स्थान : हस्तिनापुरको कुनै क्षेत्रको जङ्गलको एकान्तमा

पात्र : कृष्ण र कर्ण

परिवेश : महाभारत युद्ध हुनुभन्दा अघिल्लो दिन

भगवान् श्री कृष्ण हस्तिनापुरका महामन्त्री विदुरसँग गफ गर्दै थिए । अचानक अङ्गराज कर्ण त्यही आइपुगे । एकअर्काला नमस्कार र आदर सत्कार चल्यो । त्यस्तैमा भगवान् कृष्णले कर्णलाई सोध्नुभयो ।

कृष्ण : हे अङ्गराज कर्ण ! तिमी हामीलाई भेट्न आयौ कि अचानक देखेर रोकियौ ?

कर्ण : हे भगवान् हजुर हिजो शान्ति दूत बनेर हस्तिनापुर आउँदा मेरा मित्र      दुर्योधनले गरेको अभद्र व्यवहारका लागि क्षमा माग्न आएको हुँ ।

कृष्ण : आफ्नो असभ्यताको लागि मनुष्यले स्वयंसँग क्षमा माग्नुपर्छ । अपमान मेरो हैन, अपमान त दुर्योधनको भयो । हस्तिनापुर राजसभाको भयो । यसमा मैले क्षमा दिनुपर्ने केही छैन । तै पनि यदि साँच्चै क्षमा माग्न आएको भए थोरै समय मेरो रथमा मसँग हिंड ।

कर्ण : यो मेरो सौभाग्य हो तर कृपा गरी मलाई रथको सारथि बन्ने अवसर दिनुहोला ।

कृष्ण : हुन्छ । तर एउटा शर्त छ । सारथि बनेर यो रथलाई दुर्योधनको शिविरमा लान पाउने छैनौ ।

कर्ण : हजुरको आज्ञाबिना भला कोही हजुरलाई कहाँ लान सक्छ र ?

(कर्ण र कृष्ण केही परसम्म रथमा पुग्छन् ।)

कृष्ण : रथ रोक कर्ण,…तिमीलाई आश्चर्य लाग्दो हो । यो कृष्णले मलाई किन यहाँसम्म ल्यायो भनेर ।

कर्ण : हजुरको ठाउँमा अरू कोही भएको भए आश्चर्य लाग्दो हो । हजुर त कसैको आश्चर्यको सीमाभन्दा बाहिर हुनुहुन्छ ।

कृष्ण : हे राधे, तिमी एक उत्तम व्यक्ति हौ । तिमीले जुन विषयलाई धर्म मान्यौ, त्यसलाई पूर्ण रूपमा निभाउँछौ । फेरि दुर्योधनको शिविरमा के गरिरहेका छौ ? धर्मको एक एक पक्षको ज्ञान राख्ने मान्छे हौ तिमी, तिमीलाई अवश्य थाहा छ । दुर्योधनको मार्ग असत्यको मार्ग हो र पनि तिमी दुर्योधनको पक्षमा किन बसिरहेका छौ ?

कर्ण : हे वासुदेव ! मेरो र दुर्योधनको सम्बन्धको आधार धर्म होइन । हे देवकीनन्दन हाम्रो सम्बन्ध धर्म–अधर्म भन्दा स्नेह र प्रेममा बनेको छ । ऊ मेरो मित्र हो, ऊ मेरो कृष्ण त होइन, तर म उसको सुदामा अवश्य हुँ । क्षत्रियको समाजले मलाई शुद्पुत्र भएकै कारणले स्वीकार गरेन, तर दुर्योधन एक्लो क्षत्रिय हो, जसले मलाई स्वीकार गर्‍यो, अङ्गदेशको राजा बनाएर मलाई अङ्गराज बनायो । वर्षौं पहिले हस्तिनापुर सभामा द्रोणाचार्य, कृपाचार्य जस्ता गुरुश्रेष्ठ, भीष्मपितामह आदि सबैले मेरो अपमान गरिरहेका थिए, मात्र दुर्योधन मेरो सहायताको लागि उठ्यो । अङ्गराज बनाएर मलाई दुर्योधनले घमण्डी कुन्तीपुत्र अर्जुनलाई युद्धका लागि चुनौती दिन सक्ने अधिकार प्रदान गर्‍यो । यसैले त हे देवकीनन्दन जबजब मलाई दुर्योधनको कमजोरी भएको लाग्छ, गल्ती भएको लाग्छ, म आफ्ना आँखाहरू बन्द गर्छु । यो संसारमा मलाई दुई वटा कुरा सबैभन्दा प्रिय छन् । एक मेरो मित्र दुर्योधन र दोस्रो ती देवी जसले मलाई जन्म त दिइनन् तर उनी मेरा लागि ती माताभन्दा बढी प्रिय छन् जसले मलाई जन्म दिएर त्यागिदिएकी थिइन् । म दुःखी भए भने यी दुईको दुःख देखेर दुखी हुन्छु र खुशी पनि यी दुईलाई देखेर हुन्छु । मेरो आफ्नो कुनै दुःख पनि छैन र खुशी पनि छैन । मलाई मेरो जीवनसँग कुनै लगाव छैन, तर म जबसम्म जीवित रहन्छु, मेरो हृदयमा यी दुईको बाहेक अरू कसैको स्थान बन्ने छैन ।

कृष्ण : यो ठीक हो अङ्गराज, कृतज्ञताको ऋण चुकाउन सजिलो छैन । संसारमा सबैभन्दा भारी ऋण यसैको हुन्छ । तर यदि प्रसङ्ग सत्य र असत्य, धर्म र अधर्म, उज्यालो र अन्धकारमा आएर फस्यो भने के अधर्म, अन्धकार र असत्यको बाटो गरेर पनि यो ऋण तिर्न उपर्युक्त हुन्छ, के यस्तो ऋण उतार्न भन्दा ऋणी नै रहन उपर्युक्त हुँदैन र?

कर्ण : यो त मैले ऋण लिने समयमै सोच्नुपर्ने थियो नि वासुदेव, तर एक चोटि ऋण लिइसकेपछि ऋण चुकाउन आनाकानी गर्नुहुँदैन, यसको परिणाम जे सुकै होस् ।

कृष्ण : अँ यो पनि एउटा तर्क हुनसक्छ । तर अङ्गराज, दुर्योधन हस्तिनापुरको प्रतिस्पर्धाबाट लज्जित भएको थियो यसैले अर्जुनको विरुद्ध युद्ध गर्न एउटा शत्रु चाहिएकोले कतै अङ्ग देश दिएर तिमीलाई खरिद गरेको त हैन ?

कर्ण : हे वासुदेव, यदि उसले मलाई अङ्गदेश दिएर खरिद गरेकै भए पनि स्वयंलाई बेच्ने त मनै थिएँ !

कृष्ण : हे वीर पुरुष ! तिमी कहिल्यै आफ्नो जन्म, आफ्नो पहिचान र विगतका बारेमा सोच्ने गरेका छौ ?

कर्ण : त्यो विगत हो, अब सोचेर पनि के फाइदा छ र कृष्ण ?

कृष्ण : त्यसो भए तिमीलाई तिमी को हौ भन्ने थाहा छैन ?

कर्ण : मलाई यस बारे थाहा त छैन, तर मेरो अनुमानमा मेरी आमा कुनै आदरणीय परिवारकी पुत्री हुनुपर्छ या कुनै राजकुमारी … जसको भवन गङ्गा नदीको तटमा हुँदो हो त्यसैले त मेरो जन्म हुने बित्तिकै मलाई सजिलै गङ्गा नदीमा बगाइदिइन् । मैले यो पनि अनुमान गर्नसक्छु कि, मेरी मातालाई आफ्नो पुत्रभन्दा आफ्नो कुल खानदानको इज्जत र प्रतिष्ठा बढी प्यारो हुँदो हो । यसैले पुत्रको त्याग गरी इज्जतको जतन गर्न उहाँ सफल हुनुभयो ।

कृष्ण : अनि आफ्नी मातालाई खोज्ने रहर तिमीमा जागेन ?

कर्ण : जुन माताले मलाई त्यागिदिइन् । उनलाई खोजेर मलाई के फाइदा हुन्छ र ? उनलाई पाएर पनि मैले के गरूँ ? सम्भवतः मेरो जन्मपछि कुनै आदरणीय कुलमा कुनै दिव्य पुरुष वा महाराजासँग उनको विवाह भयो होला । उनका सन्तानहरू होलान् । आफ्नो खुशी र सुखमय जीवन बाँच्दा उनलाई मेरो बारेमा सोच्नै आवश्यक परेन होला । तर हे कृष्ण ! मलाई आफ्नी माताको ममताको स्वाद नपाएकोमा कुनै दुःख छैन किनकि मेरी आमा राधा हुन् । म उनकै नामबाट राधेय भएको छु । हे नन्दन, आज हजुर किन मेरो अतीततिर जानुभयो ? म त स्वयं त्यतातिर कहिल्यै जाँदिन । विगतको बारेमा सोच्नुभन्दा वर्तमानको कुरा गर्नु, वासुदेव वर्तमानको ।

कृष्ण : हे कर्ण तिम्रो अनुमान सही हो । तिम्री आमा एक कुलिन घरकी कन्या हुन् । उनी तिम्रो जन्मपछि समाजको निन्दा, उपहास र बेइज्जतीसँग डराइन् । आज उनी पुत्रहरूका माता हुन् तर उनको हृदयमा एउटा एक्लोपनले छोपेको छ । सन्नाटाले भरिएको छ । आज पनि उनी आफ्नो त्यो पुत्रको बारेमा चिन्तित छन् जो जन्मँदै कवच र कुण्डल लगाएर जन्मिएको थियो ।

कर्ण : हजुरले भन्न खोजेको के हो ? कृष्ण के म शुद्पुत्र होइन ? के म क्षत्रिय हुँ, के मैले अनुमान गरेझैं हजुरले मेरी मातालाई चिन्नुभएको छ ? जान्नुभएको छ ?

कृष्ण : हो कर्ण, मैले उहाँलाई चिनेको छु !

कर्ण : हे वासुदेव ! कि मेरी माता अझै जीवित हुनुहुन्छ ?

कृष्ण : हो उहाँ अझै जीवित हुनुहुन्छ ।

कर्ण : के म उहाँको दर्शन गर्नसक्छु ? मलाई मेरो परिचय दिलाइदिनुहोस् ।

कृष्ण : हे दानवीर, हे महारथी, के तिमीले सत्यलाई सहन सक्छौ ?

कर्ण : सत्यको घाउ अपमानको घाउ जस्तो पिडादायी त हुँदैन नि वासुदेव, म अवश्य सहन गर्नेछु ।

कृष्ण : तिम्री माता तिमीबाहेक अरू पाँच महारथीहरूकी आमा हुन् । जसले आजसम्म पराजयको स्वाद चाखेका छैनन् जो सदा विजयी छन् ।

कर्ण : पाँच महारथी, पाँच … कतै हजुरले पाण्डवहरूको त कुरा गरिरहनु भएको त छैन ?

कृष्ण : हो कुन्तीपुत्र तिमी जेष्ठ कुन्तीपुत्र हौ र पाँच पाण्डवहरू तिम्रा भाइहरू हुन् ।

कर्ण : अनि मेरा पिता ?

कृष्ण : तिम्रा यिनै इष्टदेव श्री सूर्यनारायण तिम्रा पिता हुन् । तिमी सूर्य भगवान् र माता कुन्तीका जेष्ठ पुत्र हौ ।

कर्ण : मेरो दुर्भाग्यको सीमालाई के हजुरले नाप्न सक्नुहुन्छ ? म सूर्यपुत्र कर्ण, शुद्पुत्र राधेयको नामले चिनिएको छु । म कुन्तीपुत्र कर्ण राधेय भएको छु । म कुलीन युधिष्ठिर शक्तिशाली भीम सुरविर अर्जुन, सुन्दर नकुल र बुद्धिमान सहदेवको जेठो दाजु कर्ण, शुद्पुत्र भनी चिनिएको छु । सारा संसारले मलाई दलित पुत्र भनेर पक्षपात गरिरह्यो । मैले सुनिरहें । हे वासुदेव, यो दुर्भाग्य र उपहासको कुनै उपाय बताइदिनुहोस् ! हे देवकीनन्दन, हजुरलाई त यो पहिल्यैदेखि जानकारी हुँदो हो र पनि मलाई किन सुनाउनु भएन ? फेरि आज किन बताउनु भयो ? म त पाण्डवहरूप्रति घृणाको पूँजी लिएर बसिरहेको थिएँ । यो संसारमा मेरा सबैभन्दा घृणाका पात्रहरू पाण्डव थिए । यही घृणाले म स्वयंलाई धनी सम्झिरहेको थिएँ । यो सबै बताएर हजुरले मेरो सन्तुलन बिगारिदिनु भयो । मबाट मेरो खुशी छिनेर मलाई किन निःशस्त्र र निहत्था बनाइदिनुभयो ? अब मैले मेरा वाणहरूले आफ्नै अनुज अर्जुनलाई कसरी मार्न सक्छु ? हे वासुदेव, हजुरले मलाई युद्ध अगाडि नै हराइदिनुभयो । हे कृष्ण हजुरले किन यस्तो गर्नुभयो !

कृष्ण : हे कर्ण, तिमी पञ्चपाण्डव भन्दा पहिल्यै जन्मिसकेका थियौ । तिमी जेष्ठ कौन्तेय हौ । मैले यो जेष्ठ पाण्डुपुत्र आफ्ना अनुजहरूसँग युद्ध नगरोस् भनी तिमीलाई सुनाएँ । एकै माताका सन्तानहरू एकआपसमा लडेको म देख्न चाहन्न । हे कर्ण, हे जेष्ठ कुन्तीपुत्र तिमी मसँग हिंड । इन्द्रप्रस्थ राज्यको तिमी राजा हुनेछौ । तिम्रा अनुजहरू तिम्रो सामु झुक्नेछन् । युधिष्ठिर तिम्रो सेवक हुनेछ । सर्वश्रेष्ठ गदाधारी भीम तिम्रो छत्रछाया बन्नेछ । अर्जुन तिम्रो सारथी हुनेछ र म स्वयं नकुल र सहदेव सहित तिम्रो रथको पछिपछि हुनेछौं । तिमीलाई संसार विजयको आशीर्वाद प्राप्त हुनेछ । हे अङ्गराज धर्म पालनमा तिमी युधिष्ठिर जस्ता छौ । शक्तिमा तिमी भीम जस्ता छौ । वीरतामा तिमी धनुर्धारी अर्जुन जस्ता छौ । सुन्दरतमा नकुल र योद्धाको शालीनतामा तिमी सहदेव जस्ता छौ । मलाई अचम्म लाग्छ, आजसम्म कसैले किन यो सब देख्न सकेन ? महाभारत युद्धका लागि मकहाँ आऊ, म यो सारा संसार तिम्रो चरणमा राखिदिन्छु । तिमीलाई पाँच भाइ प्राप्त हुनेछन् । अनि तिमीलाई जन्मदिने माताको साथ र काख प्राप्त हुनेछ ।

कर्ण : हजुरले प्रस्ताव गरेका हरेक चीज सत्य छन् । तर म दुर्योधनको ऋणी छु । हजुरले यो ऋणको विषयमा त केही भन्नुभएन, हे केशव मैले हजुरका लागि पनि स्वयंसँग झूठो बोल्न सक्दिनँ । मलाई थाहा छ पाण्डवहरू हजुरको छत्रछायामा छन् । उनीहरूलाई हजुरको साथ रहेसम्म कसैले हराउन सक्दैन । मलाई थाहा छ कौरवहरूले यो युद्ध हार्नेछन् । र पनि म दुर्योधनकै झण्डामुनि युद्ध लड्नेछु । दुर्योधनका लागि मेरो आत्मविश्वास पराजय स्वीकार गर्न समेत तयार छ । हे मधुसुधन अर्जुन मेरो भाइ हो भन्ने जानीजानी उसलाई मार्न सक्ने वाण त म चलाउन सक्दिन तर पनि म युद्ध लड्नेछु । तपाईंलाई थाहा थियो म दुर्योधनलाई कुनै पनि हालतमा छोड्दिनँ । यो सब जानीजानी गोप्यतालाई उजागर गरेर हजुरले अर्जुनको प्राणको रक्षा गर्नुभयो । हजुरले यसो नगरेको भए अति जाती हुनेथियो । यति भैसकेपछि अब मलाई एउटा वचन दिनुहोस् जबसम्म युद्धभूमिमा मैले वीरगति प्राप्त गर्नेछैन तबसम्म पाण्डुपुत्रहरूलाई म जेष्ठ कौन्तेय भएको थाहा नदिनुहोला । यदि युधिष्ठिरले यसबारे थाहा पाए भने आफ्नो शिरमा मुकुट राख्न कदापि स्वीकार गर्ने छैनन् तर राजा बन्न योग्य त मेरो भाइ युधिष्ठिर नै छ । र यदि युधिष्ठिरले मलाई राजा बनायो भने अङ्गदेशको ऋण चुक्ता गर्न म यो राज्य, मुकुट दुर्योधनलाई सुम्पिदिन्छु । जुन यो राज्य धर्म र सत्यको अपमान हुनेछ र अन्याय हुनेछ । हे मधुसुधन, अब हाम्रो भेट रणभूमिमै हुनेछ । तब सम्मका लागि म बिदा चाहन्छु । प्रणाम !

(भनिन्छ – सबैभन्दा ठूलो युद्ध त्यो हो, जो दुनबाट रोकियो, भगवान् कृष्णको यो युद्ध रोक्नसक्ने अन्तिम उपाय तथा मनुष्य जन्म प्राप्त गरेपछि आफ्नो कर्तव्य, धर्म, निष्ठामा अडिग रहेर कर्णले गरेको प्रण र सो को निर्वाहको लागि गरिएको व्यवहार नै यस संवादले देखाउन खोजेको एक उदाहरण रहेको छ ।)