अचम्म लाग्यो – कसरी सिर्जना गर्न सकें हँ मैले यति सुन्दर कविता ! सम्पूर्ण तत्त्वले परिपूर्ण । आफ्नो सिर्जन क्षमतामा मक्ख परें म । मैले कविहरूका तुलनामा उत्कृष्ट कविता सिर्जना गर्न सकें भनेर अहम् प्रदर्शन गरें भन्नु मनासिब नठहर्ला ।

००००

उहिलेदेखिका साथी हौं हामी । हामी अर्थात् भीमनाथ र म । हामी दुवै साहित्यका जिज्ञासु । मुख्य गरी पाठक र कहिलेकाहीँ लेखिटोपल्ने सामान्य लेखक पनि । विभिन्न संघसंस्थामा सहयात्री बनेर साहित्यिक गतिविधिलाई अगाडि बढाउँदै आइरहेका छौं । भीमनाथ मूलतः कवि । आजका मिति सम्मको साहित्यिक यात्रामा उनले लगभग चार दसकको साधना गरेका । उनका हाइकु, मुक्तक, गीत र कविताका सङ्ग्रहहरू प्रकाशित छन् । फुटकर कविता लेखनमै रमाउने व्यक्ति हुन् उनी । उनले शुरूशुरूमा संस्कृत छन्द कविता लेख्थे तर पछिल्लो चरणमा भने गद्य शैलीमा पनि लेख्न थालेका । लेखनको आरम्भ त मैले पनि गीत–कविताबाटै गरेको थिएँ यद्यपि अहिले भने म चाहिं कविताभन्दा बढी गद्य त्यसमा पनि लेख–निबन्ध र कथातिर रुचि राख्ने गरेको मान्छे ।

समय समयमा भेटिन्छौं हामी । साहित्यिक भलाकुसारी गर्छौं । फोनमार्फत् पनि कला–साहित्यकै बारेमा चर्चा गर्छौं । हामी साहित्यिक संघसंस्थालाई कसरी गति दिने भन्नेमा नै बहसलाई केन्द्रित गर्छौं । उनी अलि बढी बोल्छन् । घरीघरी त लाग्छ– उनी बिग्रेकै रेडियो हुन् । उनमा मात्रात्मक रूपमा अरूको कुरा सुन्ने धैर्यको कमी छ । आफ्ना कुरा बढी गर्छन् । कहिलेकाहीँ त आवश्यकभन्दा बढी अनावश्यक कुरामा बहसलाई अन्यत्रै मोडेर दिक्क पनि बनाउँछन् । उनको बढी बोल्ने बानीबाट अभ्यस्त भएकाले कहिलेकाहीँका गोष्ठी–समारोह तथा मान्छेहरूका भीडमा मैले उनलाई बढी नबोल्नका लागि इशारा पनि गर्दै आएको छु । एउटा शुभचिन्तकको नाताले उनको बोलीमा लगाम खिच्नुलाई मैले आफ्नो कर्तव्य पनि ठानेको छु ।

हप्तामा एकदुई पटक हामी भेटिएकै हुन्छौं । मोबाइलमा गरिने गफगाफभन्दा पनि भेटेरै गफ गर्न पाउँदा बढी आनन्द आउने र आत्मीय अनुभूति प्रबल हुने कुरा उनले गर्छन् र मलाई पनि त्यस्तै लाग्छ । हामी दुईका घर यस शहरमा लगभग आठ किलोमिटरको दूरीमा पूर्व र पश्चिम भए पनि मन चाहिं जोडिएका छन् । कहिले कुनै बैठकमा त कहिले कुनै कार्यक्रमका नाममा र कहिलेकाहीं चिया पिउने बहानामा पनि भेटिन्छौं हामी । भेट्नैका लागि कहिले मेरो घरमा र कहिले उनको घरमा पनि पुगेका हुन्छौं । विगतमा कयौंपल्ट उनी मेरो घरमा र म पनि उनको घरमा बास बसेको छु ।

यस पटक भने एक हप्तासम्मै उनको र मेरो भेटघाट भएको थिएन । एक हप्ताको अन्तराल पनि हाम्रा लागि निकै लामो समय थियो । यसै अर्थमा भेटघाट अर्थात् गफगाफ गर्ने उद्देश्यले चिया पिउने बहाना बनाएर केही दिन पहिले हामी बजारको बीचतिर एउटा होटलमा पस्यौं ।

चियाको अर्डर गरेपछि उनले केही घरव्यवहारका कुरा शुरू गर्न लागेका थिए तर मैले साहित्य सिर्जनातर्फ मोड्दै अचेल उनले कविता लेख्न छाडेकातर्फ सङ्केत गरें, “पहिले पहिले त्यति राम्रा कविता लेख्नुहुन्थ्यो भीमजी ! संस्कृत छन्दमै पनि लेख्नुहुन्थ्यो । पछि गद्य शैलीमा लेख्नुभयो । तपाईंका कविताका पुस्तकहरू पनि प्रकाशित छन् । अचेल किन छोड्नुभयो त नि कविता लेख्न ?”

मेरो जिज्ञासाको प्रत्युत्तरमा उनी बोल्न थाले, “च्वाट्टै छोडिहालेको भन्न त नमिल्ला जनार्दनजी ! यद्यपि अचेल केही वर्षदेखि यता मैले शास्त्रीय छन्दमा कविता लेख्न छोडेको भने पक्कै हो । कविता लेख्नै परेको अवस्थामा कहिलेकाहीं एकादुई मात्र लेखेको छु त्यही पनि गद्य शैलीमा । सानो उमेरमा भानुभक्तको रामायण पढें । पछि उनका सबै रचना पढें । भानुभक्त आध्यात्मिक कवि । समाजलाई नैतिक पाठ पढाउने पण्डितका रूपमा बुझें मैले भानुभक्तलाई । आजको युगमा भानुभक्तका जस्ता कविता लेख्नुको कुनै अर्थ छैन जस्तो लाग्यो । लेखनाथ राणा दरबारका दरबारिया पण्डित । लेखनाथका कवितामा पनि पूर्वीय अध्यात्म दर्शनकै प्रबलता । राज्य तथा शासकहरूबाट सबैभन्दा बढी मानसम्मान, पदप्रतिष्ठा तथा पुरस्कार थापेका माधव घिमिरे छन्दका कुशल शिल्पी, जीवन दर्शन पनि बुझेका । प्रकृतिको मनोरम चित्र उतार्ने कवि । यद्यपि आजीवन शासकहरूको भक्तिगान गरेर नथाकेका कवि ।

अचेल पुरातनपन्थी यी बुढाहरूका जस्ता कविता लेख्नुको कुनै अर्थ रहला जस्तो नलागेर पछिल्लो समयमा मैले गद्य शैलीका कविता लेख्न थालेको हुँ जनार्दनजी ! धेरै समयको अन्तरालमा केही समय पहिले एउटा गद्य कविता लेखेको थिएँ । मैले आफ्नो त्यो कविता लेखेपछि पुरातनपन्थी यी तिनै जना कविका कुनै पनि कविता पुनः खोजेर हेर्न र पढ्नतिर लागिनँ । मैले त यो कविता गद्य लयमा लेखेको छु, उनीहरूले जस्तो शास्त्रीय छन्दमा लेखेको छैन । आजको युग सुहाउँदो समसामयिक विषयमा लेखेको छु । परम्परावादी ती पण्डित बुढाहरूका कविता र मैले हालै लेखेको कविताको विचार पक्षमा आकाश र जमीनको भिन्नता छ जस्तो लाग्यो ।

मलाई मेरो कविता शास्त्रीय परम्पराका यी पण्डित तथा शासकहरूको स्तुतिगान गर्ने कविका कवितासँग तुलना गर्न मन लागेन । बरु मेरो यो कविता त देवकोटाका कवितासँग तुलना गर्न मन लाग्यो । देवकोटाका ‘पागल’, ‘शाहजहाँको इच्छा’, ‘यात्री’, ‘प्रभुजी मलाई भेडो बनाऊ’ लगायतका केही कविताहरू फेरि पनि पढें । उनले लेखेकामध्ये मलाई मन परेका गद्य शैलीका अरू कविताहरू पनि दोहोर्‍याई दोहोर्‍याई पढेँ । उनका कविताहरूसँग मेरो कविताका शब्द शब्दहरूको तुलना गरें । पंक्ति पंक्तिहरूको तुलना गरें । उनका कविताको स्ट्यान्जाहरूसँग मेरो कविताको स्ट्यान्जाहरूको पनि तुलना गरें । मलाई आफ्नो यो कविता देवकोटाका कविताहरूका तुलनामा कमजोर लागेन । मलाई मेरो कविता पनि उनकै कविताको हाराहारीमा छ जस्तो लाग्यो ।

बालकृष्ण समका ‘नमस्कार नमस्कार संसार’, ‘स्वर्ग र देउता’ लगायत अरू केही कविता पढें । समका कविताहरू सामान्य पाठकका मस्तिष्कमा घुस्न नसक्ने जटिलजस्ता लागे । उनका कविताहरूमा बुद्धि तत्वको प्रयोग बढी, बौद्धिक पाठकका लागि मात्र फिट हुने, सामान्य पाठकका लागि फिट हुँदैनन् जस्तो लाग्यो । समका कविताहरू सर्वसाधारण पाठकका लागि उपयुक्त ठानिनँ मैले । बरु समका कविताभन्दा त मैले भर्खरै लेखेको मेरै कविता बढी सरल, सम्प्रेष्य र सुन्दर लाग्यो ।

भूपी शेरचनका कविता पनि मलाई असाध्यै मन पर्ने । ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘हामी’, ‘नीला सर्पहरूको खोजी’ लगायत केही कविताहरू मैले दोहोर्‍याई तेहेर्‍याई पढेको थिएँ । अहिले फेरि तिनै कविता खोजेर पढ्न मन लाग्यो । खोजेर पुनः पढें । सरल भाषामा पनि कति सुन्दर कविता लेख्न सकेका होलान् भूपीले ! मैले आफ्नो कवितातिर आँखा पुर्‍याएँ । भूपीकै जत्तिको सरल र सम्प्रेष्य लाग्यो मेरो कविता अनि सशक्त पनि उत्तिकै ।”

“भनेपछि तपाईंलाई बालकृष्ण सम र भूपी शेरचनका कविताभन्दा पनि आफ्नो कविता अब्बल लाग्यो !” मैले आश्चर्य प्रकट गरें ।

“भन्दै छु त ।” उनले अगाडि थपे, “कतै मेरो कवितामा विचार पक्ष कमजोर त भएन ! कवितामा प्रयुक्त विचार बुझ्नका लागि मैले शास्त्रीय छन्दकै भए पनि युद्धप्रसाद मिश्रका ‘भोका र नाङ्गा उठ’, ‘जनघोष’लगायत केही कविता दोहोर्‍याएर पढें, यसै सिलसिलामा पारिजातका पनि पाँच–सात वटा कविता पढें । केवलपुरे किसान र गोकुल जोशीका लोकलयका केही कविताहरू स्मरणमा ल्याएँ । कवितामा विचार कसरी अन्तर्घुलित हुन्छ भनेर बुझ्न कृष्ण सेन ‘इच्छुक’का कविताहरू पनि पढ्न छुटाइनँ ।

यिनीहरूका कविता पढेपछि मैले आफ्नो कवितालाई पनि मनमनै रौंचिरा विश्लेषण गरें । वैचारिक पक्षमा पनि मलाई यिनीहरूका कविताका तुलनामा आफ्नो कविता कमजोर लागेन ।

रिमालको ‘आमाको सपना’ पुनः पढें र मैले आफ्नो कवितालाई उनको कवितासँग मनचिन्ते तराजुमा जोखें । मेरो कविताको वजन उनको भन्दा कम्ती देखिन । बैरागी काइँलाको ‘मातेको मान्छेको भाषण मध्यरात पछिको सडकसित’ पढें । हरिभक्त कटुवालका कविता पनि पढ्न छुटाइनँ । कालीप्रसाद रिजालका कविता भने अलि बढी नै सरल भए कि जस्तो लाग्यो । श्रवण मुकारुङका ‘फूलको कथा’ र ‘बिसे नगर्चीको बयान’ पढें । मलाई के लाग्यो भने बैरागी काइँला र श्रवण मुकारुङका यी कविताभन्दा मेरो कविता कुनै पनि हालतमा कमजोर छैन । भीष्म उप्रेतीका छोटाछोटा आकारका कविता मलाई मन पर्ने हुँदा उप्रेतीका ‘मैले सहर छोडें’, ‘आकाश खस्यो भने के हुन्छ ?’ लगायतका कविताहरू दोहोर्‍याएर पढें । भूपाल राईलाई पनि पढ्न छोडिनँ । उहिल्यै पढेका मोहन कोइरालाको ‘फर्सीको जरा’, ‘सारङ्गी’ लगायतका कविताहरू चाहिं यति बेला दोहोर्‍याएर पढिनँ । उनका लामा कविताहरू दोहोर्‍याइनँ । ईश्वरवल्लभको ‘मेरी आमाले आत्महत्या गरेको देश’ पनि दोहोर्‍याइनँ ।

सरुभक्तको कविता ‘बहुलाही आमाहरूको जुलुस’ पहिलो पटक २०५४ सालमा पोखराको एउटा कार्यक्रममा सुनेको थिएँ । पछि ‘प्रयोगशालाभित्र’ सङ्कलित उक्त कवितालाई दोहोर्याएर पढें । पढ्ने क्रममा त्यस सङ्ग्रहका अन्य दुई–चारवटा कविता पनि पढें । यसमा सङ्कलित उनका प्रायः कविताहरू उत्तिकै बलशाली लागे । मैले भर्खरै लेखेको आफ्नो कवितालाई उनका ती कविताहरूसँग तुलना गरें । मलाई लाग्यो– सरुभक्तका कविताहरू जति बलशाली छन्, मेरो पनि तुलनात्मक रूपमा कम छैन ।

मैले आफ्नो कविता लेखेर निकै पटक परिष्कार गरेपछि नै हो अमर गिरीको ‘घाम छेक्ने पहाड’लाई दोहोर्‍याएर पढेको । मलाई समसामयिक नेपाली कविताका सङ्ग्रहहरूमा राम्रा लागेकामध्ये अमर गिरीको यो सङ्ग्रह पनि एउटा हो । गिरीले प्रयोग गरेका बिम्बहरूले मेरो मानसपटललाई रन्थन्याउँछन् पनि । अझ घाम छेक्ने पहाड त प्रतीकात्मक पनि छ । सशक्त छ । मलाई आफ्नो कविता पनि अमर गिरीको कविताभन्दा कम जस्तो लागेन ।”

भीमनाथ एक कप चियाका भरमा निरन्तर बोलिरहेका थिए । यति बेला भने मैले उनको बोलीमा लगाम लगाउन आवश्यक थिएन । उनले विषयान्तर नगरीकन आफ्नो कुरा सुनाइरहेका थिए । जाडाको समय थियो । चिया अघि नै सकिएको थियो ।

“फेरि अर्को एकएक कप चिया त थपौं कि क्या हो भीमजी !” भन्दै मैले दोस्रो कप चियाका लागि साहूजीलाई इशारा गरें र भीमजीतिरै फर्केर जिज्ञासा तेर्स्याएँ– “महिलाहरूका कविता त त्यति हेर्नुभएनछ नि ?”

उनी सोही विषयमा अगाडि बढे, “किन नहेर्नु, हेरें नि ! पारिजातको नाम मैले अघि नै लिइसकें । पछि कुन्ता शर्मा र शारदा शर्माका कविता पढें । नयाँ पुस्ताका सरिता तिवारी, सीमा आभास, सरस्वती प्रतीक्षा, सुमिना लगायतका कविहरूका कविता पढेँ । आहुति, तीर्थ श्रेष्ठ, पूर्णविराम, ईश्वरचन्द्र ज्ञवाली, मात्रिका पोखरेलका कविताहरू पढेँ । युवा पुस्तामा अनिल श्रेष्ठ, प्रोल्लास सिन्धुलीय, भूपिन व्याकुल, केशव सिलवाल, मनु मन्जिल र राजा पुनियानीहरू पढें । पुरानै पुस्ताका भविलाल लामिछानेलाई पनि पढ्न छुटाइनँ । पछिल्लो पुस्ताका विनोदविक्रम के.सी., राजु स्याङ्तान र स्वप्निल स्मृतिहरू पढें । फेसबूकमा कविता पोष्ट गरिरहने बलराम तिमिल्सिना, मौन आवाज लगायतलाई पढें । फेसबूक, युटुब तथा अनलाइन माध्यमबाट चर्चामा आएका र पत्रपत्रिकामा प्रायः देखिइरहने नयाँ पुस्तालाई पनि मैले छोडिनँ जनार्दनजी !”

हामीले दोस्रो कप चियाको चुस्की लिन शुरू गर्‍यौँ । चियाको चुस्की सुरुप्प पार्दै भीमजी फेरि बोल्न शुरू गरे, “मैले आफूले लेखेको कविता धेरैपटक दोहोर्‍याएर पढें । मलाई लाग्यो– साँच्चै यति सुन्दर कविता त मैले आजका दिनसम्म लेखेकै छैन र अब आगामी दिनमा समेत यति सुन्दर कविता मबाट सिर्जना हुन सक्ला जस्तो पनि लागेन । न भूतो न भविष्यति ।”

उनले अगाडि थपे, “मलाई के लाग्छ भने नि जनार्दनजी ! कविता सङ्ख्यात्मक रूपमा धेरै नै लेख्नुपर्छ भन्ने छैन । रिमाल र भूपीका कविता पनि त सङ्ख्यात्मक रूपमा कहाँ धेरै छन् र ? तैपनि समसामयिक नेपाली कविताका फाँटमा उनीहरू मानक कविका रूपमा स्थापित छन् ।

अचम्म लाग्यो– कसरी सिर्जना गर्न सकें हँ मैले यति सुन्दर कविता ! सम्पूर्ण तत्त्वले परिपूर्ण । आफ्नो सिर्जन क्षमतामा मक्ख परें म । मैले कविहरूका तुलनामा उत्कृष्ट कविता सिर्जना गर्न सकें भनेर अहम् प्रदर्शन गरें भन्नु मनासिव नठहर्ला । यद्यपि कतिपयले कवितालाई व्यक्तिको अहम्को प्रस्तुति पनि ठानेका छन् । आम मान्छेहरूका बीचमा आफूलाई श्रेष्ठ सावित गर्न सिर्जना अर्थात् साधनामा तल्लीन रहने कुरा पनि गर्छन् कतिपय ।”

“त्यस्तो सुन्दर कविता सिर्जना गर्न कति दिन लाग्यो भीमजी ?” मैले प्रश्न तेर्स्याएँ ।

उनी चियाको सुर्की लिँदै पुनः बोल्न थाले, “लगभग एक हप्ता लगाएर लेखें अनि दुई हप्ताजति परिष्कार गरेरै बसें नि । पटक पटक परिमार्जन गरेपछि मलाई अब मेरो कवितामा कुनै चीज पनि अपुग छ जस्तो लागेन । यो कविता त मलाई एउटा डिपार्टमेन्टल स्टोर अर्थात बिग मार्ट जस्तो लाग्यो । विशाल बजार जहाँ सियोदेखि सुनसम्म सबै चीज पाइन्छ । के पाइँदैन र ? स्वदेशी उत्पादनदेखि विदेशी उत्पादन, खाद्यान्न सामग्रीदेखि लत्ताकपडा सबै एकै ठाउँमा पाइए जस्तै मेरो कवितामा पनि अनेक थरी बिम्ब, अनेक थरी प्रतीक र अनेक खालका मिथकहरूको संयोजन छ । अलङ्कार छ, रस छ । शब्द शब्दका बीचमा ध्वन्यात्मक अनुगुञ्जन छ । गद्य शैलीमै लेखिए पनि अनुप्रासहरूको समेत उचित संयोजन छ ।”

“थोरै शब्दमा धेरै कुरा अभिव्यक्त गर्नु त कविताको विशेषता नै हो नि ।” मैले यति मात्र के भन्न भ्याएको थिएँ उनले थपिहाले, “समाज छ, आजको युगको अभिव्यक्ति झल्किएको छ । संस्कृति छ । प्रकृति छ । जीवन दर्शन छ । नारी मुक्तिको सबाल छ । दलित चेतना छ । सर्वहारा वर्गको मुक्तिमा जोड दिइएको छ । सुन्दर कला छ, विचार छ । के छैन र ? सब थोक छ । म यस्तो निष्कर्षमा पुगें कि– अबका दिनमा मैले यत्तिको सुन्दर कविता सिर्जना गर्नै सक्दिनँ ।”

“अनि त्यो कविता कहाँ, कुन पत्रिकामा प्रकाशित छ त सर ?” मैले यो जिज्ञासा राख्नु स्वाभाविक थियो किनभने म आफूले यो कविता कतै पढेको थिइनँ र कवि भीमजीकै मुखबाट सुनेको पनि थिइनँ ।

“कहाँ प्रकाशन गर्नु नि !” यति भनेर छोटो हाँसो हाँसे भीमजी र अगाडि थपे, “कविता लेखेर पटक–पटक परिमार्जन पनि गरिसकेपछि मैले मलाई बेला बेलामा लेखनका लागि हौसला दिने मेरै गुरु रघुनन्दनलाई देखाएँ । ए फोर साइजको पानामा दुवैतिर टाइप गरिएको थियो । उहाँले सर्र पढेपछि के भन्नुभयो थाहा छ ?”

“मलाई के थाहा नि ? म त्यहाँ भए पो थाहा हुने ।” मैले अनविज्ञता प्रकट गरेपछि उनले भने, ‘नाटक, निबन्ध, आख्यान सबै जाति मिसाएर बनाएको यस्तो खिचडी पनि कविता हुन्छ र भीमजी ?’ मेरो कविता पढेपछि प्रतिक्रिया स्वरूप रघुनन्दन गुरुले बोलेका शब्दहरू यिनै हुन् जनार्दनजी !”

“खूब प्रशंसा खोज्नुभएको थियो होला क्यारे ! मजाले दनक दिएछन् बुढाले !” हाँस्दै बोलें म ।

“जनार्दनजी पनि हाँसेरै उडाउन खोज्नुहुन्छ यार् ! त्यतिका विधि मिहिनेत परेको कवितामाथि रघुनन्दन गुरुले साह्रै तल्लो स्तरको मजाक गरे जस्तो लाग्यो मलाई त ।” भीमजीले पुनः थपे, “मलाई लागेको थियो कि गुरुले भन्नेछन्– निकै सुन्दर कविता सिर्जना गर्नुभएछ भीम ! आजका मितिसम्म तपाईंले लेखेका कविताहरूमध्ये यो नै सर्वोत्कृष्ट कविता हो ।”

कविताकै सन्दर्भलाई अगाडि बढाए भीमजीले, “मलाई मन पर्ने मेरा साथी हरिहर । उनी राजधानी काठमाडौंमा बस्ने, म चाहिं मोफसलमा । उनले कविताकै संरचनाका बारेमा विद्यावारिधि गरेका । कविताको संरचना मात्रै नभएर कविताका शब्द–शब्द, पदावली र प्रत्येक स्ट्यान्जाको सूक्ष्मातिसूक्ष्म ढङ्गले विश्लेषण गर्ने क्षमता भएका व्यक्ति । मेरो कविता एकपटक तिनै हरिहरलाई पठाएर प्रतिक्रिया मागूँ कि जस्तो लाग्यो ।”

“हरिहर उपाध्यायको कुरा गर्नुभा’को ? उनको पिएचडी नै ‘देवकोटाका कवितामा संरचना पक्ष’ हो नि । होइन र ?” मैले बीचैमा जिज्ञासा राखें ।

“हो, हो । उनै हरिहर उपाध्याय । आई.ए. र बी.ए. हामीले सँगै पढेका थियौं । त्यसपछि भने जागीरका सिलसिलामा छुट्टिनुपरेको थियो । मैले मोबाइलको म्यासेन्जर बक्समा उनलाई उक्त रचना पठाएर प्रतिक्रिया मागें । पढेर उनले प्रतिक्रियास्वरूप लेखे– भीमजी नमस्कार ! तपाईंले पठाएको रचना पढें । नयाँ प्रयोग गरेर लघु निबन्ध लेख्नुभएको जस्तो लाग्यो । कलात्मक पाराको मीठो र राम्रो पनि उत्तिकै । तपाईंको छोटोछरितो यो निबन्ध कवितात्मक शैलीमा रहेछ । संरचना पनि गद्य शैलीकै कविताको जस्तो । तपाईंको यो रचना पढ्दा मैले त झलक्क देवकोटाको ‘के नेपाल सानो छ ?’ भन्ने निबन्ध सम्झें । बधाई छ तपाईंलाई लघु आकारको यति सुन्दर निबन्ध सिर्जना गर्नुभएकामा ।”

“तपाईंको कवितालाई त हरिहरले निबन्धको कोटिमा पो राखेछन् हगि !” मैले हाँसो रोक्न सकिनँ, हाँसेरै भनें ।

भीमजी पनि हाँस्दै बोले, “यिनै प्रतिक्रिया हुन् जनार्दनजी ! अचेल मैले कविता लेख्न छोड्नाको कारण !”