाईंले र ३४ वर्षको उमेरमा मेरो बुबाले सन्तानको मुख हेर्ने लाभ पाउनुभएको थियो, हैन र ?
तपाईंहरू दुवै जनाले अंशियारसित अंश विवाद पनि तझेल्नुपरेको थियो नि । तपाईंको अंश विवाद आफ्ना कान्छा बुबासित थियो भने मेरा बुबाको उहाँका जेठा दाइसित । त्यसैले त मेरो बुवा बित्दा तपाईंका आँसु पसरले फाल्नु परेको थियो नि माइलबा !
भान्जाभाइको छोरा भएकोले मलाई कहिल्यै शून्य आदरार्थी ´तँ` भनेर सम्बोधन गर्नुभएन, ´तिमी` मात्रै प्रयोग गर्नुभो ।
तपाईं कुराकानी सुन्नमा र सुनाउनमा असाध्य चाख राख्नुहुन्थ्यो भन्ने कुरा के मैले बिर्सेको छु र माइलबा ? कुराका प्रसङ्ग उठेपछि घुँडा नुगाउँदै कुर्कुच्चामा नितम्ब टेकाएर घण्टौं समय गुज्रिएको पनि पत्तै पाउनुहुन्नथ्यो तपाईंले । एक जुवाली घाम छँदै डालेघाँस लिन खुर्पा नाम्लो लिएर हिंडेको मान्छे बीचैमा गफगाफको सिलसिला चल्यो भने आकाशभरि चकमन्न तारा लागेपछि घाँस लिएर घर पुग्ने र गोठाला गर्ने चालामाला त कति भए कति ।
तपाईंको विशेष चिनारी दिने दाँत पनि त बेग्लै किसिमका थिए । बुढेसकाल लागेपछि अरूका दाँत झर्छन् तर तपाईंका दाँतले तपाईंको साथ कहिल्यै छोडेनन् बरु खिइँदै गए, घिस्रिंदै गए र बुटिंदै गए । कति बफादार थिए ती दाँत, गाँस छोड्ने तर साथ नछाड्ने प्रीय मित्र जस्ता ! के यो पनि तपाईंको छुट्टै पहिचान हैन र, माइलबा ?
तपाईंको स्मरण शक्ति बेजोड थियो । वर्षौं पहिलेका मानिसहरूका विविध प्रसङ्ग तपाईं सविस्तार रिट्ठो नबिराई सुनाउनुहुन्थ्यो नि । तपाईंमा एउटा जादुमय कला पनि थियो, त्यो के भने तपाईं जोसुकैको बोलीलाई जस्ताको तस्तै नक्कल गरेर अभिव्यक्त गर्न सक्नुहुन्थ्यो । नयँघरे आँबै होउन् वा आफ्नै फुपू, लोके सार्की होउन् वा तोइरे सार्की, थानेश्वर चुँदाली हुन् वा खुने भुसाल, तान्द्रे कुँवर होउन् वा जोखे कुँवर, सुखुरे दमाई होउन् वा जोधे कामी जोसुकैको बोली दुरुस्तै पारामा तपाईं सुनाउनुहुन्थ्यो नि त । त्यसैले तपाईंका कुरा सुन्न बालक, युवा वृद्ध जोसुकैले अत्यन्त चासो राख्थे, हैन र माइलबा ?
जीवनको उत्तरार्द्धमा तपाईंलाई ‘बाथ’ले गाँज्यो, हिंडडुल गर्न कठिन भयो । यहाँसम्म कि मलमूत्र विसर्जन गर्न जाने कामसमेत चुनौतीपूर्ण भएथ्यो, कठै ! ३४ वर्ष अघि तपाईंका छोरा मेरा बालसखाले काठमाडौंको नरदेवीमा रहेको आयुर्वेद अस्पतालमा पुर्याएर अकुपन्चर लगायतका उपचार पद्धतिबाट उभार गराएपछि तपाईं लगभग पूर्व अवस्थामा फर्कनुभएको हैन र ? त्यो कुरा के मैले सम्झेको छैन र माइलबा ?
सन्तानको शिक्षा दीक्षाप्रति तपाईं अत्यन्त संवेदनशील हुनुहुन्थ्यो । छोरालाई मास्टर तुल्याई छाड्ने धुन तपाईंमा सवार भएको थियो र त त्यही इरादा पूरा गर्न ढाक्रे भएर पत्थरकोट (कपिलवस्तु)बाट चामल बेसाई तम्घास(गुल्मी) लगेर बेची दुई पैसा आम्दानी गरेर सन्तानको कलमकापीको बन्दोबस्त मिलाउनुभएको होइन र माइलबा ?
साना त्याग तपस्याले आफ्नो जेठो छोरालाई मास्टर बनाई छाड्नुभएको तपाईंले नै हो । आफ्नो जेठो छोरामा मास्टर बन्ने ल्याकत र ताकत छ भन्ने कुरा कसरी पहिचान गर्नुभएको थियो नि माइलबा ? तपाईंको त्यही खूबी पहिल्याउने क्षमताकै कारणले त ५३ वर्षअघि हाम्रो गाउँमा पहिलो एसएलसी पास गर्ने दुई मध्ये एकमा तपाईंका ज्येष्ठ सुपुत्र पर्नुभएको थियो ।
एउटा रमाइलो प्रसङ्ग छ माइलाबा, तपाईंको अभौतिक आत्मालाई सुनाउँछु है । म करीब चार वर्षको हुँदा तपाईं हाम्रो आँगनको उधिनमा खुर्पा उधाउँदै गर्दा मैले जिज्ञासा पोखेको थिएँ, “भैँसीमा राँगो मिसाउँदा हेरायें हेरायें भनिन्छ, गाईमा बहर मिसाउँदा चिउचिउ भनिन्छ, बाख्रीमा बोका मिसाउँदा झ्यार बोका झ्यार भनिन्छ तर पोथी चरामा भाले चरा मिसाउँदा के भनिन्छ नि माइलबा ?“
मेरो बाल खुल्दुली मेटाउँदै मेरो बुबाकै उपस्थितिमा तपाईंले मुसुमुसु हाँस्दै भन्नुभएको थियो, “चराहरूलाई त हामीले मिसाउन नि पर्दैन, छुट्टाउन पनि पर्दैन नि बाबु, उनीहरू त आफैं मिसिन्छन् आफैं छुट्टिन्छन् ।“ तपाईंको हँसिलो जवाफ सुनेर मेरो चित्त बुझेको थियो र त पूरक प्रश्न गरेको थिइनँ ।
सानै छँदा बुबा स्वर्गीय हुनुभएकोले कलकलाउँदो भए पनि म घरको बलियो लोग्ने मान्छे ठहरिएको थिएँ । झारापात तिर्न परे पनि, कुलोको उर्दीमा जानुपरे पनि, घरको खेत रोपाइँको चटारोमा अगुवाइ गर्नुपरे पनि म नै अघि सर्नुपर्थ्यो । एकपटक जेठ महिनाको अन्त्यतिर माटेको कुलामा गएर छोटो छलफलपछि बिदाबारी भएर घर फर्कंदै थिएँ । बिहार आइपुग्दा नपुग्दै तपाईंका छोरा मेरा सखा कालीमाटीको खेतमा हिलोसित पैंठे जोरी खेल्दैछन् भन्ने आभास मलाई भयो । अनि घरतिर जानुको साटो कालिमाटीतिर मेरा पैताला मर्किए । कालीमाटीको आफ्नो खेतमा तपाईं दुई भाइ छोरासहित हिलोबाँझो गर्दै हुनुहुन्थ्यो । मलाई देखेपछि तपाईंले भन्नुभयो, ´अब यति बेला घर गएर के पो गर्छौ र ? यहीँ आली काट, छिउँकुना खन, पर्म लगाऊ ।`
ओहो ! त्यति बेला त म चुलिएर सगरमाथा जत्तिकै अग्लिएँ कि जस्तो भान भएथ्यो नि, माइलबा ! म पर्म लगाउन लायकको पात्र बनिसकेछु भन्ने अनुभूतिले मेरो छाती बेलुन झैं भुक्लुक्क फुल्यो, अगेनाको सुकारोटी जस्तै भुक्क उक्सियो । मेरो अस्तित्वलाई स्वीकारेर ममा आत्मविश्वासको बीजारोपण गर्ने र मलाई गौरवबोध गराउने पहिलो व्यक्ति तपाईं नै हो ।
मेरो किशोरावस्थाको तपाईंसित जोडिएको अर्को एउटा घटना छ जसलाई म ढुकढुकी जेहेनमा रहुन्जेल भुलाउन सक्दै सक्दिनँ नि । मंसीरको बेला थियो । ममा डोको बुन्ने कला हासिल गर्ने भूत सवार भएको थियो । बाँसको चोया निकाल्ने कला हासिल गरिनसकेकोले र निगालाको चोया काढ्न सहज हुने भएकोले मलाई निगालाको खाँचो परेको थियो जुन मेरो डोराफेरामा त्यति पहुल थिएन । एकाबिहानै घामको झुल्को छुट्नै लागेको बेला म तपाईंको माझाबारीको डोरामा रहेका निगाला चोर्न टुप्पी कसेर धुप्पिएँ । त्यति बिहानै जिम्मालटोलाबाट तपाईं वा अरू कोही त्यहाँ आउनेवाला छैनन् भन्ने कुरामा म ढुक्क थिएँ । यही मौकामा आफ्नो ताक पूरा गर्न मैले होरेकले निगाला छप्काउँदै थिएँ । मैले आफ्नो नालायक काम फत्ते नगर्दै तपाईं लौरो ठकठक पार्दै टुप्लुक्क आइपुगिहाल्नु भयो । शीतले बाटो चिप्लो गराएको हुनाले लौराले चिप्लिनबाट जोगाउँछ भन्ने हेतुले तपाईंले लौरो टेक्नु भएको थियो, हैन र ? सातो पुत्लो उड्यो त्यस बेला मेरो । रङ्गे हात चोरी पक्रिंदा अरूको दशा कस्तो हुन्छ कुन्नि, म त कर्कलो गलेझैं गलेथें । धरमपानी आफ्ना मावलीमा तिथि खानको लागि जाँदै गरेको तपाईंले अलि टाठो स्वरमा सोध्नुभयो, ´को हो यो निगाला छप्काउने ?’
मैले लुते बिरालोले जस्तै दबिएको स्वरमा भनें, ´ म हुँ ।`
´के को लागि निकाला बटुलेको ?`
´डोकोबुनाइ सिक्न ।`
´ए, लौ लौ सिक, धेरै नकाटे है ।´ भन्दै त्यहाँ धेरै बेर नअडिई तपाईं आफ्नो गन्तव्यतिर लम्कनुभयो ।
अब कति खप्की सुन्नुपर्ने हो, कति दुत्कारिनुपर्ने हो, के कति जरिमाना तिर्नुपर्ने हो भनेर इन्तु न चिन्तु भएको बेला सहजै सङ्कट मोचन हुँदा मेरो मन त फूलको थुङ्गा झैं हलुको भएथ्यो । यस्तो परिस्थितिमा अरू कसैको सामना मैले गर्नुपरेको भए मन बिथोलिएर डोको बुन्ने रहर नै पत्तालिन्थ्यो होला, इच्छा नै ओइलाउँथ्यो होला । तपाईंले त झन् ऊर्जा पो थपिदिनु भयो माइलाबा !
सलाम छ माइलाबा तपाईंको उदार मनलाई, म टुहुरोप्रतिको स्नेहभावलाई र अद्भुत सहनशीलतालाई ! यस्ता सद्गुण तुम्कोटमा भावीले तपाईंमा मात्र किन भरिदियो ? मलाई, अरूलाई वा जो कसैलाई पनि किन त्यस्तै शील स्वभाव दिएन ? यही प्रश्न मेरो मगजमा रगरगाइरहन्छ ।
अभ्यास छुटेकोले अहिले शायद मैले डोको बुन्ने मेसो बिर्से हुँला तर कदापि बिर्सेको छैन, तपाईंको उदात्त चोखो मनको अनुग्रहलाई, स्नेहलाई, करुणालाई र पवित्रतालाई !
माइलबा, तपाईं त लम्कँदै लम्कँदै छिटै धरमपानी पुग्नुभयो होला । मलाई भने सय गजको फासलामा रहेको आफ्नो आँगनमा पुग्न पनि तपाईंलाई भन्दा तीन दोब्बर समय लागेको थियो । धेरै बेर निगालाको घारीमुनि गुँडुल्किएर म सुँकसुँकाएको थिएँ, आँसु बगाएको थिएँ र तपाईंप्रति कृतज्ञ हुँदै तपाईंकै जयगान गरेको थिएँ मैले । मेरो बुवा जीवितै भइदिएको भए र उहाँको पनि तपाईं जस्तै उदार हृदयको भइदिएको भए म आफूलाई कति भाग्यशाली ठान्थें होला भन्ने कल्पनामा मैले डुबुल्की मारेको थिएँ त्यति बेला । र मनमनै तपाईं जस्ता दुर्लभ बुबाको छोरा बन्ने किस्मत पाएका बालसखाको भाग्यसित म इखिएको थिएँ ।
माइलबा ! तपाईं आफ्ना मावलीको असाध्यै प्यारो हुनुहुन्थ्यो । त्यसैले त तिथि, सरात, चाडबाड, दशैं, बिहेबटुलो, व्रतबन्ध आजापूजा जेमा पनि डाकिनुहुन्थ्यो नि । र माओलीले गर्ने हरेक दान दातव्यमका लागि तपाईं पहिलो रोजाइको पात्र बन्नुहुन्थ्यो, हैन त ? त्यो देखेर म पनि मनमनै इच्छा गर्थें, ‘मेरा मावलीले मलाई पनि त्यस्तै माया गरे हुन्थ्यो, त्यस्तै लेखोपाखो राखे हुन्थ्यो, दान दातव्यको लागिमलाई त्यस्तै रोजाइमा पारे हुन्थ्यो ।‘
म वयस्क नहुँदा हाम्रो बेलारूखको खेत रोप्ने बेला साह्रै चटारो हुन्थ्यो तर तपाईं त्यहाँ गएर ठिँगारेको रूपमा उभिएपछि ममा त्यसैत्यसै नौ मुरी जोस र आत्मविश्वास पलाउँथ्यो । माइलबा सँगै हुनुहुन्छ, जस्तो संकट पनि टार्न सकिन्छ, जस्तै चुनौती पनि फत्ते गर्न सकिन्छ भन्ने दह्रो ढाडस पो मनमा हुन्थ्यो त । तपाईं हिम्मत पनि दिनुहुन्थ्यो, ´नआत्तिए है बाबु, बेलैमाथि रोपाइँ सकिन्छ, ढुक्क भएर आफूले सक्ने काम गर ।` र आफ्नै घरको झैं गरेर र एक माना धान भए पनि बढी फलोस् भन्ने हेतुले खाली ठाउँ भेट्यो कि फकटा बिराइदिनुहुन्थ्यो, हैन र ? त्यति मात्र कहाँ हो र,जोत्नका चाहिने गोरु पाल्ने औकात हाम्रो नभएको कुरालाई दृष्टिगत गरी बेलाबेलामा हलोजुवासहित गोरु दिएर मलाई अझ अनुगृहीत, अझ ऋणी बनाउनुभएको थियो, हैन त माइलबा ?
माइलबा ! म तपाईंहरूकाँ त खेपुल खेपुल गइरहन्थेँ नि । ज्ञवाल्नी माइल्याँको जीउ छन्जेल तपाईंकहाँबाट म मुख बिटुलो नपारी फर्कनु परेन । एकातिर म टुहुरो, अर्कोतिर आफ्नै छोराको दौँतरी भएकोले होला, उहाँको वात्सल्याको पनि त म हकदार बनेको थिएँ । प्रत्यक्षमा बालसखासित भेट्ने उद्देश्य भए पनि परोक्षमा अवचेतन मनले तपाईंहरूको सामिप्यको खोजी गरिरहन्थ्यो होला शायद । ज्ञवाल्नी माइल्याँ बितेपछि पनि मेरा पैताला तपाईंको आँगनतिर लम्किरहे । यस्तै सिलसिलामा एक साँझ म तपाईंकहाँ पुगेको थिएँ । सखा उत्तरले त्यसदिन मेरो त्यति वास्ता गरेनन् । स्याडिस्टको (अरूको चित्त दुखाएर रमाउने) भूमिका आज निर्वाह गर्नुपर्यो भनेर त पक्कै होइन होला । भन्ट्याङभुन्टुङ र ठूला थरे सुतिसक्दा पनि मैले हर कहाँ बिसाउने हो भन्ने मेसो पाइनँ । धेरै बेरको पर्खाइ निरस्त भएपछि मैले मुख फोर्नुपरेको थियो, ´माइलबा, निद लाग्यो ।`
सहानुभूतिले ओतप्रोत हुँदै तपाईंले भन्नुभएको थियो- ´यो कान्छो पनि कता छ कुन्नि । बिचरालाई निद लागिसक्दा खेरि पनि केही इन्तजाम गरेको छैन ।`
यति भनेर तपाईंले मेरो लागि ओछ्यान तयार पारिदिनु भएको थियो । सपनामा पनि तपाईंको वात्सल्य अँगाल्दै अँगाल्दै तपाईंकै काखमा लुटपुटिएको आभास गर्दै म भुसुभुसु निदाएको थिएँ त्यस दिन ।
छक्का पञ्जाबाट सात कोस टाढा भएका व्यक्ति तपाईं सामाजिक दबाबमा ज्ञवाल्नी माइली आमाको भात नचल्ने आक्षेप पखाल्न, मावलीलाई आफ्नो चुलोको पिर्कामा भात खानको लागि थचार्न तपाईं भारी मनले छोराछोरी र श्रीमती हुँदाहुँदैको अवस्थामा पनि अर्को विवाह गर्नु परेको थियो । वाद्यताले तपाईंलाई थिचरेको कुरा मैले अलि जान्ने भएपछि मात्रै थाहा पाएँ, माइलबा । मावलीले तपाईंलाई असाध्यै माया गरे पनि न्याय चाहिं यस मामिलामा गरेनछन् । उनीहरूले कि त भान्जाको भात जुराएर बिहे गराइदिनुपर्थ्यो कि त भइसकेको घरजामकी भान्जी बुहारीको भात स्वीकार्नु पर्थ्यो । उनीहरूकै अस्वीकारोक्तिले तपाईंलाई एउटा थाप्लामा दुई वटा नाम्ला लगाउनुपर्यो, दुई नारीको सौते पीडालाई टुलुटुलु हेरिरहनु पर्यो नि, हैन र ? त्यही पीडाले व्यथित भएर ज्ञवाल्नी माइल्याँले देह त्याग गरेपछि पत्नी वियोगको व्यथा मुटुको कुनामा सँगालेर तपाईंले दिनहरू घचेट्नु पर्रेको थियो । यस्ती पत्नी जसले भताभुङ्ग भएको तपाईंको घर सम्हालिन्, जो तपाईंका हरेक सुखदुःखको अंशियार बनिन्, जसले तपाईंलाई हरेक सुख दिइन् र सबैभन्दा महत्त्वपूर्ण कुरा सन्तानसुख दिइन्, त्यस्तो सुख दिने पत्नीसितको वियोगको पीडा मनमा संगालेर एकान्तमा कति आँसु बगाउनुभएथ्यो माइलबा, पश्चातापको आगोमा आफूलाई कति डढाउनुभएथ्यो माइलबा ?
तपाईं बाथले थलिएपछि माहिला छोरासँग काठमाडौँ पुगेको बेलाको अर्को प्रसङ्ग कोट्याउँछु है । म त्यति बेला रेडियो नेपालको धार्मिक कार्यक्रम र बाल कार्यक्रमको लागि कनीकुथी थोरैधेरै लेख्ने गर्थें र लेखिएका ती सामग्रीहरू यदाकदा प्रसारण पनि हुने गर्थे । एक बिहान धार्मिक कार्यक्रममा मैले लेखेको आख्यानपरक प्रसङ्ग भएको किस्सा ´गुरुभक्त उपमन्यु` सुन्ने साइत तपाईंलाई जुरेछ । सुन्दासुन्दै तपाईंका आँखा रसाएछन् र अश्रुधारा बगेछन् । मेरो दाबी छ माइलबा, तपाईंका आँसु करुण कथा सुनेका कारणले मात्रै झरेका होइनन्, उपमन्युले खाने कुरा केही नपाएर गाईका बाच्छाबाच्छीले थुन चुस्दा निकालेको झाँग चाटेको टिठलाग्दो प्रसङ्गले मात्रै पनि तपाईंको मन पगालेर आँसु छचल्काइदिएको हो । त्यो भन्दा त हिजोको टुहुरो आज यस्तो रेडियोमा बज्न लायक सामग्री कोर्न सक्ने भएछ भन्ने हर्षातिरेक समेत मिसिएर ती आँसु परेलीको डीलबाट गुल्टिँदै गुल्टिँदै चिउँडोसम्म पुगेका हुन् वा भनौं मप्रतिको स्नेहभाव समेत मिसिएर ती आँसु बगेका हुन्, मैले गलत भनिनँ नि माइलबा ?
प्रसङ्ग त कति छन् कति, माइलबा । कुनै साना, कुनै ठूला तर चीर कालसम्म नभुलिने खालका छन् । यो सानो लेखाइमा ती सबै प्रसङ्ग कोट्याएर साध्य हुन्छ र माइलबा ? तपाईं त माथि आकाशमा नक्षत्र बनेर हामीलाई नियालिरहनुभएको छ होला, मेरा शब्द सुन्न वा पढ्न पनि पाउनुहुन्न, तैपनि यी शब्दहरू तपाईंलाई भेटेका, तपाईंलाई नदेखेका सबै थरिका मान्छेका लागि पोखेको छु ।
तपाईंसितको स्नेहसिक्त सम्बन्ध मसित मात्रै कहाँ हो र मेरी कान्छी छोरीसित पनि त जोडिएको छ । जेठी छोरी त धेरै समय मावलीकहाँ बसी, त्यसैले उसले तपाईंको स्नेहको महत्त्व बुझ्न पाइन । कान्छी त तपाईंको आँखाको नानी जस्तै बनेकी थिई नि माइलाबा, हैन र ? आफ्नो घरमा हजुरबा नभएको र त्यो कमी तपाईंले पूरा गरिदिएकोले होला ऊ बरोबर तपाईंकहाँ गइरहन मन पराउँथी र तपाईंको काखमा लुटपुटिएर, गुँडुल्किएर तपाईंको माया दुहिरहन्थी अनि बाजेको कमीलाई मेटाइरहन्थी । नौ वर्षकी हुन्जेल तपाईंको छायालाई पछ्याइरहेकी हो उसले । केही मीठो कुरा आफ्नो पहुँचमा हुँदा माइलाबालाई दिनुपर्छ भन्ने सोचाइको बीउ उसको मुटुमा कसैले रोपिदिएन । तपाईंप्रति श्रद्धाभाव राख्ने इच्छा सधैं उसमा जागिरह्यो ।
तपाईंको शरीरबाट हंसले ठाउँ छाडेपछि उसकी आमाले स्कूल जान चिउरीको रूखनेर पुगिसकेकी नमस्यालाई डाकेकी थिई, तपाईंको अन्तिम दर्शनको लागि । आमाले डाकेपछि दगुर्दै आएर तपाईंको पार्थिव शरीरलाई टुलुटुलु हेर्दै नमस्याले बलिन्द्र धारा आँसु चुहाएकी थिई ।
´हामीलाई छोडेर नजानुस् न माइलाबा` भन्दै बिलखाएको उसको आवाज, हजुरबाको कमी पूरा गरिदिने काख अब कहिल्यै छुन छाम्न पाउन्नँ भन्ने अनुभूतिले हृदयदेखि नै छुटेको हुँक्कहुँक्क सितको उसको हृदय विदारक ध्वनि तपाईंको पार्थिव शरीरसित मात्रै ठोक्किएको होइन, तपाईंको आत्माले अनुभूत गर्ने अङ्गसित पनि टकराएको थियो शायद । आफू राजधानीमै जीविकाको लागि भौँतारिइरहेको बेला अशेष स्नेह व्यक्त गर्ने वाणी बिलायो, काया प्राणहीन भएको खबर सुनेपछि एक्लै भक्कानिंदै, सुकसुकाउँदै आँसुले पीडा पखाल्ने चेष्टा गरेथें माइलबा मैले, फेरि अर्को पटक टुहुरिएको वेदनाले छटपटिएथें, माइलबा ! कहिल्यै पुर्ताल नहुने रिक्तता थमाएर ब्रह्माण्डको कुन कुनामा विलीन हुनुभयो तपाईं !
मनलाई छोइरहने अन्तिम प्रसङ्ग कोट्याउँछु अब । बखत थियो मलाई ढिलो गरी पुत्रलाभ भएको र त्यही पुत्रको पास्नीको दस्तुरको । तपाईंहरू त्यतिबेला सुत्केरोमा पर्नुभएको थियो । यही कारण जनाएर तपाईंको वंशका कसैकसैले भातखुवाइमा उपस्थिति जनाएनन् । तर ७९ वर्षे वयोवृद्ध तपाईं त्यस पास्नीमा खुशी साथ मजाले सहभागी हुनुभएको थियो । ब्याहापूजाको काम होइन, भात खुवाइमा सामेल हुन कुनै कुराले छेक्दैन भन्ने ठहर गर्दै तपाईंले मेरो छोरालाई भात सँगसँगै आसिक पनि खुवाइदिनुभएको हैन र ? खाने मुखलाई जुँगाले छेक्दैन भन्ने उखान चरितार्थ गर्दै तपाईं त्यो खुशीयालीमा सरिक हुनुभएको हैन र ? पितृसत्तात्मक सोचाइअनुसार मेरो अपुतालीको बार खडा भएको कुराले तपाईंको मन कति गदगद् भएको थियो भन्ने कुरा मैले यसै प्रसङ्गबाट बुझ्न सक्छु । तपाईंका छोराछोरीबाट नाति जन्मँदाको जत्तिकै हर्क मेरो छोरा जन्मँदा पनि तपाईंलाई अनुभव भएको थियो ।
माइलाबा ! तपाईंलाई एकोहोरिएर याद गर्ने, तपाईंका गुनहरू केलाउने, तपाईंसितका नबिर्सिने पलहरू याद गर्ने सिलसिलामा यति मात्रै प्रसङ्ग कोट्याएँ है, यस पाली । तपाईं जहाँ भए पनि मायालु हातले मेरो ढुकढुकी छउन्जेल मैले थाहा नपाउने गरी मेरो शिर मुसारिरहनु होला र फलीभूत भएका कारणले थाहा हुने गरी आशीर्वाद दिइरहनु होला है, माइलबा ।
सन्धिखर्क तुम्कोट



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

