एक भारी दाउरा मतानको सिकुवामा फ्यात्तै बिसायो । र टोपी फुकाली अनुहारको पसिनालाई स्याप्पै पुछ्यो । त्यही टोपीले अनुहारलाई हम्काउँदै अफ्ऽअफ्ऽ गर्दै घरको सिकुवामा भ्यात्तै बिसायो मुकुटे साइला ।

सतपत्ताल भासिएको पेट । प्रस्टै गन्न सकिने करङ । २५–२६ वटा जति खैरो र सेतो रङ्गको बोकेदाह्री । ढ्याब्रे नाक । पत्तीले चिरेझैं चिम्सा आँखा अनि सराबरी पाकेको कपाल । करीब ५ फीटको कद भएको । उमेरले त्यस्तै ६०–६५ जतिको । त्यो मानव आकृति विज्ञान प्रयोगशालामा राखिएको मानव अस्थिपञ्जरभन्दा अलिकतिले फरक । यस मानेमा छ कि मुकुटे साइँला आफै सास फेर्न सक्छ । बोल्न, हिड्न र डुल्न सक्छ ।

‘ए ! प्वाक्चीकी आमा । लु छिटो चिसो पानीमा जाँड बनाबना । यहाँ मेरो त सासै जालाजस्तो भइसक्यो । उफ्ऽउफ्ऽ कत्ति साह्रो गर्मी हौ ।’ मुकुटे साइँलाले आफ्नी स्वास्नीलाई बिसाउँदा बिसाउँदै आह्राइन् ।

‘चिसो पानीमा जाँडा खानै आँट्यौ अब । गाउँको धारामा पानी नआएको दुई दिन भइसक्यो । बल्लबल्ल तीन घण्टा लगाएर सिमसार खोलाबाट प्वाक्ची र मैले एक–एक गाग्री पानी ल्याएका छौं । के उल्का समय आएको हो, त्यत्रो पानीको मूल फुट्ने सिमसार खोलामा पनि पानी सुकेछ । त्यहाँ पनि लाम लागेर पानी थाप्नु पर्दा त कलि जुग नै लागेछ भन्ने लाग्यो ।’ प्वाक्चीकी आमाले पनि भित्रैबाट लोग्नेलाई आफ्नो कथा सुनाइन् ।

‘हैन यो के भएको हँ ? सारा ढुङ्गा, माटोमै आगो सल्केलाजस्तो छ । वन जङ्गलमा एउटा हरियो परियो छैन । यतिबेला मुना पलाएर लहलह हुनुपर्ने रूख बिरुवाहरू खङग्रङ्गै छन् । चैत महिना गइसक्यो । एक थोपा पानी पर्ने छाँट छैन । अब यसरी भएन ।’ मुकुटे साइँला पनि आफ्नै सुरमा गनगनायो ।

समयले जन्माएका कथाहरू

प्वाक्चीकी आमाले सिलबरे डबका भरी मकैको जाँड लोग्नेको अगाडि राखिदिइन् । मुकुटेले पनि एकै सासमा डबकाको जाँड स्वात्तै पार्यो । खाली बटुकोलाई भुइँमा राख्दै देब्रे हातले मुखको जुठोल स्वात्तै पुछ्यो । स्वास्नीले फेरि थपनी हालिदिइन् । ‘लु भयो बल्ल सास आयो । अब यसरी भएन । पानी पर्ने छाँटकाँट देखिएन । अब देवी–देउताको भरपिछा नपरी नहोला जस्तो छ । म यसो ठुल्बासँग सरसल्लाह गरेर आउनु पर्‍यो ।’ भन्दै मुकुटे साइँलाले बटुकाको थपनी जाँड सिनित्तै पार्यो । सुल्पाको ठुटा सल्काएर फुसफुस धुवाँ उडाउँदै घरदेखि उकालो लाग्यो ।

बिस्तारै बेलुकाको वस्तुभाउ ठगनबगन गर्ने बेला हुँदै थियो । मुकुटे साइँला हात पछाडि बाँधेर सुल्पा तान्दै आफ्नै सुरमा उकालो लाग्दै थिए । बाटोमै ‘लेकिन माइला’सँग जम्काभेट भयो । ‘होन लेकिन, यतिबेला कता लाग्यौ हौ साइँला ? माइलाले प्रश्न तेर्स्याए ।

‘ए ! माइला दाजु पो ? हेर्नुस् न यसपालि पटक्कै पानी पर्न सकेन । यस्तो खडेरी त यो जीवनकालमा कहिल्यै देख्न परेको थिएन । बाँझो पल्टाउने, मकै छर्ने बेला भइसक्यो खै पानी परेको ? यसरी कसरी बाँच्ने होला । त्यसैले यसो ठूल्बासँग देवी–देउताको सेवागुवा गर्ने कि भनेर सल्लाह गरौं भनेर पो हिंडेको हौ । लौ न यो गाउँको बुढापाका, जान्ने बुझ्ने भनेको हामी नै हौं । हाम्रो केटाकेटीहरूलाई धर्मकर्म, परम्परा रीतिथिति केही वास्ता छैन । बरु तपाईं पनि एकछिन जाऊँ न ठुल्बाको घरसम्म । यसो सल्लाह गरौं । केही त गर्नै पर्‍यो हौ माइला दाइ ? मुकुटे साइँलाले लेकिन माइलालाई बेलिविस्तार लगाए ।

‘होन, लेकिन तिम्रो कुरा ज्यादै जायज छ साइँला । साँच्चै यो साल लेकिन कस्तो खडेरी हो यो ? लु हिंड लेकिन म पनि यस कुरामा चाहिं सहमत छु ।’ मुकुटे साइँला र लेकिन माइलाको मत मिलेपछि दुवैजना जेठा बाको घरतर्फ उकालिए । (केही वर्ष पहिले भारतको सिलोङतिर कोइलाखानीमा काम गर्न जाँदा ‘लेकिन’ भन्ने थेगो लिएर आएकोले उनलाई सबैले लेकिन माइला भन्न थाले । तर उनको खास नाम बलिहाङ हो ।)

 

मुकुटे साइँला र लेकिन माइला ठुल्बाको घरमा पुग्दा ठुल्बा घरको सिकुवामा बसेर हुक्का तान्दै थिए । कुलोघरे जेठा र पञ्चे कान्छा पनि जेठा बाकै घरमा भेटिए । यस वर्षको खडेरीबारे उपस्थित सदस्यहरूबिच गर्मागर्मी छलफल भयो । तीन तिरलोक, चारलोकको कथाको चर्चा परिचर्चा भो । ठुल्बाले ‘गाउँका नयाँ पुस्ताहरूले देवी–देउता, सिमेभूमेको मानमनितो नगरेकाले, शहरबाट नानाभाँती मल्टन ल्याएकाले । आफन्त–बिरन्तरी नचिनी अनेक उपद्रो गरेकाले देवी–देउता, सिमेभूमेले चित्त दुखाएर यो बिपत्ति आएको हो ।’ भनेर आफ्नो विचार पोखे । चारैजना जेठा, माइला, साइँला र कान्छा सबैले ‘हो ठुल्बा मुनासिब बचन’ भनेर ठुल्बाको बोलीलाई झ्याप्पै समर्थन गरे ।

बैठकको अन्तमा आउँदो शनिबार सन्सारी माई देवीको भाकल गर्ने निधो भयो । त्यसको लागि ठुल्बाले सबैलाई कामको बाँडफाँड पनि गरिदिए । जसअनुसार लेकिन माइला र पञ्चे कान्छाले घरलौरी बीस रुपियाँ पैसा र नून भुटुन लिएर घरको एकजना छोरामान्छे पूजामा उपस्थित गराउने जिम्मा पाए । मुकुटे साइँलाले पूजारी र धुपौरे तयार पार्नु पर्ने भयो । कुलोघरे जेठाको भागमा खाजापानी व्यवस्थापन पर्‍यो । देवीलाई बलि दिने कालीपाठी व्यवस्था गर्ने जिम्मा स्वयं ठुल्बाले नै लिए ।

भाकल गर्ने दिन गाउँका सबै घरबाट सकेसम्म घरमुली, घरमुली नभएका घरबाट जेठोपाको उर्दीअनुसारको सरजाम बोकेर देवीथानमा पुगे । पूजारी गैराली बूढा र धुपौरे रुन्चे अघि नै नुवाइधुवाइ गरी पूजाथानभित्र पसी थान सरसफाइ गरिरहेका थिए । भाकलको नाममा चैत–वैशाखको हररमा मासु खान पाइने भएकोले धुपौरे रुन्चे हुनसम्म फुर्किएको थियो । पूजारी बूढा अघिल्लतिरको जम्मै झरेको थोते गिजा देखाउँदै घरीघरी रुन्चेलाई यो गर, ऊ गर भनेर अह्राइरहेका थिए ।

पूजा शुरू भयो । धुपौरे रुन्चेले फ्यास्सै साल धूप बाले । वातावरणमा साल धूपको गन्ध हरर फैलियो । पुजारीले फलाक्न थाले ‘हेर परमेश्वरी तिमी भनेको, परमेश्वर संसारी माई भनेको परमेश्वर, सत्यदेवी, साँक्षीदेवी हाँकेको ताकेको पुराइदिने, दुःखकष्ट हरी दिने ..।’ पुजारीले तीन चरण फलाकेपछि पहिलो चरणको पूजा सकियो । दोस्रो चरणमा देवीलाई भोग चढाउने बेला भयो । ठुल्बाले बन्दोबस्ता गरेको हरियो घाँस देख्न नपाएका लुतीलुती कालीपाठी माईलाई भोग दिन तम्तयार भयो । पुजारीले पाठीको टाउकोमा यसो अक्षता पाती चढाए । पानीले छर्केर पर्छाउँदै चोखो बनाए । त्यसपछि पाठीलाई किन भोग चढाउनु परेको सम्झाउँदै हुनसम्मको आशिक दिए ।

पुजारी गैराली बूढाले कम्मरमा भिरेको खुकुरी निकाले । पाठीको मुख समाएर रुन्चेलाई पछाडिको खुट्टा बलियो गरी समाउन लगाए । पाठीको घाँटी रेटी देवीलाई फकाउन थाले ‘हेर परमेश्वरी’ रगतको छिर्काले ढुङ्गाको थान निथ्रुक्कै भयो । मर्ने बेलामा पाठीले न्वारानको बल निकालेर भ्यात्भ्यात् गर्दा पछाडिको जोरलात धुपौरे रुन्चेको मर्ममै बज्रियो । रुन्चे हुरुक्कै भयो । पाठी समात्न छोडेर थुचुक्कै बस्यो । रुन्चेले पाठी छोडेपछि यता पुजारीलाई गाह्रो भयो । ‘होन यो झ्याक्ने रुन्चे के गर्छ हँ । पाठी बलियो समात् मु..।’ बूढा हुनसम्म बिच्किए । पुजारीले कुटुँलाझैं गरेपछि रुन्चे उठ्यो । रुन्चे अनुहार लिएर पाठीको खुट्टा यसो समाएजस्तो गर्यो ।

पाठीलाई पोलपाल पारेपछि फोरे । त्यसपछि भाकल कस्तो भयो भनेर जोखाना हेर्न पर्ने भयो । पाठीको मुटु, कलेजो, पित्त, फोक्सो झिकियो । पाठीको पित्त अलि सानो देखिएकोले यसपालि त्यति अन्न नफल्ने जोखाना निस्क्यो । कलेजोमा ठाउँठाउँ भन्ज्याङ देखिएकोले मानिसमै नभए पनि वस्तुभाउमा खचाकखुचुक बिगार हुने लक्षण भेटियो । फोक्सोलाई पन्चेले फुके । फोक्सोमा देखिएको छिर्केमिर्के दागहरूलाई देखाउँदै पुजारी बूढा बोल्यो, ‘यी यै हो खडेरी, माईले ठ्याक्कै देखाइन् ।’ उनले फोक्सो मुनीको मुटु छाम्दै भने ‘मुटु दह्रो छ । लु गाउँमा कसैलाई केही हुँदैन । जाती छ । भाकल साह्रै राम्रो भयो । देवी खुशी भइन् । अब भने पानी पक्का पर्छ है ।’ पुजारीले घोषणा गरे । भक्तजन बिछट्टै रमाए ।

त्यसपछि पूजा सकियो । पाठीलाई काटकुट पारी खडकुँडामा हालियो । गाउँका सबैले ल्याएका ढिकेनुन र अक्षता पनि मासुमै हालियो । ३ धार्नी जत्तिको पाठीको मासुमा २ माना जतिको ढिकेनून र अक्षता मिसाएर मासु पकाइयो । पूजा सकिएकोले खाजापान व्यवस्थापक मुकुटे साइँलाले व्यवस्था गरेको ५ सेर रक्सी खाने जतिलाई बाँडियो । पुजारीलाई अलि बढी भाग लगाइयो । केही नखाएको भोको पेटमा रक्सीले सबैलाई रनक्कै पार्यो । सबैको स्वर ह्वात्तै बढ्यो । कसको कुरा कसले सुन्यो । कसले काट्यो पत्तै भएन ।

मासु पाकेपछि सबैलाई भोर्लाको दुनामा दामासाहीले बराबरी भाग लगाइयो । ‘भान्सेले एक–एक भाग टिप है’ भनेपछि सबै जाइलागे । २ माना ढिकेनून लगाएको मासु गोरुलाई खुवाउने कुँडभन्दा नुनिलो थियो । तर खडेरीले खरिएको आँतले साह्रै मिठो मानी–मानी सबैले खाए । त्यसपछि सक्ने जतिले त झोल पनि एक–एक दुना सुर्क्याए ।

यसरी संसारी माईको भाकल सकेर भाकलमा जानेहरू फर्किए । बुलेकी पख पश्चिम आकाशमा भुलुक्कै एक टुक्रा बादल देखियो । तर पानी पर्ने छाँटकाँट भने देखिएन । गाउँमा जनसंख्या बढेर प्रदूषण बढेको छ । वर्षेनी होडबाजी घर बनाउने, दाउरा, घाँस गर्ने क्रममा वनजङ्गल नास भएर डाँडापाखा किरियापुत्रीमा बसेको छोराको टाउकोझैं नाङ्गै भएको छ । वृक्षरोपण वन संरक्षण सम्बन्धी चेतना गाउँलेमा शून्य छ अनि कसरी पानी पार्छ त ? गाउँलेहरूमा यो सद्बुद्धि कहिले आउने हो ?

हेरौ शनिश्चरे माईको कृपा !

(भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित कथाकार शुभचन्द्र राईको दोस्रो कथासंग्रह ‘समयले जन्माएका कथाहरू’बाट)